नेपालका कम्युनिष्टहरुको परीक्षणकाल शुरु भयो
-आनन्दराम पौडेल
भारतका अभियन्ताहरुसँग बिचार-विमर्श गर्दा उनीहरु भन्थे, भारतमा सत्तारुढ भएका
कम्युनिष्टहरु दुईप्रकारका छन्। वेष्ट बङ्गालमा २७ बर्ष कम्युनिष्ट शासन रह्यो।
त्यहाँका कम्युनिष्ट नेता र कार्यकर्ताहरुको बिषयमा जनतासँग तिक्त र कटु अनुभव छ।
पछिल्लो कालसम्म आइपुग्दा तिनीहरुको उत्ताउलो, उम्लेको, दम्भी, अहङ्कारी र हिंस्रक
ब्यवहार विस्फोटक अवस्थामा पुगिसकेको थियो। कम्युनिष्ट कार्यकर्ताहरुले अत्यधिक
दोहन गरेको र सताएको कारणले गर्दा नै वेष्ट बङ्गालमा उद्योगहरु धरासायी भएको थियो।
गतीलो विकल्प र प्रतिपक्ष नहुँदासम्म उनीहरुले शासन गर्न पाएको प्रष्टै
बुझिन्थ्यो। तर, केरलाका कम्युनिष्ट नेता र कार्यकर्ताहरु भने त्यस्को ठीक विपरित
थिए र छन्। केरलाका कम्युनिष्ट नेता र कार्यकर्ताहरु सभ्य, शिष्ट र गम्भीर छन्। सामान्य
बातचितमा समेत् उनीहरु ‘रिजनेवल’ र ‘लजिकल’ कुरा गर्छन्। दूरदृष्टि राख्छन्, झिनामसिना
कुरामा अल्झेर बस्दैनन्। यी दुईप्रकारका कम्युनिष्टमध्ये नेपालका कम्युनिष्टचाहीं
कस्ता छन् त ?
बिहीबार प्रतिनिधिसभामा जुन दृश्यहरु देखियो, त्यस्लाइ सामान्य ठान्न पनि
सकिएला ! सर्वप्रथम त, त्यस दिन २२८ जना सांसदहरु प्रतिनिधिसभामा आइपुगे। सांसदहरु आउँदै, हाजिर गर्दै, भाग्दै (हाटा) गरिरहेका थिए। १६८ जना
सांसदले हाटा (हाजिरगर्दै टापकस्दै) गरे। ६० जना सांसदले चाहीं हाटा गरेनन्; प्रतिनिधिसभा बैठकमा बसे।
बैठकमा बसेका सांसदको प्रस्तुति झन् उदेकलाग्दो थियो। जुम्लाबाट प्रतिनिधिसभामा
सदस्य भएका गजेन्द्रनारायण महतकै प्रस्तुतिलाइ सम्झौं। सांसदले खर्च गर्ने रु ४
करोडको बिषयमा उनी भन्दैथिए, “त्यो ४ करोड हाम्रो आफ्नै तजबिजीमा खर्च गर्न पाउनुपर्छ। ‘नियम अनुसार गर’ भन्ने ? हामी सांसदले नियममा चल्नुपर्ने ? अझ, स्थानीय
तहका जनप्रतिनिधिसँग मिलेर काम गर भन्ने ? प्रतिनिधिसभा
सदस्यको पो
हैसियत र औकात छ, तर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको के हैसियत छ ? तिनीहरुसँग मिलेर काम गर भन्नु हाम्रो अपमान हो।"
हैसियत र औकात छ, तर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको के हैसियत छ ? तिनीहरुसँग मिलेर काम गर भन्नु हाम्रो अपमान हो।"
सांसद गजेन्द्रनारायण महत त एउटा उदाहरण
मात्र हुन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यस्ता गजेन्द्रनारायण महतहरु अनगिन्ति
छन्।
अल्बेयर कामूले आफ्नो दार्शनिक कृति ‘बिद्रोही’(दोम्म रिवोल्ते)मा, “जो हिंसाको माध्यमद्वारा सत्तामा पुग्छ त्यस्ले झन् बढी
हिंसाको प्रयोग गर्छ” भनेका छन्।
एकचोटी हिंसाको प्रयोग भैसकेपछि त्यस्ले एक्कैचोटी तीनओटा काम गर्दोरहेछ। हिंसाको बिरोध गर्ने अधिकार र नैतिक बल गुमाइसकेको हुन्छ। हिंसाबाहेक अरु केही नगरेको र नजानेको
हुनाले हिंस्रक शैलीमै राज्य सञ्चालन गर्छ। हिंसा नै सफलताको माध्यम रहेछ भन्ने
सन्देश प्रवाह हुन्छ र अरुलाइ हिंसाकै बाटो
हिंड्न अभिप्रेरित गर्छ।
“तत् किं” मा गुरुदेव रविन्द्रनाथ
टैगोर जो जति अनुशासनमा रहन सक्छ,त्यस्लाइ त्यति नै स्वतन्त्रताको अधिकार प्राप्त
हुन्छ भन्छन। त्यस्को ठीक उल्टो यहाँ जस्ले जति नियमकानुन तोड्न सक्छ त्यस्लाइ
त्यति नै हिरो ठान्ने चलन बसेको छ।
सांसदहरुले सिण्डिकेट बनाएर १० करोड नभैहुँदैन भनेर घेराबन्दी गर्ने।
पाउनेभएको रु ४ करोड आफ्नो मनोमानिले खर्च गर्न पाउनुपर्छ भन्ने। सांसदचाहीं यो
देशका ठूलाठालु र अरुलाइ चाहीं हैसियत नभएका भन्ने। यो प्रवृत्तिलाइ नेतृत्वले
उपचार गर्न सक्छ कि सक्दैन ? त्यसैमा निर्भर छ यहाँका कम्युनिष्टहरु वेष्ट
बङ्गालका जस्ता हुन्छन् कि, केरलाका जस्ता हुन्छन् भन्ने निर्क्यौल हुने
मूल्याङ्कन।
Friday, June 1, 2018
No comments:
Post a Comment