Pages

Tuesday, January 9, 2024

 हिंसात्मक अत्याचार  ।।


हिंसात्मक अत्याचार

घटना शुक्रबारदेखि भएको रहेछ मैले सारदा थापालाई अदालतमा देखेको आईतबार थियो । उनी श्रीमान श्रीमतिको सम्बन्ध विच्छेदका लागि अदालतले तोकेको पेशीका लागि उपस्थित हुन अदालत गएकी रहिछन् । उनीसँग अदालत परिसरमा उनका श्रीमान पनि थिए । म एक अर्को मेरै वडाको अंश मुद्दाको वकपत्रका लागि अदालत गएकी थिएँ । करीब एक बजेदेखि साढे तीन बजेसम्म म अदालत परिसरमै रहेको फूलबारीमा घाम तापेर बसेकी थिएँ । म पत्रकारीता पेशाको हिसाबले भन्दा पनि साक्षीको तर्फबाट बकपत्र गर्न गएकाले पनि अन्य विषयमा खासै ध्यान थिएन ।

 

त्यहिँ बस्दै गर्दा सारदा अदालतको मूल ढोकानिर कराएको सुनेँ । उनले भन्दै थिईन, ‘म यहाँबाट जान्न मलाई यीनिहरुले मार्छन । बरु म यहिँ बस्छु ।’ उनको आवाज चर्किएसँगै उनका श्रीमानले अलि नजिक गएर के भने मैले बुझिन । तर सारदा कराई रहिन । उनको कुरा नत त्यहाँ भएका प्रहरीले सुनेका थिए नत कुनै अदालतभित्र रहेका कोहि कसैले सुनेका थिए (सुनेर पनि नसुने जस्तो गरेका थिए) । जहाँ वकिल, नागरिक, कर्मचारी, प्रहरी लगाएत सबै थिए । न कसैले उनलाई हेरेको थिएन नत बोलेका थिए । (मानौं उनी मानसिक विरामी हुन, बोल्नुको अर्थ छैन जस्तै गरि)

 

मैले त्यहाँ भएका केहि वकिल, केहि न्यायका लागि गएका मान्छे लगाएत केहिसँग यी महिला किन यसो भनिरहेकी ? को रहिछन ? भनेर सोधें । सबैको एउटै एउटै कुरा थियो । यो महिला खराब हो । यीनले गाउँलेको ऋण लिएर नतिरेको र श्रीमानसँग सम्बन्ध विच्छेद हालेको बताए । केहिले लेनदेनको मुद्दा पनि छ भने ।

 

म वकपत्रको समय कुरिरहें । त्यहि समयमा अदालत भवन बाहिर परिसरमा २ जना महिलाहरु पनि भुत्भुताए । उनीहरु रिसले चुर छन भनि छुट्याउन मलाई कुनै समय लागेन । उनीहरु म बसेकै नजिकै बसेका थिए । उनीहरुलाई मैले देखेको हो चिनजान हैन । उनीहरुले महिला बोलिरहेकै बेला भने यसलाई अदालतबाट बाहिर मात्रै आओस न सास मात्रै बाँकी राखेर कुट्नुपर्छ भने । मैले भनेँ, किन कुट्ने ? खास कुरा के हो ?

 

उनीहरुले भने, ‘यसले पैसा खाएर काठमान्डौमा जग्गा किनी । अहिले ऋण नतिर्ने ? यसलाई नकुटेर कसलाई कुट्नु ?’

 

मैले त्यो महिलालाई कुट्छन भन्ने आँकलन गर्न सकिन । अनि उनीहरुलाई भनेँ, ‘किन कुट्नु ? कुटेर पैसा आउँछ र ?’ उनीहरुले अब अरु विकल्प छैन भन्दै थिए । अनि उनीहरुलाई सोधेँ, घर कहाँ हो तपाईँहरुको ? उनीहरुले ढकालगाउँ भने । म त्यसपछि वकपत्रमा गएँ । बकपत्र सकियो । म अदालतबाट फर्किएँ । सम्बन्ध विच्छेद र लेनदेनको मुद्दा भएकाले ती महिलालाई मैले केहि सोधिन । उनीहरु त्यतै थिए । प्रहरी प्रशासन जसरी पनि महिलालाई त्यहाँबाट घर पठाउने दाउमा रहेको देखिन्थ्यो ।

 

जब म घर आएँ त्यसको करीब डेढ, घण्टामा ती महिलालाई पोलमा बाँधेर गाउँलेले कुटेको अवस्थामा एसपी राजकुमार सिलवालले उद्धार गरेर सिन्धुली अस्पतालमा भर्ना गरेको खबर पाएँ । महिला अर्धचेत रहेको खबर आयो । त्यसको करीब आधा घण्टा जतिमा तीन दिनदेखि महिलालाई बन्धक बनाई कुटेको समाचार सिन्धुली खबरमा आयो । अनलाईन खोलेर हेरें तीनै अदालतमा सुरक्षा माग्ने महिला रहिछिन् फोटोमा । म छक्क परेँ । कुट्छौं, भन्थे कुटिसकेछन् । कति अमानवीय मान्छे रहेछन् जस्तो लाग्यो ।

 

तर मैले तीनदिनसम्म महिलालाई बन्धक बनाएको कुरा पत्याउन सकिन । समाचारले दोधार बनायो । कुटेको कुरामा विमति रहेन तर सदरमुकाममा तीनदिनसम्म बाँधेर कुट्दासम्म प्रहरीले सूचना नपाउनु, अदालतको ढोकामा सुरक्षा माग्दा ती महिलाले सुरक्षा नपाउनु, फेरी कुटिनु ? हैट हाम्रो सुरक्षा जस्तो लाग्यो ।

मङ्गलवार, जनवरी 09, 2024

 

म मेरो कार्यालयको कामले अलि व्यस्त थिएँ । तीन दिन बाँधेको घटना पुष्टि गर्ने आधार नपाउँदासम्म समाचार नलेख्ने निर्णय गरेँ । समाचार लेख्ने की नलेख्ने विषयमा हाम्रो पत्रिकाको टिममा छलफल चलिरहेको थियो । तथापी त्यसलाई तुरुन्तै लेख्नुभन्दा तीनदिन बन्धक बनाईएको कुरा के हो भन्ने विषयमा खोज्न हाम्रो टिम लाग्यो । उद्धार भएको भोलीपल्टसम्म पनि हामी यहि विषयमा छलफल र प्रमाणको खोजीमा रहयौं ।

 

त्यो बिचमा पत्रिकाको टिमबाट प्रहरीसँग बुझ्ने, समाचार तयार गर्ने काम भयो । पत्रिका र आफ्नो अनलाईनमा समाचार हाल्न तेस्रो दिन बिहान प्रमाण प्राप्त भएपछि हामी तयार भयौं । त्यो दिन समाचार मैले फाइनल गरें र पत्रिकामा प्रकाशित ग-यौं । अनलाईन अपडेट भयो । एकै दिन नयाँ पत्रिका दैनिक, प्रभात समाचार दैनिक र इसाझा नेपाल डटकममा समाचार प्रकाशन भयो । त्यसपछि देशभरका मिडियाले समाचार प्रकाशन गरे । कति सञ्चारमाध्यमले त्यो समाचार प्रकाशन प्रसारण गरे त्यसको आँकलन नै गर्न सकिएन ।

 

यति ढिलो समाचार प्रकाशन हुनुमा मैले त्यो घटनालाई विश्वास गर्न नसक्नु पहिलो कारण थियो । समाचार ब्रेक गर्ने नाममा हतारो हुन्छ की भन्ने आशंका हामीमा थियो । हामीले समाचार लेख्दा प्रहरीले घटनामा संलग्न भएका ७ जनालाई पक्राउ गरिसकेको थियो ।

 

अर्को कुरा सिन्धुलीको ढकालगाउँ राजनीतिक, सामाजिक रुपमा शिक्षित र सचेत नागरिक बस्ने गाउँका रुपमा चिनिन्छ । सदरमुकामको मुटुमा तीन दिनसम्म एउटा महिलामाथि समाज नै लागेर संगठित रुपमा यस्तो निकृष्ट व्यवहार हुन्छ भन्ने पत्याउन पनि सकस थियो । नपत्याउन पनि सकिएन ।

 

मलाई भने समाचार लेखिसक्दा पनि त्यहि अदालतको दृष्यले चिमोटिरहेको थियो । शिक्षित र सचेत समाजले त्यो खालको हर्कत गर्ला भन्ने भएको भए त्यो महिलालाई सोध्थें होला ? सायद सेफ हाउसमा पठाउँथे होला ? प्रहरीलाई सुरक्षा किन नदिएको भनेर सोध्थें होला ? त्यहाँसम्मको कल्पना गर्न समेत मैले सकिन । मैले एक पटक सारदालाई सोधेको भए पछिल्लो घटना अर्थात पोलमा बाँधेर अर्धचेत बनाउने अवस्था आउँदैन थियो होला ? मैले सारदालाई प्रश्न नगर्दा उनले थप सजाय पाईछन त्यसमा मलाई निकै पछुतो छ सधै पछुतो लागिरहने छ ।

 

अर्को कुरा प्रहरीलाई सबै घटनाक्रम थाहा थियो भन्ने बुझ्न बाहिर जानै पर्दैनथ्यो । त्यहाँ भएका सुरक्षा, कर्मचारी, नागरिक जो कोहिले महिलालाई दोष लगाईरहेका थिए ।

 

अदालत परिसरमा हुने जो कोहि सुरक्षा त्यतिकै मागिने चिज हैन भन्ने विषयमा संवेदनशिल थिएन । यसले सुरक्षा दिने प्रहरी नै यो घटनामा संलग्न थिए की भन्ने प्रश्न उब्जिन सक्छ । सुरक्षाको सूचना प्रहरीलाई थियो भने तत्काल रेस्कु किन भएन ? किन प्रहरी प्रमुख नै रेस्क्युमा खटिनु प-यो ? यसको चिरफार सुरक्षा क्षेत्रले पनि गर्न आवश्यक छ । जसको बदनामी समाजभरी फैलिएको छ । प्रहरी प्रमुख भन्दा तल्लो तहलाई घटनाको पूर्ण जानकारी थियो भन्ने चर्चा छ । जुन चर्चा चिर्न प्रहरीले सक्छ या सक्दैन त्यो हेर्न बाँकी छ ।

 

यो सँगै अदालत परिसरमा सुरक्षा माग्दा नपाउने कस्तो सुरक्षा दिईरहेका छौं भन्ने विषयमा पनि सुरक्षा क्षेत्र संवेदनशिल हुन आवश्यक छ । अदालतमै कुट्छौं भन्ने ती महिला कहाँ छन ? ती त पक्राउ परेका छैनन । तिनको खोजी प्रहरीले किन गरेन ? प्रहरीलाई घटनास्थलमा जान नदिई फर्काउने व्यक्तिहरु पनि खुलेआम छन भन्ने चर्चा छ त्यो पाटोबाट अनुसन्धान हुनु नपर्ने हो त ?

 

अर्को पाटो आर्थिक विषय पनि यो घटनामा जोडिएको छ । के सारदाले ऋण लिएर नतिरेकै हुन्, ऋण दिनेले लाखौं रुपैंया आम्दानी कसरी गरे ? त्यसको सरकारलाई तिर्नपर्ने कर तिरेका छन की छैनन । कतै बाँधेर चेक र कागजातमा हस्ताक्षर गरेका थिए की ? मिटरव्याजको प्रभाव त छैन घटनामा ? यो विषयमा समेत अनुसन्धान तेर्सिन आवश्यक छ । अर्को कुरा अहिले पनि पीडितका परिवारलाई बयान फेर्न र घटनालाई प्रभाव पार्न राजनीतिक दवाव, सामाजिक दवाव बढेको कुराहरु बाहिरिएका छन । ती प्रभाव रहनु हुदैन । घटनाको निष्पक्ष छानविन आवश्यक छ ।

मङ्गलवार, जनवरी 09, 2024   \  बिमला पाण्डे




रौतहटमा नृशंस नरसंहार

आलम आतंकविरुद्ध लड्ने जोधाहाहरू

रौतहट राजपुर नगरपालिका– १ हुँदै बग्ने कुडिया खोलानजिकै छ, कुडिया बजार । २७ चैत ०६४ को साँझ ठीक ६ बजे जिल्ला प्रशासन कार्यालय रौतहटका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीसँग शैलेन्द्र साहको जम्का भेट भयो । भण्डारी भोलिपल्ट(२८ चैत ०६४) हुँदै गरेको निर्वाचनको सुरक्षा व्यवस्था निरीक्षण गर्न राजपुर निस्केका थिए । रौतहट २ बाट संविधानसभा सदस्यमा उठेका साह कार्यकर्ता भेटघाटका क्रममा गौर जाँदै थिए ।

 

 

सुरक्षाकर्मीको ‘स्कर्टिङ’बीच भण्डारीको गाडी कुडिया बजारमा रोकियो । साहले पनि आफ्नो गाडी रोके । भण्डारी गाडीबाट झरे र साहको गाडी नजिक आए । र, भने, ‘साहजी, मौन अवधिमा पनि गाडी लिएर हिँड्नुभएको छ, गाह्रो होला है । कागजात के कसो छ ? गाडी थुत्नुपर्ने अवस्था आउला है ।’

 

 

एमालेको तर्फबाट चुनावी मैदानमा उत्रिएका साहको प्रतिस्पर्धी थिए, मोहम्मद अफ्ताब आलम । जसको रौतहटमा आतंकको साम्राज्य नै खडा थियो । ‘रौतहट टाइगर्स’ उपनामले कुख्यात उनी कांग्रेसबाट संविधानसभा सदस्यको उम्मेदवार थिए । त्यस दिन प्रजिअ भण्डारी उनकै आग्रहमा राजपुर जाँदै थिए । जसको जानकारी साहले अघि नै पाइसकेका थिए । साहले भण्डारीलाई गाडीबाटै भने, ‘ठीक छ, गाडीको कागजात चेक गर्नुहोस् । मन लाग्छ भने गाडी थुतिदिनुहोस् । तपाईंको हातमा जो ‘पावर’ छ ।’

 

 

कुटिल हाँसोका साथ भण्डारीले साहसँग बिदा मागे । गाडीमा चढे । सुरक्षाकर्मीको ‘स्कर्टिङ’सहित राजपुरतर्फ लागे । साह पनि गौरतर्फ अघि बढे । करिब १२ मिनेटपछि साहको मोबाइल फोनको घन्टी बज्यो । फुपाज्यु रामआशिष साहले फोन गरेका रहेछन् । रामआशिषले भने,‘यहाँ पटका पड्किएजस्तो छ । लौ न अनौठो भयो । छिटो आउनुपर्‍यो ।’साहले घटनालाई सामान्य ठाने । उनले प्रतिउत्तरमा भने, ‘चुनावमा पटाका पड्कनु कुनचाहिँ ठूलो विषय हो र । कसैले रमाइलो गर्न पड्काए होलान् । छाडिदिनुस् । केही हुन्न ।’

 

 

उनले फोन काटे । गौरतर्फ अघि बढे । फोनको घन्टी पुनः बज्यो । हेरे । फोन उनै रामआशिषको थियो । यसपटक रामआशिषको आवाज सामान्य थिएन । उनले आत्तिँदै भने, ‘यहाँ त ठूलो धमाका भयो । पटाका पड्किएको होइन । मान्छे नै मारेजस्तो छ । तुरुन्तै आउनुपर्ने भयो ।’

 

 

साह बल्ल झस्किए । उनले गाडी तुरुन्तै राजपुरतर्फ मोडे । त्यस दिन सम्झिँदै साह भन्छन्, ‘गाउँबाट धुवाँको कालो मुस्लो आकाशमा उडिरहेको टाढैबाट देखेँ । मनमा चिसो पस्यो ।’ उनी गाडी लिएर राजपुरतर्फ दौडिए । करिब २० मिनेटको यात्रापछि उनी घटनास्थलनजिक पुगे । त्यसवेलासम्म घटनास्थलमा स्थानीयको भिड लागिसकेको थियो । उनी गाडीबाट झरे । भिड पन्छाउँदै घटनास्थलतर्फ अघि बढ्न खोजे । तर, सकेनन् ।

 

 

पूर्वमन्त्री शेख इद्रिश(आलमका काका)को गाईगोठको छानो उडेको साहले टाढाबाटै देखे । उनी भन्छन्, ‘घरको पर्खाल भत्किएको थियो । घटनास्थलमा घाइते चिच्याइ रहेको आवाज टाढासम्म सुनिन्थ्यो ।’ नजिकै देखापरे, प्रजिअ भण्डारी र जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रमुख एसपी लक्ष्मण न्यौपाने । साह घटनास्थल जान अघि बढे । तर, भण्डारी र न्यौपानेले उनलाई रोके ।

 

 

सचेत गराउँदै भण्डारीले भने,‘तपाईं अघि बढ्नु खतरापूर्ण छ । मान्छे आक्रोशित छन् । जे पनि हुन सक्छ । तपाईं यहाँबाट जतिसक्दो चाँडो निस्किहाल्नुहोस् ।’ साहलाई घटनास्थलसम्म पुग्न दिइएन । साह सम्झिन्छन्, ‘खासमा मलाई त्यस दिन घटनास्थलमा जान नदिनुको कारण त्यत्रो जघन्य अपराध लुकाउनका लागि रहेछ ।’

 

 

 

 

 

०४८ देखि ०६४ सम्म रौतहट २ मा १ मध्यावधि र १ उपनिर्वाचनसहित चार निर्वाचन भए । जसमध्ये दुईवटामा शेख इद्रिस र बाँकी दुईवटामा आलम उम्मेदवार थिए । चारवटै निर्वाचन उनीहरूले जिते । र, चारै निर्वाचमा बुथ कब्जा गरिए ।यसका लागि मतदानस्थलमा बम विस्फोट गराइएको थियो । जसको मुख्य योजनाकार थिए, उनै आलम । 


२८ चैत ०६४ को संविधानसभा निर्वाचनमा पनि आलमले सोही विधि कार्यान्वयन गराउँदै थिए । बम बनाउने गिरोह भारतको बिहारबाट १० दिनअघि नै उनले ल्याइसकेका थिए । सोही टिममा सहभागी थिए, रौतहट सरुअट्ठाका २२ वर्षीय ओसी अख्तर र २४ वर्षीय त्रिलोकप्रताप सिंह ‘पिन्टु’ । सबैलाई आलमले काका इद्रिसको गाईगोठमा राखेका थिए । र, निर्देशनअनुसार उनीहरूले बम बनाउँदै थिए । २७ चैत ०६४ को साँझ ६ः३० बजे राजपुरमा सोही बम विस्फोट भएको थियो । 


आलमको निर्देशनमा बम बनाउने गिरोह राजपुर भित्रिएको सूचना साहले १० दिनअघि नै पाएका थिए । घटनाप्रति सचेत गराउँदै उनले जिप्रका रौतहटमा उजुरी दिएका थिए । जिल्लास्थित निर्वाचन आयोगलाई पनि जानकारी दिए । तर, सुनुवाइ कहीँ भएन । परिणामतः संविधानसभा निर्वाचनको ठीक अघिल्लो साँझ बम विस्फोट हुनपुग्यो । घटनामा २० जनाभन्दा धेरै हताहत भए । 


प्रजिअ भण्डारी र एसपी न्यौपानेले घटनास्थलमा जान नदिएपछि साह सरासरनजिकैको फुपाज्यू रामआशिषको घर पुगे । जसले उनलाई केही क्षणअघि मात्रै बम विस्फोट भएको सूचना दिएका थिए । घटना गम्भीर प्रकृतिको थियो । उनले तत्काल निटकस्थ सञ्चारकर्मीलाई सूचना दिए । सञ्चारमाध्यमबाट घटनाको सम्बन्धमा समाचार प्रसारण हुनथाल्यो । सञ्चारकर्मी घटनास्थल जाने कोसिसमा जुटे । तर, प्रहरीले उनीहरूलाई बाटोमै रोके । 


प्रशासनको बलमा घटना दबाउन खोजिएको भेउ साहले पाए । उनी भन्छन्,‘घटनालाई सार्वजनिक गर्न हर प्रयन्त गरेँ । तर, केही सीप लागेन । किनकि आलमको पछि धेरैजना थिए ।’ साहका अनुसार आलमको पछि तत्कालीन गृहमन्त्री, नेपाल प्रहरीको तत्कालीन आइजिपी ओमविक्रम राणादेखि सशस्त्र प्रहरीको तत्कालीन एसपी रामकृष्ण लामासहितको टोली थियो । 

विस्फोटमा परी घाइते भएकाहरूलाई बेहोस हुने इन्जेक्स दिइयो । बोरामा प्याक गरियो । ट्र्याक्टरमा लोड गरियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘स्कर्टिङ’मा राजा इँटा भट्टामा लगियो । एक–एक गर्दै भट्टीको मेनमा हालियो । नछिरेको शरीरलाई बन्चरोले गिडियो । र, रातारात खरानी बनाइयो । 


जघन्य अपराध प्रशासनको आडमा रातारात सामसुम भयो । तर, त्रास रौतहटभर चैत्रको डडेलोझँै फैलियो । रौतहट २ मा निर्वाचन त भयो । तर, त्रसित मतदाता बुथसम्म पुगेनन् । उनीहरूको नाममा आलमका प्रतिनिधिले भटाभट फर्जी मत खसाले । निर्वाचन आलमले जिते ।


निर्वाचनपछिको मतपरिमाणबारे साह जानकार नहुने कुरै थिएन । उनले घटनाको निष्पक्ष छानबिनपछि मात्रै मतगणना गर्न भन्दै जिल्लास्थित निर्वाचन आयोगमा भने । उनको पक्षमा माओवादी, तत्कालीन मधेसी जनअधिकार फोरम, तत्कालीन तराई–मधेश लोकतान्त्रिक पार्टीलगायतका नेता उभिए । घटनाको अनुसन्धान गर्न भन्दै उनीहरूले संयुक्त विज्ञप्ति निकाले । तर, उनीहरूको केही जोर चलेन । 


प्रशासनको आडमा आयोगले दलीय सहमतिविनै मतगणना सुरु ग¥यो । विरोधमा उत्रिएकाहरूविरुद्ध लाठी चार्ज भयो । मतपरिणाम सार्वजनिक भयो । आलम विजयी घोषित भए । जघन्य अपराध अनुसन्धानको पक्षमा उभिएकाहरू निरीह बने । 


चुनावी हारभन्दा पनि भयानक विस्फोट र २० जनाभन्दा धेरै निर्दोष हत्याको घटनाले साहलाई निदाउन दिएन । उनी आफैँ जाहेरी बोकेर जिप्रका रौतहट पुगे । तर, जिप्रकाले जाहेरी दर्ता नै गरेन । त्यसवेलासम्म विस्फोटमा परी मृत्यु हुनेमध्ये ओसी अख्तर र त्रिलोकप्रतापको नाम सार्वजनिक भइसकेको थियो । तर, प्रहरीमा जाहेरी दिन मृतकका कोही आफन्त तयार थिएनन् । कारण थियो, आलमको आतंक ।


साह मृतकको आफन्तलाई सम्पर्कमा ल्याउने कोसिसमा जुटे । अवस्था बुझ्न सहयोगीलाई मृतकका परिवारकहाँ पठाए । साह भन्छन्,‘शोकमा डुबेका पीडितहरूसँग आलमविरुद्ध आक्रोश थियो । तर, कानुनी लडाइँ लड्ने हिम्मत उनीहरूसँग थिएन ।’ साहले उनीहरूको अवस्था बुझे । मृतकका परिवारलाई एक–एक गर्दै गौरस्थित घरमा बोलाए । र, जाहेरी दिन उत्प्रेरित गर्नमा जुटे । 


चारपटक सांसद र तीनपटक मन्त्री भइसकेका आलमको आतंक रौतहटमा यति भयानक थियो कि उनीविरुद्ध आवाज उठाउनु पहरामा कुइना ठोकाउनुसरह थियो । आलम क्षणभरमै राजनीतिक नेतृत्व प्रभावित तुल्याउन सक्थे । रौतहटमा प्रहरी, अदालत र प्रशासन प्रमुख त्यस्ता व्यक्तिलाई नियुक्त गरिन्थ्यो, जो उनी चाहन्थे । सोही आडमा उनी रौतहटमा निर्वाध ‘आलम राज’ चलाउँथे ।


आलमको ‘पावर’बारे साह राम्रोसँग जानकार थिए । उनीसँग लड्दा भविष्यमा आउन सक्ने चुनौतीलाई पनि उनले आकलन गरेका थिए । तर, उनले हिम्मत हारेनन् । अन्ततः मृतक ओसी अख्तरकी आमा रुक्साना खातुन र त्रिलोकप्रतापका बुबा श्रीनारायण सिंहलाई आलमविरुद्ध जाहेरी दिन बल्लतल्ल तयार गरे ।


आलमविरुद्ध साहले ३० चैत ०६४ मै जिप्रका रौतहटमा जाहेरी दिएका थिए । तर, प्रहरीले जाहेरी दर्ता नै गरेको थिएन । रुक्साना र श्रीनारायणको जाहेरी पनि दर्ता नहुनेमा साह निश्चित थिए । त्यसो हुँदा उनी पत्रकार सम्मेलन गरेर प्रशासनलाई दबाब दिन चाहन्थे । तर, पत्रकार सम्मेलन गर्ने कहाँ ? रौतहटमा घटनाबारे पत्रकार सम्मेलन गर्न सक्ने अवस्था थिएन । त्यसो हुँदा मृतकका परिवारलाई काठमाडौं लैजाने र घटना सार्वजनिक गर्ने प्रयत्नमा जुटे उनी । उनी भन्छन्, ‘मृतकका परिवार रौतहटबाट सीधै काठमाडौं जाने अवस्थामा थिएनन् । किनकि बाटोमा आलमका सहयोगी अवरोध बनेर खडा थिए ।’ 


साहले रुक्सानालाई बिहारको बैर्गिनिया हुँदै रक्सौलबाट काठमाडौं जान भने । श्रीनारायणलाई बिहारको बर्गिनिया हुँदै सीतामढीबाट मलंगवा हुँदै काठमाडौं जाने तय भयो । त्राशका बीच रुक्साना र श्रीनारायण बिहार हुँदै काठमाडौंका लागि हिँडे । साह भने चन्द्रनिगाहपुर हुँदै सरासर काठमाडौं आए । 


दुई दिनको यात्रापछि रुक्साना र श्रीनारायण सिंह बल्लतल्ल काठमाडौं आइपुगे । पुतलीसडकस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने तय भयो । मृतकका परिवार लिएर साह क्लब पुगे । तर, अवरोध त्यहाँ पनि जारी रह्यो । साह त्यो दिन सम्झिँदै भन्छन्, ‘क्लबका अध्यक्ष ऋषि धमला जतिसक्दो चाँडो पत्रकार सम्मेलन सक्न भन्दै मञ्चमा उक्लिए । तनावैतनावमा पत्रकार सम्मेलन भयो ।’ समाचारलाई सञ्चारमाध्यमले महत्वका साथ कभरेज गरे । 


घटनाबारे उजुरी लिएर पीडित परिवार राष्ट्रिय मानव अधिकार आयोग पुगे । महान्यायाधिवक्ता कार्यालयलाई ध्यानाकर्षण गराए । घटनाबारे नेपाल बार एसोसिएसनलाई जानकारी गराए । १० दिनको दौडधुपपछि जाहेरी बोकेर मृतकका परिवार जिप्रका रौतहट पुगे । तर, प्रहरीले यसपटक पनि जाहेरी दर्ता गर्नै मानेन । त्यसवेला जिप्रका रौतहट प्रमुख एसपी न्यौपाने र सिडिओ भण्डारी एकै स्वरमा भन्ने गर्थे,‘२७ चैत ०६४ को साँझ राजपुरमा विस्फोट भएकै छैन । कसैले ज्यान गुमाएका छैनन् ।’ जब कि विस्फोटलगत्तै एसपी न्यौपाने र भण्डारी स्वयं घटनास्थल निरीक्षणमा पुगेका थिए । 


केही सीप नलागेपछि जाहेरी हुलाकमार्फत दर्ता गराउने तय भयो । पीडित परिवार जाहेरी लिएर हुलाक कार्यालय पुगे । त्यसको दुई दिनपछि बल्ल जाहेरी दर्ता भयो । साह र पीडित परिवारलाई धम्की र प्रलोभनको शृंखला बल्ल सुरु भयो । प्रशासन जतिसक्दो चाँडो आलमलाई सफाइ दिने प्रयत्नमा जुट्यो । त्यसवेलाका कठिन दिन सम्झिँदै साह भन्छन्,‘अत्यन्तै कठिन थिए ती दिन । दैनिकजसो ज्यान मार्ने धम्की आउँथ्यो । प्रलोभनका शृंखला पनि उत्तिकै आए । पीडित परिवारले यस अवधिमा झन् यस्ता हन्डर कति खेपे । त्यसको म बयानै गर्न सक्दिनँ ।’


कानुनी लडाइँकै बीच रुक्साना खातुन र श्रीनारायणलाई मुद्दा फिर्ता लिन भनियो । पटक–पटक ज्यान मार्ने धम्की दिइयो । यही क्रममा रुक्सानामाथि दिनदहाडै गोली प्रहार भयो । उनको घटनास्थलमै मृत्यु भयो । श्रीनारायणलाई खुमेआम भनियो, ‘मुद्दा फिर्ता लेऊ, नत्र तिम्रो हालत पनि रुक्सानाको जस्तै हुनेछ ।’ यस्तै धम्की साहलाई पनि पटक–पटक आए । तर, उनले मुद्दा फिर्ता लिएनन् ।


दिनदहाडै रुक्सानाको हत्याको घटनाले साहलाई अहिले पनि पिरोल्छ । आलमविरुद्ध जाहेरी दिन उत्प्रेरित गर्ने क्रममा उनले रुक्सानालाई वचन दिएका थिए, ‘तिम्रो सुरक्षाको जिम्मेवारी म लिन्छु ।’ तर, वचन पूरा गर्न सकेनन् । साह सम्झन्छन्, ‘रुक्सानालाई जाहेरी दिन आँट भर्ने काम मैले नै गरेको हुँ । त्यसवेला उनलाई मैले भनेको थिएँ, केही हुन्न । तिम्रो ज्यानको सुरक्षा गर्ने जिम्मा मेरो भयो । तर, त्यसो हुन सकेन । उनको हत्या गरियो । यो घटनाले मलाई जीवनभर चिमोटिरहनेछ ।

 

यो न्यायको लडाइँमा रुक्साना खातुन र श्रीनारायण सिंहले हिम्मत नगरेको भए आलम आतंक अन्त्य गर्न सकिँदैनथ्यो ।’
घटनाको १२ वर्षपछि आलमविरुद्धको अपराधको फाइल पुनः खोलियो । जसको नेतृत्व लिएका थिए, जिप्रका रौतहटका तत्कालीन प्रमुख एसपी भूपेन्द्र खत्रीले । नभन्दै आलम पक्राउ परे । उनीविरुद्ध करिब चार वर्ष मुद्दा चल्यो । अन्ततः घटना पुष्टि भयो । जिल्ला अदालत रौतहटले आलमसहित उनका भाइ महताब र शेख सराजविरुद्ध जन्मकैद फैसला ग¥यो । जब कि १६ वर्षअघि सोही घटनालाई तत्कालीन गृहमन्त्री, नेपाल प्रहरीका आइजिपी राणा, जिप्रका रौतहट प्रमुख न्यौपाने, सिडिओ भण्डारी, सशस्त्र प्रहरी बलका एसपी लामा र घटनाको अनुसन्धानमा संलग्न तत्कालीन प्रहरी अधिकारीले ‘फेक’ भनिरहेका थिए ।


साह भन्छन्, ‘१६ वर्षअघि भएको जघन्य घटना अहिले आएर पुष्टि भएको छ । यस अवधिमा पीडित परिवारले अनेक यातना भोगेका छन् । एकको हत्या भएको छ । राज्यले अब उनीहरूलाई क्षतिपूर्ति दिलाउनुपर्छ । र, घटना झुटो भनी प्रमाणित गर्न खोज्ने तत्कालीन गृहमन्त्रीदेखि राज्य संयन्त्रमा रहेका अधिकारीविरुद्ध कानुनी कारबाही गरिनुपर्छ ।’

 

 


No comments:

Post a Comment