अफगानिस्तानबाट के सिक्ने ?
अमेरिकाले हात झिकेको र तालिबानी कब्जामा
रहेको अफगानिस्तानबाट दक्षिण एसियाली मुलुकले उपक्षेत्रीय वा राष्ट्रिय पाठ सिक्नु
आवश्यक छ । यी पाठ आन्तरिक ज्ञानमा आधारित ‘राज्य संयन्त्र विकास’ प्रक्रियामा केन्द्रित छन् । यी प्रक्रियाको जोड स्थानीय तहको सहकार्य एवं समुदायको
सहयोगविना जबर्जस्ती केन्द्रबाट लादिने शासनलाई निरुत्साहन गर्नुपर्छ र ‘वैदेशिक सहायतामा अत्यधिक निर्भरता’ले दिने प्रत्युत्पादक नतिजाबारे सावधान
रहनुपर्छ भन्ने छन् । अन्तिम बुँदाबाट सुरु गरौँ । हालै एक प्रतिष्ठित
अर्थशास्त्री रथिन रोयले औँल्याएका कुरालाई हेरौँ :
विदेशी सहायता दुखाइ कम
गर्ने औषधिजस्तै हो । विदेशी सहायता प्राकृतिक प्रकोप, मानवीय संकट, महामारी एवं रोगव्याधि फैलिँदा सहयोगी ठहरिन
सक्छ । यसले मुलुक र मुलुकवासीको आर्थिक रूपान्तरणमा सहयोग गर्दैन । वैदेशिक
सहायता बढेर कुल गार्हस्थ्य उत्पादन दुई अंकमा पुग्छ भने यसले उल्टै ठूलो विनाश
निम्त्याउन सक्छ । वैदेशिक सहायताको लतबाट मुक्त मुलुकहरू त्यहाँको नेतृत्वले
लिएको ‘सहायताबाट निकास’ रणनीतिका कारण भएको हो । यही रणनीति लागू
गर्ने वा नगर्नेले बंगलादेशलाई पाकिस्तानबाट एवं भियतनामलाई कम्बोडियाबाट
छुट्याएको हो ।
सन् २०१२ देखि कुल
गार्हस्थ्य उत्पादन ५० प्रतिशत कटौती हुने गरी वैदेशिक सहायता कम हुँदै जाँदा
अफगानिस्तानको आर्थिक वृद्धि ओरालो लाग्न थालेको थियो । अत्यधिक ‘वैदेशिक’ मुद्रा र लगानी अफगानिस्तानमा दिगो घरेलु वृद्धिमा रूपान्तरण हुन सकेन ।
वैदेशिक मुद्राले घरेलु उत्पादन नबढाई ‘कृत्रिम’
रूपमा घरेलु उपभोग
क्षमता बढायो वा निर्यात शून्यप्रायः रहेको अवस्थामा आयात तीन गुणाले बढ्दा
राजस्वका वैकल्पिक स्रोत बढायो । कुनै पनि बुद्धिमत्तापूर्ण आर्थिक नीतिका
सल्लाहकार वैदेशिक सहायतालाई घरेलु उत्पादन बढाउन उद्देश्यमा केन्द्रित गर्न
चाहन्छन् । अफगानिस्तानको सन्दर्भमा त्यहाँका किसानलाई सहायतासँग जोडीदिँदा पीँधमा
रहेका जनताको आर्थिक एवं सामाजिक गतिशीलता देख्न सकिन्थ्यो ।
अर्थशास्त्री अतिफ
मियाका अनुसार वैदेशिक सहायता कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशत हुँदा पनि
गरिबीको रेखामुनि रहेका अफगान जनता ३४ देखि ५५ प्रतिशत बढे । तथाकथित अमेरिकी
युद्धले अफगान जनताका लागि केही पनि प्रभावकारी एवं उचित विकास गर्न सकेन । ठिक
विपरीत अफगानिस्तानका स्थानीय एवं राष्ट्रिय सरकार आत्मनिर्भर हुनुको साटो वैदेशिक
सहायताको लतले परनिर्भर भए । पश्चिमा शक्तिहरू अफगानिस्तानमा असफल हुँदा ‘लोकतान्त्रिक संस्थाहरू’ बल प्रयोगबाट बन्दैनन् र विदेशबाट निर्यात
गर्न सकिँदैन भन्ने पनि देखायो । मध्यपूर्वमा अमेरिकी प्रयासले उल्लिखित
नतिजाबाहेक केही दिएन ।
अफगानिस्तानको
सन्दर्भमा अमेरिकाले धेरै पहिले मुलुकलाई दिगो रूपमा स्थिर एवं आत्मनिर्भरताका
लागि सम्प्रभु कानुन एवं व्यवस्था वा बलियो राज्य संयन्त्र चाहिन्छ भन्ने
बुझिसकेको हुनुपर्छ । अफगान राजनीतिक परिदृश्यमा क्रियाशील सुरक्षा बल, अदालत एवं सक्षम कर्मचारीतन्त्रको
कमी रह्यो । यो कमी पूर्ति गर्न अमेरिकाले थप सहयोग एवं विदेशी जनशक्ति
परिचालनसमेत गरेको थियो, नतिजा
हाम्रासामु स्पष्ट छ । राष्ट्र निर्माण वा लोकतान्त्रीकरण माथिदेखि–तलको प्रक्रियाबाट चल्न सक्दैन ।
वरिष्ठ अर्थशास्त्री डेरेन एसेमोग्लुका अनुसार अमेरिकी नीतिनिर्माता अफगानिस्तानमा
तथाकथित राजनीतिशास्त्रको उच्च प्रचलन लागू गरिरहेका थिए जहाँ अत्यधिक सैन्य
प्रयोगबाट भूमिमा पूरा नियन्त्रण गरेर आफ्नो इच्छा लागू गर्नुहुन्छ । उनी थप्छन्— यो पूर्ण रूपमा सफल विधि होइन, अफगानिस्तानको सन्दर्भमा त
पूर्णतया असफल नै बन्यो ।
के त्यसो भए भारतलगायत दक्षिण एसियाली मुलुकले
अफगानिस्तान अनुभवबाट केही सिक्न सक्छन् ? यसको उत्तर डेरेन एसेमोग्लु र जेम्स रबिन्सनको सन् २०१९ मा लेखिएको संयुक्त
कृति द न्यारो करिडोरबाट साभार गर्न सकिन्छ । उनीहरूका अनुसार राज्यका संयन्त्र
नभएका वा कमजोर भएका र विविधतापूर्ण समाज भएका मुलुकमा ‘माथिदेखि–तल’को शासन प्रक्रियाले विरलै काम गर्ने देखाएका
छन् । चीनको कुइन वंश वा अटोमन साम्राज्य वा भारतको मुगल साम्राज्यमा अकबर
शासनकाललाई एसियामा ‘माथिदेखि–तल’को शासन प्रक्रियाको सफल उदाहरणका रूपमा लिन
सकिन्छ । यी राज्य सम्झौता एवं सहकार्यले चल्थे र थोरै विकेन्द्रीकृत स्वायत्तता
पनि थियो भने माथिदेखि तलको शासन बलजफ्तीका आधारमा थिएन । यी सबै उदाहरणमा राज्य
बाध्यकारी नियामक बनेको थिएन वास्तवमा राज्य जनताको भावनाको कदर गर्ने किसिमको
थियो । अफगानिस्तानमा यस्तो कहिल्यै हुन सकेन ।
हालको भारत पनि निकै
केन्द्रिकृत भइसकेको छ । मोदी–अमित
शाहको माथिदेखि–तलको शासन प्रक्रियाले ‘क्रियाशील’ मुलुकलाई ‘असफलता’तर्फ धकेलिरहेको छ । हालकै भारतको चरम नवव्यक्तिकेन्द्रित रबैया अर्थात्
बाध्यकारी माथिदेखि–तलको शासनले ‘असफल’ राष्ट्र बन्ने दिन धेरै टाढा छैन । यदि राज्य निर्माण समाजको इच्छाविरुद्ध
जान्छ वा समाजको विश्वास एवं सहयोग लिन सक्दैन भने त्यसले व्यापक असन्तुष्टि
निम्त्याउँछ जसले राज्यविरुद्ध सशस्त्र हिंसात्मक विद्रोह वा युद्ध पनि गराउन सक्छ
। यस अर्थमा भारतलगायतका दक्षिण एसियाली लोकतान्त्रिक राष्ट्रहरूले अफगानिस्तानबाट
पाठ सिक्नुपर्छ ।
द वायरबाट (मोहन ओपी जिन्दल ग्लोबल युनिभर्सिटीका अर्थशास्त्रका
सहप्राध्यापक हुन्)
No comments:
Post a Comment