अपराधीसँग तमसुक
-आनन्दराम पौडेल
anandarampaudel@yahoo.com
गएको आइतवार नेविसंघ पशुपति क्याम्पस इकाईका राजन श्रेष्ठ र राजकुमार सिग्देलको नेतृत्वमा नेविसङ्घका कार्यकर्ताहरु ९जना नयाँ पत्रिकाको कार्यालयमा हुरीवताससरी पसे र तोडफोड सम्पन्न गरेर फर्के। त्यस्को दुई दिनअघि उहाँहरु कसैलाइ आक्रमण गर्न तरवारसहित निस्कनुभएको रहेछ तर वीचैमा प्रहरीले पक्डिदिएछ। त्यो समाचार नयाँ पत्रिकामा प्रकाशित भएकोमा उहाँहरु आक्रोशित हुनुहुन्थ्यो। त्योभन्दा डरलाग्दो घटना कपिलवस्तुमा देखियो। कृष्णनगर-२का कौसर अली आफ्ना गुण्डाहरु परिचालन गरी राजमार्गमा ढाटै राखेर गुण्डाशुल्क असुल्ने गर्थे। गुण्डाशुल्क असुलिरहेकै अवस्थामा एसपी धिरु बस्नेतले च्यापचुप पक्डेर कार्यवाही चलाए। पक्डाउ परेदेखि नै यिनलाइ कारवाहीबाट बचाउन नेकपा एमाले ज्यान छाडेर लाग्यो। तुरुन्त छाडिदिन र कार्यवाही अघि नवढाउन गृहमन्त्री विजय गच्छेदारले निकै दबाव दिए। साउन ३गतेपनि यिनै धिरु बस्नेतले अवैध तवरले भित्र्याएको सर्जु जैसवालको २ट्रक चामल बरामद गरेका थिए। त्यो थाहा पाउनासाथ प्रजिअ कमलेश्वर सिन्हाले दौडँदै गएर ती ब्यापारीसँग क्षमा मागे।
नयाँ पत्रिकाको कार्यालयमा भएको हमलाभन्दा कपिलवस्तुका यी घटना किन बढी डरलाग्दा भएभने यिनमा गृहमन्त्री र सिडओ सोझै अपराधीका पक्षमा देखिए। तर, नयाँ पत्रिकाको घटनापछि एउटा सकारात्मक कुरो के देखियोभने माउपार्टी नेपाली कांग्रेसले आफ्नै कार्यकर्ता भएपनि अपराधमा संलग्नलाइ संरक्षण गरेन। ४दिनअघि बुधवार हाम्रा गृहमन्त्री पत्रकार सम्मेलनै गरेर भ्रष्टाचार नियन्त्रण गर्छु, सुशासन ल्याउँछु र नमूना गृहमन्त्री बनेर देखाउँछु भनेर कुर्लँदै थिए। उहाँले यसो भनिरहँदा गणेश लामा छेवैमा थिए। तपाईंले गणेश लामालाइ अङ्कमाल गरेर आदर्शका कुरा गरिरहनुभएको छ भनेर पत्रकारले सोद्धा अरु पार्टीमा यस्ता गणेश लामाहरु झन् हजारौं छन् भने। विजय गच्छेदार गृहमन्त्री भएकोमा सर्वाधिक खुशी कोही थिएभने तिनै गणेश लामा र उनका सेनामेनाहरु थिए। गच्छेदारको सपथग्रहण समारोहमा गणेश लामा र उनका सेनामेनाहरुको चुरिफुरी हेर्नलायक थियो। कपिलवस्तुका सिडिओ कमलेशकुमार सिन्हाले अवैध असुली धन्दामा लागेका अमिताभ आलम हलुवाईलगायतका ब्यक्तिहरुलाइ अधिकारपत्रै दिएर सघाएको बिषयमा विजय गच्छदारले केही बोल्न चाहेनन्। पत्रकार सम्मेलन गर्दा गच्छेदारसँग गणेश लामा मात्रै थिएनन्, ऊनको आफ्नै बिगतपनि सँगै थियो। उनको बर्तमानभन्दा विगत याँमानको अजङ्गको भएर डम्म बसेको थियो। ऊनले अङ्कमाल गरिराखेका गणेश लामा र डम्म भएर बसेको ऊनको आफ्नै बिगतले उनका यी अभिब्यक्तिलाइ गिज्याइरहेका थिए। समग्रमा यो दृष्य ठट्टा,रमाइलो प्रहसन वा निशुल्क मनोरञ्जन भन्दा बढी केही थिएन।
नेपाल भन्ने देश अराजकतामा प्रवेश गरेको छ र यहाँ हिंस्रक संस्कृतिको विकास भएको छ। ५बर्षअघि गृहमन्त्री कृष्णप्रसाद सिटौलाजीले तराईमा खुल्लेआम हत्याहिंसा मच्चाइरहेका टाइगर,कोब्रा,करेंत जस्ता डरलाग्दा समूहहरु र पूर्वी पहाडका जातीय,साम्प्रदायिक सङ्गठनहरुलाइ राजनीतिक आवरण दिंदै शीरमै उचाल्न थाल्नुभयो तव त्यहींदेखि हिंसाले राजकीय स्थान पाएको हो। पछिल्ला सरकारहरुले त्यसैलाइ थप मलजल गर्ने काम गरे। प्रचण्डको सरकारले डक्कै ३४९थान र फुटकरसमेत् गरी ४००भन्दा बढी यस्ता जघण्य अपराधका मुद्दा फिर्ता लिए। माधवकुमार नेपालको सरकारले २८८थान मुद्दा फिर्ता लिए। गृहमन्त्री कृष्णबहादुर महराको कार्यकाल औसतमा राम्रो रह्यो; तर उनले पनि जघण्य अपराधका मुद्दा फिर्ता लिन होमवर्क शुरु गरिसकेका थिए। डा बावुराम भट्टराईले त बाँकि सवै मुद्दा फिर्ता लिनेछु भनि मधेशवादी दललाइ तमसुकै गरिदिनुभएको छ।
सल्यान निगालचुलीका माओवादी नेता लालबहादुर घर्तीले १बर्षअघि सुर्खेत जिल्लाको धारापानीस्थित चुरीचुला प्राथमिक बिद्यालयमा रिक्त शिक्षक पदमा आफ्नो नाताका पवित्रा पुनलाइ नियुक्त गर्न दबाव दिएका थिए। धारापानीका स्थानीय वासिन्दा र स्कूल ब्यवस्थापन समितिले इन्कार गरेको भन्ने रिसमा अस्ती १९गते राति हतियारसहितको टोली लिएर गाउँलेहरुलाइ घर-घरबाट थुतेर धुस्नु पारेर पिटे।
अहिले देसमा सरकार छैन,जताततै अपराधी गुण्डाहरुको एकछत्र राज छ। चन्दा,जवर्जस्ती,असुरक्षा र बन्दहडतालदेखि आजित र आतङ्कित भएर देशका उद्योगब्यवशायीहरु भाग्दैछन्। बितेको ३बर्षमा बिराटनगरबाट मात्र बीश ब्यवशायीले आफ्ना उद्योग बन्द गरेर विदेश लगानी गरेको ब्यथा सुनाउँदै थिए एक ब्यापारी। यस हिसावले देशभरी कति उद्योग बन्द भैसक्यो होला अनुमान लगाउन सकिन्छ। अस्ति भर्खर राजस्व अनुसन्धान विभागले सामान आयातको नक्कली प्रज्ञापनपत्र बनाएर करिव १अरव भारु.अपचलन भएको तथ्य फेला पर् यो भनेर देखाउँदै थियो। यो त अत्यन्तै सानो अंश हो। १८\२०बर्षअघि नेपालले विदेशी पूँजीलाइ समेत् आकर्षित गर्न थालेको थियो।आर्थिक बृद्धिदरपनि ५%भन्दा बढी नै थियो। प्रशासनिक प्रकृया,ऐनकानुन र शान्तिसुरक्षा लगायतका बातावरण सुधार्न सकेकोभए बृद्धिदर ७% सहजै नाघ्न सक्छ भनेर बिज्ञहरुले अनुमान गरेका थिए।
हाम्रा नेताहरुले छिमेकी बिहारबाट सिक्नुपर्नेमा टाढाको सोमालियाबाट पो सिके। सन १९९१\९२मा सानोतिनो आन्दोलन हुनासाथ त्यहाँका शासक मोहमद सियाद बार सत्ता छाडेर हिंडेका थिए। उनले सत्ता छाडेपछि हुन गएको भ्याकुममा अहिले बर्तमान नेपालमा जस्तै भुरेटाकुरे अपराधी समूहहरु सत्ताको टुक्रा-टुक्रामा आफ्नो कब्जा जमाउन र साम्राज्य कायम गर्न तँछाड्मँछाड् गरेर लागे। अहिले नेपालमा शालिग्राम जम्मरकटेल र महेश बस्नेतहरुको राज छभने सोमालियामा समुन्द्री लुटेराहरुको तथा दक्षिणी क्षेत्रमा अल सबाव नामक जातिवादी साम्प्रदायिक सङ्गठनको प्रभुत्व छ। यो सङ्गठन झण्डै-झण्डै हाम्रा कृष्ण भट्टचनजीले कल्पना गर्नुभएको जातीय सत्ताजत्तिकै कट्टर,कठोर र चरम दक्षिणपन्थी छ। हाम्रा नेताहरुले चाहेकाभए यहीं छिमेकी बिहारबाट सिक्न सक्थे। ज्योति वसुको शासनकालमा उनका कार्यकर्ताले उद्योगब्यवशायीलाइ सताउने र हैरान गर्ने मात्रै गरेकाले त्यहाँको उद्योगधन्दा सवै चौपट भयो। तर बिहारमा कानुन हातमा लिने र शक्ति प्रदर्शन गर्ने अपराधी गुण्डाहरुलाइ तह लगाएर नितिसकुमारले जव साँच्चै विधिको शासन स्थापित गरे तव बिहार झिसमिसेमै जाग्यो,उठ्यो र फटाफट लम्क्यो।
लोकतन्त्र आएपछि र प्रचण्ड प्रधानमन्त्री भएपछि जनमत बुझ्नको लागि गरिएका सामान्य सर्वेक्षणमा शान्तिसुरक्षा र सुशासन यी दुइटा मात्रै जनचाहना देखियो। धेरैले त सरकारले यतिमात्रै गरे पर्याप्त हुन्छ, देशको विकास,प्रगति र समृद्धिको चिन्ता लिनुपर्दैन,जनता आफैंले गर्नेछन् भने। सुशासनभित्र विधिको शासन, न्याय,स्वच्छ र छरितो प्रशासन,जनगुनासोमा तुरुन्त छानविन र सेवाग्राहीसँग शिष्ट ब्यवहार सवैको चाहना थियो। तर यहाँ त अरु कोही नभएर सरकार मात्रै बाधक देखियो। अपराधी गुण्डाहरु पालेर राख्छ,अन्तर्राष्ट्रिय फौज्दारी अदालतको रोम विधानलाइ अनुमोदन गराउन आनाकानी गर्छ, सत्य निरुपण आयोग गठन गर्न मान्दैन, न्याय पर्न दिंदैन र मुद्दा फिर्ता लिन्छ। त्यतिमात्र हैन, जघन्य अपराधका मुद्दाहरु सवै फिर्ता लिनेछु भन्ने वाचाकवोल, अझ तमसुकै गरेर सत्तामा जान्छ।
“तत् किं” मा गुरुदेव रविन्द्रनाथ टैगोर जो जति अनुशासनमा रहन सक्छ,त्यस्लाइ त्यति नै स्वतन्त्रताको अधिकार प्राप्त हुन्छ भन्छन। त्यस्को ठीक उल्टो यहाँ जस्ले जति नियमकानुन तोड्न सक्छ त्यस्लाइ त्यति नै हिरो ठान्ने चलन बसेको छ। यी सवैले मेरो इच्छानुसार चल्नुपर्छ भनेर सोच्नुमात्र पनि भयावह हो भन्छन् दार्शनिक इमानुएल काण्ट। तर यहाँ त प्रत्येक दल र हरेक नेता अरुको मतलाइ ठाडै अनादर गर्छन् र आफ्नै निर्णय लाद्न मात्र उद्यत रहन्छन्। यो सरासर सर्वसत्तावाद हो। यो झन् डरलाग्दो फासिवाद हो। डरलाग्दो किनभने हिटलर र मुसोलिनीको फासिवाद त प्रष्ट र पारदर्शी थियो तर यहाँ त लोकतन्त्रको मुखौटा र आवरणमा चिन्नै नसकिने फासिवादले आक्रान्त पारेको छ। यो फासिवादको नेपाली संस्करण हो।
विश्वइतिहासमा अराजकताको वीचबाट तानाशाहहरु मात्र जन्मेका छन्। नेपालपनि अराजकतामा प्रवेश गरिसकेको छ र त्यो स्थिति नआवोस् भन्ने कामना मात्र हो।
No comments:
Post a Comment