Pages

Sunday, November 24, 2024

 

लोकतन्त्र

 

ब्रिटिस लेखक एलेस्टैर क्याम्पबेलले राजनीतिक विसंगतिबारे लेखेको ‘बट् ह्वाट् क्यान आई डू’ भन्ने पुस्तक अहिले निकै चर्चित छ । पुस्तकमा लेखकले ‘उत्तर–सत्य (पोस्ट ट्रुथ)’ र ‘लोकतन्त्रको मन्दमरण (स्लो डेथ अफ डेमोक्रेसी)’ बारे मार्मिक चित्रण गरेका छन् । जोन मेजरले ‘लोकतन्त्रमा हामी विश्वास गर्दछौं’ भन्ने भाषणमा विगत पन्ध्र वर्षदेखि लोकतन्त्र शिथिल र राजनीतिक तथा नागरिक स्वतन्त्रता कमजोर हुँदै गएको तार्किक पुष्टि गरेका सन्दर्भ उनले उल्लेख गरेका छन् ।

धेरै मुलुकमा लोकतन्त्रको जग नै नबसेको र जहाँ लोकतन्त्र छ भनिन्छ, त्यहाँ पनि लोकप्रियतावादीबाट जोखिम बढेको, यसलाई विदेशीद्रोहीहरूले मलजल गरेको र निर्वाचित तानाशाहहरूले कमजोर बनाउँदै लगेकाले यस राम्रो राजनीतिक प्रणालीको भविष्य अनिश्चित हुँदै गएको उनको तर्क थियो । उनको यस भनाइलाई अमेरिकाको ‘फ्रिडम हाउस’ संस्थाले पनि थप पुष्टि गरेको छ । हाल विश्वका २० प्रतिशत मानिसहरूले मात्र पूर्ण स्वतन्त्रताको श्वास लिन पाएको र पन्ध्र वर्षअघि चालीस प्रतिशतले यस्तो वातावरण पाएका थिए भन्ने उक्त संस्थाको निचोड लेखकले उल्लेख गरेका छन् । यसबाट नागरिक र राजनीतिक स्वतन्त्रता आधाले घटेको बुझ्न सकिन्छ ।

लोकतन्त्रका लागि पहिलो खतरा भनेकै ‘झूटको राजनीति’ हो । सत्तामा रहनेहरू त्यहीं टाँसिइरहन ‘उत्तर–सत्य’ को रणनीति लिने गर्दछन् । यो यस्तो झूट हो, जसमा तथ्यगत आधारहरूलाई नै विकृत तुल्याएर के सत्य हो, के असत्य हो छुट्याउन नसक्ने गरिन्छ । उनीहरू आफू गलत भएको कहिल्यै स्विकार्दैनन्, विपक्ष सही भएको मान्दैनन् र असफलताको दोष अरूलाई पन्छाउँछन् । सरकारमा रहनेहरूले नै कानुन खेलाउने हो भन्ने मान्यतामा काम गर्छन् । जिम्बावेका रबर्ट मुगावे र कंगोका मोबुतु तानाशाह थिए र उनीहरूको विलासी जीवनले आधुनिक लोकतन्त्रको उपहास गरेको थियो । यी दुवै औपनिवेशिक शासनको अन्तपछि स्वतन्त्र राष्ट्रका शक्तिशाली शासकहरू थिए ।

फिलिपिन्सका मार्कोस हुन् वा इन्डोनेसियाका सुहार्तो, लोकतन्त्रको ‘मास्क’ लगाएका तानाशाहहरू थिए । पहिलेका तानाशाहहरू हतियारको बलमा जनताका स्वतन्त्रता दबाउँथे, अहिलेका नयाँ निर्वाचित तानाशाहहरू आफूअनुकूल कानुन निर्माण गरेर वा नीतिगत परिवर्तनबाट प्रणाली भत्काउने गर्दछन् । अझ ‘लोकप्रियतावादी’ हरू त आफूले मात्र जनताको प्रतिनिधित्व गर्ने कुतर्क प्रस्तुत गर्दछन् र अर्को दलले निर्वाचन जितेमा स्विकार्दैनन् । यस्ता सर्वसत्तावादी सोच भएकाहरू, फटाहा राजनीतिज्ञहरू, लोकप्रियतावादी र वाक्चपल नेताहरू लोकतान्त्रिक पद्धतिका धमिराहरू हुन् ।

 देशमा पर्याप्त कानुन छ तर कानुनको शासन छैन । सरकारमा रहनेहरूले आफ्ना आफन्तहरूको हितमा काम गर्ने ‘क्लानोक्रेसी’ लागू गर्दै छन् । गोलकिपरले बल खेलाए जस्तै सरकारले कानुन खेलाउने हो भन्ने व्यवहार देखाउने गरिएको छ । उही आरोपमा अरूलाई गिरफ्तार गर्नेले आफ्ना दलका नेताहरूलाई भने उन्मुक्ति दिन खोजेको देखिएको छ । यस्तो ‘ठ्या’ र ‘मठ्या’ को व्यवहार कानुनी राज्यमा गर्न पाइँदैन । 

ड्यारोन आसेमोग्लु र जेम्स रविन्सनको पुस्तक ‘ह्वाई नेसन्स फेल’ मा भनिएको छ, ‘तपाईं विश्वका गरिब ३० देशको सूची बनाउनुहोस्, सवसहारा अफ्रिकाका देशहरू पाउनुहुनेछ र त्यसबाहेकका देशहरूमा नेपाल, हैटी र अफगानिस्तान पर्दछन् ।’ 

 

Monday, June 10, 2024

 

चीनमा शैक्षिक-ब्यवस्था

 

ऐतिहासिक रूपमा चीन मेरिटोक्रेसी, यानि सामाजिक हैसियत आर्थिक र पारिवारिक पृष्ठभूमिले नभई व्यक्तिगत योग्यताले निक्र्योल गर्ने पद्धति भएको राज्यका रूपमा रहेको छ । यो योग्यतामा आधारित व्यवस्थाको इतिहास दुई हजार वर्षभन्दा पनि पुरानो हो । निजामती सेवाको सुरुवात गर्ने पहिलो राष्ट्र चीनले सुरु गरेको प्रतिस्पर्धात्मक र निष्पक्ष निजामती सेवाको परीक्षा ‘केजू’को उद्देश्य नै राज्यलाई शासन गर्न उत्कृष्ट कर्मचारीको छनोट गर्नु रहेको थियो ।

ऐतिहासिक चीनको प्रमुख आविष्कारमध्येको एक मानिने केजू मात्र यस्तो एउटा मार्ग थियो, जसबाट साधारण चिनियाँले पनि कुलीन वर्गको हैसियत बनाउन सक्थे । यसकारण मेरिटोक्रेसीमा चिनियाँ जनताको विश्वास उनीहरूको संस्कृति र संस्था दुवैमा निहित रहेको छ । चिनियाँ मेरिटोक्रेसीको एउटा उत्कृष्ट उदाहरण हो ‘काओखाओ’, अर्थात् चिनियाँ राष्ट्रिय उच्च शिक्षा प्रवेश परीक्षा, जसलाई केजूकै प्रणालीका रूपमा लिइन्छ । चीनजस्तो विशाल जनसंख्या भएको देशमा अधिकांश चिनियाँका लागि काओखाओ प्रतिभाको स्क्रिनिङ गर्ने र उच्च शिक्षामा बराबर अवसर र पहुँच सुनिश्चित गर्ने सबैभन्दा राम्रो र निष्पक्ष तरिका साबित भएको छ ।

 चिनियाँ हाई स्कुलको अन्तिम वर्ष नै काओखाओको तयारीमा बित्छ । हरेक विद्यार्थीको एउटै ध्याउन्न हुन्छ, उच्च अंक प्राप्त गर्ने । जसका लागि दैनिक १४ देखि १६ घन्टाको अध्ययन सामान्य बनाउँछ । बालबालिकाको स्कोरलाई कुनै पनि कुराले असर नगरोस् भन्ने सुनिश्चित गर्न सम्पूर्ण परिवार नै परिचालित हुन्छ भने परीक्षार्थीलाई कुनै प्रकारको असहजता नहोस् भनेर पूरै देशले ध्यान दिन्छ ।

उदाहरणका लागि, परीक्षा केन्द्रहरूमा जाने विद्यार्थी र अभिभावकका लागि सबवे स्टेसनमा विशेष “प्राथमिकता लेन” बनाइएका हुन्छन् भने धेरैजसो ठाउँमा परीक्षार्थीलाई बाधा नहोस् भनेर परीक्षा अवधिभर परीक्षास्थलको निश्चित दायराभित्र कुनै पनि प्रकारको ध्वनि निषेध गरिएको हुन्छ । बाटामा हजारौँ स्वयंसेवक र प्रहरी खटिएका हुन्छन् भने कतिपय ठाउँमा परीक्षार्थीलाई सहज बनाउन ट्याक्सीचालकले निःशुल्क सेवा प्रदान गर्छन् । निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न परीक्षाका प्रश्नपत्र र अन्य कागजातलाई राज्यकै शीर्ष गोप्य दस्तावेजका रूपमा वर्गीकृत गरिएको हुन्छ र प्रहरीको उच्च सुरक्षा र जिपिएस ट्र्याकरको निगरानीमा ढुवानी गरिन्छ । ठगी रोक्न परीक्षा केन्द्रमा कडा सुरक्षा व्यवस्था अपनाइन्छ । 

समय र प्रविधिको विकाससँगै अनुहार पहिचान, बौद्धिक सुरक्षाद्वार र ड्रोनजस्ता उन्नत प्रविधि व्यापक प्रयोगमा आएका छन् । काओखाओलाई चिनियाँहरू एउटा लकडीको पुल मान्छन् जसमा हजारौँ सेना र दसौँ हजार घोडाबीच भागदौड चलिरहेको छ । हरेक वर्ष जुनमा आयोजना हुने काओखाओ यसपालि ७ र ८ जुनमा सम्पन्न भएको छ । चिनियाँ शिक्षा मन्त्रालयका अनुसार यस वर्ष एक करोड ३४ लाखभन्दा बढी विद्यार्थीले काओखाओका लागि आफ्नो आवेदन दर्ता गरेका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा पाँच लाखभन्दा बढी हो र अहिलेसम्मकै उच्च ।

काओखाओलाई लिएर आलोचना नभएको होइन । यीमध्ये एउटा आलोचना हो— सामाजिक र क्षेत्रीय असन्तुलनको मुद्दा । ग्रामीण क्षेत्रका विद्यार्थीको तुलनामा सहरी क्षेत्रका विद्यार्थीको शैक्षिक स्रोतमा पहुँच बढी हुने भएकाले सहरी क्षेत्रका विद्यार्थीले काओखाओ परीक्षामा राम्रो अंक हासिल गर्ने सम्भावना बढी रहन्छ । यो एक वास्तविक चिन्ता हो । यस मुद्दालाई सम्बोधन गर्न चिनियाँ सरकारले पिछडिएको क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षामा प्रवेश गर्ने अवसर उपलब्ध गराउन विभिन्न नीति अघि सारेको छ ।

उदाहरणका लागि सन् २००४ मा चीन सरकारले पश्चिमी क्षेत्रका लागि “दुई आधारभूत आवश्यकता”का रूपमा नौ वर्षको अनिवार्य शिक्षा, युवा र मध्यम उमेरका मानिसमा निरक्षरता उन्मूलन गर्ने नीति र बोर्डिङ स्कुल निर्माण परियोजना ल्याएको थियो । सन् २०१४ मा गरिबी प्रभावित क्षेत्रका बालबालिकाको विकासका लागि राष्ट्रिय योजना (२०१४–२०२०)ले गरिबीग्रस्त क्षेत्रमा बालबालिकाको अधिकार संरक्षण र विकासको प्रस्ताव गरेको थियो । चीन सरकारले आफ्नो १३औँ पञ्चवर्षीय योजनामा शिक्षासम्बन्धी गरिबी उन्मूलन गर्न लडाइँ सुरु गर्ने जनाएको थियो भने मध्य र पश्चिमी क्षेत्रमा समान शैक्षिक सुधार र विकासलाई बढावा दिन मार्गनिर्देशन जारी गरेको थियो ।

सन् २०१८ मा जारी भएको गरिब क्षेत्रमा शिक्षा गरिबी उन्मूलनका लागि योजना (२०१८–२०२०) ले यस्ता क्षेत्रमा व्याप्त शिक्षाका समस्यालाई सम्बोधन गरेको छ भने २०२० मा चीन सरकारले शिक्षाका माध्यमबाट समग्र गरिबीविरुद्धको अन्तिम लडाइँमा विजय हासिल गर्ने भन्दै योजना परिचालन गरेको छ । यसका अतिरिक्त शैक्षिक विकासमा क्षेत्रीय असमानतालाई प्रभावकारी रूपमा कम गर्न शैक्षिक रूपमा विकसित र अविकसित क्षेत्रका शैक्षिक संस्थाबीच सहयोगको एक संयन्त्र स्थापित गरिएको छ, जसबाट पिछडिएको क्षेत्रका संस्थाले आफ्नो गुणस्तर वृद्धि गर्न विकसित क्षेत्रका राम्रा शैक्षिक संस्थाबाट स्रोत र साधन सहयोग प्राप्त गर्छन् । विभिन्न अध्ययनले विगत दुई दशकमा चीनको शैक्षिक विकासमा क्षेत्रीय असमानता, विशेषगरी सहरी र ग्रामीण क्षेत्रबीचको असमानता निरन्तर संकुचित हुँदै गएको देखाएको छ ।

काओखाओमा असफल हुनु जीवनसँग नै हार्नु अवश्य होइन । हामी सबैले सुनेको नाममा यून अर्थात् अलिबाबा समूहका ज्याक माले तेस्रो प्रयासमा सो परीक्षा उत्तीर्ण गरेका थिए । चीनको प्रतिष्ठित न्यु ओरिएन्टल एजुकेसन एन्ड टेक्नोलोजी ग्रुपका संस्थापक र चीनको सबैभन्दा धनी शिक्षकका रूपमा चिनिने यु मिन्होङ पनि दुईपटक असफल भएका थिए । चियाङसु प्रान्तको ग्रामीण र पिछडि़एको क्षेत्रमा कृषक परिवारमा जन्मेका यु मिन्होङले तेस्रो प्रयासमा उच्च अंक हासिल गर्दै पेकिङ विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएका थिए । 

६ जून, २०१६ मा काओखाओमा सहभागी हुने विद्यार्थीलाई शुभकामना दिँदै भौतिकशास्त्री स्टिफन हकिङले आफ्नो वेइबो अकाउन्टमा लेखेका थिए– म तपाईंहरू, वैज्ञानिक दिमागका नयाँ पुस्तालाई, शैक्षिक प्रयासमा सफलताको कामना दिन चाहन्छु । ... तपाईंहरू अर्को पुस्ताको दार्शनिक वा नेता हो जसले आगामी दिनमा आउने पुस्ताको भविष्यलाई आकार दिनेछ । अवश्य पनि शिक्षित चीनले चिनियाँ समुदायलाई मात्र प्रतिनिधित्व गर्नेछैन, प्रमुख विश्व शक्तिका रूपमा स्थापित शिक्षित चीनले समग्र ग्लोबल साउथको आवाजको प्रतिनिधित्व गर्नेछ ।