Pages

Sunday, March 4, 2012

बिहार र नेपाल ।


   बिहार र नेपाल
              -आनन्दराम पौडेल
               anandarampaudel@yahoo.com
              
           वर्तमान नेपालमा बिहारको चर्चा छ। फेब्रुअरी तेश्रो हप्तामा बिहारका मुख्यमन्त्री नितेशकुमारले ‘ग्लोवल समिट अन चेञ्जिङ बिहार’को आयोजना गरे र बाबुराम भट्टराईलाइ प्रमुख अतिथि बनाएकाले बिहार ‘टक अफ दि टाउन’ भएको होइन। ६ बर्ष अघिसम्म अव्यवस्था, असुरक्षा, अपराध,गुण्डागर्दीको नमूना बिहार हुन्थ्यो। ४\५ बर्ष अगाडिबाट स्थिति ठ्याक्कै उल्टिएको छ। अनुमानको त के कुरा कल्पनासम्म नगरिएको र पत्याउनै नसकिने ‘मिराकल’ परिवर्तन निकै छोटो अवधिमा सम्भव भएको छ। हिजोको चरम अव्यवस्थाबाट अहिले सुव्यवस्थाको नमूना बन्न पुगेको छ। चर्चाको एउटै कारण के होभने ४\५ बर्षदेखि बिहार अचम्मसँग सुध्रिएको छभने, यही अवधिमा नेपाल नराम्ररी बिग्रेको छ। बिहार सप्रनु र नेपाल बिग्रनुको कारणपनि एउटै छ-शान्तिसुरक्षा र सुशासन। रोगको निदान(डाइग्नोशिस) गरेर सही उपचार गर्ने होभने एउटै व्यक्तिले १३ करोड जनसंख्यालाइ चरम निराशाको घोर अन्धकारबाट आशा,बिश्वास र सम्भावनाको उज्यालो भविष्यतिर मज्जाले डो-याउन सक्दारहेछन् भन्ने उदाहरण पो बन्न पुगेको छ।
६ बर्षअघि मुख्यमन्त्रीको पदभार ग्रहण गरेकै घडिबाट नितिशकुमारले अपराधी गुण्डामाथि निर्ममतापुर्वक कठोर कार्यवाही शुरु गरे। भ्रष्टाचार नियन्त्रण गरे। अस्वाभाविक सम्पति भएको सूचना पाउनासाथ बहालवाला र भूतपूर्व पदाधिकारीको सम्पति छानविन गरी जफत गर्ने कार्यवाही चलाए। कानुन-व्यवस्था र सुशासनका लागि आफैं अघि सरेर ध्यान दिन थाले। जनतासँग प्रत्यक्ष र जीवन्त सम्पर्कमा रहन “जनताको दरबारमा मुख्यमन्त्री” कार्यक्रम शुरु गरे। प्रत्येक सोमबारका दिन उच्च पदाधिकारीहरु समेत् वसेर मुख्यमन्त्रीले जनताका गुनासा सुन्ने,निवेदन लिने र तत्कालै कार्यवाही अघि बढाउन थाले। शान्तिसुरक्षा,कानुन व्यवस्था र सुशासन मात्र हैन, पूर्वाधार संरचना(इन्फ्रास्ट्रक्चर) पनि द्रूतगतिमा निर्माण भैरहेका छन्। यो दोश्रो कार्यकालमा तीनौटा काम गर्ने संकल्प नितिशले गरेका छन्। पहिलो-बिहारलाइ विशेष राज्यको दर्जा दिलाउने,दोश्रो-प्रत्येक भारतीयको दैनिक खानामा एउटा परिकार बिहारको उत्पादन हुने, र तेश्रो-बिहारको कुनैपनि छेउबाट ६ घण्टा भित्र पटना आइपुग्न सक्ने गुणस्तरीय सडक निर्माण गर्ने।
    बिहारभरी उत्साह,उमङ्ग,जोश र जाँगर बढिरहेको वेलामा नेपाल कहाँ छ भनेर हरेक नेपालीको मन-मस्तिष्कमा प्रश्न उठ्न सक्छ। ५ बर्षमै विकृति ह्वात्तै वढेर ६ बर्षअघिको बिहार भन्दा धेरै तल्लो स्थितिमा नेपाल पुगेको छ। तराईमा मात्र २०० भन्दा बढी सशस्त्र अपराधी समूह छन्। उनीहरु नअघाउञ्जेल डकैति,लुटपाट, अपहरण,फिरौति,ज्यालामा हत्या(कण्ट्याक्ट किलीङ) जस्ता जघण्य अपराधकर्म गर्छन। अघाएपछि अथवा स्थिति असहज भएपछि आफूलाइ राजनीतिक सङ्गठनको नाम दिएर वार्ता चलाउँछन्। वर्तमान नेपालमा चन्दा नदिएको,फिरौति नवुझाएको र नधम्क्याइएको कुनै व्यक्ति छभने त्यो पक्कैपनि हैसियत नभएको रहेछ भनेर वुझे हुन्छ। त्यसवाहेक स्थायी तवरमै जमेर वसेका,राष्ट्रिय स्तरका, व्यवस्थित अपराधी समूहहरु १दर्जन जति छन्,जुन ठूला पार्टीबाट संरक्षित छन्। संरक्षित मात्रै हैन,पार्टीको नीति तहमै हस्तक्षेप गर्न सक्ने हैसियत राख्छन्। प्रचण्ड प्रधानमन्त्री हुँदा एकमुष्ठ ३४९ थान र पछिसम्म गरी ४०० थान जघण्य अपराधका मुद्दा फिर्ता लिएका थिए। माधव नेपालले २८८ थान त्यस्तै जघण्य अपराधका मुद्दा फिर्ता लिए। बाबुराम भट्टराई १हजार भन्दा बढी जघण्य अपराधका मुद्दा फिर्ता लिने तैयारीमा हुनुहुन्छ। समग्रमा नेपाल अपराधीको लागि स्वर्ग भएको छ।
      यस्को असर समग्र अर्थतन्त्रमा परेको छ। उद्योग,उत्पादन,कारखाना बन्द हुँदै गएका छन्। पुराना उद्योग-व्यवशायीहरुले आफ्नो लगानि झिकिरहेका छन्। पूँजी विदेश पलायन हुन थालेको छ। हाइड्रोपावरमा लगानि गर्नेहरु हच्कन थालेका छन्। अपराधी समूहको कारणले मात्रै हैन, प्रशासनिक झन्झटले पनि लगानिकर्ता,उद्योग-व्यवशायीलाइ वाक्कदिक्क गराएको छ। सप्ताहान्त बाहेक ४९ दिन थप सार्वजनिक विदा,चक्का जाम र नेपाल वन्दले गर्दा नेपालमा काम गर्ने दिन थोरै मात्र वाँकि रहन्छन्। पार्टीहरुले मजदुर र कर्मचारीलाइ उठाएर उद्योग-व्यवशायीमाथि घोडा चढ्ने गरेको दृष्य त झन् कहालिलाग्दो छ। बचेखुचेको आशाको त्यान्द्रोपनि लोडशेडिङले चुँडालिदिएको छ।
   केही महिनाअघि तैयारी पोशाक सङ्घका प्रथम उपाध्यक्ष तथा सिरिन गार्मेण्टका सञ्चालक उदयराज पाण्डेले भन्नुभएको थियो, “तैयारी पोशाकको माँग प्रसस्त आएको छ,तर गैरजिम्मेवार राजनीति,मजदुर समस्या,सधैंको वन्द र लोडशेडिङले गर्दा अर्डर लिन कोही तैयार छैन।”  २\३ बर्षअघि विश्वका चुनिंदा धनीहरुले नेपालमा लगानि गर्ने इच्छा प्रकट गरेका थिए। सउदी अरबका प्रिन्स अलवालिद विन तलाल(विश्वका १९सौं धनाढ्य),जोर्डनका प्रिन्स हुसेनबेन अब्दुल्लाह,हङकङका ली साउ की,ब्राजिलका जर्ज पलाउ,आइक बाटिस्टा(विश्वका आठौं धनी) र बिल गेट्सले लगानि गर्ने योजनासहितै नेपाल आउने कार्यक्रम बनाएका थिए। भारतका धिरुभाइ अम्बानीले त हाइड्रोपावरमा लगानि गर्न लिखित प्रस्ताव नै पठाएका थिए। नेपालको वेथिति र असुरक्षाकै कारणले पछि हटेका हुन्।
    विश्व बैंकले सन २०१०मा दक्षिण एशियाको आर्थिक स्थितिको अध्ययन गरेको थियो। अध्ययन प्रतिवेदनमा विश्व बैंकले भारतको ९प्रतिशत,बङ्ग्लादेशको ६.४प्रतिशत,भूटानको ७प्रतिशत र श्रीलङ्काको ६प्रतिशत भन्दा बढी नै आर्थिक बृद्धि हुनेछ भनि भविष्यवाणि गरेको थियो। द्वन्दकालमा समेत् ६प्रतिशत रहेको नेपालको आर्थिक वृद्धि (अत्यन्तै धेरै सुधार हुनसक्यो भने मात्र) बढीमा ४ प्रतिशत सम्म पुग्न सक्ने, नत्र ३.५प्रतिशतमै सीमित हुनेछ भनेर ठोकुवा गरेको थियो। स्थिति झन्-झन् बिग्रँदै गएको छ। नेपालका नेताहरुले लालु यादवको बिहारबाट हैनकि,नितिश कुमारको बिहारबाट सिके यो अकिञ्चन देशको भलोकल्याण हुन्थो।

No comments:

Post a Comment