Pages

Monday, March 12, 2012

ढोंग,पाखण्ड र आडम्बरको पीडा।


ढोंग,पाखण्ड र आडम्बरको पीडा
                       -आनन्दराम पौडेल
                        anandarampaudel@yahoo.com
     नेकपा एमालेको प्रनिधिपरिषद बैठकमा पार्टी नेतृत्वले प्रष्ट नीति र अडान राख्न नसकेको भनेर नेतृत्वमाथि औंलो ठड्याए। प्रष्ट नीति अडान राख्न नसकेकै कारणले एमालेप्रति लाग्ने गरेको “ढुलमुले” भन्ने आरोपलाइ नेतृत्वको गतिविधिले पुष्टी गरिराखेको थियो। राज्य संरचनाको बिषयमा एमाले प्रष्ट थिएन। सम्बिधानसभाको राज्य पुनर्संरचना समितिमा नेकपा एमालेले जातीय राज्यको खाका सुटुक्क पेश गरेको थियो,जवकि केन्द्रीय कमिटीमै दुई तिहाई भन्दा बढी सदस्यहरु जातीय राज्यको विरुद्ध थिए। डेढ महिनाअघि परशुराम मेघी गुरुङको संयोजकत्वमा शेरबहादुर तामाङ,शिव गुरुङहरुले तैयार गरेको ८ प्रदेशको खाकालाइ जनताले मन पराएका थिए,तर नेतृत्वले आत्मविश्वासका साथ अघि बढाएको छैन। राज्य पुनर्संरचना आयोगमा एमाले प्रतिनिधिको अलमल र द्विविधा टीठलाग्दो थियो। शासकीय स्वरुपको बिषयमा एमाले अरु पार्टीभन्दा बढी प्रष्ट हुनुपर्थ्यो। अलङ्कारिक राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव सम्बिधानसभाको निर्वाचनमा एमालेको मेनिफेष्टोमा थियो। तर,सम्बिधानसभाको शासकीय स्वरुप निर्धारण समितिमा एमाले आफ्नै प्रस्तावको पक्षमा उभिन सकेन।
    गुटबन्दी र दिशाहीनता नेपालका पार्टीहरुको पहिचान बनेको छ। गुटबन्दी अहिले एमालेमा अल्लि मत्थर भएको छ,तर एनेकपा माओवादी र नेकामा यथावत छ। माओवादी भित्रको गुटबन्दी भयावह अवस्थामा छ। चरम गुटबन्दीकै कारण पार्टीले बिस्तारै मोर्चाको स्वरुप ग्रहण गर्न लागेको देखिन्छ। नेपाली कांग्रेसमा शेरबहादुर देउवाको गुटले पार्टीलाइ थ्रेट दिइरहेको छ।
  दिशाहीनताको कारण भिजन र मिशनको अभाव तथा गन्तव्यको रिक्तता हो। सैद्धान्तिक आधारभूमि छाडेकाले पार्टीहरु यो दयनीय स्थितिमा पुगेका हुन्। गिरिजाको हातमा सत्ता पुग्नासाथै नेकाले समाजवादलाइ तिलाञ्जली दियो। ठूला कम्युनिष्ट पार्टीले वर्गसङ्घर्ष छाडे। एनेकपा माओवादीले वर्ग सङ्घर्ष छाडेपनि खुलेरै जातीय र सम्प्रदायीक राजनीति गरिरहेछ,तर एमालेले जातको राजनीति गर्दिन भन्दै जातीय राजनीति गरिरहेकोले यहाँसम्म उस्को उपस्थिति ढुलमुले नै छ। कमल थापाको राप्रपाबाहेक सूर्यबहादुर थापाको जनशक्ति र पशुपति शमशेरको राप्रपा झन् अलमलमा छन्। आफूलाइ मधेशको मसीहा दावी गर्ने मधेशी पार्टीहरु त राजनीति गर्ने सुरसारमै छैनन्, आफ्नो स्वार्थका लागि जेपनि गर्न तत्पर छन्,त्यसैले तिनीहरुको बिषयमा चर्चा गरिरहन जरुरत छैन।
   सैद्धान्तिक आधारभूमि छाड्नु भनेको मूल बाटो छाड्नु हो र मूल बाटो छाड्नु भनेको भट्किनु हो। भट्किएपछि उस्का अभिव्यक्ति र कर्महरु पनि अचकल्टा र ऐंठन पार्ने खालकै हुन्छन्। मदन भण्डारीको हत्या षडयन्त्रपूर्वक नै भएको हो भनेर त्यत्रो आन्दोलन गरेको पार्टी तत्काल सत्तामा गएपछि छानविन गर्न अनिच्छुक रह्यो। प्राडो,पजेरो र पेन्शनका लागि अग्रसरता लियो। महाकाली सन्धीलाइ अनुमोदन गर्ने पक्षमा वहुमत नहुञ्जेल एउटै वैठकमा तीन पटक भोटिङ गरायो। शेरबहादुरले गरेको संसद विघटनलाइ समर्थन ग-यो। २०५९ असोज १८ गते राजाले कू गर्दा ५ दिनपछि ‘हामी स्तव्ध भएका छौं’ भन्ने नरम वक्तव्य बाहेक त्यसवखत प्रतिवाद र प्रतिरोध गरेन। ६ महिना पछि आन्दोलनका लागि नेकाले ‘संसद पुनर्स्थापन’ एजेण्डा तय गर्दा एमाले ‘सर्वदलीय सरकार’बाट अघि बढेन। सम्बिधानसभाको पक्षमा उभिएका र अग्रगामी सोच राख्ने कार्यकर्तालाइ अल्मल्याइ राखेर संस्थापनले १२वुँदे रोडम्याप पारित गराइराखेको थियो। जस्मा सर्वदलीय सरकार र उच्चस्तरीय सम्बिधान आयोग जस्ता प्रावधान थिए। कांग्रेस विभाजनको फाइदा उठाएर लार्जेष्ट पार्टी दावी गरी सर्वदलीय सरकारको नेतृत्व गर्ने लोभ सम्वरण गर्न नसकेको मनोबिज्ञान त्यहाँ प्रष्ट झल्कन्थ्यो। माधव नेपाल लगायत कतिपय नेताहरु जेलमा भएका बेलामा मात्र एमालेले लोकतान्त्रिक गणतन्त्र पास    ग-यो। सर्वाधिक विजोग सातौं महाधिवेशनमा देखियो। सम्बिधानसभाको माँगलाइ छल्न राजनीतिक कार्यदिशाका सवै विकल्प खुल्ला भनेर पास गरियो। यो भयङ्कर विडम्बना थियो। कुनैपनि कम्युनिष्ट पार्टीको कार्यदिशामा एकभन्दा बढी बाटो र कार्यदिशा हुनै सक्दैन। प्रधानमन्त्री पदका लागि राजाले टेण्डर कल गर्दा विन्तिपत्र हालेको र प्रतिगमन आधा सच्चियो भन्दै शेरबहादुरको पुच्छर बनेर सरकारमा गएका घटनाले सत्तारोहणको आतुरता अस्वाभाविक हदसम्मै रहेछ भन्ने पुष्टी हुन्छ। यी सवै दृष्यहरु सैद्धान्तिक आधारभूमि छाडेर विचलनमा भट्किएकाले उत्पन्न परिणाम हुन्। यिनै कारणले गर्दा सम्बिधान निर्माणमा पनि एमालेले प्रभावकारी भूमिका देखाउन सकेको छैन। प्रतिनिधिपरिषदका ९० प्रतिशत सदस्यहरु जातीय राज्यको विपक्षमा उभिईसक्दा पनि नेतृत्व खुलेर अघि आउन सकेको छैन। यी महत्वपूर्ण एजेण्डामा नेतृत्व प्रष्ट र दह्रो हुन नसकेको भनेर परिषद बैठकमा कटु आलोचना भयो।    
     नेपाली काङ्ग्रेसले ‘समाजवाद’ छाडेर देश,जनता र आफैंलाइ नोक्सान पु-याएको भएपनि यस्को उल्लेखनीय पक्ष के हो भने यस्ले डबलस्ट्याण्डर्ड,ढोंग,पाखण्ड र आडम्बर चाहीं गरेन। राजनीतिक दर्शन र सिद्धान्त छाडेकैले त्यहाँ गुटमाथि उपगुटहरु मौलाए। जस्ले गुट ठूलो र बलियो बनायो त्यसैको हैकम चल्ने भयो। गिरिजा कोइरालाको गुट, शेरबहादुर देउवाको गुट,खुमबहादुर खँड्काको उपगुट शक्तिसालि र कृयाशील गुट र उपगुटहरु हुन्।  विचारशून्य भएपनि सङगठनमा वर्चस्व भएकोले गिरिजाले पार्टीलाइ एकलौटी हाँके। उनले पार्टीलाइ प्राइभेट लिमिटेड कम्पनि बनाएका थिए। उनलाइ इच्छा लाग्योभने भातृ सङ्गठनहरु एक्कासि भङ्ग गरिदिन्थे। उनकै सर्वसत्तावादी शैलिले पार्टीमा छत्तिसे र चौहत्तरे जन्म्यो र कालान्तरमा पार्टी विभाजित भयो। गिरिजा आफ्नो गुट भित्रकालाइ सात खत माफ गर्थे, जस्ले गर्दा कार्यकर्ता पङ्क्तिसम्म भ्रष्टाचार फैलियो। गिरिजा प्रसाद कोइरालाको सर्वसत्तावाद,पक्षपात र भ्रष्टाचारकै कारणले गर्दा २०४७ सालको बहुदलीय लोकतन्त्रले जरा हाल्न पाएन। राष्ट्रले यत्रो अपूरणीय क्षति जुन व्यहोरीरहनुपरेको छ,त्यो उहाँकै सङ्कीर्णताका परिणाम हुन्। २०६५ साउनदेखि १ बर्षभित्र पार्टीले गरेका निर्णय कार्यान्वयनको स्थितिलाइ २०६६ साउनमा केलाएर हेर्दा जम्मा ६८ थान निर्णय भएका थिए। त्यस्मध्ये धन्यवाद र वधाई दिने तीनौटा बाहेक अरु कुनैपनि निर्णय कार्यान्वयन भएका थिएनन्। सुशील कोइरालाले पनि लोकतान्त्रिक शैलि र पद्धतिमा पार्टी सञ्चालन गर्न सकेका छैनन्। भातृ सङ्गठनहरु बेकम्मा भैसकेकाले केही उपचार त गर्नैपर्थ्यो,तर ठाडै विघटन गर्नु सट्टा ३ महिना भित्र अधिवेशन गरिहाल भनेर पार्टीले निर्देश गर्न सक्थ्यो।
   अति चर्को विचलन एनेकपा माओवादीमा देखियो। २०५७ मा माओवादीले प्रतिस्पर्धात्मक जनवाद भन्थ्यो, यो पछिल्लो कालमा एक्काईशौं शताब्दीको जनवाद भन्न थाल्यो। यो एक्काईशौं शताब्दीको जनवादको सिद्धान्त र कार्यक्रमहरु के-के हुन् भन्ने वारेमा माओवादीले अझै प्रष्ट पारेको छैन। २०५७ मा अघि सारेको प्रतिस्पर्धाको जनवाद झन् पूरै अमूर्त थियो र धमीलो स्वरुप समेत् ग्रहण नगर्दै विलीन भयो। विचलनमा हुत्तिएर धेरै पर पुगिसकेकोले एनेकपा माओवादीलाइ शब्द र कर्मका वीच तालमेल मिलाउन कठीन भैसकेको छ। पार्टी नेतृत्वबाट सर्वहाराकरण शुरु गरिएको भनेर डङ्का पिटिरहने, तर भित्रभित्रै आफ्नो बन्दोबस्त मिलाउने र विलाशी जीवनशैलि अपनाउने जस्ता चरित्रलाइ धेरै दिन ढाकछोप गर्न नसकिने भएको छ। कुराचाहीं उन्नत संस्कृतिको गर्ने तर अपराधीहरुलाइ प्रोत्साहित र संरक्षण गर्ने प्रवृत्तिले माओवादी पार्टीको भण्डाफोर भएको छ। आफूलाइ क्रान्तिकारी कम्युनिष्ट पार्टी भनेर दावी गर्ने तर हिजोका सवै मण्डलेहरुलाइ उच्च आशनमा विराजमान गराउँदै जानुले पनि पार्टीको प्रतिष्ठामा ठूलो धब्बा लागेको छ। २ बर्षअघि माओवादीले ‘नागरिक सर्वोच्चता’ र ‘राष्ट्रिय स्वाधीनता’ को नारा घन्काएर चर्को आन्दोलन छेडेको थियो। दुइटै मुद्दा एक्कैचोटि अघि सार्दा आन्तरिक शक्तिसँगको अन्तर्विरोध प्रधान हो कि बाह्य शक्तिसँगको अन्तर्विरोध प्रधान हो,छुट्याउन मुस्किल परेको थियो। राष्ट्रघाती नागरिकता ऐनका लागि पहल गर्ने, चीनले प्रस्ताव गरेको शान्ति तथा मैत्री सन्धीलाइ दिल्लीको डरले पन्छाउने र दिल्ली रिझाउन हत्ते हाल्नेले राष्ट्रियताको नारा घन्काउँदा जनताले ओठ लेप्र्याएका थिए।
   कांग्रेसले देश बिगा-यो भनेर जनता कम्युनिष्ट तर्फ ढल्केका थिए। तर, नेपालीलाइ कांग्रेसले भन्दा कम्युनिष्टहरुले बढी पीडा दिए। कांग्रेस विचलनमा गएपनि समाजवादको नारा घन्काउँदै भ्रष्टाचार गरेको थिएन। डवल स्टाण्डर्ड,ढोंग,पाखण्ड र आडम्बर कम्युनिष्टहरुमा देखियो। राष्ट्रलाइ पीडापनि यसैले दियो।

 

No comments:

Post a Comment