(लघुकथा)
बाहुन टोल
-आनन्दराम पौडेल
राम थापाले घर खरिद गर्नलाग्दा 'यो त काँठे बाहुनहरुको टोल हो' भनेर धेरैले सम्झाएका थिए। "बाहुनको चित्त माखाको पित्त” पनि धेरैले भनेका हुन्। काँठे बाहुनहरुको टोलभित्र
बस्ने बिषयलाइ रामले अलि बेग्लै पाटोबाट सोचे। हाम्रो समाजले उच्च मानेको जातसँग
बस्न पाउनु झन् गौरवशाली अवसर हो भन्ठाने। हेटौंडा, नवलपुरमा सस्तै मोलमा पाइएकोले घर खरिद गरे। आफ्नो टोलका
बाहुनहरुसँग घुलमिल हुन खोजे। सङ्गत बढाउन प्रौढहरुसँग भेटघाट बढाए। हरेक प्रौढहरु
आफूलाइ अति जान्नेसुन्ने ठान्ने, अरुको कुरै नसुन्ने, अत्यन्तै आत्मकेन्द्रित तथा
अहङ्कार र घमण्डको थुप्रो मात्र पाए। महिलाहरु खानै बिर्सेर र नित्यकर्मसमेत्
पन्छाएर दिनरात अरुको कुरा काटिरहेका, खिसीट्युरी गरिरहेका र व्यक्तिगत निन्दोचर्चोमा लीन देखिन्थे। किशोर र युवाहरु
कुनै संस्कार, सोमत र शिष्टाचार नभएका
टपर्टुइयाँको हूल भए। उच्च विचार, फराकिलो सोच, सृजनात्मक लगाव र महान लक्षको लेसपनि त्यहाँ फेला परेन। यो स्थितिबाट वाक्कदिक्क र छक्क
परेका राम थापाको एक दिन नन्दरामसँग भेट भयो। भेट्नासाथ छोपिहाले। घरमा लगे। आफूले
प्रत्यक्ष देखेको र भोगेको अनुभव सुनाए। नन्दरामले ध्यान दिएर सुने।
"राज्यमा शासक र नेताहरुको कारणले तथा समाजमा बाहुनहरुको कारणले गर्दा नै यो राष्ट्रको स्वाभाविक विकास
समेत् हुन नपाएको हो।" निकै गम्भीर मुद्रामा नन्दरामले निस्कर्ष सुनाए।
"यस्तो त आजसम्म कसैले भनेको थिएन। तपाईंले अनौठो कुरा गर्नुभयो। म त झन् अल्मलिएँ। लौन, प्रष्ट्याइदिनुहोस्।" आश्चर्यमिश्रित भावमा रामले
सोधे।
"राष्ट्रिय समीक्षा गर्दा पृथ्बीनारायण शाह र बहादुर शाहबाहेक त्यसपछिका सबै शासकहरुले राष्ट्र हैन आफू
र सत्तालाइ केन्द्रमा राखेर
शासन गरे। सत्ता प्राप्त गर्न र सत्ता जोगाउनको लागि घीनलाग्दा षडयन्त्र गरिरहे। शासक र नेताहरु ढोंगी,
पाखण्डी र स्वार्थी भएकैले राज्यव्यवस्था लथालिङ्ग र भताभुङ्ग भयो । अब आउँ समाजतिर। ४०-५० बर्ष अघिसम्म नेपाली समाज बाहुनहरुकै मार्गदर्शनमा चलेर आएको हो। समाजका अगुवा ठानिएका यी बाहुनहरु अन्वेषण, अनुसन्धान र विमर्श नगर्ने
तथा आफूलाइ परिस्कार गर्न तत्पर नहुने भएकोले यी आफैंपनि टपरे बाहुनमा सीमित हुन
पुगे। साथै, उनीहरुको पछि लागेको
समाजलाइ पनि गतिरोधमा गुँडुल्क्याइदिए। आलोचनात्मक चेत र बैज्ञानिक सोच भएको
सुसंस्कृत समाज निर्माण गर्नेतिर ध्यानै गएन। देख्नुभएन, एउटा पण्डितले अर्को पण्डित
भेट्योभने वल्लो गाउँको कुकूरले पल्लो गाउँको कुकूरलाइ लखेटेसरी खेद्छन्। अध्ययन, अनुसन्धान र चिन्तन-मनन नगर्ने भएकोले यिनीहरु भित्रभित्रै खोक्रो भैसकेका
छन्। तर, दम्भ, अहङ्कार र घमण्डभने चर्को
छ। न संस्कार छ, न शिष्टाचार छ, न सामुहिक कार्यसंस्कृति छ, न त लक्षचिन्तन नै छ।
त्यसैले, यो बाहुन टोल रछान टोलमा
परिणत भैसकेको छ।” नन्दरामले ब्याख्या गरे।
रामले छर्लङ्ग वुझे। छ्याङ्ग घाम
लागेसरी भयो। एकछिन अवाक् रहे। यही वीचमा नन्दराम हिंडिसकेका थिए।
--
*arpaudel*
No comments:
Post a Comment