कम्युनिष्ट पार्टीमा यदुवंशी प्रयोग
-आनन्दराम पौडेल
anandarampaudel@yahoo.com
“एकातिर क्रान्ति र राष्ट्रिय स्वाधीनताको कुरा गर्ने अर्कोतिर भित्रभित्रै ज्ञानेन्द्र र ‘रअ’सित साँठगाँठ गर्ने यो कस्तो क्रान्तिकारिता हो ? पार्टीको जडसूत्रीय संशोधनवाद र लफ्फाजीको पछि नलाग्नुस, विचार बुझ्नुस् ।” चैत्र ३० गते विहीवार ललितपुरको बालकुमारीमा आफु पक्षधरका कार्यकर्तासँग प्रचण्डले आफूहरुलाई राजावादी र भारतपरस्त भन्ने वैद्य पक्षले भारतीय गुप्तचर संस्थाका अधिकारीलाई गोप्य रुपमा भेट्ने गरेको र पूर्व राजा ज्ञानेन्द्रसंग साँठगाँठ रहेको आरोप लगाउँदै भन्नुभएको हो।
एनेकपा माओवादीको विचारसमूह भनिने वैद्यसमूहले पनि धेरै तल ओर्लेर ७ महिनादेखि अराजनीतिक भाषामा प्रचण्ड-बाबुराम समूहलाइ निकृष्ट गालिगलौज गर्दै आएका थिए। रामबहादुर थापा ‘वादल’ले त प्रचण्ड शव्द नै भुलिसकेका थिए, “लालगद्दार” भन्थे। महाभारतमा शिशुपालले १०८ गालि गरुञ्जेलसम्म कृष्णले सहेर वसेका र त्यसपछि प्रतिरोधमा उत्रिए जस्तै प्रचण्डले पनि मुटु मिचेर सहेरै वसेका थिए।
नेपालका अधिकांश कम्युनिष्ट नेताहरु डवल स्ट्याण्डर्ड(विरोधाभाष चरित्र)को रोगले ग्रस्त छन्। अघिल्लो दिन वैद्य समूहलाइ भारतपरस्त भनेर त्यति खरो रुपमा प्रस्तुत भएका प्रचण्ड भोलिपल्टै भारतीय दैनिक “दि हिन्दू”का रिपोर्टर प्रशान्त झालाइ अन्तर्वार्ता दिंदा भारतप्रति अत्यन्तै कृतज्ञताभावमा नौनीभन्दा नरम भएर प्रस्तुत भए। अप्रिल १६ तारिख,सोमबारको “दि हिन्दू”मा प्रकाशित अन्तर्वार्तामा प्रचण्डले अस्वाभाविक हदसम्म भारतको प्रशंसा गरेका छन्। “भारतको प्रत्यक्ष सहयोग नभएकोभए दिल्लीमा हस्ताक्षर भएको १२वुँदे सम्झौता निश्चय नै सम्भव थिएन।” प्रचण्डले अन्तर्वार्तामा भनेका छन्। प्रचण्डले थप जोड दिंदै भनेका छन्, “भारतको सकृय सहयोग नभएकोभए सम्बिधानसभाको निर्वाचन सम्भवै थिएन। र अहिले पनि भारतको सहयोगविना शान्ति र सम्बिधानलाइ तार्किक निस्कर्षमा पु-याउन कठिन छ।” यिनै प्रचण्डले प्रमं पदबाट राजिनामा गरेपछि शान्तिप्रकृया,सम्बिधान लेखन र राष्ट्र निर्माणको ऐतिहासिक कार्य सवै छाडेर पूरै २बर्ष “विदेशी प्रभु” भन्दै भारतलाइ सत्तोसराप गरेर वसेका थिए। यस्तै चरम विरोधाभासपूर्ण चरित्र एनेकपा माओवादीले पोहोर र पह्रार सम्बिधानसभाको म्याद थप्ने वेलामा देखाएको थियो। २०६८ बैशाखको दोश्रो हप्ताभर चलेको एनेकपा माओबादीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा दलाल, प्रतिकृयावादी शक्ति र विदेशी मालिकको इशारामा सम्बिधानसभालाइ औचित्यहीन सिद्ध गरी भङ्ग गर्ने षडयन्त्र भएको ठहर गरेका छन्। ठीक १बर्षअघि २०६७ सालमा कुनैपनि हालतमा सम्बिधानसभाको म्याद थपिंदैन भनेर अन्तिम दिनको अन्तिम घडीसम्मै बज्र अडान राख्नेपनि यही माओवादी थियो।
डवलस्ट्याण्डर्ड नै संस्कार र जीवनपद्धति वनेकोले होला नेताहरुको शव्द र कर्म वीचको अन्तर निकै ठूलो छ। अन्तर ठूलो मात्र हैन व्यवहार विपरीतका अभिव्यक्ति पाइन्छ। सरकारमा नजाने र दोस्रो पुस्तालाई सरकारको नेतृत्वमा पठाउनका लागि विकास गर्ने अठोट थियो। उक्त रणनीतिक कार्यक्रम पार्टीबाट पारीत गराएकै वेलामा कान्तिपुरका तत्कालीन सम्पादक नारायण वाग्ले र काठमाडौं पोष्टका तत्कालीन सम्पादक प्रतिक प्रधानलाइ प्रचण्डले अन्तर्वार्ता दिएका थिए। त्यो अन्तर्वार्तामा उनले आफू गान्धी बन्ने घोषणा समेत् गरेका छन्। सम्बिधानसभाको निर्वाचन पश्चात् आफ्नो नेतृत्वमा सरकार बन्ने निश्चित भएपछि उनले पार्टीका शीर्षस्थ सवै नेता मन्त्रीपरिषदमा जाने निर्णय लिए। त्यतिवेला प्रचण्डले वैद्यलाइ पनि मन्त्री बनाउन निकै प्रयत्न गरेका हुन्, तर वैद्यले मन्त्रीको त कुरै छाडौं, सभासद् पदबाट समेत राजीनामा दिए। २१औँ शताब्दीको जनवाद अनुसार हुन्थ्योभने शीर्षस्थ नेताहरु कोही पनि सत्तामा जानु हुँदैनथ्यो तर, शान्ति प्रक्रियापछि महरा नै पाँचपटक मन्त्री भए। प्रचण्ड नौ महिना प्रधानमन्त्री पदमा वसे र त्यसपछि दुईपल्ट उनले प्रधानमन्त्री पदमा उम्मेदवार दिए। उक्त दस्तावेजले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नयाँ बहस सिर्जना गर्नेछ भनिएको थियो,तर यस बिषयलाइ पार्टीका आन्तरीक बैठकहरुमा समेत् छलफल गराइएन । त्यसयता माओवादीको दुईवटा विस्तारीत बैठक र एउटा राष्ट्रिय भेला भयो। चुनवाङ बैठक र कामीडाँडा बैठकमा पनि त्यो छलफलको विषय बनेन। शुरुमै एकपल्ट वैठकमा पेश गरेपछि सधैंको लागि दराजमा ताल्चा मारेर राखिएको उक्त दस्तावेज प्रचण्डले कुन मनशायले ल्याएका थिए,त्यो आजसम्म कसैले वुझ्न सकेको छैन।
चैत २८गते हठात् निर्णय गरेर सङ्कटकाल भन्दापनि विद्युत वेगसरी आपत्कालीन सेना क्याण्टोन्मेण्टमा पठाइएको थियो। त्यस कार्यलाइ प्रचण्डले आफ्नो वोल्ड निर्णय भनि व्याख्या गरे। तर,यथार्थमा क्याण्टोन्मेण्ट भित्रै पिल्सिएर वसेका शोषित पीडित लडाकुहरुले हिसावकिताव मात्र खोजेका थिए। हिसाव देखाउन नसकेका कमाण्डर र डेपुटी कमाण्डरहरुले त्रसित,आतङ्कित र भयभित भएर तारन्तार फोन गरेपछि एक्कासि त्यो निर्णय गरिएको थियो।
प्रचण्ड र वैद्य समूह एकले अर्कोलाइ धारेहात लाएर जति सत्तोसराप गरेपनि डवलस्ट्याण्डर्ड,ढोंग,पाखण्ड र आडम्बर उहाँहरु दुवैको नीति र कार्यदिशामा प्रस्ट देखिन्छ। सीमान्तिकृत वर्गलाइ च्याट्टै छाडेर जात-जातका ठालूहरुलाइ पुनर्स्थापित गर्न कस्सिएरै लाग्नुभएको छ। राजा महेन्द्रको “वर्गसमन्वय” लाइ शव्दमात्रै फेरी “समावेशी” नाममा अगाडी बढाइएको छ। जस्ले वर्गसङ्घर्षलाइ ध्वस्त पार्न कुनै कसर वाँकि राखेको छैन त्यसैले आफूलाइ कम्युनिष्ट र कम्युनिष्ट पार्टी भनेर दावी गरिरहेछ। मधेशी नेतालाइ रिझाउनु परेकोले भन्दै भूमिसुधार योजनालाइ ४बर्ष अघि नै थान्कोमुन्को लगाइएको छ। मधेशका ठालूहरुलाइ चित्त वुझाउनका लागि प्रधानमन्त्री बाबुराम भट्टराई र भूमिसुधार मन्त्री भीमप्रसाद गौतम मिलेर २ हप्ताअघि ठूला जमिन्दारको पक्षमा १४ पन्ने आदेश-०६८ जारी गरेका छन्। त्यो आदेश मुताविक तराईमा तीन सय बिघा,पहाडमा पाँच सय रोपनी र काठमाडौं उपत्यकामा १५० रोपनी जग्गा मज्जाले राख्न पाइने भएको छ। यो पनि मधेशी मन्त्रीहरुलाइ रिझाउनको लागि ऐननियम, राष्ट्रिय नीति र आफ्नै पार्टीको नीति विपरीत गरिएको निर्णय हो।
नेपालका कम्युनिष्ट पार्टीहरुले कैयौं जरुरी बिषयहरु आत्सात गर्न नसके पनि यदुवंशी झगडा,मारामार र निरर्थक द्वन्द भने राम्ररी सिकेका छन्। एमाले पार्टी फुटेपछि त्यसवेलाको ४ बर्ष विश्वमा प्रयोग हुने सम्पूर्ण गालिगलौज र त्यतिले नपुगेर नयाँ-नयाँ गालि आविश्कार गरेर नेपालको राजनीतिक क्षीतिज पूरै दुर्गन्धित पारिएको थियो। सम्पूर्ण काम,धन्दा,व्यवशाय छाडेर एकले अर्कोलाइ तथानाम गालि गर्नमै त्यो ४बर्ष पूरै खर्चेका थिए। अहिले ७महिनादेखि एनेकपा माओवादी भित्र एउटा पक्षले जडसूत्रवादी,सङ्कीर्णतावादीका बिषालु तीर र अर्को पक्षले संशोधनवादी,अवसरवादी,अभिजात्यवर्गको बिषालु तीर हानिरहेछन्। भारतको जासुसी संस्था ‘रअ’ सँग साँठगाँठ भन्ने मारक अस्त्रचाहीं सर्वाधिक प्रयोग हुने ‘कमन टु बथ’ भएको छ। असहमत हुनासाथ पार्टी भित्रकै अर्को पक्षलाइ सिध्याउन अर्थोक क्ल्यू केही नभेट्टाइए त्यो जासुस, सिआइडी,गुप्तचर भनेर लाञ्छित गर्ने चलन परम्परा त कम्युनिष्ट पार्टीहरुको पुरानो महारोगै हो। त्यसवेला एमाले त पार्टी फुटेर मारामार गरिरहेका थिए, तर अहिले एनेकपा माओवादीले त विश्व इतिहासमै कहिल्यै कहीं नभएको “एक पार्टी दुई सङ्गठन, दुई नीति दुई कार्यक्रम” अभ्यास गरिरहेछ।
पार्टीभित्र यदुवंशी झगडा त अन्य पार्टीमा पनि छ,तर अचम्म लाग्ने कुरा के छभने तिनीहरुले यति निकृष्ट गालिगलौज गरेनन्। समग्र गतिविधिको सुक्ष्म अध्ययन गर्दा कम्युनिष्ट पार्टी भित्र संस्कृति निर्माण भएको रहेनछ भन्ने निस्कर्षमा पुगिन्छ।
बिहीवार, अप्रिल 19, 2012
No comments:
Post a Comment