रामदेवको गर्जन सुनेर
आनन्दराम पौडेल / anandarampaudel@yahoo.com
भारतमा स्वामी रामदेव भ्रष्टाचारबिरुद्ध युद्ध गर्न मैदानमै उत्रिनुभयो। भ्रष्टाचारबिरुद्ध उहाँको गर्जन ८\९महिना अघिदेखि नै थियो। झण्डै करोडजति भारतीयहरु यो अभियानमा सहभागी हुनेछन् भनेर अनुमान गरिएको छ। रामदेवको सत्याग्रहमा जनसहभागिता ब्यापक हुनसक्ने सम्भावना देखेर सरकार तर्सिएको छ। त्यसो त, ३९अरब डलरको टेलिकम (स्प्रेक्टम) काण्ड लगायत धेरै ठूला भ्रष्टाचारका काण्डहरु धमाधम पर्दाफास हुन थालेपछि सरकारको मनोवलको ग्राफ स्वाट्टै गिरेको थियो। यही मनोवल गिरेकै कारणले पनि हुन सक्छ, गत अप्रिलमा अन्ना हजारेले भ्रष्टाचारकै बिषयमा अनसन बस्दा सरकार अत्यन्तै बिनीत मुद्रामा प्रस्तुत मात्रै भएन, सवै माँग पुरा गर् यो। अहिले रामदेवलाइ मनाउनका लागि पनि सरकारले त्यतिकै कसरत गरिरहेको छ। संख्याको हिसावले रामदेवको यो अभियानमा जनसहभागिता अत्यन्तै ब्यापक हुने देखिएपनि उच्च बौद्धिक समुदायले जसरी अन्ना हजारेलाइ समर्थन गरे, त्यो समर्थन रामदेवलाइ प्राप्त भएन। यो मुद्दामा अन्ना हजारे र रामदेव कहाँनिर फरक देखिएभने अन्ना हजारेले एउटै मात्र मुद्दा उठाए र त्यसैमा केन्द्रित रहे, तर रामदेव भ्रष्टाचारमा मात्र केन्द्रित भएनन्,अरु १०थरी मुद्दापनि सँगसँगै उठाए। उनका १०गोटा मुद्दामध्ये सम्पूर्ण शिक्षादिक्षा,पठनपाठनको ब्यवस्था हिन्दी भाषामै हुनुपर्छ भन्ने माँगपनि छ। यो जमानामा, अङ्ग्रेजी कमजोर भएकाहरुको लागि अवसर,सम्भावना र बिकल्प न्यून हुँदै गएको स्थितिमा यो माँग कत्तिको ब्यवहारिक र जायज ठहर्ला ? धेरै भावुक भएर र भावनामा बगेर मात्र त ब्यवहार चल्दैन। यस्ता अब्यवहारिक माँगका कारणले पनि उच्च बौद्धिक वर्ग यो अभियानबाट टाढै रहेको हुनसक्छ। यस्ता रङ्गबिरङ्गी र अब्यवहारिक माँगको थुप्रो हेर्दा रामदेव अलि बढी महत्वाकांक्षी हुँदै गएका हुन् कि भनेर निस्कर्ष निकाल्न सकिन्छ। सन २०१४मा पार्टी खोल्छु भन्ने उद्घोषले पनि यस्लाइ पुष्टि गर्छ।
छिमेकी मुलुक भारतमा भएको भ्रष्टाचार बिरुद्धका अभियानहरु बाट नेपालका चेतनशील वर्ग आकर्षित भएका छन्। भारतमा एउटा ७३बर्षका बृद्ध अन्ना हजारेले भ्रष्टाचारविरुद्ध ऊभिएर सरकारलाइ झुकाएभने नेपालमा पनि अन्ना हजारेको खोजी गर्नुपर् यो भन्नेहरु यो पङ्क्तिकारले धेरै भेटेको छ। भारतमा अन्ना हजारेले कुनै ठूलो माँग राखेर अनसनमा उत्रिएका थिएनन्। भ्रष्टाचार नियन्त्रणका लागि लोकसभामा पेश हुनलागेको विधेयक फितलो भयो,प्रभावकारी हुनुपर् यो भन्नेमात्र उहाँको माँग थियो।
भ्रष्टाचार नियन्त्रणका लागि ऐननियम मात्रै कडा भएर नपुग्ने रहेछ, सँगसँगै यस्का अन्य पक्षहरुपनि त्यत्तिकै प्रभावकारी र कृयाशील हुनुपर्दोरहेछ भनेर हाम्रा आफ्नै अनुभवले हामीलाइ बताइरहेछन्। ऐनकानुन मात्रै कडा बनाएर हुनेभए नेपालमा अस्तिनै भ्रष्टाचार नियन्त्रण भैसक्नुपर्थ्यो। भारतमा भर्खर लोकपाल बिधेयक बन्दैछ, तर नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बैधानिक हैसियतमा छ र २०५९ सालको कानुनले पर्याप्त अधिकारपनि प्रदान गरेको छ। भ्रष्टाचार नियन्त्रणको लागि यत्रो ब्यवस्था भएको नेपालमा ट्रान्स्पेरेन्सी इन्टरनेशनल र अन्य अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदन अनुसार भ्रष्टाचार झन्-झन् कहालिलाग्दो भएर बढेको छ। कीर्तिमान कायम गर्दै अहिले नेपाल संसारकै भ्रष्ट मुलुकमध्ये एक र दक्षिण एशियाको सर्वाधिक भ्रष्ट मुलुक बन्न पुगेको छ। सन २००८सम्म भ्रष्टाचारमा क्रमिक विकास गर्दै १२१औं स्तरमा पुगेको नेपाल २००९मा छलाङ मारेर १४३औं स्थान ओगट्न पुगेको छ। भारतमा प्रधानमन्त्री कार्यालय अन्तर्गत राखिएको बिभागस्तरको अड्डा सिविआइले भ्रष्टाचार नियन्त्रणका चुनौतिपूर्ण कार्य गर्न सकेको,तर नेपालमा सम्वैधानिक आयोगले केहि गर्न नसकेको स्थितिको तुलना गर्दा कानुनी ब्यवस्था मात्रैले नपुग्ने रहेछ भन्ने पुष्टी हुन्छ।
नेपालमा अन्ना हजारेको खोजी गरौं भन्ने साथिहरुको प्रस्तावमा घोत्लिंदा नेपालमा साँच्चै अन्ना हजारेको खोजी भैरहेको होत भनेर हामीले आफैंसँग प्रश्न गर्नुपर्ने हुन्छ। १३महिना मात्र प्रधानन्यायाधीश भएका रामप्रसाद श्रेष्ठलाइ ३महिना त प्रेमबहादुर सिंहले अनेकौं ढिस्का उभ्याएर र खाल्डाहरु खनेर अवरुद्ध पारे। त्यस्को बावजुद बाँकि १०महिनामा उनले जेजति गरे त्योभनेको रोगी ब्यवस्थाको अपरेशन नै हो। उनले आफैंभित्रबाट अर्थात् न्यायपालिकाभित्रैबाट अपरेशन शुरु गरेर अख्तियारलाइ समेत् उपचार गर्न भ्याए। उनले ठूलै आँट र हिम्मत गरेका हुन्। तर, उनलाइ साथ दिन यहाँ कतिजना निस्के त ? स्थिति कस्तोसम्म देखियोभने उनले फटाफट काम गर्दै गए,तर ब्यवस्थापिका-संसदमा आइपुगेको रणबहादुर वमको एउटा फाइललाइ छुने हिम्मत राजनीतिक नेताहरुले गरेनन् । अमेरिकामा वसेका नेपालीहरुले २०४८ सालमै राजपरिवारले बिदेशी बैंकमा लुकाएर राखेको धन खोतल्ने निर्णय गरेका थिए। नेपाल सरकारको सहयोग चाहिने भएकोले नेपाल आएर गिरिजालाइ भेटेका पनि हुन्। गिरिजाकै अनिच्छाका कारण त्यो अगाडी बढेन। दरबार हत्याकाण्डको पर्सिपल्ट अर्थात् २१जेठ २०५८मा लण्डनबाट प्रकाशित हुने “दि टेलिग्राफ”ले रानी ऐश्वर्यले स्वीट्जरल्याण्डका ब्याङ्कहरुमा १३अरव स्टर्लीङ्गपाउण्ड जम्मा गरेकी छिन् भनेर लेखेको थियो। त्यस्को खोजविन होस् भनेर कसैले आवाज निकालेन। बरु भर्खर ३महिनाअगाडी नेपाल ट्रष्टको पहलमा राष्ट्र बैंकले पत्राचार गरेको छ’रे भन्ने सुनिएको छ। बिशेष अदालतका न्यायाधीशहरु भूपध्वज अधिकारी,कोमलनाथ शर्मा र चोलेन्द्र राणाले नेपालका ढाडी भ्रष्टाचारीहरुलाइ चोख्याउन गहुँत र तिलानीको जल छर्किरहँदा त्यस्को बिरोधमा सिस्नुपानी नेपालबाहेक कुनै नेपाली सपुतले मुख खोलेन। यहाँ एउटा प्रश्न खडा भएको छ, के नेपालीहरु भ्रष्टाचारको बिरुद्धमा छन् ? भ्रष्टाचारीलाइ घृणा गर्छन् ? भ्रष्टाचारबिरुद्ध जनमत तैयार भैसकेको छैनभने स्वयं अन्ना हजारे नै खडा भएपनि र रामदेवको गर्जनमा पनि साथ दिने जनता हुने छैनन्।
अन्ना हजारेको खोजी गर्नेहरुले नेपालमा भ्रष्टाचारलाइ संस्थागत गरिएको र सामाजिक स्वीकृति मिलेको बिषयलाइ बुझ्नुपर्छ। मेरो गाउँबस्तीमा भ्रष्टाचारीले क्लवलाइ चन्दा दिन्छ,हामी उस्लाइ प्रमुख अतिथि बनाएर शीर्षासनमा राख्छौं। उस्ले पुरस्कार कोष स्थापना गर्छ,हामी पुरस्कार थाप्न कुद्छौं। पब्लिक कन्ज्युमका लागि भ्रष्टाचारबिरुद्ध बोल्छौं र लेख्छौं तर आफ्नी छोरीको बिवाह गर्नका लागि पाएसम्म गोविन्दराज जोशीकै छोरालाइ रोज्छौं। सभामा भ्रष्टाचारको बिरुद्ध भाषण छाँट्छौं, तर छोरा,भतिजा, भाञ्जा र ज्वाईंलाइ भन्सार,कर र मालपोतमा पठाउन सोर्सफोर्स लगाउँदै हिंड्छौं। ठाउँमै पुगेरपनि कमाउन नसक्नेलाइ हुतिहारा,नामर्दको संज्ञाले बिभूषित गर्छौ। जुन देशका राजनीतिक पार्टीहरु जवर्जस्ती असुलीको भरमा सञ्चालित छन् र हिसाव पारदर्शी छैन, त्यो देशमा अन्ना हजारेको खोजी भएको होला भनेर कसरी पत्याउनु ? जुन देशमा मूल्य निख्रिसकेको छ र नैतिकता हराइसकेको छ,त्यहाँ अन्ना हजारे जन्मेछन् भनेपनि त्यस्लाइ अनौठो जीव ठानेर अजायवघरमा राख्नेछन्।
सामान्यतया हामीहरू केही ब्यक्तिले भ्रष्टाचार गरे,अवैध कमाइ गरे त्यत्तिन हो भन्छौं र भ्रष्टाचारलाइ सामान्यिकरण गर्छौं, तर यस्को चेनरियाक्शन र यस्ले पार्ने गम्भीर असरप्रभावको बिषयमा ख्याल गर्दैनौं। रातारात धनी बन्न पुगेकाहरुको सफलताको रहस्य कोट्याउँदैनौं। प्रसिद्ध आख्यानकार बाल्जाकले “दि रेड इन” नामक कथा र “ला मैजों नुसिंजेन” नामक उपन्यासमा पूँजीवादी समाजमा अवैध माध्यम नअपनाई र नैतिकता र नीतिशास्त्रका मानकहरु नकुल्चिई कोहीपनि रातारात धनी हुन सक्दैन भनेर दावाकासाथ ठोकुवा गरेका छन् । भ्रष्टाचारले ब्ल्याकमनि थुपार्छ। राष्ट्रिय आयमा बेइमानले कब्जा जमाउँछन् र इमान्दारको हिस्सा न्यून हुन्छ। राष्ट्रिय पूँजी निर्माण असम्भव हुन पुग्छ। बितरण अस्वाभाविक र असन्तुलित बन्दै जान्छ। राष्ट्रिय आयको अधिकांश हिस्सा छट्टु र धूर्तहरुको हातमा पुग्छ। यस्तो कमाईलाइ वैध कारोवारमा लगाउन नसकिने भएकोले अवैध धन्दा ह्वात्तै बढ्छ। आर्थिक जीवनको हर क्षेत्रमा तस्कर,माफीया र डनहरुको हालिमुहाली मात्रै हुँदैन उनीहरुकै जवर्जस्तीको समानान्तर सत्ता कायम हुन्छ। राष्ट्रिय सुरक्षामा आँच आउँछ। अवैध आयलाइ उरलधुरल खर्चिने भएकोले उपभोक्तावादी संस्कृति ब्याप्त हुन्छ। अर्थतन्त्र चौपट् हुन्छ। आर्थिक बिषमताको खाल्डो गहिरिंदै जान्छ। राष्ट्रिय चरित्रको पतन हुन्छ र राष्ट्रिय स्वाभिमान मलिन हुन्छ। धनलाइ जीवनको मापदण्ड बनाएपछि जीवनका सार्थकता, सभ्यता,संस्कृति,मूल्य र मान्यता किनारा लाग्छन्।
सदाचारीहरुको खोजी र सम्मान गर्नुपनि भ्रष्टाचार नियन्त्रणको अर्को पाटो हो। मरुभूमिमा एक ग्लास पानी भेटिएसरी सिला खोज्दा भेटिएका सदाचारीलाइ समाजले खोजखवर लिएको देखिंदैन। राजनीतिक पार्टीहरुले एउटा आस्था र निष्ठामा अडीग रहेर जीवनभर संघर्ष गरेका दिगेन्द्र राजवंशी र दयाशङ्कर मुन्शी(नेकाका संस्थापक)हरुलाइ जीवनको अन्तिमसम्म किनारा लगाएरै राखेका, शिवप्रसाद कङ्गालहरुलाइ अझै कुनातिरै फालिराखेका, तर २०\२५लाख चन्दा दिएबापत डिबि लामाहरुलाइ शीर्षासनमा राखेका दृश्यहरुपनि हामीले देखेकै छौं। खोजी गर्ने होभने नेपालमा अन्ना हजारेहरु प्रसस्त फेला पर्छन् र रामदेवकै जस्तो आवाजपनि गुञ्जन सक्छ तर किनारा लगाइएका छन्,त्यत्ति हो।
No comments:
Post a Comment