यो पसारो,यो दुर्गति
-आनन्दराम पौडेल
anandarampaudel@yahoo.com
एकहप्ता अघि अप्पर कर्णाली जलबिद्युत परियोजनाको अफिसमा तोडफोड गरी आगो लगाइयो। यसअघि नै दोलखाको चर्नावती, सिन्धुपाल्चोकको हाँडीखोला र बरम्ची परियोजनाको अफिस तोडफोड भैसकेको थियो। नेपालको शासकीय राजनीतिक क्षितीजमा अबिश्वासका काला बादल मँडारिइरहेका छन्। अबिश्वासले अनास्था उत्पन्न गर्छ, अनास्थाले अराजकतामा पुर् याउँछ र अराजकताले भद्रगोलको भूमरीमा जाकिदिन्छ। अहिले देश अराजकताको कालो सुरुङमा प्रवेश गरेको छ। पार्टी-पार्टीको बीचमा, पार्टीभित्रको गुट-गुटमा, सत्तापक्ष र प्रतिपक्षमा र नेता र जनताको बीचमा अबिश्वासको खाडल निकै गहीरो छ। यस्को असरप्रभाव जनजीवनका हरेक पक्षमा परेको छ र विशेषगरी आर्थिक क्षेत्र त तहसनहस नै हुनलागेको छ। देशमा सरकार छैन,गुण्डाराज छ र लुटेरागुण्डाहरु पार्टीको संरक्षणमा छन्। गुण्डाको हैकम खपिनसक्नु भएर २बर्षअघि मेलम्चीले परियोजना नै बन्द गरेको थियो। त्यस्तै १०थरी समूहका ५०थरी रङ्गिबिरङ्गी माँग र दबाव थेग्न नसकेर चमेलिया जलबिद्युत आयोजना भर्खर १हप्ताअघि बन्द भयो। अरनिको राजमार्गमा खप्नुपरेको गुण्डाराजको कयसको ब्यथाकथा सुनाउन सिन्धुपाल्चोक उद्दोग बाणिज्य सङ्घले बैशाख १६गते धुलिखेलमा आयोजना गरेको गोष्ठीमा सङ्घका अर्जुन सापकोटाले भन्नुभयो, “ राजमार्गको, सकुटे,हनुमानथान, बन्देउ,बोर्डरल्याण्ड, ड्यामसाइड लगायत १०\११ठाउँमा गुण्डाहरुले कब्जा जमाएर बसेका हुन्छन्। प्रतिकार गर्ने त स्थिति नै छैन, थरहरी भएर बिनम्रतापुर्वक आज्ञापालन गर्नुपर्छ।काभ्रे जिल्ला प्रहरी कार्यालयमा निवेदन गर्न जाँदा उल्टै हप्किदप्कि खानुपर् यो।” सिन्धुपाल्चोक,काभ्रे र भक्तपुर तीनै जिल्लाका प्रहरी प्रशासनका प्रमुखसमेत् सहभागी भएका उक्त गोष्ठीमा अधिकांश ब्यवशायीले ती लुटेराहरु सवै पार्टीका भातृसङ्गठनमा भएका र गुण्डा र प्रहरीले उत्तिकै दु:ख दिएको खुलासा गरे।
पार्टी संरक्षित गुण्डा मात्रै हैन, नेतृत्व नै यहाँ गाँसिएर आएको छ। नेतृत्वले कस्तो संस्कृति निर्माण गर्दैछन् र कस्तो नयाँ नेपालको डिजाइन गरेका रहेछन् आज प्रष्ट हुँदै आएको छ। लोकतन्त्र आफैं सुन्दर हुने हैनरहेछ,सुन्दर बनाउनुपर्ने रहेछ। शिशु लोकतन्त्रलाइ गलत दिशामा लगियोभने तानाशाहीभन्दा भद्दा,पीडादायी र बोझीलो बन्न पुग्छ भनेर राजनीतिशास्त्री किफरले भनेका अभिब्यक्ति घामजतिकै सत्य रहेछ भनेर बारम्बार पुष्टी हुन्छ। राजनीतिक पार्टीहरुले कस्तो संस्कृति निर्माण गर्दैछन् भन्ने सम्बन्धमा उहाँहरु आफैंले स्वीकारेको दस्ताबेज हेरौं। नेकपा एमालेको छैठौं महाधिवेशनको पूर्वसन्ध्यामा तत्कालीन महासचिव माधवकुमार नेपालले केन्द्रीय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदनमा लेख्नुभएको छ, “भ्रष्टाचार गर्ने, आफ्नो हैसियतको दुरुपयोग गर्ने,सुविधाभोगी जीवनशैलीतर्फ आकर्षित हुने,सुखसुबिधा र मानसम्मानका निम्ति मरिमेट्ने प्रबृत्ति पार्टीभित्र हलक्कै बढेको छ। अराजकता,अनुशासनहीनता र उद्दण्डता ह्वात्तै उर्लेको छ। सङ्गठित र समूहगत रुपमै पार्टी अनुशासन र निर्णयको जताततै खिल्ली उडाइएको छ।” पार्टीभित्रका बिकृतिको फेहरिस्त लामो र डरलाग्दो छ। एनेकपा माओबादीको २०६७ पुस २१गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले पारीत गरेको दस्तावेजको पृष्ठ ५मा लेखिएको छ, “ पार्टीको माथिदेखि तलसम्म गुटबन्दी, अराजकता, अस्वस्थ प्रतिस्पर्धा र नोकरशाही प्रबृत्तिहरु मौलाउँदै गएका छन्। केही पदाधिकारी र टाठावाठाहरुको दिनदिनै वर्गउत्थान हुँदै जाने तथा कार्यकर्ताहरुको बिशाल पङ्क्ति बेरोजगारी, अभाव र उत्पीडनको सिकार बन्दै जाने गम्भीर स्थितिको विकास भएको छ। यतिमात्रै हैन,पार्टीमा आर्थिक अराजकता ब्याप्त छ र भ्रष्टाचार,तस्करी र जबर्जस्ती प्रबृत्तिका भयानक विकृतिहरुले टाउको उठाइरहेछन्।” यहाँपनि विकृतिका फेहरिस्त उत्तिकै लामो र डरलाग्दो छ। रमाइलो केछभने नेकपा एमालेले छैठौं महाधिवेशनअघि डाइग्नोसिस गरेका बिकृतिहरु र एनेकपा माओवादीले अहिले गरेको डाइग्नोसिसमा तात्विक भिन्नता छैन। के यी बिकृति नेपथ्यबाट एक्कासी प्रकट भएका हुन् र ? यी बिकृतिका श्रोत खोज्दै जाँदा नेतृत्वमै पुगिन्न र ? नेतृत्वका छलछाम, जवाफदेहिता र दायित्वबोधको अभाव र द्वैधचरित्र यस्का कारकतत्व हैनन् र ? नेतृत्वले प्रश्नको सामना गरेन। कित छल्यो,नभए दरिमुनी लुकायो। नेतृत्वले कहिल्यै रोगको उपचार गर्न चाहेन, लक्षणको मात्र उपचार गरेर बस्यो। अगाडी आएका समस्यालाइ केवल टार्दै र टाल्दै गयो। जनताका समस्यालाइ टार्दै कार्यकर्ताको आवरणमा रहेका अपराधीहरुको संरक्षणचाहीं कस्सिएर गर् यो। जब समस्यालाइ टार्दै र टाल्दै लगिन्छ तव ती थेग्रिएर रहन्छन् र पछि एक्कैचोटि बिस्फोटक भएर देखा पर्छन्। अप्परकर्णालीको मात्रै हैन मेलम्चीको स्थितिपनि त्यस्तै छ। सम्बोधन नगरिएका समस्याहरु थेग्रिएर रहेका छन्। टेलिकम पूर्वाधार प्रयोगमा निजी कम्पनीहरुलाइ ठाडै पक्षपात गरिएको गुनासो नेपाल स्याटेलाइट टेलिकमले गर्दैथियो। एकातिर अप्टीकल फाइवर अधिकांश खाली नै राख्ने तर हामीलाइ प्रयोग गर्न नदिने, यो कस्तो नीति हो ? उहाँहरुले उठाएको प्रश्न थियो।
१बर्षजति अघि अस्ट्रेलियामा ब्यवशाय गरी बसेका शेष घलेले ५अरब खर्च गरी पाँचतारे होटलसहितको मल्टिप्लेक्स बनाउने घोषणा गरेका थिए। ज्योति समूहले आधुनिक सुविधासम्पन्न ठूलै अस्पताल बनाउने योजना बनाएको थियो। काठमाडौंको बिजनेस समूहले चितवनमा ५तारे होटल बनाउने तैयारी गरिसकेको थियो।ती सबै र गोल्छा,खेतान र चौधरी समूहहरु पनि अहिले लगानी गर्न हच्केका छन्। नेपालमा लगानीमैत्री बातावरण नभएपछि एउटा समूहले थाइल्याण्डमा ३५अरब र भारतमा ८अरब लगानी गर्न लागेको खवर आएको थियो। लगानीकर्ताले जहिलेपनि आफ्नो लगानीको सुरक्षा र प्रतिफलको सम्भावनालाइ मध्यनजर राखेको हुन्छ। पार्टीसंरक्षित अपराधी,गुण्डा र लुटेराबाटै ज्यानधनमा सधैं थ्रेट भैरहने मुलुकमा कुन मुर्ख लगानी गर्न अघि सर्छ ?
पार्टीका भातृ सङ्गठनमा आबद्ध गुण्डा र लुटेराहरु मात्रै हैनन्, सरकारकै ब्यवहारपनि लगानीमैत्री छैन। युनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले पत्रकार सम्मेलन गरी ओकलेका पीडा सुन्दापनि ब्यवशायीको कर्कामर्कालाइ सरकारले ध्यान नदिएको महसुस हुन्छ। उस्को भनाइअनुसार सधैंको बन्द,हडताल, नेपाल टेलिकमको असहयोग र बिभिन्न बाधाअवरोधले कम्पनि निरन्तर घाटामै भएपनि नेपाल सरकारले मार्च २००६ मा गरेको निर्णयलाइ शिरोपर गरेर रोयल्टी बुझाउँदै आएको हो। यो प्रतिकूल परिस्थितिमा धन्न टिकीरहेछन् भनेर हामीले सामना गरेका अप्ठेरालाइ समेत् बिचार गरिदिनु पर्नेमा राजस्व छल्न र ढाँट्न खोजेको वा बहानावाजी गरेको होकि भनेझैं गरी उल्टै हामीमाथि अनेकौं लाञ्छना लगाउन खोजियो, त्यस्ले निकै चोट पुर् याएको छ भनेर आफ्नो पीडा ब्यक्त गर्दैथिए।
पश्चिम बङ्गालमा ३४बर्षअघि माकपा सरकारले लागू गरेका भूमिसुधार,शिक्षा र स्वास्थ्यका कार्यक्रमहरुको बिश्वले नै प्रशंसा गरेको थियो।त्यही कार्यकै ब्याजमा ३४बर्षसम्म शासन गरेको पनि हो। तर, सँगसँगै उद्योगी- ब्यवशायीहरुलाइ दु;ख दिने,सताउने र हैरान गर्न थालेपछि लगानीकर्ताहरू हच्के र उद्योगी-ब्यवशायीहरु बाहिरिन थाले। वेरोजगारी खपिनसक्नु बढ्यो र बङ्गालको राष्ट्रिय आय स्वाट्टै घट्यो।बङ्गाल बिस्तारै दरिद्र,कङ्गाल राष्ट्रमा रुपान्तर हुन थाल्यो।जनता चिढिए र यस्पाली बिधानसभा निर्वाचनमा त्यो आक्रोशको अभिब्यक्ति दिए।
बुद्धिमानले अरुको अनुभवबाट सिक्छ, औसत ब्यक्तिले आफ्नै अनुभवबाट सिक्छ तर मुर्खले कुनै अनुभवबाट पनि सिक्दैन। हामी अलिकति बुद्धिमान हुने होभने पश्चिम बङ्गालको नकारात्मक र नितीशकुमारको सकारात्मक अनुभवबाट पाठ सिक्न सक्छौं, हैन हामीलाइ यही दुर्गति र पसारो नै प्रिय छभने बिश्वका कुनै अनुभवपनि काम लाग्दैनन्।
No comments:
Post a Comment