Pages

Wednesday, August 11, 2021

 

 

न्यायपालिकालाइ यसरी सुधार गरौं

 

 

न्यायमूर्ति हरिकृष्ण कार्की नेपाल बार एसोसिएसनको अध्यक्ष हुँदा हेटौँडामा भएको नेपाल बारको सम्मेलनमा भ्रष्टाचार गर्ने सबै न्यायाधीशको नाम बारसँग छ, मागेमा दिन तयार छौँ भन्नुभएको थियो । त्यतिवेला मेडिकल कलेजको बेथितिमा टेप काण्डले सनसनी थपेको थियो । तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले बारसँग न्यायाधीशको नाम मागेका थिए । साहपछिका प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नामावली मागेनन्, अर्को अनावश्यक समिति गठन गरे । प्रतिवेदन आउँदाआउँदै अवकाश भए । सुशीला कार्की र गोपाल पराजुलीले बारसँग नामावली माग गर्ने आँट गरेनन् । कार्कीको प्रतिवेदनले आफू नेपाल बारको अध्यक्ष हुँदाको त्यस्तो महŒवपूर्ण कागजबारे प्रतिवेदनमा उल्लेख गरिदिएको भए राम्रो हुने थियो । 

अदालतमा भ्रष्टाचार
जमाना यस्तो थियो, अदालतममा भ्रष्टाचार छ भन्न नहुने । बरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधरविरुद्ध राष्ट्रिय पञ्चायतको अवहेलना मुद्दा उदाहरण हो । नेपाल बारका तत्कालीन अध्यक्ष विश्वकान्त मैनालीले भाषणमा अदालतमा भ्रष्टाचार छ भन्दा बारबेन्चमा खैलाबैला मच्चियो । बलराम केसीजीले सर्वोच्च अदालतमा बहाल रहँदै ०६७ सालमा अंगे्रजी दैनिक द हिमालयनकान्तिपुर दैनिकमा अदालतमा भ्रष्टाचार छ, कारबाही गर्ने निकाय न्यायपरिषद् फितलो छ । न्यायपरिषद्बाट काम हुन सक्दैनभनेर अन्तर्वार्ता दिँदा न्यायाधीश भएर न्यायालयमा भ्रष्टाचार छबोल्ने भनेर उहाँसँग न्यायाधीशहरू टाढाटाढा भएको उहाँले बारम्बार भन्नुभएको छ।

अदालतमा भ्रष्टाचार जतिसुकै भए पनि भ्रष्टाचार छ भनेर बोल्न र स्विकार्न हुँदैन भन्ने मानसिकता थियो । त्यस्तो प्रवृत्ति र मानसिकता स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायका लागि घातक थियो । चोरको खुट्टा काट भन्दा चोरले खुट्टा झिक्छ भन्ने मानसिकता हो, त्यो । आज सर्वोच्च अदालतले नै बहालवाला न्यायाधीशको संयोजकत्वमा गठन गरेको समितिले न्यायालयमा भ्रष्टाचार छ भनेर प्रतिवेदन दियो । स्वागतयोग्य कुरा हो, यो । न्यायपालिकामा भ्रष्टाचार छ भनेर कुरा चल्दा त्यतिवेलाका नेतृत्वले लुकाउनुको सट्टा न्यायपालिकामा भ्रष्टाचार छिर्‍यो कसरी, रोकथाम गर्ने कसरी भन्नेमा खुला दिलले सोचेर तदनुरूप तयारी गरेको भए आज अदालतमा भ्रष्टाचार हुन्छ भन्ने दिन आउँदैनथ्यो । प्रधानन्यायाधीशले गम्भीरताका साथ लिनुपर्‍यो । 

न्यायाधीश कसरी नियुक्ति गरिन्छ भन्ने प्रमाणका लागि लयर्स फोरम नेपालद्वारा प्रकाशित भर्डिक्टत्रैमासिक अंक १६ मंसिर ०७७ मा प्रकाशित न्यायपरिषद् सुधारको अग्निपरीक्षालेखबाट न्यायपरिषद्लाई बिगार्ने नेतृत्व र पात्रहरू चिनिन्छ । सुरुमा न्यायपरिषद्मा तीनजना न्यायाधीश, कानुनमन्त्री र एकजना कानुनविद् रहने व्यवस्था थियो । अहिलेको संविधानले न्यायाधीशको संख्या कटौती गरी तेस्रो न्यायाधीशको सट्टा प्रधानमन्त्रीको प्रतिनिधि राख्ने व्यवस्था गर्‍यो । कानुनमन्त्रीसँग मिलेर प्रधानन्यायाधीश र वरिष्ठतम् न्यायाधीश भएर तीनजनाले भागबन्डामा नियुक्ति गर्ने प्रथा त्यहीँबाट सुरु भयो । 

न्यायपरिषद्को वर्तमान संरचनाबाट नै न्यायाधीश नियुक्ति विवादमुक्त गर्न सकिन्छ । भारतको संविधानमा न्यायपरिषद् छैन । एडिएम जबरपुरको मुद्दामा राय बझाउने न्यायमूर्ति, एके गोपालनको मुद्दा र केशवानन्द भारतीका मुद्दाहरूमा सरकार हार्‍यो । सरकार अदालतसँग चिढियो । १९७० को दशकमा भारतमा संकटकाल लाग्यो । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा सरकारले आफूलाई मुद्दा जिताउने न्यायाधीश छानीछानी नियुक्ति गर्न थाल्यो । १९९३ मा सर्वोच्च अदालतले जजेज केसेज२ मा हाम्रो न्यायपरिषद्कै ढाँँचामा ६ सदस्यीय कलेजियम बनायो । भारतमा नियुक्तिमा विवाद भए पनि हाम्रो जस्तो गति छाडेर नियुक्ति गरिँदैन । 

हाम्रोमा नियुक्तिमा सुधार गर्न सकिन्छ । धारा १३६ ले प्रधानन्यायाधीशलाई न्यायपालिका सुधारमा असीमित अधिकार दिएको छ । असल न्यायाधीश नियुक्ति पनि त्यही असीमित अधिकारभित्र पर्छ । प्रधानन्यायाधीश भागबन्डाविरोधी हुने, मनैदेखि स्वतन्त्र न्यायपालिकाप्रति समर्पित हुने हो, आफ्नो मान्छे होइन, राम्रो मान्छे चाहने हो भने नियुक्ति विवादमा पर्दैन । भारतको कलेजियमजस्तै प्रधानन्यायाधीशको राय अन्तिम हुने व्याख्या गरेर नियुक्ति गर्न सकिन्छ । प्रधानन्यायाधीश कटिबद्ध, इमानदार, समर्पित र निष्ठावान् हुने हो भने कानुन व्यवसायीलाई न्यायाधीशमा नियुक्ति गर्दा धारा १२९(५) मा परेको विशिष्ट कानुनविद् पहिचान गर्न पनि गाह्रो पर्दैन । समस्या त परिषद्ले राम्रो मान्छेको सट्टा हाम्रो मान्छे खोजेर उत्पन्न हुने हो ।

  

No comments:

Post a Comment