प्रचण्डचिन्तन
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
नयाँ बर्षको पूर्वसन्ध्यामा केही मित्रहरुको अनुरोधलाइ समेत् प्रचण्डले इन्कार गरे र ब्ल्यूलेवल सँगै काजु लिएर एकान्तचिन्तन गर्न थाले। आज दिउँसो वालकुमारीमा कार्यकर्ताको उपस्थिति देखेर म अलि बढी नै उत्साहित भइछु; आवेगमा पनि आएँ हुँला, मोहन वैद्यको भारतीय गुप्तचर र ज्ञानेन्द्रसँग साँठगाँठ छ भनिदिएँ। अतिशय खपिनसक्नु भएकोले भनेको हुँ, नत्र यिनलाइ गुरू नै मानेको थिएँ। काउत्स्कीलाइ पनि त लेनिनले सधैं प्रशंसा गर्थे,पछि उनै लेनिनले ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ पुस्तकै लेखे। काउत्स्कीले के बिराएका थिए र ? लोकतान्त्रिक र अहिंसात्मक बाटोबाट पनि पूँजीवाद हुँदै समाजवादसम्म पुग्न सकिन्छ त भनेका थिए। मैले त लामै धैर्य गरेको हुँ। वामपन्थीहरु थोरै विमती हुनासाथ एकले अर्कोलाइ सिध्याउन सवै काम छाडेर एकसूत्रीय अभियान चलाउँछन् भन्ने हामीमाथि कत्रो आरोप छ। गद्दार, सिआईडी, जासुस, गुप्तचर, घुसपैठिया,पेटिवुर्जुवा आदि नाना शव्दावलीको मोसो दलेर विरुपै पारिदिन्छौं। हामी सवै कम्युनिष्टका भीष्मपितामह भनिएका मोहनबिक्रमको पनि यो संस्कार वसाउन योगदान रह्यो। पुष्पलाललाइ सिध्याउन “गद्दार पुष्पलाल” पुस्तिका ४-५हजार छपाएर वाँडेका थिए। निर्मल लामा जस्तो साँच्चैको निर्मल र कञ्चन व्यक्ति को होला? निर्मल लामा जासुसै हो भनेर तल्लो सेल कमिटिसम्म प्रशिक्षित गरेका थिए। तर,हामी त्यस्तो आरोप-प्रत्यारोप गर्दैनौं भन्ने देखाउनाको लागि पनि मैले मुटु मिचेर वसें। अति भएपछि यो विचारसमूहलाइ सङ्कीर्णतावादी र जडसूत्रवादी सम्म भनेको हुँ। पार्टी वाहिरबाट पनि ममाथि चौतर्फी आक्रमण छ। देशभित्र कनकमणि दिक्षीत,सुवोधराज प्याकुरेल,कूलचन्द्र गौतम जस्ता वुद्धिजीवीहरु र नागरिक, हिमाल जस्ता पत्रिका त छँदैछन्, वाहिरबाट पनि कम्ति आक्रमण छैन। वेलायतबाट प्रकाशित ‘दि टेलिग्राफ’ले १फेब्रुअरी,२०१२को अङ्कमा नेपालका माओवादी नेता ऐय्यासी र विलासी भए भनेर मेरै बिषयमा लामो समाचार छापेको छ। अव दुनिञाले जेसुकै भनोस् मलाइ मतलव छैन भन्ने निस्कर्षमा प्रचण्ड पुगे,र ब्ल्यूलेवल अर्को एक पेग घुट्क्याएर भुक्लुक्क सुते। हेटौंडा-११,नवलपुर
No comments:
Post a Comment