Pages

Sunday, December 4, 2011

राष्ट्रिय कीर्तिमान


राष्ट्रको  कीर्तिमान
              -आनन्दराम पौडेल
               anandarampaudel@yahoo.com 
   सधैं पतन र दुर्दशाको मात्रै खवर सुनिरहेका नेपालीले अस्ति बिहिवार प्रगतिको खवर सुने। नेपालले भ्रष्टाचारमा यति प्रगति गरेछकि मेरिट लिष्टमै नाम चढेछ। ट्रान्सपरेन्सी इण्टर्नेशनलको प्रतिवेदन अनुसार भ्रष्टाचारमा प्रगति गर्दै २बर्षअघि नेपाल १२२औं नम्बरमा पुगेको थियो। पोहोर छलाङ मारेर १४६नम्बरमा उक्लन सफल भयो। यस्पालीपनि अग्रगतिमै रहेछ, १५४नम्बरमा पुग्यो। अव नेपालले एशियामा अफगानिस्तान र म्यान्मारलाइ तथा विश्वमा सोमालिया र उत्तर कोरियालाइ उछिन्न मात्र वाँकि छ। यति भएपछि नेपाल विश्वमै भ्रष्टाचारमा १नम्बर मुलुक ठहरिने छ। भूटान सानो मुलुक भएकोले होला दक्षिणएशियामै न्यून भ्रष्टाचारी मुलुकमा पर्न गएछ। भ्रष्टाचार गर्न नजानेकाले वा भ्रष्टाचारको स्वाद नचाखेकाले न्युजिल्याण्ड,डेनमार्क र फिनल्याण्ड भ्रष्टाचार गर्न नजान्ने,नसक्ने वा करिव-करिव भ्रष्टाचारै नहुने मुलुकमा पर्न गएछन्।
    यो उपलब्धी त्यत्तिकै हाँसील भएकोचाहीं हैन। यस्को लागि महेन्द्र यादव लगायत धेरै नेताहरु र उच्च पदाधिकारीहरुको मिहेनतपरिश्रम परेको छ। र भर्खर ३\४बर्ष यताको मात्र अभियानबाट यो सम्भव भएको हैन। २हप्ताअघि आरएनएसीको जहाजबाट ईञ्जीनका अति मूल्यवान पार्टहरु दिनदहाडै निकालेर वेचेको खवर सुन्नुभयो होला। यो समाचार पढेर तपाईं स्तब्ध हुनुभएको थियोभने तपाईंसँग सिलसिलावद्ध जानकारी रहेनछ भन्नुपर्ने हुन्छ। यो त २०५०साल वैशाख १२गतेबाट शुरु भएको श्रृङ्खलाको पछिल्लो कडी मात्रै हो। त्यही दिन हो,मरम्मत गर्ने वहाना गरेर वोईङ्ग७२७ विमानलाइ फ्राङ्कफर्ट लगियो र त्यहाँ मरम्मत हुन सकेन भन्ने निहुँ पारेर कवाडीको दाममा फालियो। त्यही साल पुष ९गते अर्को बोईङ ७२७ नाइन एनएबीएनलाइ त्यसैगरी कवाडी मूल्यमा वेचियो। यस्बाट एक्कैचोटि दुइटा उद्देश्य पूरा भयो। एउटा, जहाजलाइ  कवाडी मोलमा वेचियो भनेर थोरै दाखिला गरी ठूलै रकम कुम्ल्याउन पाइयोभने अर्कोचाहीं जेट विमानको जरुरत देखाएर जहाज भाडामा लिन पाइयो। जहाज भाडामा लिंदा झन् हाक्काहाक्की कमिशन खाइने भयो, डब्वल मजा भनेकै यही हो। ती कवाडी मोलमा वेचिएका जहाजहरु कतिसम्म कण्डिशनमा रहेछन् भने त्यस्को सात\साढेसात बर्षपछि पनि उक्त जहाज खरिद गर्ने सी ग्रीन कम्पनिले उडाइरहेको रहेछ भनेर इण्टर्नेटमा हेर्न पाइन्थ्यो। लाउडा एयर र चाइना सउथवेष्ट एयरलान्सका जहाज भाडामा लिने प्रकरणहरु यही सिलसिलाका थप कडी थिए। वढिमा ३बर्षका लागि करिव २५० सिट भएको वाइड वडीको बोईङ ७६७-२०० इआर विमान ड्राई लिजमा लिनका लागि आरएनएसीले २५जनवरी १९९९मा ग्लोवल टेण्डर आव्हान गरेको थियो। टेण्डरको मिति सकिएपछि चाइना साउथवेष्ट एयरलाइन्सका दलालसँग सम्पर्क हुन पुग्यो। यो एयरलाइन्सका दलालले निकै ठूलो आकर्षक रकम(कमिशन वापत मात्रै प्रतिघण्टा ३०० डलर) अफर ग-यो। तर, यो एयरलाइन्सले टेण्डर प्रतिस्पर्धामा भाग लिएकै थिएन। कुनै सिल्डकोटेशन मागिएन,कुनै वोलपत्र प्रतिस्पर्धा गराइएन। ग्लोवल टेण्डर वाइड वडी भएको विमानका लागि गरिएको थियो। टेण्डरका शर्तविपरित यो एयरलाइन्ससँग १९० सीटभन्दा कमको न्यारो वडीको विमानका लागि वेट लिजमा सम्झौता गरियो। विधिवत आव्हान गरिएको ग्लोवल टेण्डर रद्द नगरिकनै, नेपथ्यबाटै र ठाडठाडै चाइना साउथवेष्टसँग सम्झौता गरियो। त्यसपछि तुर्कमिनिस्तान एयरलाइन्ससँग पनि त्यसैगरी ठाडठाडै सम्झौता गरी विमान भाडामा लिइयो। लाउडा एयर,धमिजा प्रकरणहरु हुँदै आरएनएसी यो हालतमा आइपुगेको हो।
  नेपाललाइ भ्रष्टाचारको यो कीर्तिमानमा पु-याउन विगत दिनमा रविन्द्रनाथ शर्मा,खुमबहादुर खँड्का,गोविन्दराज जोशी,जयप्रकाश आनन्द गुप्ता,प्रदीपमशेर राणा, चक्रवन्धु अर्याल,मोतिलाल वोहोरा,गोकर्ण पौडेल,केशरजङ्ग खँड्का, रामाज्ञा चतुर्वेदी,आनन्द खनाल,अच्युतकृष्ण खरेल,ईश्वर पोखरेल,पदमप्रसाद पोखरेल लगायत धेरै उच्च पदाधिकारीहरुले गर्नुभएको अथक प्रयत्नलाइ हामीले भुल्नुहुँदैन। हाम्रा महान अगुवाहरुको गौरवशाली योगदानको कदर गर्दै अहिलेसम्म हाम्रा पदाधिकारीहरुले यो अनुष्ठानलाइ निरन्तर अगाडी बढाइरहनुभएको छ। सिंचाई मन्त्री महेन्द्र यादवले सवै योजनाप्रमुखसँग डेढदुई पर्सेण्ट उठाइरहनुभएको छ,त्यो यही अभियान अन्तर्गत भैरहेको भनेर वुझ्नुपर्छ। केसी थरका ईञ्जिनीयरले जुन बवाल गर्न खोजे, त्योचाहीं यो महान अभियानलाइ नवुझेर गरेका हुन्। आरएनएसीका पदाधिकारीले जहाजका ईञ्जिनका मूल्यवान पार्टपुर्जाहरु जुन वेचिरहेछन्, त्यस्ले पनि राष्ट्रिय कीर्तिमान वढाउन मद्दत पु-याएको छ। अझैपनि केही अवुझ पदाधिकारीहरु छन् जस्को कर्म,ब्यवहार र चरित्र भ्रष्टाचारमैत्री छैन। राष्ट्रिय कीर्तिमानमा वाधक देखिएका एसपी रमेश खरेल जस्ता ब्यक्तिहरुले सँगै काम गर्ने वीरगञ्जका सरकारी वकील श्री ओमप्रसाद अर्यालबाट छिटै सिक्नुहुनेछ र आफूलाइ सुधार्नुहुनेछ भनेर हामीले आशा राखेका छौं। प्रभु साहलाइ हत्याको अभियोगबाट जोगाउन ओमप्रसाद अर्यालजीले पेशागत मर्यादा र मूल्यलाइ जसरी धुजाधुजा पार्न सक्नुभो र दाउपेच चलाउनुभो त्यो कौशलता रमेश खरेलजीले सिक्न जरुरी देखियो। त्यसो त विगतमा पनि रमेश खरेल जस्ता अवुझहरु नभएका हैनन्,जस्ले भ्रष्टाचारको कीर्तिमान वढाउन वाधा पु-याएका थिए। रामहरि जोशी,भीमवहादुर तामाङ,नरहरि आचार्य,प्रदीप ज्ञवाली,युवराज पाण्डे, रामप्रसाद श्रेष्ठ(प्रधानन्यायाधीश), गोकर्ण विष्टहरुले वाधा नपु-याएका भए आज नेपालले दक्षिण एशियामा अफगानिस्तानलाइ उहिल्यै उछिनिसक्थ्यो र यस्पालि सोमालियालाइ उछिनेर विश्वमै १नम्बर भैसकेको हुन्थ्यो।
  सार्वजनिक लेखा समितिले यही भदौ महिनामा सभामुख समक्ष वुझाएको प्रतिवेदनमा शिक्षा मन्त्रीले भ्रष्टाचारी जिशिअलाइ संरक्षण गरेकोमा आपत्ति जनाएको छ। शिक्षा मन्त्रीले भ्रष्टाचारलाइ प्रोत्साहन गरेकै कारणले तराईका जिल्लाहरुमा (पार्टीसंरक्षित) माफियाहरुले नै राहत र पिसिएफ कोटा वाँड्छन् भनेर प्रतिवेदनमा उल्लेख गरेको छ। वारा,पर्सा,सिराहा र महोत्तरीमा त विद्यार्थी नै नभएका विद्यालयमा पैसा खाएर कोटा वितरण गरिएको प्रमाण देखाइएको छ। शिक्षामन्त्रीकै चासो,पहल र अग्रसरतामा जथाभावी दरवन्दी वितरण भैरहेका तथ्यहरु छर्लङ्ग पारेको छ। नेपाललाइ भ्रष्टाचारको शिखरमा पु-याउने अभियानमा यो सार्वजनिक लेखा समिति पनि भिलेन वनेर खडा भएको छ। सुडानको डाफरमा पठाउन एपिसी खरिद गर्दा भित्रभित्रै मिलाएर गरिएका भ्रष्टाचारलाइ यस्ले उधिनिउधिनि ननिकालेको भएपनि ट्रान्सपेरेन्सी इण्टरनेशनलको प्रतिवेदनमा नेपालको स्तरवृद्धि भैसकेको हुन्थ्यो।
 सालेस भिलेन भएपनि अधिकांश निकाय,पदाधिकारी र सङ्घसङ्गठनहरुले कीर्तिमान वढाउन भरमग्दुर प्रयास गरेका छन्। आयल निगमका पूर्व कार्यकारी निर्देशक दिगम्बर झालाइ मान्नुपर्छ जस्ले पार्टीका कार्यकर्तालाइ दिनदिनै तेल वाँडेर र (निगमलाई आवश्यक नभएपनि) तोकआदेशमा (कामनकाजका र अयोग्य) अढाइशय कर्मचारी भर्ना गरेर कीर्तिमान वढाउन सघाए। राजेन्द्र महतोलाइ रिझाउने अर्जुन उप्रेती जस्ता ब्यक्तिलाइ गाडि नै दिने,मन्त्रीलाइ मनमागी तेल दिने जस्ता कामहरु सवै गरिदिनुभएकोले उहाँ चर्चायोग्य हुनुभयो। आयल निगमकै एकजना कर्मचारी अर्जुन राईजीका अनुसार रक्सौलबाट तेल नउठाइ वरौनीबाट तेल ल्याउँदा भाडामा मात्रै प्रति लिटर १रूपैयाँ १३पैसा र मासिक २करोड ८६लाख घाटा परिरहेछ।   भारतीय आयल निगमले वरौनीको सट्टा रक्सौलबाटै तेल उठाउन वारम्वार आग्रह गर्दागर्दै पनि यत्रो घाटा खाएर वरौनीबाटै तेल ल्याउनाको कारण छर्लङ्ग छ। यो नेपाललाइ भ्रष्टाचारको कीर्तिमानमा पु-याउनका लागि गरिएको सहयोग हो,जुन अर्जुन राईजीहरुले वुझ्न सक्नुभएन।
  भ्रष्टाचारको कीर्तिमान वढाउन अख्तियार आफैंले पनि योगदान पु-याएको हो। अख्तियारका कार्यवाहक आयुक्त ललितबहादुर लिम्बू र आयुक्त वेदप्रसाद शिवाकोटीले पदावधी सकिनुभन्दा ३दिन अघि (२०६६\९\१७गते) सचिव भगवतीप्रसाद काफ्ले,सहन्याधिवक्ता खगराज पौडेल र शाखा अधिकृत गोविन्द अधिकारीको सहयोग लिई काठमाडौं वुद्धनगर स्थित युएन पार्कको २रोपनी ३आना जग्गा केही ब्यक्तिका नाममा गर्न मालपोत कार्यालयलाइ सुटुक्क आदेश दिए। सुटुक्क गरिएको हुनाले यो एउटा निर्णय कम्प्युटरमा राखिएन।
  जे होस्, नेपाल राष्ट्रलाइ भ्रष्टाचारको शिखरमा पु-याएर कीर्तिमान दिलाउन नेपाल आमाका यी सपुतहरुले दिलोज्यान अर्पण गर्नुभएको छ,उहाँहरु वन्दनीय हुनुहुन्छ।
Saturday, 3 December 2011  

      

No comments:

Post a Comment