Pages

Sunday, February 12, 2012

घातक रोगमा लक्षणको उपचार।


घातक रोगमा लक्षणको उपचार
                       -आनन्दराम पौडेल
                        anandarampaudel@yahoo.com
      माघ २३ र२४ गते भएको युवा सङ्घ,नेपालको केन्द्रीय समितिको वैठकमा नेकपा एमालेले राज्य पुर्संरचना बिषयमा प्रष्ट नीति लिन नसकेको भनेर सवैले चिन्ता व्यक्त गरेछन्। राज्य पुनर्संरचना आयोगमा नेकपा एमालेले पठाएको एकजना प्रतिनिधिले त यति अमूर्त,अप्रष्ट र अलमल धारणा राख्थे कि उन्ले खासमा के भन्न खोजेका हुन् त्यो वुझ्न अर्को बिशेषज्ञ राख्नुपर्ला जस्तो हुन्थ्यो भनेर आयोगका वाँकि सदस्यले भन्थे। अढाई बर्ष अघि कस्तो दृश्य देख्नुपर्थ्यो भने नेकपा एमालेको केन्द्रीय कमिटिका ९०प्रतिशत सदस्यहरु जातीय राज्य हुनुहुँदैन भनेर प्रशिक्षण दिंदै हिंडिरहेका भेटिन्थे भने एमालेको आधिकारिक धारणा भनेर मङ्गलसिद्धि मानन्धर,पृथ्बि सुब्वा गुरुङहरुले जातीय राज्यको खाका पेश गरिरहेका थिए। “आफ्नै पार्टी भनेर के गर्नु,राज्य संरचनाको बिषयमा पार्टीले धारणा प्रष्ट नपारेपछि जनताको माझमा हामीले के वोल्ने ?” २५ गते पत्रकार सम्मेलनमा महेश बस्नेतले भने। अप्रष्टता र अलमल नेकपा एमालेको पहिचान बन्दैगएको छ। चुनावी घोषणापत्र मार्फत् व्यापक जनतामा पु-याइएको जननिर्वाचित प्रधानमन्त्रीको प्रस्ताव सम्बिधानसभाको शासकीय स्वरुप निर्धारण समितिमा एमालेले दह्रोसँग राख्न सकेन। नरहरि आचार्य,प्रदिप गिरी लगायत नेपाली कांग्रेसका १५\१६जना सभासदहरुले खुलेर सपोर्ट गर्दासमेत् एमालेले खुट्टा कमाइरह्यो।
   विचार निख्रिंदै गएपछि दृष्टिकोण धमिलिन्छ। सैद्धान्तिक आधारभूमी भनेको मूलबाटो हो र मूल बाटो छाडेपछि भट्किने नै हो। नेकपा एमाले मात्रै हैन, नेपालका राजनीतिक पार्टीहरु सवैले सैद्धान्तिक आधारभूमी छाडेका छन्। सङ्कीर्ण स्वार्थबाट अलिकति माथि उठेका गणेशमान सिंह,मनमोहन अधिकारी जस्ता व्यक्तिहरुले कस्ले कति बाटो छोड्यो र विचलनमा कहाँ पुग्यो भनेर पहिल्यै देखिसक्थे। २०५४\७\२४मा अक्टोवर क्रान्ति सन्दर्भको गोष्ठी उद्घाटन गर्दै मनमोहन अधिकारीले भनेका थिए, “एमालेले बहुमत ल्याएपनि अव यस्ले राष्ट्रको भविष्यनिर्माण गर्न सक्दैन। अनुशासनहीनता,उद्दण्डता,उच्छृङ्खलता एमाले भित्र योविधि हावी भएको छकि मेट्नै नसकिने स्थितिमा पुगेको छ। सवैजना नेतृत्वको हानथापमा तँछाड्मछाड् गरिरहेछन्। वैचारिक छलफल हुन छाडेको छ। पार्टी लाइन के हो,कसैलाइ मतलव छैन। प्रत्येक नेताहरु विदेशीको उक्साहटमा चलिरहेछन्। यो पार्टीलाइ अव यिनै नेताहरुबाट खतरा छ। यस्को नेतृत्व एउटा चोरको हातबाट अर्को फटाहाको हातमा जाने निश्चित देखिन्छ।” मनमोहन अधिकारीले सार्वजनिक भेलामै खरोसँग यथार्थ खोलेपछि त्यसैको मनोवैज्ञानिक दबाव परेर होला, छैठौं महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा तत्कालीन महासचिव माधवकुमार नेपालले लेखे, “अराजकता,अनुशासनहीनता र उद्दण्डता बढ्दै गएको छ। आफ्नो इच्छा,चाहना र धारणा अनुरुपको निर्णय भए पालना गर्ने नत्र नमान्ने प्रवृत्ति बढेको छ। सङ्गठित र समूहगत तवरबाटै पार्टी अनुशासन तोड्ने र पार्टी निर्णयको खिल्ली उडाउने कामहरु हाकाहाकि हुन थालेका छन्।” माधव नेपालले अझै जोड दिंदै लेखेका छन्, “पार्टीभित्र विचार र सिद्धान्तका वहस गौण बन्न पुगेका छन्।आदर्श,मूल्य र मान्यताका कुराहरु हराउँदै गएका छन्। मार्क्सवादी दृष्टिकोण,सर्वाहारावादी चिन्तन र वर्गीय चेतना फितलो भएको छ। टाठावाठा,रकमी,जाली, बेइमान र भ्रष्टहरु पार्टीमा हावी हुँदै गएका छन्।” यी त सवै रोगका लक्षणहरु भए। यति गम्भीर रोगको कारण के होला,त्यस्को डाइग्नोशिस गर्नेतर्फ सोचेको चाहीं देखिएन। पार्टीका अगुवाहरु गलत बाटोमा नलागि पार्टी कार्यकर्ताहरु पथभ्रष्ट हुनै सक्दैनन्। यो यथार्थलाइ प्रतिवेदनले लुकाएको छ।
  विचार अनुसारको दृष्टिकोण,दृष्टिकोण अनुरुप दृष्य, दृष्य अनुसार लक्षचिन्तन तथा त्यही अनुसारका कर्म र गति हुन्छन्। त्यसैले नै जीवनशैलि, चरित्र र प्रवृत्ति निर्माण गरिरहेको हुन्छ। यही विचलनले नै ज्ञानेन्द्रले शासनको बागडोर लिएको वेला नेकपा एमालेलाइ प्रधानमन्त्री पदको लागि विन्तिपत्र हाल्न लगायो। प्रतिगमन आधा सच्चिइसक्यो भन्दै दाम्लो चुँडालेर शेरबहादुरको मन्त्रीमण्डलमा हाम्फाल्दै पुग्यो। प्रधानमन्त्री हुँदा माधव नेपाललाइ मोहमद अफ्ताव आलम,करिमा वेगमहरुलाइ काखी च्याप्न र रिजवान अन्सारीलाइ किनारा लगाउन लगायो। २०६१ माघ १९ पछि कार्यवाहक महासचिव बनेका झलनाथ खनालले पार्टी सुधारका योजना बनाएका थिए, नेताहरु जेलबाट छुट्नासाथ डस्टबिनमा फाल्न लगायो। आफ्नो मिसन बिर्सेर प्राडोपजेरोतिर लहसियो। २०५३ असोज ३ गते सम्म चलेको केन्द्रीय कमिटीको मिटिङ्मा महाकाली सन्धीलाई अनुमोदन गर्ने भनेर नमानुन्जेल एउटै मिटिङ लम्ब्याएर पटक-पटक निर्णय गराइयो।
    सातौं अधिवेशनमा एमालेका अधिकांश कार्यकर्ताहरु सम्बिधानसभाको पक्षमा थिए। सम्बिधान सभाको एजेण्डालाइ छल्नका लागि सबै विकल्प खुल्ला भनेर राजनीतिक कार्यनीति पारित गरियो। कुनैपनि कम्युनिष्ट पार्टीको अन्तर्विरोध, कार्यनीति,कार्यदिशा र क्रान्तिको बाटो एकदमै प्रष्ट हुन्छ, सवै विकल्प खुल्ला हुँदैन। त्यति गर्दापनि नपुगेर कार्यकर्ता प्रशिक्षणमा “सम्बिधानसभाको पक्षमा नवोल्नुहोस,पार्टीको वार्गेनीङ पावर घट्छ” भनेर सम्झाउँन थालियो। २०६१ माघ १९ पछि माधव नेपाल ककनी जेलमा भएका वेलामा वल्ल पार्टीले ‘लोकतान्त्रिक गणतन्त्र’ पास ग-यो। २०५९ असोज १८ मा ज्ञानेन्द्रले शासनको वागडोर लिएपछि आन्दोलनको नारा संसद पुनर्स्थापन भन्दा अझै प्रगतिशील होस्, त्यो हुन नसकेपनि संसद पुनर्स्थापना भन्दा तल झरेर खुद्रा नारा नराखौं भनेर कार्यकर्ताले तिव्र दबाव दिएका थिए। तर,सर्वदलीय सरकारभन्दा अघि नबढ्ने अठोट गरियो। उच्च स्तरीय सम्बिधान आयोग लगायत १२वुँदे रोडम्याप बनाइयो।
  राजनीतिक क्षितीजमा नेकपा एमाले एक्लैले बाटो छाडेर भट्केको होइन। २०४६ सालसम्म प्रजातान्त्रिक समाजवादको मन्त्र जप्दै आएको नेपाली कांग्रेसले, पार्टीको बागडोर गिरिजाको हातमा पुग्नासाथ, न्यानो कोठाभित्र प्रवेश गरेपछि लुगा फुकालेसरि, समाजवाद निकालेर फाल्यो। बाँकि रहेको भनिएको प्रजातन्त्रमा पनि प्रजातान्त्रिक संस्कृति,चरित्र र संस्कारको गन्ध समेत् थिएन। समाजवाद निकाल्नासाथ र प्रजातान्त्रिक संस्कृति नहुनासाथ चरम व्यक्तिवाद,भ्रष्टाचार र गुटवन्दी ह्वात्तै बढ्यो। गिरिजाप्रसाद कोइराला सर्वसत्तावादी भएर निस्किए। नेपाली कांग्रेसले भित्र्याएका विकृतिले २०४६ सालमा आएको प्रजातन्त्रलाइ आर्यघाटमा पु-यायो।
  एनेकपा माओवादीका अध्यक्ष आफैंले २ महिना अघि आफ्नो पार्टी मर्दै गएको घोषणा गरेका हुन्। उनले घोषणा नगरेपनि माओवादी पार्टीको चर्तिकला दिनदिनै नेपाली जनताले देखिब्यहोरिरहेकै छन्। महाकाली सन्धी अनुमोदन गर्ने निर्णय गरेपछि नेकपा एमाले सिसा चर्केझैं भएर जसरी एकले अर्कोलाइ सिध्याउन नानाभाँति षडयन्त्र गर्थे, रछानदेखि बोकेर ल्याई एकले अर्कोलाइ हिलो छ्याप्थे,त्यही दुर्गन्धित रछान १ महिना अघिसम्म नेकपा माओवादीको एउटा शिविरबाट अर्को शिविरतिर दिनदिनै हुत्याइरहेको दृष्य हामीले हेर्नुपर्थ्यो। त्यस्को दुर्गन्धले पुरै वातावरण प्रदुषित भयो। संसारभरीका डिक्शनरीमा भएका गालिगलौजका शब्दहरुले नपुगेर तिखारिएका र बिष घोलिएका शब्दवाणहरु आफैं निर्माण गर्थे। तँ प्रतिगामी,तँ दक्षिणपन्थी,तँ भारतपरस्त,तँ सिआइएको एजेण्ट,तँ ‘र’ को एजेण्ट,त्यो जासुस, त्यो सुराकी, त्यो गद्दार, त्यो गुप्तचर.. ओहो,कति हो कति गालीको शब्दभण्डार पनि! कसैको चरित्रहत्या गर्न र वदनाम गर्न त्यो व्यक्तिका गल्तिकमजोरी अर्थोक नभेट्टाए “त्यो त जासुस,सिआइडी,गुप्तचर होनि” भनिदियो, एक्कैचोटीमा खलास। जासुस,सिआइडी भन्ने आरोप कम्युनिष्ट पार्टीमा सर्वाधिक प्रयोग हुने सजिलो अश्त्र भयो। मान्छेले सहजै पत्याइदिने, पुष्ट्याईं गरिरहनु नपर्ने,हानेपछि लागिहाल्ने र ‘आइया’ पनि भन्न नपाउँदै ठहरै हुने बिषालु,यस्ता घातक तीर सवैले आ-आफ्ना ठोड्कामा राखेर हिंडे। नेपालका कम्युनिष्ट पार्टीहरु यिनै गालिगलौजका भण्डारघर भए।
 यी सवै विकृतिको कारण खोतल्ने होभने त्यस्को जडमा विचलन फेला पर्छ। त्यहाँ मूल्य निख्रिएको,सैद्धान्तिक आधारभूमि छाडेको,नियत बाङ्गिएको,दूरदृष्टि गुमेको,भिजन शून्य भएको, षडयन्त्र र दाउपेचले भरिएको स्वार्थको पुत्ला भेटिन्छ। यिनीहरुका यिनै कमजोरीको फाइदा नेपालका ज्ञानेन्द्र वा पाकिस्तानका परवेज मुशर्रफहरुले लिइरहेका हुन्छन। युवा सङ्घले लक्षणको उपचार गर्नुभन्दा रोगको डाइग्नोशिस गरेर उपचार थाले वेस होला।


      

No comments:

Post a Comment