बाल्जाक आज्ञा गर्नुहुन्छ-
-आनन्दराम पौडेल
anandarampaudel@yahoo.com
अख्तियारले सुडान भ्रष्टाचारमा मुछेका एकजना प्रहरी अधिकृत भेटिए। भ्रष्टाचारको केन्द्रमा रहेका र परिबन्दले पर्न गएकालाइ अख्तियारले एउटै घानमा हालेकोमा उनको गुनासो थियो। मलाइ प्रहरी कल्याण कोषको एउटा मिटिङको माइन्यूट र अख्तियारले लगाएको अभियोगको फोटोकपि दिए। फोटोकपी हेर्दा उनी कुनै महाशाखाको प्रतिनिधिको हैसियतले उपस्थित हुन पुगेका देखिन्थे। जम्माजम्मी एउटा मिटिङमा उपस्थित हुनुबाहेक उनको यस प्रकरणमा कहीं कतै संलग्नता रहेनछ। अख्तियारले पनि उनीमाथि प्रष्ट किटानीसाथ अभियोग लगाउन सकेको देखिएन। दुस्कार्य नगरेको भएपनि अपराधको दोष सवैको थाप्लामा हाल्न अख्तियार आतुर भएको देखियो। कुनचाहीं मुख्य अभियुक्त हो र कोचाहीं परिवन्दले परेको हो छुट्याउनै गाहारो पर्नेगरी गाजेमाजे गरेकोले मुख्य अभियुक्त उम्कने र निर्दोष फँस्ने सम्भावना प्रवल भएको छ। मिसमास गरेर खिचडी नै बनाउनु थियोभने १४\१४महिना लगाएर छानविन अनुसन्धान गर्नुको के अर्थ रह्यो भन्ने प्रश्नपनि खडा भएको छ। भ्रष्टाचारीकै पक्षमा कसरत गरिएकाले सूर्यनाथ उपाध्यायले कमाएको इज्जत समेत् अख्तियारले ढुटो पारेको छ।
भ्रष्टाचारको प्रबृत्ति हेर्दा सरकार र राज्यका संरचनाहरु भ्रष्टाचार गर्नकै लागि खडा भएको भान हुन्छ। भ्रष्टाचार नै सार र मूलभूत चरित्र भएकोले सकेसम्म भ्रष्टाचारीलाइ संरक्षण गर्नु, नभए ढाडीलाइ जोगाउनु र मुद्दा नै फितलो पार्नु सामान्य र स्वाभाविक कार्य भएका छन्। सर्वोच्च अदालत नियमावली अनुसार एउटा मुद्दामा २पटकभन्दा बढी पेसी हटाउन पाईंदैन। सर्वोच्चमा पुनरावेदन परेका भ्रष्टाचारका मुद्दामा सरकारी वकीलले नै मुद्दा लम्ब्याउन बढी उत्साह देखाएका छन्। २०६३ मा पुनरावेदन परेको खुमबहादुर खँड्काको मुद्दामा सरकारी वकीलले मात्रै ४\४पटक पेसी सारे। २०६२मै पुनरावेदन परेको रामाज्ञा चतुर्वेदीको भ्रष्टाचार मुद्दा र २०६३ सालमै पुनरावेदन परेको गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा पनि सरकारी पक्षकै सद्प्रयासले जिम्लिएर बसेको छ। यही सुडान काण्डका मुख्य अभियुक्त ओमबिक्रम राणालाइ म्याद बुझाउन पठाउँदा जिल्ला अदालत काठमाडौंका उपसचिव रमेशकुमार ज्ञवालीले “आइजी साहवले हुन्छ भनेपछि मात्र बुझाउनु,नत्र फर्काएर ल्याउनु,घरदैलामा नटाँस्नु” भनि दिएको निर्देशनबाट के बुझिन्छ ? सकारी वकील,अदालतका कर्मचारी र समग्रमा सरकारी पक्षकै मनोबिज्ञान र अथक प्रयासस्वरुप २०६० सालदेखिका १२४थान भ्रष्टाचारका मुद्दाहरुले सर्वोच्च अदालतका अँध्यारा कुनामा आराम फर्माएर बस्ने अवसर पाएका छन्। भ्रष्टाचारका मुद्दाहरु अनाबश्यक हदसम्म अत्यधिक लम्बिंदै गएको जनगुनासो ब्यापक आएपछि गत चैतको दोश्रो हप्तामा प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले न्यायाधीश प्रकाश वस्तीको संयोजकत्वमा एउटा अध्ययन समिति बनाएका थिए। आफू अनुकूल न्यायाधीशबाट निर्णय गराउनका लागि अदालतका कर्मचारीलाइ मिलाएर अनेक निहूँ र बहाना बनाई मुद्दाको पेसी नै सार्ने गरेको र यो आम प्रबृत्ति नै बनेको पाइयो। सरासर हेर्न मिल्ने मुद्दामा समेत् “हेर्न नमिल्ने” लेखिदिने लगायत मुद्दा सार्न अनेकौं प्रपञ्च गरेको फेला पर् यो।
२०६३ बैशाख ११देखि ०६५सम्मको कार्यकाल हेर्दा शब्द,नारा र भाषणमा लोकतन्त्र तर सारमा भ्रष्टाचारीको स्वर्णकाल देखिन्छ। भ्रष्टाचारीलाइ जेजसरी पनि चोख्याउँने ठेक्का कवूल गरी बिशेष अदालतमा नियुक्त हुनुभएका न्यायाधीशहरुले ठेकिएको काम पूरा गर्न न्यायप्रणालीका सम्पूर्ण मूल्य र सिद्धान्तलाइ धोती लगाएको दृष्य हेर्दा भ्रष्टाचारको बिषयमा राज्यको दृष्टिकोण छर्लङ्ग भएको छ। बिशेष अदालतमा भूपध्वज अधिकारी,कोमलनाथ शर्मा र चोलेन्द्र राणाले गरेका फैसलामा न्यायको मुटुकलेजो छियाछिया भएको छ। बर्षौंदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयुक्तबिहीन छ। आयोगलाइ यतिसम्म उपेक्षा र तिरस्कार गर्नुले पनि सरकारको नियत प्रष्ट हुन्छ। आयुक्तहरु भएकाभए सुडान भ्रष्टाचारको केस यतिसम्म फितलो र फ्याङ्लो हुँन पाउँदैनथ्यो। मुद्दाको तैयारीदेखि नै एकातिर गृहमन्त्री र गृह सचिवहरुलाइ कसरी जोगाउने भन्ने लक्षचिन्तन तथा अर्कोतिर काक्ताली,संयोग र परिबन्दले नाम पर्न आएका बिचराहरुलाइ मुख्य अभियुक्तको हाराहारीमा राखेर मुद्दा बनाईंदैनथ्यो। कमसेकम “अँधेर नगरी चौपट राजा, टक्का सेर खाजा टक्का सेर भाजा” कथा चरितार्थ हुँदैनथ्यो। प्रसिद्ध फ्रेञ्च उपन्यासकार तथा चिन्तक बाल्जाकले भनेका थिए, “पूँजीवादमा कुन अपराधी हो र कुनचाहीं सिधासोझा, छुट्याउन मुश्किल पर्छ। कुखुरा चोरलाइ हत्कडी लगाइन्छ,तर राष्ट्रभक्षकचाहीं उच्च आशनमा बिराजमान हुन्छ। कानुन यस्तो माकुरीजालो हुन्छ,जहाँ ठूला फट्याङ्ग्राहरु उम्किन्छन् तर साना झिंगाहरु फँस्छन्। योग्य र प्रतिभावान ब्यक्ति यदि इमान्दार बन्न चाह्योभने त्यो जिन्दगिभरी पिल्सिएर बस्छ भने चलाक,धूर्त र छट् टुहरु सफलताको सिंढी चढिरहेका हुन्छन्।” सन १७९९मा जन्मेका बाल्जाकले शताब्दीपछिको दुनियाँको स्वरुप कसरी देखे होलान् भनेर आश्चर्य मान्नुपर्छ।
शासक र नेतृत्व मात्रै दोषी छैनन्,नेपाली समाजपनि त्यतिकै दोषी छ। तेलाबेला गरेर रातारात धनी हुनुलाइ सफलताको मानकमा राख्छौं, तर इमान्दारलाइ उपेक्षा गर्छौं। त्यही कुर्सीमा बसेका प्रकासशरण महतलाई उनका परिवार, नातागोता र इष्टमित्रले वाहवाही गरे, तर त्यही कुर्सीमा बस्न आइपुगेका गोकर्ण बिष्टलाइ, यही अहिलेकै शैलीमा अगाडी बढेभने, मन्त्री पदबाट हटेपछि बेवकुफ भन्नेछन्।सन १९८८मा अमेरिकाको राष्ट्रपति पदको निर्वाचनमा ग्यारी हर्ट सशक्त उम्मेदवार मात्रै थिएनन्, विजयी हुने पक्का थियो। जीवनको कुनै कालमा एउटी सुन्दरीसँग होटलमा रात बिताएको घटना सार्वजनिक हुनासाथ उनको त्यत्रो सम्भावना सव चक्नाचुर भयो। अमेरिकाजस्तो स्वच्छन्दताको हदसम्म स्वतन्त्र समाजमा एउटा सानो चुकको लागि जनताले त्यत्रो दण्ड देलान् भनेर हामी कल्पना गर्न सक्दैनौं। तर, त्यस्को ठीक उल्टो हाम्रो नेपालमा मधेशबादी दलले चरेसानन्द जस्तालाइ खोजेर ल्याउँछन् र कांग्रेस र एमालेले मच्चिमच्चि भोट हाल्छन्। सुजाता कोईरालाहरु रुवेल चौधरीहरुलाइ काखी च्यापेर नाचिरहेकी हुन्छिन् तर भीमबहादुर तामाङहरु किनाराका साक्षी मात्र हुन्छन्। सुडान काण्डमा पनि बाल्जाकले जे भने त्यही भयो, पूँजीबादी ब्यवस्थाको चरित्रअनुरुप नै भयो,जे भयो स्वाभाविक भयो।
शुक्रवार, जून 24, 2011
No comments:
Post a Comment