Pages

Saturday, May 7, 2011

धमिलो पानीमा माछा मार्ने।


5/05/2011 6:54 PM
धमिलो पानीमा माछा मार्ने
                  -आनन्दराम पौडेल / anandarampaudel@yahoo.com
करीव ५महिनाअघि नेपाल एफएमको समयसमीक्षामा हेम बिष्टजीले अन्तर्वार्ताको क्रममा राष्ट्पति शासनको सम्भावना कत्तिको देख्नुहुन्छ भनेर सोध्नुभएको थियो। चरम राजनीतिक अन्योलको स्थितिलाइ हेरेर उहाँले यस्तो प्रश्न गर्नुभएको थियो। सम्भावनालाइ नकार्न सकिंदैन, तर ब्याकफोर्स गतीलो नभएकोले टिक्न सक्दैन भनेको थिएँ। राजनीतिक ब्यवस्थापन गर्नुपर्ने र थिति बसाल्नुपर्ने बेलामा जव राजनीतिक पार्टीका नेताहरु आआफ्नो स्वार्थको दन्तवजानमा र आआफ्नै दुनो सोझ्याउन तल्लीन हुन्छन् तव देशमा दिशाहीनता, अन्योल, अराजकता र भद्रगोलको स्थिति श्रृजना हुन्छ र यस्को फाइदा जहिलेपनि क्रुर एकाधिकारबादी र सर्वसत्ताबादी तत्वले लिन्छन्। उनीहरु सधैं यस्तै स्थितिको कामना र प्रतिक्षा गरिरहेका हुन्छन्। यस्ता तत्वहरु धमिलो पानीमा माछा मार्न सिपालु हुन्छन्। सन १९३२ताका जर्मनीमा एकातिर समकालीन बिश्वकै उत्कृष्ट वाइमर सम्बिधान निर्माण भैसकेको थियो र लोकतान्त्रिक अभ्यासको अपेक्षा गरिएको थियो। तर ब्यवहारमाभने बर्तमान नेपालको जस्तै राजनीतिक पार्टी र नेताहरु क्षुद्र स्वार्थको लागि मारामार गरिरहेका र गाँड कोराकोर गरिरहेका थिए। एकातिर भर्साइल सन्धीले राष्ट्र अपमानित भएको मनोविज्ञान र अर्कोतिर नेताहरुको चरित्र र ब्यवहारले गर्दा जनता आजीत र निरास भैसकेका थिए। समग्र स्थितिको आँकलन गरिरहेको र जनताको मनोविज्ञान बुझिरहेको हिटलरले मौका छोपेरै सत्ता हत्याएको थियो। नेपालको इतिहासमा बहादुर शाह पछिका राजाहरु सामान्य मान्छे भन्न लायकसमेत् थिएनन्। त्यसैको फाइदा जङ्गबहादुर कुँवरले लिए। २०५९ असोज १८गते ज्ञानेन्द्रले सत्ताको लगाम त्यत्तिकै हस्तगत गरेका थिएनन्, राजनीतिक नेताहरुको ब्यवहार र जनताको बितृष्णा बुझेरै हस्तक्षेप गरेका थिए। स्यामुयल हटिङ्गटनले ‘दि थर्ड वेभ’ मा सन १९७४देखि १९९०सम्म विश्वमा आएको लोकतन्त्रको लहर मात्रै चर्चा गरेका छैननकि रिभर्स गियरको पनि बिवरण दिएका छन्। लोकतन्त्र स्थापना भएको थोरै समयपनि नबित्दै सन १९८९मा सुडान र सन १९८४मा नाइजेरिया तानाशाहको पञ्जामा पुगिसकेको र आफूलाइ लोकतान्त्रिक प्रणालीमा चलेको भनेर दावी गर्ने अर्जेण्टिना,उरुग्वे, पेरु,पोर्चुगल र पाकिस्तानमा राजनीतिक नेताका ब्यवहार र सरकारको कार्यशैलीप्रति जनआक्रोष तिब्र रुपमा बढ्दै गएको बास्तविकतालाइ पनि छर्लङ्ग पारेका छन्।
 ब्यवस्था परिवर्तनको संक्रमणकालिन अवस्थामा राष्ट्रले स्टेटम्यानशिपको खाँचो महसुस गर्दोरहेछ। जुन देशले स्टेटम्यानशीप नेतृत्व पायो त्यो देशमा राजनीतिक ब्यवस्थापन हुन सकेको छ, अन्यथा त्यत्तिकै जिम्लिएर र टाक्सिएर सिद्धिएको छ। २०४६सालमा दक्षिण अफ्रिका र नेपालमा करिव-करिव सँगसँगै परिवर्तन भएको हो। नेल्शन मण्डेला जस्ता स्टेटम्यानशीप नेतृत्व पाएकोले दक्षिण अफ्रिकाले राजनीतिक ब्यवस्थापन गर्न सक्यो तर नेपालमा राजनेताको त कुरै छाडौं सामान्य राजनीतिककर्मीको चरित्रसमेत् देखाउन नसकेकाले राजनीति झन्-झन् भाँडिंदै,सड्दै र कुहिंदै गयो। जस्को सेमिक्लाइमेक्स ०५९असोज १८गते र क्लाइमेक्स ०६१माघ १९गते देखियो।  
   ब्यक्तिको जीवनयात्रामा होस् वा राष्ट्रको, प्रस्थानबिन्दु नै महत्वपूर्ण हुँदोरहेछ। “वेल बिगन इज हाफ डन” वाक्यभित्रको गहन अर्थ आफूलाइ परेपछि बल्ल बुझ्न थालिएको छ। सन १७७६मा स्वतन्त्र हुँदा अमेरिका पुरानो इतिहास भएको राष्ट्र थिएन। एकप्रकारले नवसृजित राष्ट्र अमेरिकाले राजनीतिक ब्यवस्थापन मात्रै गरेन, राष्ट्रलाइ प्रष्ट दिशाबोध दियो र राज्यब्यवस्थालाइ जनजीवनमै भिजायो। जनजीवनमा भिजिसकेको र जनताले आत्मसात गरेकाले ८\१०जना केन्द्रीय नेता बसेर ब्यवस्थालाइ आफ्नो स्वार्थमा प्रयोग र आफूअनुकूल ब्याख्या गर्न कसैले सोच्नसमेत् सक्दैन। जर्ज वासिङ्ग्टनहरुले शुरुमा जुन शासकीय प्रणाली र ढाँचा स्थापित गरेका थिए त्यही नै अकण्टक चलिरहेछ। मुस्तफा कमाल अतार्तुक सत्तामा आउनुअघि टर्की कट्टर जातीबादी,साम्प्रदायिक,पुरातनपन्थी राष्ट्र थियो। उनले पुरातनपन्थी सोचलाइ आधुनिक दृष्टिमा बदल्न धेरै मिहेनत गरे। भारत र पाकिस्तान सँगसँगै स्वतन्त्र भएका राष्ट्र हुन् । पछिल्ला कालमा नेताहरु टुच्चा र भ्रष्ट भएका, राजनीतिको अपराधिकरण भएको, चरम बिषमता बढ्दै गएको तथा कट्टर जातिवादी र साम्प्रदायिक बिषालु नागले डसिरहँदा पनि भारतमा लोकतन्त्रले जरा हाल्दै र झन्-झन् मजवुत हुँदै गएको छभने पाकिस्तानमा सेना र कट्टरपन्थीको दाह्रापञ्जाभित्र लोकतन्त्र कठ्याङ्ग्रिएर बसेको छ। भारतमा यत्रा अप्ठेरा र बाधाअवरोधको वीचमा लोकतन्त्र हुर्कँदै जानुको मुख्य कारण शुरुकालका नेताहरुको योगदान नै थियो।
  लोकतन्त्रको बिरुवा ओइलाउनु र तानाशाही डायनोसर हुङ्कार गर्दै आउनु त्यत्तिकै भएको हुँदैन। सर्वसाधारणको कारणले कहींपनि लोकतन्त्रलाइ आघात परेको छैन। लोकतन्त्रको दुर्गतिको कारण शासक र नेताहरुको चरित्र र ब्यवहारमा खोज्दा भेटिन्छ। नेता र शासकहरु भित्र जब्बरसँग बसेको ढोंग, पाखण्ड, छलछाम र द्वैध चरित्रले जुन बिश्वासको सङ्कट उत्पन्न गरेको छ त्यही नै लोकतन्त्रको लागि प्रणघातक भेराखेको छ।
          नेपालका क्रान्ति र जनआन्दोलनको अन्तर्जीवनभित्र पसेर हेर्दा बाहिर त्यति ब्याख्या नगरिएका दुइटा जवर्जस्त तत्व फेला पर्छन्। नेपालका क्रान्ति र आन्दोलनहरु सवै प्रतिकृयात्मक छन्  र हरेक क्रान्ति र आन्दोलनले नायकसँगै खलनायकको विकास गरेको छ। ०७सालको क्रान्ति राणा शासनको बिरुद्धमा थियो, ०४६सालको आन्दोलन पञ्चायतबिरुद्ध र ०६२-०६३को आन्दोलन राजतन्त्रबिरुद्द थियो। रिएक्टिभ भएकोले जस्को बिरुद्ध आन्दोलन गरिएको हो त्यो ढल्नासाथ अभियानपनि सकिन्छ।  प्रोएक्टिभ आन्दोलन हुँदो हो त अवरोधको ढिस्को हटाउनासाथ लोकतान्त्रिक अभियान झन् जोडतोडसँग शुरु पो हुन्थ्यो। लोकतान्त्रिक मूल्य र संस्कारको विकास हुन्थ्यो। राज्य र जनजीवनसम्मै लोकतान्त्रिक संस्कृतिलाइ जीवनपद्धति बनाउने प्रयत्न हुन्थे। नेपालमा क्रान्ति र आन्दोलनले नायकसँगै खलनायकको विकास गरेको छ। ०७सालको क्रान्तिले वीपी कोइरालालाइ नायकको रुपमा र मातृका कोइरालालाइ खलनायकको रुपमा विकास गरेको देखियो। ०४६को जनआन्दोलनले गणेशमान सिंहलाइ नायकको रुपमा स्थापित गर् योभने गिरिजाप्रसाद कोइराला खलनायकको रुपमा देखिए। गिरिजाप्रसाद कोइरालाले अपनाउनुभएको गुटबन्दी, पक्षपात,अन्तर्घात, भ्रष्टाचार र सर्वसत्ताबाद नै ०४६को उपलब्धी नास्ने कारकतत्व बन्यो। ०६२-०६३को आन्दोलन कुनै एउटा पार्टीबिशेष वा सङ्गठनको संयोजन र अगुवाईमा नभएर स्वतस्फुर्त जनआन्दोलन भएकोले कुनै ब्यक्तिबिशेषलाइ नायकमा स्थापित गरेन, तर सवै एकसेएक खलनायक भएर देखा परे।
  नयाँ ब्यवस्था, संस्कृति र मूल्यको स्थापना कहीं कहिल्यैपनि औपचारिक निर्णय गरेर,माइन्युटिङ गरेर र आदेश-निर्देश गरेर भएको छैन। अगुवाहरुले आफैं नमूना बनेर देखाएपछि अरुले अनुशरण गरेर भएको छ। न्याय,बिवेक र उन्नत संस्कृतिको नमूना बन्नुपर्ने र राष्ट्रिय चरित्र निर्माणमा संयोजन गर्नुपर्ने राजनीतिक पार्टीहरु बिकृति र बिसङ्गतिको मुहान भएका छन्। यस्ले जनमानसमा बितृष्णा जगाएको छ र यस्को फाइदा गलत तत्वले लिन सक्ने सम्भावना प्रवल छ।        


No comments:

Post a Comment