Pages

Saturday, March 3, 2012

सकृय र निस्कृय क्रूरले हाँकेको नेपाल।


सकृय र निस्कृय क्रूरले हाँकेको नेपाल
                            -आनन्दराम पौडेल
                             anandarampaudel@yahoo.com
 बबरमहलमा शक्तिसाली बम पड्केको क्षणमा नजिकैको क्वालिटी रेष्टुरेण्टका टेबुलहरु खचाखच भरिएका थिए। २जना ग्राहकले आवाज त भयङ्कर छ नि भनेर कान ठाडा पारेका पनि हुन्। एकछिनपछि हस्याङफस्याङ गर्दै आएको बेयराले भन्यो, “बम त ठूलै पड्केको रहेछ। २ जना त ठहरै भए भन्छन्,अरुको पनि मर्नेबाँच्ने ठेगान छैन रे।” रेष्टुरेण्टका सवै टेबुलमा गरी त्यसवेला ५०भन्दा कम्ति ग्राहक थिएनन्,तर बेयराको रिपोर्टिङले कसैको पनि ध्यान खिंचेन। १\२जनाले “के भएको रहेछ हेर्न जाऔं” भनेका पनि थिए। “के भन्छ यो ? त्यहाँ जे गर्नुपर्छ पुलिसले गर्छ, तँ त्यहाँ गएर के गर्छस् ?” अरुले जवाफ दिएका थिए। “के भएको रहेछ,वुझौं भनेर” पहिलोले हल्का जीरह गरेको थियो। “भरे टेलिभिजनमा हेरे भैहाल्यो नि। आरामले सोफामा बसेर टेलिभिजनमा हेर्नु” अरुले एउटै स्वरमा जवाफ दिएर उस्लाइ दवाएका थिए। ५० जना ग्राहक र रेष्टुरेण्टका स्टाफसमेत् गरि करिव ६०जना भएको ठाउँमा नजिकै घटेको घटनाले यहाँभन्दा बढी चर्चा पाएन। यस्तो लाग्थ्यो, शक्तिसाली बम पड्कनु,मान्छे मारिनु अव नेपाली समाजका लागि यति सामान्य कुरो भैसक्यो,मानों हिंड्दाहिंड्दै पाइतालाले किराफट्याङ्ग्रा वा कमिला कुल्चिएको हो।
       ९ बर्षअघि नोबेल पुरस्कार प्राप्त गर्दा हङ्गेरीका कथाकार इमरे कर्तेजले आफ्नो नोबेल व्याख्यानमा भन्नुभयो, “हिंसा एकदमै नौलो बिषय त हैन,तर यो व्यवस्थित र नियमित हिंसाचाहीं नयाँ हो। हिंसा हाम्रो जनजीवनमा झन्-झन् प्रभावशाली र शक्तिसालि व्यवस्था वनेर स्थापित भएको छ,यो गम्भीर र चिन्ताको बिषय हो। हत्या,हिंसा र आतङ्कलाइ स्वीकारिएको छ, यस्लाइ सहज र स्वाभाविक मानिएको छ,यो निकै खतरनाक छ।” इमरे कार्तेजले भन्नुभए जस्तो यो हिंस्रक वातावरण कस्ले निर्माण गरिरहेछ ? यस्को लागि ३ तत्व जिम्मेवार देखिन्छन्। पहीलो तत्व न्याय र समताको अभाव हो। विभेद र पक्षपातको पीडा खपिनसक्नु हुन्छ। हाम्रो राज्यव्यवस्थामा न्याय,विवेक र सम्बेदनशीलताका तत्व भेटिंदैनन्। समतामूलक ब्यवहार उस्को संस्कारमै छैन। निरन्तर अन्याय,अत्याचार, अपमान र पक्षपात जव खपिनसक्नु हुन्छ,तव त्यो विस्फोट हुन्छ। त्यो विस्फोट हिंस्रक रुपमा देखा पर्न सक्छ। दोश्रो तत्व हो, अपराधीको सम्मान। सवै ठूला पार्टीले अपराधी डनहरुलाइ ज्वाईंसरि पालेका छन्। घरज्वाईं मात्रै हैन, उनीहरु नै निर्णायक र प्रभावशाली भएर रहेका छन्। प्रचण्ड प्रधानमन्त्री हुँदा एकमुष्ठ ३४९थान र पछि पटक-पटक गरी ४००थान मुद्दाहरु फिर्ता लिए। फिर्ता लिएका अधिकांश मुद्दाहरु बलात्कार,हत्या,आगजनि र आतङ्कका डरलाग्दा जघन्य अपराधका मुद्दा थिए। यस्तै मुद्दा २८८ थान माधव नेपालले फिर्ता लिए। वर्तमान सरकारले योभन्दा धेरै मुद्दा फिर्ता लिने तैयारी गरिरहेको छ। अपराधीलाइ असजिलो पर्ने भएकोले नेताहरु अन्तर्राष्ट्रिय फौज्दारी अदालत सम्बन्धी रोम विधानलाइ अनुमोदन गर्न अनिच्छुक हुनुहुन्छ। ५\६ बर्षदेखि हामी देखिरहेछौं, टाइगर,करेंत,कोब्रा जस्ता अनेक नामधारी सशस्त्र अपराधी समूहले तराईमा र त्यस्तै अनेक जातीय नामधारी समूहले पूर्वी पहाडमा हत्या,हिंसा,फिरौति,जवर्जस्ति असुलि र चन्दाआतङ्क मच्चाइराखेका छन्। तर,हाम्रो सरकारका मन्त्रीहरु तिनीहरुको ठेगाना खोज्दै पुग्छन्,तिनीहरुलाइ राजनीतिक आवरण ओढाइदिन्छन्, ज्यूज्यू गर्छन् र सुमसुम्याउँन थाल्छन्। उनीहरुले गरेका क्रूर अपराधकर्मलाइ सहजै माफ गरिदिन्छन्। उनीहरुले सिफारिश गरेका अपराधीलाइ जेलबाट ससम्मान रिहा गरिदिन्छन। उनीहरुका मुद्दा फिर्ता लिइदिन्छन् र अङ्कमाल गरेर फोटो खिंचाउँछन्। अपराधीलाइ कार्वाही हैन खोजिखोजि सम्मान गर्ने र उच्च आशनमा विराजमान गराउन थालेपछि त्यस्बाट भयङ्कर सन्देश प्रवाह भएको छ। त्यस्ले सवैलाइ अपराधकर्मतर्फ उत्प्रेरित गरेको छ र अपराधकर्मको बाटो नपक्रने, त्यता लाग्न नसक्ने र लाग्न नचाहनेलाइ उल्टै पछुतो मान्नुपर्ने स्थितिमा पु-याएको छ। तेश्रो तत्व हो, नेपाली समाज। नेपाली समाज अन्धभक्त छ। हुँदोनहुँदो जेसुकै गरेर र अनेकौं अपराध गरेर शक्ति र धन आर्जन गरेको भएपनि आँखा चिम्लेर त्यसैको पछि लाग्छ। नेपाली समाजले असल,सदाचारी,त्यागी र ठीक मान्छेको खोजी र कदर गर्दैन। मूल्य,मान्यता र मानकहरु कतै फेला पर्दैनन्। अपराध गरेर आर्जन गरेको धनले समाजमा अग्रस्थान पाइन्छ भने त्यस्तो समाजमा बेवकुफ मूर्खले मात्र सदाचारी बन्ने चेष्टा गर्छ।
      बबरमहलमा बम विस्फोट हुनासाथ त्यो विस्फोट मैले गराएको हो भन्दै संयुक्त जातीय मोर्चाले तत्कालै सवै मेडियामा फोन ग-यो। पहिले-पहिले वोर्डफस्ट भएको खवर सुनाउन हतार हुन्थ्यो। पुर्खाको गौरवगाथा फैलाउन लालायित रहन्थे। कुनै कृति वा रचना प्रकाशित भएपछि त्यो पढुन् र चर्चा गरुन् भनेर उत्कण्ठा राख्थे। समाज,राष्ट्र र मानव सभ्यताका लागि सानो मात्र योगदान गर्न सकियो भने गौरवको अनिभूति हुन्थ्यो। मानव सभ्यतामै प्रभाव पार्ने सृजना वा विचार उत्पादन गर्नेलाइ शीरमै वोकेर हिंड्थे। ४०\५० बर्ष अघिसम्म नेपाली समाजको सोच,मनोविज्ञान, लक्षचिन्तन र जीवनशैलि यो थियो। तर,वर्तमान नेपालमा हिंसा,हत्या र आतङ्क मच्चाउनेहरु पुरुषार्थी हुन्छन्।
    नेपाली समाज र राज्यव्यवस्थाको संरचनाका तन्तु-तन्तुमा हिंसाको एकछत्र राज छ। नेपाली समाजमा दुईथरी हिंसा कृयाशील देखिन्छन्। एउटा हिंसाको बिउ रोप्दै हिंड्ने संयुक्त जातीय मोर्चाहरु र अर्को हिंसाको लागि जमिन सहज बनाइदिने त्यस दिन क्वालिटी रेष्टुरेण्टमा भेटिएका हामीहरु। तिनीहरु सकृय क्रूर हुन् भने हामी निस्कृय क्रूर। निस्कृय क्रूरहरुको अप्रत्यक्ष सहयोग पाएरै सकृय क्रूरता ह्वात्तै बढेको हो। हिंसा आतङ्क मौलाउनुमा जातीय मोर्चाहरु जति जिम्मेवार छन्,त्योभन्दा हजार गुना बढी जिम्मेवार हामी निस्कृय क्रूरहरु छौं। हाम्रो मुख्य समस्या के होभने हामी परिवर्तन चाहन्छौं र परिवर्तनदेखि डराउँछौं। परिवर्तन प्राकृतिक हो र नैसर्गिक चाहना नै हो,तर परिवर्तन आफू अनुकूल नहोला कि भनेर डराउँछौं। बम विस्फोट हुँदा छेवैको क्वालिटी रेष्टुराँमा बिद्यमान हामी सवैजना सुखसुविधा भित्रै परिवर्तन खोज्ने नेपाली समाजको प्रतिनिधिपात्र थियौं। भित्री सत्य के होभने हाम्रो अभ्यन्तरमा मुक्तिको आकांक्षा अङ्कुरित नै भएको छैन। हामीले मुक्ति हैन,अलि बढी सुखसुविधा मात्र खोजेका रहेछौं। सुखासीन नेता र उदासीन जनताको वीचमा मुक्ति-आकांक्षाको वीज अङ्कुरितै हुन सकेन।
   अल्बेयर कामू ‘विद्रोही’ मा लेख्छन्, “आतङ्क र क्रूरताको वलमा स्थापना गरिएको राज्य र राज्यसञ्चालनको हिंस्रक शैलीले न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्दैन।” अल्बेयर कामू अझै जोड दिएर भन्छन्, “विद्रोह,जो अन्यायपूर्ण र विभेदकारी राज्यव्यवस्थालाइ बिस्थापित गरेर समतामूलक र न्यायपूर्ण राज्यव्यवस्था स्थापित गर्नका लागि भनेर गरिएको हो, जव त्यस्ले हिंसालाइ नै केन्द्रमा राखेर, त्यसैमा आधारित सत्ता स्थापित गर्छभने साविकको भन्दा झन् चर्को अन्याय र दमनको साम्राज्यमा परिणत हुन्छ,जस्लाइ हटाउने भनेर विद्रोह गरिएको थियो।” २१ बर्ष अघिसम्म संसारमै कहीं नभएको अति चर्को विभेद दक्षिण अफ्रिकामा थियो। राज्यका ऐननियमहरु ठाडै विभेदकारी थिए। सरकारी कार्यालयमा मात्रै हैन होटल,रेष्टुराँ, ट्रेन, स्कुल, कलेज,चर्च जस्ता पब्लिक ठाउँमा समेत् दुईथरीलाइ अलग-अलग व्यवहार गरिन्थ्यो। शदियौंदेखि विभेदको शिकार भएका कालाहरुले सत्ता आफ्नो हातमा आएपछि प्रतिशोधको आगो ओकल्न सक्थे। त्यसो गरेको भए त्यहाँ लोकतन्त्रले जरा हाल्न पाउँदैनथ्यो,हिंसा र प्रतिहिंसाको अनन्त चक्रमा मुलुक फस्थ्यो।  
     जव समाज र राज्यको अन्तर्जीवनमा हिंस्रक संस्कृति व्याप्त हुन्छ, तव खलील जिब्रान भन्छन, “त्यहाँ चलाकीलाइ प्रतिभा,टपर्टुइयाँलाइ ज्ञानी,आत्महीनतालाइ नम्रता र कायरतालाइ समर्थन भनेर व्याख्या गरिन्छ।” जिब्रानले भनेजस्तै नेपालमा अपराधीहरु सत्ताको शीखरमा हुनेछन् र सज्जनहरु सुरक्षित ठाउँ खोज्दै अँध्यारो कुनामा भेटिनेछन्।
शनिवार, मार्च 03, 2012

No comments:

Post a Comment