तीनजना महिलाको मिल्दोजिल्दो दशैं-अनुभव (सारसंक्षेप) -
हिजोका दिनमा दशैं भन्नेबित्तिकै खुब रमाइलो लाग्थ्यो।
दाइले नयाँ लुगा पठाइदिनु हुन्छ, दिदीले
पनि नयाँ लुगा र जुत्ता अनि बुवाले टीका र जमरासँगै नयाँ टलक्क टल्किने नोट
दिनुहुन्छ भन्ने आशाले मन त्यसैत्यसै पुलकित र गदगद हुन्थ्यो।
अष्टमीको दिन गरिने
रात्रीपूजाको लागि राखिएको भाले समातेर छेउमा उभिनुको मजै बेग्लै थियो। पूजाको
लागि पोलेको नैवेदको स्वाद,
पूजारी बस्नुहुने बुवा वा दाईको लागि तयार
पारिएको दही-चिउरा र केराको सानो अंश खाँदाको आनन्द।
नवमीका दिन धनकुटा चुङमाङ, लिसिम्बुको ठाडा गाउँ र पूर्वछाने गाउँभरि सुँगुरको मासुचिउरा चाख्दै
हिंड्दा जीँवनको स्वादै अर्को हुन्थ्यो।
अनि टीकाको दिन मार्घा
डाँडा माथिल्लो टोलको जेठामामाको घरबाट टीका लगाउँदै-लगाउँदै कान्छामामा हुँदै
कैजलेमुनि हेमदल दाइको घरमा पुग्दा नयाँ तथा पुराना पैसाको नोटले गोजी टमक्क
भरिइसकेको हुन्थ्यो।
कान्छो दाइ र मबीच कस्को
धेरै पैसा भयो भनेर प्रतिस्पर्धै चल्थ्यो। म सानी र कान्छी भएकीले सकेसम्म आमाबाट
पनि फाइदा लुट्न खोज्थेँ। आमाको हातमा आएका ठूला साना नोटमध्ये ‘सानासाना चाहिँ म
राख्छु नि’ भन्दै दाइले थाहा नपाई आफ्नो खल्तीमा जम्मा गर्थे।
ओहो ! त्यो दशैं र त्यो
सम्झना साँच्चिकै रोमाञ्चकक हो।
केही बर्ष अघिदेखि हाम्रो समाजमा जातीय
विद्वेषको जहर घोल्न थालियो। जातीय विद्वेषको जहर घोल्ने अभियान नै अघि बढाइयो।
नेपाली समाजमा जातीय विद्वेषको जहर घोल्ने अभियान चलाएपछि समाज पूरै धमिलियो र
सामाजिक सद्भावको स्थानमा तिक्तता भरियो।
घटस्थापनाको दिन बुवा जमरा राख्ने तयारी गर्दै
हुनुहुन्थ्यो। दाइले “जमरा नराखौं। ‘जमरा
राख्दैनौं’ भनेर उता बचन दिएका छौं” भन्नुभो। तर बुवाले मान्नु भएन। रातोमाटोले
बिट चिटिक्क काटेर मिलाइएको ठाउँमा हरियो गोबरले चोखो पारेको कुनामा अन्य थर वा
जातका मानिसहरूलाई प्रवेश निषेध गरिएको पूजाकोठामा लहरै पाँचवटा टपरामा जमरा
छर्नुभो।
अनि भन्नुभो, “तिमेरू
जेसुकै गर, मैले मान्दैआएको हाम्रो रीतिरिवाजलाई म यत्तिकै
छोड्न सक्दिनँ।”
हरेक वर्ष दशैंको
फूलपाती ल्याउने दाईहरूले दशैं परित्यागको घोषणा गर्न बाध्य भएको स्थितिपश्चात्
बुवा आफैं पूजारी हुनुभयो। पूजा सामग्री सबै एउटै भए, रात्री भाले काटियो। भोलिपल्ट मारहान्ने दिनमा भने सुँगुरको सट्टा कुभिण्डो
पो काटियो। हुन त योभन्दा पहिलादेखि नै सुँगुरसँगै अरु थुप्रै पशुहरूको
प्रतीकात्मक रुपमा बलि दिइन्थ्यो। जस्तै,
राँगोको सट्टा काँक्रो, बोकाको रुपमा केरा आदिलाई लहरै राखी मार हानिन्थ्यो।
दशमीको दिन टीका लगाउने
बेला भयो। बुवा आफ्नो जिद्दीमा अडिग हुनुहुन्थ्यो। मेरा दुईजना दाइहरूले उता
कस्लाइ दिएको बचनबद्धता अनुसार टीका बहिष्कार गर्नुपर्ने बाध्यता थियो।
बाँकी रह्यौं भाउजू र
म।
“यी दुइटा त जान्ने-बुझ्ने
भएछन्, बाबाको हातको टीका-आशीर्वाद नथाप्ने भए। तिमीहरू पनि
त पढ्यालेख्या छौ, मेरो हातको टीका नलगाउने त होलाऊ ?” बुवाले कड्केर भन्नुभयो।
भाउजू र मैले निःशब्द
एकअर्काको आँखामा हेराहेर गर्यौं। आमाले टीका थाप्न इशारा गर्नुभयो।
भाउजू र म आज्ञाकारी
बालकझैं थपक्क बुवाको हातबाट टीका थाप्न बस्यौं।
त्यसपछि पछिल्ला बर्षहरूमा फरक
यति थियो कि, कहाँ, कस्को
लहैलहैमा लागेर छोराहरूले टीका थाप्न
मिल्दैन भन्नेमा बाबा ढुक्क हुनुभो। दाइहरू पनि बाबालगायत धेरै जनजातीहरूले कुनै
हालतमा परम्परागत टीका परित्याग गर्दैनन् भन्नेमा स्पष्ट हुनुभयो।
यो हाम्रो कथा हो।
यद्यपि प्रायः आदिवासी घरहरूको कथा योभन्दा फरक छैन भन्ने कुरा मेरो भोगाइ, साथीसङ्गत र अध्ययन-अनुसन्धानका आधारमा पनि भन्न सक्छु।
समाजमा जातीय विद्वेषको
जहर घोल्नु अघिसम्म जुठोपर्दा वा अप्रीय घटना
भएका बेलामा मात्र दशैंमा टीका लगाइन्थेन। यस्तो बेला मारहान्ने काम पनि
रोकिन्थ्यो र दशैंको लागि भनेर घर लिपपोत गरिन्नथ्यो।
कतिपयलाई लाग्यो, ‘चलिआएको
चलन त्यत्तिकै एक्कासि कसरी छोड्ने ?’ कतिलाई, ‘खर्च नै जोगिने भयो’ भन्ने पनि लाग्यो।
कतिपयलाई त दशैं किन परित्याग गर्ने ? भन्नेसमेत कुनै अत्तोपत्तो नै थिएन। छिमेकीका
सबै घरमा जमरा उमारिन्छ, खसी काटिन्छ र टीका लगाइन्छ तर आफ्नै घरमा मात्र ती
क्रियाकलाप किन हुँदैनन् ? भन्ने कति बालबालिकालाई त अझै थाहा छैन। कसैको
योजनाअनुसार र निर्देशनमुताविक गरेकाले होला, सामाजिक सद्भावलाइ खल्बल्याउने र
समाजलाइ बिखण्डित गर्ने यो बिषयलाइ चित्तबुझ्नेगरी सम्झाउन सकेका पनि छैनन्।
यद्यपि, अझै पनि आदिवासी जनजातिभित्रकै अधिकांश मगर, तामाङ, राई, लिम्बूले मज्जाले दशैं मनाउँछन्।
पछिल्ला दिनमा पहिला
टीका लगाउन छोडेका घरपरिवारमा पुनः टीका लगाउने चलन बढेको सामाजिक सञ्जालहरूमा
छ्यापछ्याप्ती देख्न पाइन्छ। परम्परागत हिसाबमा उपवास बस्ने, पशुबली दिने चलन भने त्यति छैन।
शनिवार, अक्टोबर 16, 2021
No comments:
Post a Comment