कांग्रेसको समाजवाद
-आनन्दराम पौडेल
anandarampaudel@yahoo.com
“सरकारले वीपीलाइ विभुती घोषणा गर्न लाग्यो। सङ्ग्रहालयको लागिपनि बजेट थप्नेभयो, यो सुनेर तपाईं प्रसन्न हुनुभएको होलानि ?” पत्रकारले पहिलो प्रश्न यही ग-यो। चक्र वाँस्तोलासँग शुरुमै यो प्रश्न राख्छु र उहाँ खुशी भएको अनुहार हेर्छु भनेर पत्रकारले डेराबाट निस्कँदै सोचेको थियो। वीपी स्मृति दिवस भएकोले सम्पादकले वीपीमै केन्द्रित रहेर अन्तर्वार्ता लिन अह्राएका थिए। सधैं अन्तर्वार्ता लिंदा अन्तर्वार्ता दिने व्यक्तिको स्मृतिको गहीराईमा खाटा बसेर रहेको घाउमा टच हुन पुग्ने र त्यस्ले चसक्क दुखाएको पीडाका रेखाहरु अनुहारभरी देखापर्थे। यस्तो हेर्नुनपरोस् भनेर पत्रकार निकै सतर्क भएर अन्तर्वार्ता लिन जाने गर्थ्यो। आज त उहाँको लागि हर्षोल्लासको यो खवर सुनाउँछु र प्रसन्न अनुहार हेर्न पाउँछु भनेर उमङ्गका साथ आएका थिए। तर, चक्रप्रसाद वाँस्तोलाजीको अनुहारमा खुशीका रेखाहरु देखिएनन्। भने, “अहँ, म खुशी छैन। हुन त यति हुनुपनि राम्रै हो। तर, यो त रूपपक्ष मात्र भयो। हाम्रो नजर त सारपक्षमा छ।”
“त्यसोभए सारपक्षचाहीं के हो त ?”
“समाजवाद”, चक्र वाँस्तोलाजीले एक निमेषपनि नलगाइ भने।
“तपाईंहरुले खोजेको समाजवाद कस्तो हो ?”
“यस्तो राज्यव्यवस्था जहाँ सवै गतिविधि पारदर्शी हुन्छ। व्यक्ति हैन सिस्टमले काम गर्छ। जस्ले धनीहरुबाट लिन्छ र असक्तहरुको ख्याल गर्छ। आर्थिक विषमताको खाल्डो बढ्न नदिन पूरै प्रयास गर्छ। हरेक नागरिक उच्च स्वाभिमान र आत्मसम्मानपुर्वक वाँच्न पाउँछ। न्यायपूर्ण समतामूलक समाजको निर्माण गर्नु जस्को लक्ष हुन्छ।” वाँस्तोलाजीले संक्षिप्त वर्णन गरे।
“उदाहरणको लागि कुनै नमुना देखाउन सक्नुहुन्छ ?”
“स्विडेन। हामीले कल्पना गरेको समाजवादको उत्कृष्ट प्रयोग भएको छ स्विडेनमा।” वाँस्तोलाजीले फ्याट्टै भने।
“२०४८ सालदेखि तपाईंहरु सत्तामा हुनुहुन्छ। अनि कस्ले रोक्यो त समाजवादको प्रयोग गर्न ?”
वाँस्तोलाजी वोलेनन्। कम्प्युटरको छेउमा आउन इशारा गरे। फेसबुक खुलिराखेको थियो। एकजना स्तम्भलेखकको स्टाटस देखाएर ‘लौ,यो पढ्नुहोस्’ भने। स्टाटसमा यस्तो लेखिएको थियो: “२०४८ सालको कुरो हो। कांग्रेसको समाजवाद कता हरायो भन्थे। बालुवाटारको पर्खालबाहिर एउटा कुनामा कस्ले फेला पारेछ। कांग्रेसले हराएको भनेको समाजवाद यही हैनत भन्दै गणेशमान सिंह, भीमबहादुर तामाङ, रामहरि जोशी, चक्र वाँस्तोला, जगन्नाथ आचार्य, वलदेव मजगैयालाइ देखाएछन्। हाम्रो कांग्रेसले फालेको होकि हराएको भनेको समाजवाद यही हो भनेर उहाँहरुले भनेपछि सनाखतसम्म भएछ।” यो स्टाटस देखाएर वाँस्तोलाजीले पत्रकारसँग उल्टै प्रश्न गर्नुभो, “यो स्टाटस पढेपछि हाम्रो समाजवाद कहाँ गएछ भनेर सोधिरहनुपर्छ ?” यो स्टाटस पढेपछि सोध्नुपर्ने केही वाँकि रहेको थिएन। चक्र वाँस्तोलाजी ‘चिया त पिएर जानुहोस्’ भन्दैथिए, “फिर कभि” भन्दै पत्रकार हिंडिहाले।
No comments:
Post a Comment