Pages

Monday, October 17, 2011

सेंचुवाको असल मान्छे ।

सेंचुवाको असल मान्छे
                                                   आनन्दराम पौडेल
                                                    anandarampaudel@yahoo.com                  
 
     यस्पाली दशैंको लागि घर पुगेका वीरगञ्जवासीले नेपालको प्रशासनिक इतिहाँसकै अपूर्व दृष्य देखे। काशी तिवारीका हत्यारालाइ कानुनी कार्यवाही गर्न एकातिर एसपी रमेश खरेल कम्मर कसेर जुटेका थिएभने अर्कोतिर हत्याका प्रमुख योजनाकार मानिएका प्रभु साहलाइ जोगाउन सरकारी वकील ओमप्रसाद अर्याल कानुनी दाउपेचका तानावाना बुनिरहेका थिए। एकजनाचाहीं नेपालको प्रशासनिक इतिहाँसमा आफ्नो स्थान वनाउँदै थिएभने अर्कोले इतिहाँसको पानामा कालो पोत्दैथिए। जस्ले बन्नलागेको नयाँ नेपालको राज्यसंस्कृतिमा ग्रहण लाउँदै थिए तिनलाइ सजिलो थियो,किनभने  सरकार र सरकारी पार्टीले खुलेर उनलाइ साथ दिइरहेका थिए। उनका यी र यस्ता कामलाइ उनकै बाउआमा र श्रीमतिले पनि सहज रुपमा लिइरहेका थिए। अर्कोतिर जो नेपालको प्रशासनिक इतिहाँसको वर्तमान अध्यायलाइ स्वर्णअक्षरले लेख्दैथिए, ती एसपी रमेश खरेललाइ सकस थियो। तिनी एक्लै थिए। सरकार र सरकारी पार्टी दुवै उनको बिरुद्दमा मोर्चा बाँधेर जाइलागिरहेको थियो र उनका आफ्नै नाताकुटुम्बहरुमध्ये धेरैले बेवकुफ भनिरहेका थिए।  
       एसपी रमेश खरेललाइ म चिन्दिन।उनीसँग मेरो जम्काभेट पनि भएको छैन।अहिले जिल्ला प्रहरी कार्यालय,पर्सामा कार्यरत छन् , आफ्नो पेशाप्रति इमान्दार,सिन्सियर छन् र  स्वच्छ अफिसर हुन् भन्ने सम्म  सुनेको थिएँ।जुन देशमा जनताको लागि सरकार छैन,तर भ्रष्टाचार गर्न र जनतालाइ सताउनको लागि मात्र सरकारको उपस्थिति भेटिन्छ,त्यही सरकारका कर्मचारीचाहीं स्वच्छ र इमान्दार होलान् भनेर पत्याउने आधारपनि भएन।राज्यको नेतृत्वदेखि तलसम्म तँछाड्मछाड् गर्दै भ्रष्टाचारको म्याराथनमा कुदिरहेको यो माहौलमा एउटा ब्यक्तिमात्र ट्र्याकबाट बाहिर अलग्गै,छुट्टै भेटिएला भनेर कल्पना गर्ने कुरै भएन।काठमाडौंभन्दा धेरै गुना बढी फोहोर र कुहिएको यो प्रणालीभित्र एउटा रमेश खरेल मात्र कसरी छुट्टै र अलग्गै हुन सक्छ,अनि कसरी टिक्न सक्छ भन्ने प्रश्नपनि रह्यो। जनमानसमा राज्य संयन्त्रको छवि जति बिकृत छ,त्योभन्दा घिनलाग्दो छवि नेपाल प्रहरीको छ।त्यही छविले गर्दा एउटा ब्यक्ति मात्र ठीक र असल भएर त्यहाँ कसरी टिकिरहन सक्छ भन्ने स्वाभाविक प्रश्नपनि हामीसँग रह्यो।
      हुन त एउटा ब्यक्तिको बिषयमा बोल्न अलि गाहारो छ भनेर रुपचन्द्र बिष्ट भन्थे। जिउँदो मानिस भनेको अदालतमा चलिरहेको त्यो मुद्दा हो जस्को फैसला चिहानमा हुन्छ,को कति रह्यो यो रुपचन्द्रको थेगो थियो।नेपालमा हामीले बिश्वास र सम्मान गरेका ब्यक्तिहरु उत्तरार्द्धसम्म पनि नपुग्दै पतनको खाल्डोमा हाम्फालेको देख्दा रुपचन्द्रको कथन नै सत्य रहेछ भन्थ्यौं ।यती हुँदापनि काशी तिवारीको मुद्दाको सन्दर्भमा देखिएको यो घटनाले एकाध ब्यक्ति अपबाद हुन सक्छन् भनेर सोच्न बाध्य पार् यो। १३\१४ महिनाअघिको कुरा हो, त्यसवेला यी रमेश खरेल हनुमानढोकामा कार्यरत थिए। महानगर प्रहरी आयुक्तको कार्यालयमा कार्यरत एकजना सइ गलत कृयाकलापमा संलग्न पाइएको र तत्कालीन आयुक्त  मदन खँड्काले निजलाइ बिशेष संरक्षण गरेको देखेर एसपी खरेलले यो गुनासो तत्कालीन आइजिपी रमेश चन्द समक्ष राखे।घटना यत्ती हो।त्यसवेला एसपीले राखेको गुनासोमाथि छानविन गर्नु त परको कुरा उल्टै एसपीको सातोपुत्लो लिने काम  भएको थियो।सुन्तली धामीको केसमा अपराधीहरुलाइ संरक्षण गर्नेहरुले जसरी डिआइजी पार्वती थापालाइ ठेगान लाउने काम गरेथे ठीक त्यसैगरि  रमेश खरेललाइ हतोत्साहित गर्न कुनै कसर बाँकी राखेनन् त्यसवेला। यी घटनाले एउटा राम्रो कर्मचारी भैरहन कत्ति गाहारो छ भन्ने प्रमाणित गर्छन्।
  धेरै बर्ष अघि सेंचुवाको असल मान्छे नाटक पढेका थियौं। त्यो नाटकमा दुइजना देवदूत पृथ्बी भ्रमणमा आउँछन्।एउटा गाउँमा पुग्छन् र असल मानिससँग भेट गराइदिनुहोस् भन्छन्।प्रत्येक ब्यक्तिले म त असल छैन,फलानो असल छ भन्छ।त्यस्लेपनि म हैन,फलानो असल छ भन्छ।हुँदाहुँदा नगरबधु धेरै असल छे भन्छन्।तिनीहरु नगरबधुकहाँ पुग्छन्। उनीहरुसँग नगरबधुले  यो ब्यवस्था,प्रणाली र माहोलले असल मानिस उत्पादन गर्दैन र कोही असल हुन चाहेपनि टिक्न दिंदैन भन्छे।सेंचुवाको नगरवधुले भनेजस्तै नेपालको बर्तमान राज्यब्यवस्थाले असल मानिस उत्पादन नगर्ने मात्र हैन,टिक्नपनि दिंदैन।त्यसैले,  वीरगञ्जमा देखिएको यो स्थितिमा सरकारी वकील ओमप्रसाद अर्याल स्वाभाविक हुन् र रमेश खरेल सुनिएजत्तिको ठीक एसपी हुन् भने त्योचाहीं अस्वाभाविक हो। बरु उनी ठीक मान्छे हुन र ठीक मान्छे भएरै टीकिरहन कसरी सके त्योचाहीं पुरै शङ्काको बिषय बन्न पुग्यो।
     मूल्याङ्कनको अभाव नै नेपालको महारोग र सङ्कट हो।सहरमा समाज छैन।गाउँघरमा समाजको अस्तित्व बाँकि रहेपनि अत्यन्तै सिथील र निरीह छ।राज्यको मूल्याङ्कन प्रणालीको बिषयमा २०६७ जेठ १४गते माधव नेपाल सरकारले २६९जनालाइ प्रदान गरेको तक्मा-पदकको लिष्ट हेरेमा छर्लङ्ग हुन्छ।जहाँ छ्यानब्यान हुँदैन र असल-खराव छुट्याईंदैनभने त्यहाँ गलत ब्यक्तिहरुको एकछत्र साम्राज्य चल्न थाल्छ। अँधेर नगरी चौपट राजा,टका सेर खाजा टका सेर भाजा को शैलीमा जहाँ छट्टु,धूर्त र टपर्टुईंयाँहरुको चौतर्फी हालिमुहाली हुन्छ त्यहाँ रमेश खरेलहरुले पिल्सिन नपर्नुचाहिं आश्चर्यको बिषय हुन्छ।खराव मुद्राले असल मुद्रालाइ बिस्थापित गर्छ भन्ने ग्रेशमको नियम अर्थशास्त्रमा मात्र हैन समाजशास्त्रमा पनि त्यत्तिकै लागू हुन्छ। धेरै बर्ष पहिले एउटा हिन्दी गीत सुनेका थियौं- और भी गम हैं जमाने में प्यार के सिवा,यही गीतलाइ उल्टाएर, और गम नहीं है नेपालमे सियासतके सिवा भनेर अभिब्यक्त गर्ने होभने नेपालीको स्थिति अभिब्यक्त हुन्छ।
    माथि उल्लेख गरिएको महानगरीय प्रहरीका तत्कालीन आयुक्त मदन खँड्का र तत्कालीन आइजिपी रमेश चन्दले गलत कर्ममा लिप्त सइलाइ संरक्षण गरेको यो घटना प्रहरी सङ्गठनभित्र नौलो हैन।यो त घटना नै हैन,प्रबृत्ति हो र बिगतको निरन्तरता हो। बिगतमा प्रहरीले गरेका ज्यादति र अत्याचारले नेपाल प्रहरीको अनुहारभरी यति भयानक दागहरु बसेकोको छ कि सामान्य साबुनपानीले धोएर सफा हुँदैन।२०५७ सालमा भेटेको  रोल्पा,गजुल गाबिस, किमचौरकी युवती दिब्यज्योती थापाको आँखाबाट अबिरल झरिरहेको बलिन्द्र धारा आँसुले हामीलाइ अहिलेपनि भत्भति पोलेको भान भैरहेछ।२०५६मङ्सीर २७गते बिहान प्रनानि रामसिंह थापाको कमाण्डमा गएको प्रहरी टोलीले दिब्यज्योतीका दुइटा भाइलाइ धुस्नु पिटे, आमाछोरीलाइ पाता कसेर गजुल चौकीमा पुर् याए।साँझको खाना खाएपछि प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले थला पर्नेगरी पिट्यो,चूल्ठोमा समातेर घिसार् यो  र बलात्कार गर् यो।पिट्ने र बलात्कार गर्नेजस्ता नेपाल प्रहरीको गौरवशाली कर्म ३दिनसम्म लगातार चल्यो। एक दिन त आमाकै अगाडि बलात्कार गर् यो।कतिसम्म भने आमाछोरीलाइ एउटै हत्कडी लगाएर सुताइन्थ्यो र छोरीलाइ बलात्कार गरिन्थ्यो।मध्यराततिर, ए त्यो आमाछोरी मरेकि जिउँदै छ,हेरेर आइज भनेर हेर्न पठाउँथ्यो।त्यही बेला १३/१४ बर्षकी किशोरी निर्मला पुनमाथि भएको अर्को पैशाचिक अत्याचार  सम्झँदा मुटु चरक्क चिरिएर आउँछ।२०५६साल फागुन१०गते नेपाल प्रहरीले खारा गाऊँको घर-घरमा आगो लगाएर राष्ट्रिय नरमेधयज्ञ सम्पन्न गरिरहँदा छिमेकी गाउँ मुरुकी यी निर्मला पुन आफ्नै घरमुनी घाँस काट्दै थिइन्।त्यही बेला त्यहाँ आईपुगेका ७जना प्रहरीमध्ये ३जनाले समाते,मिडी च्यातेर मुखमा कोचे र ४जनाले पालैपालो बलात्कार गरे।निर्मला पुनकै शब्दमा पालो नपाउनेहरु कराउँदै थिए।यो घटनासँगै जोडिएको अर्को भयावह पक्ष के छभने निर्मला पुनलाइ सामुहिक बलात्कार गरिरहेकै बेलामा नेपाल प्रहरीको अर्को ठूलो टोलीले छिमेकी गाऊँ खाराको सवै घरमा आगो लगायो र १५जनालाइ एउटै चिहान बनायो। त्यहीताका हामी पाल्पा पुगेका थियौं।पाल्पा तानसेनका प्रबुद्ध बर्ग प्रहरीबिरुद्ध आक्रोशित मुद्रामा थिए।भर्खरै केही हप्ताअघि एउटा समाजसेवी होनहार यूवालाइ प्रहरीले बेपत्ता पार्न खोजेछ।तिनको नाम केवल गाहा रहेछ,तिनी एमालेको टिकटमा छिमेकी गाउँमा उपाध्यक्ष निर्वाचित भएका रहेछन् र स्थानीय कलेजमा बीएल पढ्दै रहेछन्।प्रहरीले पक्डँदा तिनी तरकारी किन्दै रहेछन् र धेरै मानिसका सामु तिनलाइ पक्डेको रहेछ। माओबादीलाइ सहयोग गरेको भन्ने आरोप तिनलाइ लगाइएको रहेछ। यत्रा मानिसको सामुन्ने पक्डेकोलाइ प्रहरीले पक्डेको छैन भनि ढाँटेको,पक्रने बखत अत्यन्त क्रूरतापूर्ण ब्यवहार गरेको र समाचार प्रकाशित गर्न नदिएकोमा प्रबुद्ध बर्गको आक्रोश रहेछ। पाल्पाबाट फर्केर पछि बुझ्दा थाहा भयो,प्रबुद्ध बर्गकै ब्यापक चिन्ता, चासो र दबावको कारणले केवल गाहालाइ मारिहाल्न सकेनछन्।
     माथि उल्लेखित बिवरण प्रहरीले नेपाली जनतामाथि गरेका लाखौं अत्याचारमध्येका एकदुइटा प्रतिनिधि घटना मात्र हुन्। कृष्णसेन इच्छुकलाइ यातना दिइ मार्ने बिक्रम थापा अहिले कहाँ छन्? खारा र वरपरका घर,गोठ र घट्ट गरी ९०गोटा घर जलाउने र १५जनालाइ एउटै चिहान बनाउने तत्कालीन डिएसपी धिरु बस्नेत् अहिले कहाँ छन् ?अर्घाखाँची जिल्ला,ढाड मैदानको पाली गाबिससँगै जोडिएको बासारुख भन्ने स्थानमा       २०४८\३\२३गते बशीर मियाँलाइ ठाडै हत्या गर्ने र अरु १दर्जनलाइ अधमरो पार्ने सई तेजबहादुर घिमिरे अहिले कहाँ छन् ? पाठकहरुलाइ आश्चर्य लाग्ला, सार्वभौम (?)    नेपाली जनतामाथि जस्ले चर्को दमन र अत्याचार गर्न सक्यो नेपालको बहुदलीय प्रजातान्त्रिक भन्ने सरकार र लोकतान्त्रिक,गणतान्त्रिक भन्ने सरकारहरुले तिनैलाइ प्रमोशन,पुरस्कार र बिदेशको अवसर प्रदान गर् यो।
    मानिस स्वभावैले हिंस्रक जीव होइन।फेरी नेपाली जनजीवन र समाजको मूलभूत चरित्र हिंस्रक  थिएन।यही जनजीवन र समाजमा हुर्किबढेको एउटा नेपाली केटोले जव प्रहरीको बर्दी लाउँछ तव उ किन यतिबिघ्न हिंस्रक र क्रूर हुन्छ ? सरकारी ओहोदामा पुग्नासाथ यी ओमप्रसाद अर्यालहरु किन काइते,रकमी,षडयन्त्रकारी र अबिवेकी बन्छन् यही नै आजको ज्वलन्त प्रश्न हो। ती बर्दीधारी रामसिंह थापा,राजेन्द्र अधिकारी,बिक्रम थापा,धिरु बस्नेत र तेजबहादुर घिमिरेहरु तथा ओहोदाधारी ओमप्रसाद अर्यालहरु हिंस्रक,क्रूर र राक्षस हैनन्, यो राज्यब्यवस्था र नेतृत्व नै हो जस्ले उनीहरुलाइ हिंस्रक, आक्रामक तथा निकृष्ट षडयन्त्रकारी बनाइरहेछ।समस्या प्रशासनमा हैन,हाम्रो बुझाइमा छ। सापेक्षता र सन्दर्भमा नहेर्ने बरु निरपेक्ष तवरले हेर्ने हाम्रो दृष्टिकोणमा छ। जसरी उनीहरुको नियुक्ती गरिन्छ,प्रशिक्षण गरिन्छ,साँचोमा ढालिन्छ र प्रयोग गरिन्छ, त्यहाँबाट तैयार हुने पुलीस बिक्रम थापा वा धिरु बस्नेत नभएर रमेश खरेल कसरी हुन सक्छ ? अथवा ओमप्रसाद अर्याल,नागेन्द्र झा,कमलेश्वर सिन्हा (कपिलवस्तुका प्रजिअ) नभएर रामप्रसाद श्रेष्ठ वा रामेश्वर खनाल कसरी हुन सक्छ ? राज्यब्यवस्थाले आफ्नो साँचोमा ढालेर तैयार गरेका उपरोक्त प्रहरी अधिकृतहरु, सरकारी वकील कार्यालय,वीरगञ्जका अधिवक्ता ओमप्रसाद अर्याल र वीरगञ्जका पूर्व प्रजिअ नागेन्द्र झाहरु सवै स्वाभाविक हुन् । राज्यको संस्कार,चरित्र र प्रवृत्तिभन्दा बेग्लै (अपवादस्वरुप देखा परेका) रामप्रसाद श्रेष्ठ,रामेश्वर खनाल र रमेश खरेलहरु कुन धातुले बनेका  र कुन साँचोमा ढालिएका हुन्,बरु योचाहीं अनुसन्धानको बिषय वन्न पुगेको छ।    

--
*arpaudel*




No comments:

Post a Comment