राष्ट्रको प्रारम्भिक समीक्षा
-आनन्दराम पौडेल
anandarampaudel@yahoo.com
युरोप,अमेरिका, अस्ट्रेलियामा गएका नेपालीहरु फोन र च्याटमा देशको हालखवर सोधिरहन्छन्। भर्खर त्यता गएका कतिपय नेपालीको परिवार नेपालमै होलान्,नभए आमाबुबा होलान्। परिवार सहितै गएकाहरुको सम्झनाभरी नेपाल राष्ट्र त पक्कै होला। यत्रा अगुवाहरु,नेताहरु र चेतनशील समाजको जिम्मामा छाडेर गएकोले नेपाल राष्ट्रको बिषयमा चिन्ता लिनु पर्दैन भनेर ढुक्क हुनुभएको होला। चिन्तातुरै भैहाल्नुपर्ने त हैन,तर अशुभ लक्षणचाहीं देखिएका छन्। असर परिनहालेको भएपनि लक्षणहरु यस्ता छन्: फेब्रुअरीको पहिलो हप्तामा सूचना तथा सञ्चार मन्त्री जयप्रकाश गुप्ताले मन्त्रालयको कार्यकक्षमा पत्रकारहरुलाइ वोलाएर अव ३ महिनापछि तराईलाइ नेपालबाट अलग्याउँदै छौं भन्नुभो। यो अभिव्यक्ति सुनेर विदेशमा भएका नेपालीहरुले रेडियो र अखवारहरुमा तिव्र प्रतिकृया जनाए, तर यहाँका पार्टी र तिनका भातृसङ्गठनहरु वोलेनन्। एनेकपा माओवादीले त ढाकछोपै ग-यो। भूईंचालै ल्याउनुपर्ने अभिव्यक्तिले तरङ्ग समेत् नल्याउनुको कारणचाहीं यो अभिव्यक्ति नौलो नभएर पनि हुन सक्छ। तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोहरुले २ बर्ष अघिदेखि यही भन्दै आएका थिए। फरक यतिमात्रै होकि उनीहरुले तिथिमिति तोकेका थिएनन्,यिनले तोके। माघको दोश्रो हप्तामा हाम्रा साथिहरु जलेश्वर(महित्तरी) गएका रहेछन्। जलेश्वर देखि मटिहानीसम्मको सडकको दुवै किनारामा भएका विजुली, टेलिफोनका पोलहरु र सवै खम्बामा भारतको तिरङ्गा झण्डा फर्फराईरहेको देखेछन्। जनकपुर उद्योग बाणिज्य सङ्घ कार्यालयको हातामा झन् अग्लो पोल गाडेर त्यस्मा याँ..मानको तिरङ्गा झण्डा फर्फराइरहेको भेटेछन्। बाटाभरी र कार्यालय हातामा मित्र राष्ट्रको झण्डा फर्फराएको भन्ने हाम्रो प्रश्न हैन। हाम्रा मित्रराष्ट्र त धेरै छन्, अरु राष्ट्रको झण्डा त कहिल्यै देखिंदैन,एउटा राष्ट्रको मात्र किन भन्ने खुल्दुलि हो। ४ बर्ष अघि म आफ्नो घरगाउँ हेटौंडामै थिएँ। यहाँ तराई मूलका शिक्षक,कर्मचारीहरु धेरै छन्। सधैं छठ र होलीमा मात्र सामूहिक तवरमा घर जाने मधेशीहरु गाउँमा वोलाएको छ भन्दै जाँदै थिए। पछि वुझ्दा थाहा भयो, नेपाली झण्डा जलाउने कार्यक्रम राखेका रहेछन् र त्यही कार्यक्रमका लागि वोलाइएका रहेछन्। ५ बर्ष अघि मित्र राष्ट्र भारतबाट अपराधी समूह ल्याएर तराईबाट पहाडेलाइ खेद्ने अभियान चलाए। लक्ष्मीप्रसाद देवकोटा,सिद्धिचरण श्रेष्ठ,भानुभक्त आचार्य लगायत सवै पहाडे कविहरुको शालिक तोड्ने काम भयो।
ठीक छ,झण्डाको कपडा ठूलो कुरो नहोला। देशको चारकिल्ला पनि त्यति महत्वपूर्ण नहोला। तर, यससँग गाँसिएको भावना त अत्यन्तै सम्बेदनशील छनि। चरम सम्बेदनशील भएकै कारणले कसैको आस्था र भावनामा चोट पुग्नासाथ मान्छे मर्न र मार्न समेत् तैयार हुन्छ। यो नेपाल भन्ने राष्ट्रलाइ अलि बढी नै लत्याएको र हेपेको होकि भन्ने महसुस भैरहेछ। नेपाललाइ माया गर्ने सवै छरिएका छन् र वाँकि बिदेशिएका छन् भनेर यो राष्ट्रलाइ अनाथ बवुरो ठानेका हुन् भन्ने निस्कर्षमा पो पुगिंदै छ। तराईबाट पहाडेलाइ खेदेकोमा जति चोट प-यो,त्योभन्दा गहीरो पीडा कुनैपनि राष्ट्रिय पार्टी र नेताले नवोलेकोमा भयो। साहित्यकारहरुको शालिक तोडेको देखेर जति दु:ख भयो, प्रगतिशील लेखक सङ्घ,एकेडेमि लगायत साहित्यिक संस्थाहरु मौन वसिदिंदा घाउ झन् टन्क्यो।
राष्ट्र र राष्ट्रियताको कुरा गर्दा जर्ज अरवेलले लेखेका “नोट्स अन नेशनलिज्म” लिट्रेचर र “नाइण्टिन एटी फोर” उपन्यासमा बर्णित सकारात्मक र नकारात्मक राष्ट्रवादको व्याख्या सम्झन्छौं। सकारात्मक राष्ट्रवादले जनतालाइ जातपात,धर्म, सम्प्रदाय,नश्ल र क्षेत्रको आधारमा भेदभाव गर्दैन,बरु उत्पादन प्रकृयामा सवैले आ-आफ्नो योग्यता र क्षमता अनुरुप योगदान गरुन् र उपभोग गरुन् भनेर जोड दिन्छ। सकारात्मक राष्ट्रवादले सहिष्णुताभावलाइ पुष्ट गर्छ। सामाजिक न्यायप्रति सम्बेदनशील हुन्छ। जातीय,साम्प्रदायिक र नश्लीय विभेदका कारणले हुने दङ्गा तथा द्वन्दबाट राष्ट्रलाइ मुक्त राख्छ। समाजशास्त्रीहरुको भाषामा भन्नुपर्दा त्यहाँ यस्तो सामाजिक पूँजी निर्माण हुन्छ, जस्लाइ सोझै राष्ट्रिय समृद्धीको लागि उपयोग गर्न सकिन्छ। यस्को ठीक उल्टो, नकारात्मक राष्ट्रवादले जनतालाइ विभाजित गर्ने र भिडाउने खेल शुरु गर्छ। हामीहरु र तिनीहरु भन्न थाल्छ। आफूलाइ उत्कृष्ट र अर्कोलाइ निकृष्ट भन्ने सङ्कुचित दृष्टिकोण निर्माण गर्छ। यो ‘जीरो सम गेम’ सूत्र लिएर अघि बढ्छ। ‘जीरो सम गेम’ अर्थात्, तिनीहरुलाइ लाभ हुनु भनेको हामीलाइ हानि र तिनीहरुको नोक्सानमै हाम्रो फाइदा भन्ने एकसूत्रीय चिन्तन हुन्छ। वडो दु:खका साथ भन्नुपर्छ, अहिले तराई र पूर्वी पहाडका अगुवाहरु नकारात्मक राष्ट्रवादका बिषालु तीर बोकेर राष्ट्रिय बिध्वङ्सको रणमैदानमा मोर्चा कसेर वसेका छन्। विदेशमा रहेका नेपालीले देशको हालखवर सोद्धा आजकल तपाईंहरुले जिम्मा छाड्नुभएको यो नेपाल भन्ने राष्ट्रलाइ जोगाइराख्न सकिंदैनकि भन्ने एउटा चिन्ता बाहेक सवै ठीक छ भन्ने गरेको छु।
शनिवार, फेब्रुअरी 25, 2012
No comments:
Post a Comment