Pages

Saturday, March 24, 2012

चितवनसरी नेपालभरी ।


चितवन जस्तै नेपालभरी
                  -आनन्दराम पौडेल
                                         anandarampaudel@yahoo.com
                  
                      
        १० दिनअघि चितवन पुग्दा चितवन तातेको र चितवनवासी आक्रोश ओकलिरहेका थिए। मलाइ देखेर २\३जना म भएतिर लम्के र भने, “तपाईंले त झन् वुझ्नैपर्ने कुरो छ। तपाईं हाम्रो सवैभन्दा नजिकको छिमेकी मात्र हैन,बुद्धिजीवी लेखक पनि हुनुहुन्छ।” उनीहरुको हातमा भएको डकुमेण्ट देखाउँदै व्रिफीङ गर्न थाले। नेपाल सरकारले २०६८\०६९ को राष्ट्रिय बजेट कार्यक्रममा पर्सा जिल्लाको ठोरीबाट चितवनको माडी,वनकट्टा,जगतपुर हुँदै घोसारघाटमा नारायणी नदीमा पूल बनाएर नवलपुरबाट त्रिवेणी जोड्ने सडक निर्माण गर्ने निर्णय गरेको रहेछ। सो योजना सदनबाट समेत् पारीत भै अर्थमन्त्रालयको रातो किताब र राजपत्रमा समेत् प्रकाशित रहेछ।  निर्माणप्रकृया अघि बढिरहेको वेलामा एकजना पदाधिकारीले सुटुक्क एलाइण्टमेण्ट परिवर्तन गरिदिएछन्। “को रहेछन् ती पदाधिकारी ?”, मैले जिज्ञाशा राखें। “खोई को हो ?”, ती अलि अल्मलिए। “हृदयेश त्रिपाठी रे”,अर्कोले भन्यो। “हृदयेश त मन्त्री छन् क्यार हैन र ?”, मैले यथार्थतिर लगें। एउटा दरिद्र मुलुकमा कुकूरले खाइनसक्ना मन्त्री छन्,थाहा पाएर साध्य भए पो। “मन्त्री हुन् कि सन्त्री हुन्। सदनले पारीत गरेको राष्ट्रिय योजनालाइ एउटा पदाधिकारीले मनोमानी तवरले सुटुक्क फेरवदल गर्न पाउँछ ?”, उनको आक्रोशको पारो झन् माथि उक्ल्यो। “साँच्चै त्यस्तो गरेका होलान् र ?”, पत्याउनै गाहारो परेकोले मैले फेरि सोधें। “मङ्सीर २८ गते खुसुक्क निर्णय गरी सुटुक्क राखेका रहेछन्।”, उनले तथ्य उजागर गरे। त्यत्तिकैमा नक्सा बोकेर अर्को हूल आइपुग्यो। नक्सा टेबुलमा फिंजाएर एकजनाले गर्जेर वोल्यो, “ल हेर्नुहोस् दाई, यिनीहरुको मनपरी हेर्नुहोस्। हाम्रो चितवनलाइ ४ टुक्रा पारिदिएछन।” मैले हेरें, चितवनलाइ अत्यन्तै निर्मम तवरले धुजा-धुजा पारेको रहेछ। त्यही हूलबाट अर्को एकजना वोल्यो, “हामीले आफ्नो प्यारो चितवनलाइ जथाभावी गिजोलेको हेर्न सकेनौं। किन यस्तो गरेको भनेर वुझ्न कांग्रेस,एमाले र माओवादीका तिनैवोटा पार्टीका शीर्षस्थ नेतालाइ चितवन वोलाएका थियौं। तर अमिक शेरचनले हाम्रो चह-याइरहेको घाउमा झन् नुनचुक छर्किने काम गरे।” अमिकजी त पाका मान्छे हुन्। आन्दोलन र सङ्घर्षबाट खारिएका पनि हुन्। यस्तो खट्कने व्यवहार के गरेछन् त, कौतुहल जाग्यो। “हैन,त्यस्तो के गरे र अमिकजीले ?”,मैले सोधें।  ए,त्यो आयोगले यस्तो गरिदिएछ भनेर यो बिषयलाइ एकदमै हल्काफुल्का पाराले ठट्टामा उडाउन खोजे। अनि हामीले पनि त्यो आयोग कस्ले वनाएको भनेर तुरुन्तै प्रश्न राख्यौं। हामीले प्रश्न राख्नासाथ उहाँ च्याँठ्ठिनु भो। मैले पञ्चायत फालें,राजा फालें,गणतन्त्र ल्याएँ भन्दै आफ्नै महिमामण्डन गर्न थाल्नुभो। सिधा प्रश्नको प्रष्ट जवाफ नदिएर प्रश्न छल्नका लागि दायाँवायाँ यताउता गर्न थालेको कसैले मन पराएन। अहिलेको प्रश्न यो हो भनेर प्रश्नमै केन्द्रीत भैदिन बारम्बार अनुरोध गर्दा पनि उहाँ झन्-झन् च्याँठ्ठिनुभो र आकासपातालका कुरा गर्न थाल्नुभो।
      चितवन होस् कि सुदूर पश्चिम, आज सवैतिर जनतालाइ ठाडै मिचेर र लत्याएर केही मुठ्ठिभर व्यक्तिले मनपरि गरिरहेछन्। १५-१६ बर्ष अघिसम्म राजनीतिक पार्टी र नेताप्रति नेपाली जनताको उच्च मूल्याङ्कन र सकारात्मक भाव थियो। राजनीतिक चिन्तक रजनी कोठारी भन्छन्, “हामीले खोजेको राजनीतिक प्रकृया त्यो हो,जस्ले परिवर्तन ल्याउँछ, जस्ले विचारको सृजना गर्छ, सम्भव र असम्भव वीच रहेका स्वप्नदर्शी विचारलाइ यथार्थमा रूपान्तरण गर्छ र जस्ले क्रान्तिको आयोजना गर्छ। यस्तो प्रकृया जव चल्छ त्यस्तो राजनीतिमा नैतिक तत्व र मूल्यप्रणाली हुन्छ जस्ले व्यापक,गहीरो र दीर्घकालीन प्रभाव पार्छ।” विडम्बना के भैदियोभने नेपालको राजनीतिले मूलबाटो नै पक्डन सकेन। मूल बाटो छाडेकोले आलि,कान्ला र डीलतिर भट्किरह्यो। राजनीतिले सैद्धान्तिक आधारभूमि छाडेपछि स्वार्थका खेल मात्र वाँकि रहन्छ। लाजघीन पचाएपछि जे गरेपनि हुन्छ। “नाङ्गा नाचे मैदान” भनेझैं अहिले राजनीतिको मैदानमा नाङ्गाहरुकै मात्र उछलकूद छ। यस्तो स्थितिमा न त जनभावना वुझ्छन्,न त वस्तुनिष्ठ भएर सोच्छन्। चितवनको यी दुवै केसमा कहाँ छ जनभावना र कहाँ छ वस्तुनिष्ठता ? न त जवाफदेहिता नै छ। सदनले पारीत गरेको हुलाकी राजमार्गलाइ एउटा पदाधिकारीले खुसुक्क फेरवदल गरेर सुटुक्क लुकाउन मिल्छ त ? ग्रेटर चितवन निर्माण गर्ने भनेर आज ३\४ बर्षदेखि सम्पूर्ण चितवनवासीहरु एकजुट भएर लागेका छन्। तिनीहरुको अभियानलाइ धुलोपिठो पार्नेगरी वुल्डोजर चलाउनु हुन्छ ? चितवनवासीको भावनामाथि कुठाराघात गर्नु हुन्छ ? यो अर्थोक केही हैन सैद्धान्तिक आधारभूमी छाडेको परणाम हो। रजनी कोठारी भन्छन्, “थ्योरीको अभावमा हामी दृष्टिहीनताको शीकार हुन पुग्छौं। जवसम्म सैद्धान्तिक आधारभूमि प्रष्ट हुँदैन तवसम्म लक्षकिटान सम्भव हुँदैन। हामी केवल चुनावी संख्यासँग खेलिरहने छौं। दल-दलमा उचाल्नेपछार्ने खेल मात्र चलिरहने छ। न त त्यहाँ यूटोपिया हुन्छ, न लक्षचिन्तन हुन्छ, न कुनै दृष्टि हुन्छ, न त समाज बदलिन्छ। अनि कसरी लोकतन्त्र पुष्ट हुन्छ ? पार्टीहरुका दाउपेच,सत्ताको लुछाचुँडी,सरकार सञ्चालन र दैनिक सुसेधन्दा भन्दा अलिकति माथि उठेर चिन्तन नगर्ने होभने त्यो विराट दृष्टि कसरी प्राप्त हुन्छ जस्ले नयाँ समाज निर्माणको बिषयमा सोच्दछ। दृष्टिको अभावमा राजनीति मूल्यहीन हुन पुग्दछ र खतराचाहीं के हुन्छभने यस्को गर्भबाट भ्रष्टाचार,अपराधीकरण र साम्प्रदायिकता मात्र जन्मन्छ।” हुनपनि चिन्तन र विचारमा छ भने पो व्यवहारमा प्रकट हुन्छ। चिन्तनमा छभने विचलित हुन लागेको वा चुकेको स्थितिमा कसैले औंल्याइदिनासाथ तुरुन्तै सम्हालिन्छ। किनभने उसँग कर्तव्यवोध र जिम्मेवारीवोध हुन्छ। एक दिन जवाहरलाल नेहरू क्वार्टरबाट संसदभवन जाँदैथिए। अफिस समय भएकोले ट्राफिक जाम थियो। प्रधानमन्त्रीको गाडी रोकिएको देखेर ट्राफिकले अरु गाडीलाइ रोकेर प्रमंको गाडीलाइ रिलिज गरिदिए। प्रमंको गाडीलाइ रोड क्लियर गर्दा केही सांसदहरुको गाडीपनि रोकिन पुग्यो। त्यही दिन संसद वैठकमा सांसद पीलु मोदीले आवाज घन्काउनुभो, “यो कस्तो लोकतान्त्रिक देश हो जहाँ प्रधानमन्त्रीको गाडीलाइ बाटो दिन हजारौं जनताका गाडीलाइ रोकिन्छ ?” यो टिप्पणी सुन्नासाथ प्रधानमन्त्री जवाहरलाल नेहरू जुरुक्क उठ्नुभो र एकपल्ट शीर झुकाएर विनम्र स्वरमा भन्नुभो, “मलाइ अत्यन्तै खेद छ। मेरो कारणले गर्दा धेरैजनाको केही समय बर्बाद भयो। म क्षमा चाहन्छु र आइन्दा यस्तो नहोस् भनेर आजै गृह मन्त्रालयलाइ आदेश गर्नेछु।” के नेपालका राजनीतिक नेता र मन्त्रीहरुबाट यस्तो सम्बेदनशीलता, जवाफदेहिता र संस्कारको अपेक्षा गर्न सक्छौं ? कल्पना गरौं, नेहरूको स्थानमा हाम्रा महेन्द्र यादव,राजेन्द्र महतो, सरोजकुमार यादव,सरिता गिरीहरु मध्ये कोहीपनि भएको भए कस्तो व्यवहार गर्थे होलान् ? जुन देशमा राजनीतिककर्मी(नेता)हरु कुर्सी,पद र पैसाको लागि अहर्नीश झुत्ति खेलिरहेका हुन्छन्,त्यहाँ वृहत्तर चिन्तनको कल्पना गर्न सकिंदैन। यही विश्वमा बर्ट्रेण्ड रस्सेल जस्ता राजनीतिक नेता पनि थिए। उहाँ लेवर पार्टीको सदस्य हुनुहुन्थ्यो। लेवर पार्टीको सरकार बनेका वेला सवै प्रधानमन्त्री रस्सेललाइ मन्त्रीपरिषदमा सामेल गराउन लालायित हुन्थे, तर रस्सेल इन्कार गर्नुहुन्थ्यो। प्रधानमन्त्री हेरोल्ड विल्सन त रस्सेललाइ मन्त्री बनाउन यति व्यग्र हुनुहुन्थ्यो कि त्यो थाहा पाएर रस्सेल भागी-भागी हिंड्नुहुन्थ्यो। रस्सेलको ठाउँमा महेन्द्र यादव भए के गर्थे?  
   कुनैपनि राजनीतिकर्मीको जीवन भनेको सिद्धान्त,दर्शन,लक्ष,कार्यक्रम र जनभावना हो। सिस्टम र प्रणालीको विकास गर्नु र त्यस्को परिपालन गर्न नमूना बनेर देखाउनु उस्को अनुशासन हो। समग्रमा राजनीतिक संस्कार नहुनु नै वर्तमान नेपालको समस्या हो।
शनिवार, मार्च 24, 2012       

No comments:

Post a Comment