चिताछेउको नश्वरचिन्तन
आनन्दराम पौडेल
anandarampaudel@yahoo.com
सुरक्षाप्रमुखहरुको क्षेत्रीय सम्मेलनपछि गृहमन्त्री कृष्णबहादुर महरा १००थान डन,१००थान तस्कर र तिनीहरुलाइ संरक्षण गर्ने राजनीतिक दलका नेताहरुलाइ कार्यबाही नगरी यो नेपाल भन्ने देशमा शान्तिसुरक्षा बहाल हुँदैन भन्ने निस्कर्षमा पुग्नुभो। तर, उहाँको यो निस्कर्ष सिंहदरबार प्रवेश गरुञ्जेलमा हावा भैसकेको थियो। राजनीतिक नेताहरुले सिफारिश गरेकाजति फौज्दारी अपराधका मुद्दाहरु फिर्ता लिने प्रकृया छिटो सक्नु भनेर जव निर्देशन दिन थाल्नुभो तव उहाँको निस्कर्ष आर्यघाटमा चिताको छेउमा उभिंदा स्वतस्फूर्त आउने नश्वरचिन्तनको क्षणिक तरङ्गभन्दा बढी हैन रहेछ भन्ने बुझियो। सबैलाइ थाहा छ,देश अराजकतामा प्रवेश गरेको छ। देशमा सरकार छैन, बरु हरेक समाज,शहर,बस्ती र टोलमा अपराधिक गुण्डाहरुको एकछत्र राज छ। अधिकांश राजनीतिक दलहरु गुण्डाकै बलवुतामा चलेका छन्। गुण्डाहरुमाथि पटक्कै आँच आउन नदिन सरकार चिन्तनशील र प्रयत्नशील छ। करिव डेढ महिनाअघि धादिङको मोर्चा सम्हालेर फर्केका चरीलाइ खातिरदारी गर्न जिल्ला प्रशासन कार्यालय राती ८।३०सम्म बसेको दृष्य हाम्रो नजरसामू छ।
गृहमन्त्रीलाइ ब्रम्हज्ञान फुरेकै होभने आफ्नै पार्टीका असहमत मजदुर नेताहरुलाइ मरणासन्न पार्ने शालिग्राम जम्मरकटेलबाट कार्वाही शुरु गर्नुपर्ने हुन्छ। “लौ अभियुक्त (पर्शुराम बस्नेत)लाइ छोत” भनेर राज्यलाइ हाँक दिइरहेका अर्को जम्मरकटेल (महेश बस्नेत)लाइ चुमुर्क्याउनुपर्ने हुन्छ। साँच्चै कार्यवाही गर्ने होभने उहाँको कुर्सी तुरुन्तै ढल्छ, तर उहाँ त कुर्सी ढल्न मात्रै हैन,हल्लन पनि दिन चाहनुहुन्न। र कुर्सीमोह राखेर उपचार सम्भव छैन।
खिलनाथ ढकाल पत्रकार भएकाले मात्रै केस फासफुस् हुन नसकेको हो भनेर सवैले बुझेका छन्। नत्र पटखौलीकी १४बर्षीय किशोरीमाथि भएको अत्याचारलाइ गुपचुप राखेर त्यत्तिकै सामसुम पार्न राज्य सफल भएकै हो। रुपन्देही,पटखौलीकी सीमान्तिकृत मुश्लिम परिवारकी ती किशोरीलाइ त्यही गाउँका खाजील,सुनिल, जितेन्द्र,आनन्द कुर्मी र धकधई गाबिसका २८बर्षिय शङ्कर धोवीले सामुहिक बलात्कार गरेको पुष्टी भैसकेकै थियो। ती अभियुक्तलाइ संरक्षण गर्न जव मधेसी जनअधिकार फोरम अघि सर् यो तव सरकार तत्कालै पछि हट्यो। भर्खर १८\२०दिन अघि डडेलधुरा,स्यालचौडी माविका प्रधानाध्यापक महादेव भट्टलाइ बिद्यालयको बैठकमै सभासद हरिलाल थापाले “अझै राजिनामामा सही गर्दैनस्” भन्दै पटापट पिटे। सभासद थापाले आफ्नै भाइलाइ शिक्षकमा नियुक्ती दिलाउन खोजेका थिए। अल्लि अगाडि तिनै हरिलाल थापाले दुर्गा उच्च माविका प्रअ प्रताप धामीलाइ सार्वजनिक भेलामै “तँ राजिनामा दिन्छस् कि जिउँदै जलाइदिउँ” भन्दै कुट्न तम्सेका थिए। देशका कुनाकुनामा यस्ता घटना अव सामान्य भैसकेका छन्।
खोज्दैजाँदा राज्य आफैं हिंस्रक संस्कृतिको श्रोत भएको फेला पर्छ। ठीक ६बर्षअघि नवलपरासी जिल्लाका गुठी,पक्लिहवा,कुडीया, फुजहवा र सूर्यपुरालगायतका गाउँहरुमा भिजिलान्तेहरु छ्यापछ्याप्ति भेटिएका थिए।ती सवै गोलिगट्ठासहित राइफलले लैस थिए र त्रिवेणी ब्यारेकका सैनिक अधिकारीले सहिछाप गरेको परिचयपत्र भिरेका थिए। सशस्त्र संघर्षमा रहेका माओवादीबिरुद्ध प्रतिरोध गर्न तिनीहरुलाइ सङ्गठित गरिएको थियो। त्यसबेला कपिलबस्तु, सर्लाहीमा जाँदापनि सरकारी भिजिलान्तेहरुको त्यत्तिकै दवदवा देखिएको थियो। डरलाग्दो कुरा के थियोभने सवैजसो भिजिलान्तेहरु अपराधिक पृष्ठभूमिका थिए, र खुङ्खार अपराधीलाइ नाइके बनाइएको थियो। नवलपरासी जिल्लामा माओबादी प्रतिकार समितिको अध्यक्ष बनाइएका मुरारी पहलवान कुशवाह बिहारमा डकैतीलगायत अपराधमा वारेण्टेड ब्यक्ति हुन्। सरकारले त्यसवेला तराईमा मात्रै हैन,पहाडमा पनि माओवादी बिरुद्ध प्रतिकार गर्न भनेर भिजिलान्तेहरु सङ्गठित गरेको थियो। इलामको बाँझो-चुलाचुलीमा “काम्राङ” नाम दिएर जातीय सेना तैयार गरेको थियो। अत्यन्तै दुखद र घिनलाग्दो बिडम्वनाचाहीं के भयोभने ती अपराधिक पृष्ठभूमीका भिजिलान्तेहरु र कुख्यात भ्रष्टाचारीहरुलाइ समेत् लोकतन्त्र आएपछि राजनीतिक दलहरुले आ-आफ्ना पार्टीमा समेटेर पार्टीका जिम्मेवार अगुवा बनाएका छन्।
खुल्ला बजार अर्थतन्त्र र सङ्कीर्ण राजनीतिले यस्तो माहौल तैयार गर्दै लान्छ,जस्ले गर्दा जघण्य हिंसाकर्म समेत् सामान्य ठानिन थाल्छ। हामी सर्वसाधारण जनता के भुल गर्छौंभने सामुन्ने पर्दामा देखाइएको तथा भाषण र नारामा वोलिएकोलाइ नै सर्लक्क ग्रहण गर्छौं र त्यसैलाइ परमसत्य ठान्छौं। भाषण,नारा र ब्यानरलाइ हेरेर भन्ने होभने नेपालमा जति भब्य लोकतन्त्र अन्यत्र छैन। लोकतन्त्र त राज्य र ब्यक्तिको जीवनपद्धति, संस्कृति, चरित्र र संस्कार होभने नेपालमा लोकतन्त्र हैन भद्रगोलतन्त्र विकास गर्दै छौं भन्नुपर्ने हुन्छ। अनेक नामधारी समूह र जातीय सङ्गठनहरुको हालहुकुम चलेको छ र असंख्य छोटे राजाहरुलाइ स्थापित गरिंदै छ। नोवेल पुरस्कार विजेता हङ्गेरीका कथाकार इमरे कार्तेजले भनेझैं भद्रगोल कुनै नयाँ चीज हैन, तर जव भद्रगोल नै खुल्लमखुल्ला र लगातार जसरी हाम्रो दैनिक जीवन वरिपरी एउटा ब्यवस्था बनेर स्थापित हुन्छ त्योचाहीं नौलो र डरलाग्दो हो। कार्तेजकै शब्दमा अव हिंसा र हत्यारापनलाइ स्वीकारिएको छ र हत्या र हिंसाको वीचमा बाँच्ने उपाय खोजिएको छ। गौरको कत्लेआमलाइ सम्झौं। पुरै चक्रब्यूह नै रचिएको थियो। ७किमि सम्म लखेटेर मारियो। कतिलाइ जिउँदै जलाइयो, कतिलाइ मन्दिरमा बली दिइयो। युवतीलाइ बलात्कारपछि यौनाङ्गमा लट्ठी कोचेर र स्तन काटेर हत्या गरियो। तराईबाट पहाडे लखेट्ने अभियान, कपिलबस्तुको महाभारत र निर्वाचनको पूर्वसन्ध्यामा दाङमा ७जनालाइ एउटै चिहान बनाएका घटना र गौरको नरसंहारलाइ सामान्यिकरण गर्न जव राज्यले हत्ये हाल्न थाल्छ तव इमरे कार्तेज नै सत्य ठहरिन्छन्।
ब्यानर,शब्द र नारा फेरेर राजतन्त्र,प्रजातन्त्र,लोकतन्त्र वा गणतन्त्र जे भनेपनि धेरैलाइ अधिनस्थ गरेर,तर्साएर, धम्क्याएर र आतङ्कित गरेर राखेर तिनीहरुले लोकतन्त्रको भोगचलन गरिराखेका हुन्छन्। बाँकि सवै तिनीहरुले हल्ला गरेको लोकतन्त्रलाइ नै साँच्चिकै लोकतन्त्र मानिदिन अभीशप्त छन्। नेपालमा लोकतन्त्र तिनै डन,तस्कर र माफियाको खल्ति-खल्तिमा छ। तिनैको आडमा पार्टी चलेको छ र सरकार बनेको छभने त्यही सरकारका गृहमन्त्रीले सरकारको आधारस्तंभ भत्काउने चेष्टा गर्ने छैनन्,डनहरु ढुक्क भए हुन्छ।
Friday, 8 July 2011
No comments:
Post a Comment