Pages

Tuesday, January 29, 2019

भागशान्ति जयनेपाल


भागशान्ति जयनेपाल
          -आनन्दराम पौडेल

   आज बिषयबस्तुको उठान अनुभवको शेयरबाट गर्न अनुमति मागें। त्यस्मा पनि सर्वप्रथम मित्रहरुकै अनुभवबाट शुरु गरें। धेरै बर्षअघि हाम्रा मित्रहरु पटक-पटक वेष्ट बङ्गाल गएकारहेछन्। त्यहाँको कम्युनिष्ट सरकारको उत्थान र पतनलाइ नजिकैबाट अध्ययन गरेका रहेछन्। अनुभव सुनाउँदै भने – पहिलोपटक सन १९८२ मा त्यहाँ गयौं। सन १९८२ को विधानसभा निर्वाचनमा २९४ सिटमध्ये वाममोर्चाले २३८ सिटमा विजय हासील गरेको थियो। कोलकता, अलीमुद्दीन स्ट्रीट स्थित मार्क्सवादी कम्युनिष्ट पार्टीको राज्यसमिति अफिसमा पुग्यौं। पार्टीका सचिवले, “तपाईंहरु के हेर्न चाहनुहुन्छ ?” भनेर सोधे। हामीले मेट्रो हेर्ने चाहना ब्यक्त गर्यौं। त्यहाँ मेट्रो रेल चल्न भर्खरै शुरु भएको थियो। सचिवले एकजनालाइ अह्राए। उनले हामीलाइ जीपमा बसालेर भवानीपुर मेट्रो स्टेशनमा पुर्याए र भने, “मेट्रो चढेर एस्प्लेनेड आइपुग्नुहोला, हामी तपाईंहरुलाइ पर्खिरहेका हुनेछौं।” एस्प्लेनेडबाट तिनै ब्यक्तिले हामीलाइ जीपमै राखेर पुन पार्टीअफिसमै ल्याएर छाडिदिए। अफिस फर्केपछि हामीलाइ मेट्रो देखाउन लैजाने ब्यक्तिको बिषयमा पार्टी सचिवसँग सोध्यौं। सचिवले भने, “किन तपाईंहरुले परिचय गर्नुभएन र ? उहाँ त वहालवाला मन्त्री नै हो।” हुन त, मन्त्रीजीले जम्मा ४५ मिनेट समय हामीलाइ दिनुभएको थियो, तर त्यति सहज उपलब्ध हुनु र सरल ब्यवहारले हामी प्रभावित भयौं। परिचय नगरेकोमा हामीले पछुतो मान्यौं। अर्को दिन हामी कोलकत्ताबाट अलिकति टाढापर्ने त्रिवेणी भन्ने सानो शहरको स्थानीय पार्टी कमिटिको अफिस गयौं। त्यहाँ ३ महिनापछि उपनिर्वाचन हुनेवाला थियो। पार्टीका एकजना सामान्य कार्यकर्तासँग सोध्यौं, “निर्वाचनमा तपाईंहरुको सम्भावना के छ ?” ती कार्यकर्ताले बताए, “उम्मेदवारको लागि दुइटा नाम अगाडी आएको छ। यदि मुखर्जीलाइ टिकट दिएभने हामीले १ लाख २० हजार भोटले जित्नेछौं; यदि बन्द्योपाध्यायलाइ टिकट दिएभने हामीले ९९ हजार भोटले जित्नेछौं।” यो अन्तरको बिषयमा हामीले जिज्ञाशा राख्यौं। ती कार्यकर्तासँग त्यो निर्वाचनक्षेत्रको हरेक टोल, मोहल्ला र घर-घरको बिषयमा एक-एक ज्ञान रहेछ। कहाँ-कहाँ कस्ता परिवार छन् र के-कस्ता चेतना र विचारका मान्छे छन् ? ती एक-एकको मनोबिज्ञान समेत् छर्लङ्ग रहेछ। उपनिर्वाचनमा बन्द्योपाध्यायलाइ टिकट दिइयो र नभन्दै ९९ हजार ५ शय बढी भोट ल्याएर निर्वाचित भए।
   कलकत्तापछि हामी त्रिपुरा गयौं। त्यहाँ पार्टी राज्यसमितिको अफिस गयौं र “मुख्यमन्त्री नृपेन चक्रवर्तीसँग भेट्न सकिन्छ कि ?” भनेर सोध्यौं। पार्टीसचिवले भने, “तपाईंले जुनबेला चाहनुहुन्छ, तत्कालै भेट्नसक्नुहुन्छ; कुनै सिफारिश चाहिंदैन” भने। मुख्यमन्त्री निवासमा पुग्यौं। त्यहाँ ३०० भन्दा बढी मानिस थिए। नृपेन चक्रवर्ती निवासबाहिर पटाङ्गिनीमा एउटा फलामको कुर्सीमा बसेका थिए। एक-एकका समस्या, गुनासालाइ ध्यानपुर्वक सुन्थे। छेउमा २ जना कर्मचारी थिए। तिनलाइ निर्देशन दिन्थे। सबैले उनलाइ ‘नृपेन दा’ भनेर सम्वोधन गर्थे। नृपेन दाले अरुसँग स्थानीय भाषामै बातचित गरे, हामीसँग मात्र अङ्ग्रेजीमा कुरा गरे। हामीले, आदिवासी इलाकामा जाने इच्छा बतायौं। हामीले इच्छा दर्शाउनासाथ नृपेन दाले आदिवासी इलाकामा जान तत्कालै प्रवन्ध गरिदिए, जुन ८० किलोमिटर टाढा थियो। आदिवासी इलाकामा कार्यरत पार्टीकार्यकर्तासँग घुलमिल भएर उनीहरुको मनोविज्ञान बुझ्यौं। उनीहरु त्यस क्षेत्रको विकास र जनताका समस्यामा यति तल्लीन र लीन थिए कि उनीहरुलाइ कुनै नियुक्ति वा टिकटको बिषयमा सोच्नेसम्म फुर्सद थिएन।
   पार्टीका कार्यकर्ताहरु जबसम्म जनतासँग एकाकार भैरहे, नङ-मासुको सम्बन्धमा रहे र जनताका समस्यालाइ बोकेर हिंडिरहे तबसम्म पार्टीको दिग्वीजय भैरह्यो। पछिल्लोकालमा जब शीर्षस्थ नेतृत्वबाटै त्याग र समर्पणलाइ तिलाञ्जलि दिइयो तब कार्यकर्ता पङ्क्तिभित्र आपसि विश्वास धर्मरायो। विश्वासको सङ्कटसँगै निष्ठा निख्रियो। समग्रमा पार्टीको आधारस्तम्भ नै ढल्यो।
   यो भयो मार्क्सवादी कम्युनिष्ट पार्टीको वेष्ट बङ्गालमा उत्थान र पतनको प्रत्यक्ष अनुभव। अब नेपालमै फर्कौं। २०५१ साललाइ सम्झौं, जुनबेला नेपालको शासकीय इतिहासमै पहिलोपटक कम्युनिष्ट पार्टीको सरकार बनेको थियो। २०५१ सालमा नेकपा एमालेको सरकार बनेर शुरुको ६ महिनासम्म वेष्ट बङ्गालको शुरुकै स्थिति ठ्याक्कै थियो। फरक के मात्र थियोभने वेष्ट बङ्गालमा माकपाले सरकार चलाएको २५ बर्षपछि मात्र स्खलन शुरु भएको थियो, तर नेपालमा भने कम्युनिष्ट (एमाले) ले सरकार चलाएको ६ महिनापछि नै स्खलन शुरु भैसकेको थियो।
   त्यसपछि पनि कम्युनिष्टहरु सरकार सञ्चालनमा गएका छन्, तर उनीहरुका ब्यवहार झन्-झन् घिनलाग्दो हुँदैगएको छ। अहिले पनि नेकपाकै सरकार छ। तर, काङ्ग्रेस होस् वा कम्युनिष्ट सबैको एउटै सूत्र छ – “मिलिजुलि बसौं, बाँडिचुँडि खाउँ।”  एनसेलले राजस्वमा दाखिला गर्नुपर्ने ६५ अरब हजम गर्नमा होस् वा वाइडबडी जहाज खरिद गर्दा ४ अरब झ्वाम् पार्दा होस् वा कर फर्छ्यौट आयोग बनाएर राजस्व हसुर्दा होस्, काङ्ग्रेस र कम्युनिष्ट एकैठाउँमा आइपुग्छन् र “भागशान्ति जयनेपाल” गरिरहेका हुन्छन्। यिनीहरु सुध्रेलान् भन्ने आशा पटक्कै छैन। त्यसैले, हामी अकिञ्चनको आग्रह एउटै छ, नाङ्गोभुतुङ्गो भएर भ्रष्टाचारको आहालमा चुर्लुम्मै डुबिसकेपछि त्यो ‘कम्युनिष्ट’ शब्द राख्नुचाहीं दुनिञालाइ धोका दिनु हो; त्यो शब्द आजै हटाइहालुन्।
हेटौंडा, नवलपुर। मङ्गलवार, जनवरी 29, 2019


      
 

No comments:

Post a Comment