Pages

Sunday, November 6, 2011

स्ट्रेटफोर्डदेखि काठमाडौंसम्मका येबुलीहरु।


स्ट्रेटफोर्डदेखि काठमाडौंसम्मका येबुलीहरु
                              -आनन्दराम पौडेल
                                    anandarampaudel@yahoo.com
    “त्यो ‘र’बाट सञ्चालित”, १०दिनअघि चितवनबाट कम्रेड वादलले प्रचण्डतर्फ औंल्याउँदै भन्नुभयो। २बर्षअघि तिनै प्रचण्डका कार्यकर्ताले बाबुराम भट्टराई ‘र’को एजेण्ट हो भनेर पार्टीको तल्लो पङ्क्तिसम्म ठोकुवा गरेका थिए। नेपालका एकदमै चर्चित पत्रकार (अत्यन्तै लोकपृय रहेको साप्ताहिकका सम्पादक) लाइ प्रचण्ड आफैंले नामै किटेर त्यो जासुसै हो भनेर ठोकुवा गरेका थिए। त्यो सिआइडी,त्यो जासुस,त्यो गद्दार, यस्ता शब्दहरु कम्युनिष्ट पार्टीहरु भित्र थेगोजत्तिकै सहजै प्रयोग गरिने सामान्य शब्दावली भएका छन्। निर्मल लामालाइ हामी अत्यन्तै आदर गर्थ्यौं र मायालु मान्थ्यौं। जव उनकै पार्टीका तल्लो तहका कार्यकर्ताले समेत् “निर्मल लामा खुङ्खार जासुस हो” भन्न थाले, त्यस्पछि ‘होकि त’ भनेर हामीपनि हच्कन पुगेका थियौं। त्यसवेला हामी यति परिपक्व भैसकेका थिएनौं र अरुले भनेपछि दायाँबायाँ केही नसोची पत्याइहाल्थ्यौं। पुष्पलालको नामै लिनुहुँदैनथ्यो,कांग्रेसको पुच्छर भनिहाल्थे। ‘कांग्रेसको पुच्छर’ शब्दले डोज पुगेन भनेर होला पछि ‘गद्दार’ भन्न थाले। ‘गद्दार पुष्पलाल’ शिर्षकको पुस्तिका यति छपाएर वाँडेका थिएकि छेलोखेलो जताततै पाइन्थ्यो।
    कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु अतिवादको रोगले ग्रस्त छन्। आफ्ना भए सवै राम्रा,नभए सवै खरावमा दर्ता गरिहाल्छन्। यिनीहरुमा ठूलो कमजोरी के देखिएको छभने कसैको बिचारसँग सामना गर्न नसकिने देखियोभने सोझै ब्यक्तित्वमाथि प्रहार गर्छन्। त्यस्को चरित्रहत्या गर्छन्,बदनाम गर्छन् र दुस्प्रचार यति गर्छनकि त्यस ब्यक्तिले समाज र समुदायमा उभिनैनसक्ने स्थिति श्रृजना गरिदिन्छन्। ब्यक्तित्वलाइ धुलोपिठो पार्ने चरण पूरा भएपछि यस्ताले अगाडी सारेको बिचार पनि सुन्ने होर भनिदिन्छन्। ठोस विचारसहित आएकै कारणले गिरिजाले नरहरि आचार्य र गगन थापालाइ दरबारका एजेण्ट भन्न थालेका थिए। चावहिलमा एकजना इमान्दार कम्युनिष्ट कार्यकर्ता हुनुहुन्छ। उहाँ नेकपा माले (पछि एमाले)को अत्यन्तै समर्पित र इमान्दार कार्यकर्ता भएर पञ्चायतकाल देखि नै काम गर्दै आउनुभएको थियो। नेकपा एमालेले महाकाली सन्धीलाइ अनुमोदन गर्ने निर्णय जसरी ग-यो, निर्णयप्रकृयामा उहाँको घोर आपत्ति रहेछ। यो आपत्तिलाइ उहाँले पार्टी कमिटीमा राख्नुभएछ र केन्द्रीय नेताहरुसम्म पनि पु-याउनुभयो। कसैले नसुनेपछि उहाँले पार्टी छोड्नुभयो। उहाँले पार्टी छाड्ने निर्णय मात्र के गर्नुभएको थियो, त्यो जासुस,सिआइडी रहेछ हामीले पार्टीबाट निकालिदयौं भनेर उल्टै प्रचार गर्न थाले। “उहाँलाइ किन जासुस,सिआइडी भनेर प्रचार गरेको हँ ?” भनेर मैले एकजना घनिष्ठ मित्रलाइ सोधें। “के गर्नु त,उहाँमाथि लगाउने अरु आरोप नभएपछि”, यो उहाँको जवाफ थियो। जस्लाइ सिध्याउनु छ,उस्को विरुद्ध अरु क्ल्यू केही नभेटिए एकैचोटी ‘जासुस,सिआइडी’ भनिदियो,काम तमाम। त्यस विषयमा अरु बिवरणपनि दिनुनपर्ने,पुष्ट्याईंपनि गर्नुनपर्ने,कति सजिलो !
  कसैलाइ सिध्याउन जासुस,सिआइडी भनेर अभियान चलाउने महारोग पार्टी (त्यहीपनि कम्युनिष्ट पार्टी ) भित्र मात्र ब्याप्त थियो, तर हाल ३\४बर्ष यता पत्रकारहरुमा पनि यो रोग सरेको छ। ३बर्षअघि २जना पत्रकार मित्रले, “तपाईंपनि आफूलाइ लागेका कुरा फ्याङफ्याङ वोल्नुहुन्छ,तर यी मान्छेसँगचाहीं होस गर्नुहोस् है” भनेर ५\६जनाको नाम भएको एउटा कागज दिएका थिए। मैले हेरें, ती सवै लामो समयदेखि निरन्तर लेखिरहेका लेखकहरु थिए र मेरा घनिष्ठ मित्रहरु थिए।
  हाम्रा नेताहरु गैरजिम्मेवार छन् र समाजचाहीं रूढी र अन्धविश्वासले ग्रस्त छ। रुढी र अन्धविश्वासी समाज भएकोले पनि यस्ता तत्वहरुलाइ सहज भएको छ। फेरी हाम्रो समाज नकारात्मक कुरालाइ छिटो ग्रहण गर्छ। सकारात्मक र रचनात्मक भन्दा ध्वंसात्मक कुराको छिटो प्रचार हुन्छ। हाम्रो गाउँकी पराजुली बुढीलाइ ‘बोक्सी’ भने। हामी परिपक्व थिएनौं,पत्याइहाल्यौं। लहैलहैमा हामीले पनि होमा हो मिलायौं। यो गलत प्रचार रहेछ भनेर बुझुञ्जेलमा हामीसँग पश्चाताप मात्रै थियो। एकदिन मृत्युशैयामा रहेकी पराजुली बुढीलाइ तुलसीको मोठमा राखिएको थियो। उनका छोराबुहारी, “आमा, तपाईंलाइ वोक्सी आरोप लगाएर जीवनभरी बेस्सरी पीडा दिए। जानिनजानि तपाईंबाट कुनै पापकर्म हुन गएको रहेछ भनेपनि सवै यिनीहरुले बोकिसकेका छन्। तपाईं मुक्त हुनुभएको छ। आरामले प्राण छाड्नुभए हुन्छ” भनिरहेका थिए र हामीचाहीं अपराधवोधले खर्लप्पै गलेका थियौं।
   कसैलाइ हेर्ने दृष्टिकोण हामी कति सहजै निर्माण गर्छौं भनेर लूसुनले एउटा कथा लेखेका छन्। एउटा गाउँले शहर जाँदा इस्पात ( गतीलो फलाम ) फेला पार्छ। शिपालु कामीकहाँ आफैं वसेर बञ्चरो बनाउन लगाउँछ।गाउँमा आइपुगेपछि टोलका सवैले त्यो बञ्चरोको तारिफ गरे। छिमेकी एकजनाभने अस्वाभाविक हदसम्म लोभलाग्दो नजरले हेरिरहेथ्यो र बढी नै सुम्सुम्याउँथ्योपनि। अरु दिनमा पनि बेला-बेलामा बञ्चरो हेर्न आइरहन्थ्यो। एकदिन अचानक बञ्चरो हरायो। त्यो गाउँलेले बञ्चरो खोज्यो,राखेको ठाउँमा थिएन। “बञ्चरो चोरिएछ”,गाउँलेले मनमनै भन्यो। “कस्ले चो-योहोला” गाउँले सोच्न थाल्यो। “अरु कस्ले चोर्छ,त्यही छिमेकी हुनुपर्छ।उस्का नजरले सधैं बञ्चरो खोजिरहेको हुन्थ्यो।पक्कै त्यसैले हुनुपर्छ,यस्मा शङ्कै छैन।त्यो चोरै हो” उस्ले ठहर ग-यो। यति ठहर गरिसकेपछि उस्ले त्यो छिमेकीको गतिविधि नियालेर हे-यो। उस्का हरेक कृयाकलापहरु चोरकै जस्ता थिए। उस्ले यताउती हेरेको पनि चोर्ने दाउले हेरेको जस्तो लाग्थ्यो।  यताउती हिंडेको सवै चोर्नकै लागि हिंडेको जस्तो लाग्थ्यो। एकदिन अचानक अनौठो घटना भयो। घरमा अर्कै सामान खोज्दा त्यो हराएको भनिएको बञ्चरो फेला    प-यो। “हो त, यहाँ एकदिन हतार-हतारमा मैले आफैंले राखेको थिएँ”,उस्ले झल्याँस्स सम्झ्यो। “ओहो!मैले एकजना सज्जन ब्यक्तिलाइ ब्यर्थमा चोर दोष लगाएँ। भयङ्कर पाप चिताएँ ”,उस्ले मनमनै पश्चाताप ग-यो। पश्चातापले त्यो गलत सोचलाइ पखाल्यो। सफा मनले त्यो छिमेकीलाइ हेर्न थाल्यो। उस्का हरेक कृयाकलाप र गतिविधि सवै सज्जनकै जस्तो देखियो।
   लूसुनको त्यो गाउँलेले धन्न मुख फोरेर छिमेकीलाइ चोर भनिहालेन। भनिहालेको भए त्यो छिमेकीलाइ कति गहीरो पीडा पुग्थ्यो होला ! तर, हामी नेपाली त चरम स्याडिष्ट छौं। हो,होइन वुझ्दैनवुझी ठाडै आरोप लगाइहाल्छौं। त्यति आरोपले उस्लाइ कति चोट पु-याउँछ र त्यस्को पीडा कति गहीरो पर्छ,हामी अनुमान गर्दैनौं। ‘केटाकटीको खेल,भ्यागुताको काल’ भैरहेको हुन्छ,त्यतातिर सम्वेदनशील हुँदैनौं। स्ट्रेटफोर्ड हाईस्कूल,स्ट्रेटफोर्ड, म्याञ्चेष्टर,लण्डनमा अध्ययनरत १३बर्षीय अत्यन्तै प्रतिभाशाली छात्र विजय सिंहले केही बर्षअघि आत्महत्या गरे। विजय सिंहको डायरी पढेर विश्व रोयो। डायरीमा लेखिएको थियो,“येबुली(दादाहरु) अत्यन्तै कठोर,निर्मम र क्रुर राक्षस हुन्। कायर र निर्दयी।यिनीहरु अति तुच्छ शब्द प्रयोग गरेर हामीलाइ हर्दम आहत गरिरहन्छन्। यस्ता अपराधी प्रवृत्तिले यिनीहरुलाइ बुद्धिमानपनि वनाउँदैन र समाजमा कुनै स्थानपनि पाउँदैनन्।” विजय सिंहले लेखेको एउटा कवितापनि भेटियो। “बुलिङ्ग” शिर्षक कवितामा लेखिएको थियो, “ बुलीज हुन् तिनीहरु \ सम्बेदनशून्य छन् तिनीहरु \ बुलीज हुन्छन् तिनीहरु,जोसँग हुँदैन सम्बेदनशीलता \ न त कुनै भावना \ स्याडिष्ट हुन् तिनीहरु \ सधैं अरुलाइ चोट पु-याउँछन् \ योवाहेक अर्थोक् गर्न आउँदैन यिनीहरुलाइ।”
  राजनीतिक बृत्त (अहिले त पत्रकार जगतमा समेत्) मा एकले अर्कोलाइ जासुस,सिआइडी भनेर लगाउने गरेको आरोप तथा समुदायमा वोक्सी,भेदाहा भनेर लगाइने गरेको आरोपले दिने पीडा उस्तै भएपनि एउटा पक्षचाहीं नितान्त फरक छ। समुदायले आजसम्म यस्ता ब्यक्तिमाथि आरोप लगाउने गरेको पाइएको छ,जो निरीह र निमुखो छ र जस्को स्थान,हैसियत र सम्भावना छैन। त्यस्को विपरित राजनीतिक बृत्तमा यस्ता ब्यक्तिलाइ लाञ्छित गरिन्छ,जो स्वाभिमानी छ र जो एउटा विचार,दृष्टिकोण र उद्देश्यका साथ अघि बढ्न खोज्छ। स्ट्रेटफोर्डका विजय सिंहले भनेजस्तै जो रचनात्मक,श्रृजनात्मक,स्वप्नशील र उद्देश्यमूलक छैनन्, तिनीहरु सधैं अरुलाइ खुइल्याएर बस्ने हुन् र सधैं यही गरिरहनेछन्।
Friday, 4 November 2011
 


  

No comments:

Post a Comment