Pages

Friday, May 4, 2012

भुसुनाको भुनभुन।


भुसुनाको भुनभुन
              -आनन्दराम पौडेल
                                anandarampaudel@yahoo.com                    
           त्यहींका जनजातीलाइ उचालेर जनताको आवाजलाइ दवाउन सकिन्छ भन्ने वुझेकैले सुदूर पश्चिमका जनताको आवाजलाइ केन्द्रीय नेताले भुसुनाको भुनभुन जत्तिपनि ठानेनन्। यसअघि चितवनवासीको आवाजलाइ पनि यसैगरी दवाउन नेताहरुले भित्रभित्रै कोशिस नगरेका हैनन्। नेताहरुले उल्क्याएकै भरमा चितवनका जनजातीहरु जनभावना विरुद्ध नउचालिएकाले मात्र चितवनका जनताको आवाज सुन्न केन्द्रीय नेताहरु बाध्य भएका हुन्। लेखराज भट्ट,शेरबहादुर देउवा र भीम रावल वाहेक सुदूरपश्चिमका अधिकांश नेताहरु विभाजित गर्ने,भिडाउने र आफू भाले हुने खेलमा लागेका रहेछन्। नेपाल नागरिक समाज,कैलालीका धर्मराज पाठकले भने, “यी नेताहरु आन्दोलनकारी जनता छेउ पुगेको वेलामा तपाईंहरुले जति आन्दोलन चर्काउनुहुन्छ त्यति सङ्घीयताको खाकामा सुदूर पश्चिमलाइ अखण्ड राख्न हामीलाइ सजीलो हुन्छ भनि तताउँदा रहेछन्। जनजाति भन्नेहरु वीच पुग्दा कैलाली र कञ्चनपुरलाइ नछाड्नोस् है,अव भोलीका दिनमा तपाईंहरुले नै राज गर्ने हो भन्दा रहेछन्।” ‘डिभाइड एण्ड रूल’ ब्रिटीशहरुको पुरानो ट्याक्टिस हो। नेपाली जनताको चेतनास्तर अठारौं शताब्दीको भएकोले हाम्रा नेताहरुले त्यही थोत्रो पोलिसि यहाँ प्रयोग गरिरहेछन्।
   नेपालका नेताहरुको द्वैधचरित्र अचम्मको छ। जनताको भावनालाइ कुल्चेर जनताकै नाममा शासन गर्छन्। जनताले स्थानीय निकायलाइ सक्षम बनाउँ र अधिकार थपौं भनेका थिए,तर नेताहरुले भैराखेको अधिकार समेत् घटाउने गरी सम्बिधान बनाउन लागे। सम्पूर्ण अभिलेख, इतिहास र प्रमाणहरुले बाहुनक्षेत्रीहरु यो देशका  १नम्बर आदिवासी हुन् भनिरहेछ,तर “अन्य”मा मिल्काइएका छन्। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक (मिथिला राज्य संघर्ष समितिका संयोजक) परमेश्वर कापडी भन्नुहुन्छ, “त्यसवेला पनि मिथिलाकै लागि आन्दोलनमा उत्रिएका थियौं, तर नेताहरुले एक मधेश एक प्रदेशतिर लगे। तराईमा जवर्जस्ति हिन्दी भाषा लाद्न खोजे। मैथिली,भोजपुरी,अवधी हाम्रा मातृभाषा हुन्। हिन्दी यहाँ कस्को मातृभाषा हो ? कुन गाउँमा हिन्दी वोलिन्छ ? नेताहरुले मधेश-मधेश भन्दै ‘भाँडमा जावोस् मिथिला’ भन्न थाले।” मिथिला राज्यको लागि शान्तिपूर्ण धर्नामा वसेका मिथिलावासीलाइ लक्षित गरेर बम विस्फोट गराए। मिथिलावासीको भावना कुल्चेर एक मधेश एक प्रदेश भन्ने र हिन्दी भाषा लाद्न खोज्नेहरुले नै बम विस्फोट गराएको हो भनेर सवैले अनुमान गरेका छन्।
    पपुलिष्ट राजनीति र दाउपेचको खेल कति चर्को छभने आफ्नो राजनीतिक स्वार्थमा असर पर्ने भयोभने आगो जत्तिकै पोल्ने सत्य भएपनि सर्लक्कै पन्छाउँछन्। केही महिना अघि त्रिभुवन विश्वविद्यालय,समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागले ‘जातीयता र सङ्घीयता’ को विषयमा वृहत् गोष्ठी गरेको थियो। करिव-करिव सवैजसोले जातीय राज्य बनाउनुहुँदैन भनेकाले त्यो सेमिनारको प्रतिवेदनलाइ लुकाउन लगाइयो। नेकपा एमालेको प्रतिनिधिपरिषदको सम्मेलनमा ११ समूह मध्ये १०समूहले सर्वसम्मतिबाटै जातीय राज्यको विरोध गरेको थियो। त्यस्तो सर्वसम्मत निर्णयलाइ समेत् एमाले नेतृत्वले गुपचुप राखेको छ। जनवरी २०१० को एउटा वैठकमा सभासद लक्की शेर्पाले शेर्पा र भोटे जातीको लागि छुट्टै राज्य हुनुपर्छ भनि राखेको प्रस्तावलाइ सवैले स्वीकार गरे। तर त्यही वैठकमा काभ्रे पूर्व र ओखलढुङ्गा पश्चिमको बेल्टमा बसोबास गर्ने कोइच,थामी,बाहिङ,हायु,जेरो,सुरेल,तिलुङ,जिरेल र बाम्बुले जातका लागि सभासद शान्ति जिरेलले अलग्गै राज्यको माँग राख्दा कसैले सुनेन। यस्को कारण एउटै थियो शेर्पा र भोटेहरु सङ्गठित र एकढिक्का भएर आएकाले उनीहरुभित्र फुट पार्न सम्भव थिएन। तर,शान्ति जिरेलले प्रस्ताव गरेको बेल्टका ती जातीहरु सङ्गठित भैनसक्दै फुटको विउ रोपिसकिएको थियो। त्यस्तै बाहुनहरुलाइ ‘अन्य’मा मिल्काइदिनुको कारण पनि त्यही हो। बाहुनहरु दम्भी,अहङ्कारी र आत्मकेन्द्रित जात हुन्। यिनीहरु सधैं एक्लेवीर हुन खोज्छन्। एउटा पण्डितले अर्को पण्डितलाइ देख्न त के नामसमेत् सुन्न चाहँदैन। एउटा बाहुनले अर्को बाहुनलाइ बाहुनको नजरले हेरेको आजसम्म कहीं देखिएको छैन। टीम कल्चर नभएकोले यिनीहरु एकढिक्का हुनु त परै जावोस् सङ्गठित हुनपनि सक्दैनन्। यो कमजोरी वुझेरै बाहुनहरुलाइ ‘अन्य’ तिर मिल्काइदिएका हुन्। नत्र त आजभन्दा १५४७ बर्ष अघि राजा मानदेवले लेखाएको चाँगुनारायणको स्तम्भलेख, वि.सं.६६२मा शिवदेव  र अंशुवर्माले लेखाएका लेलेका अभिलेख,नरेन्द्रदेवले लेखाएका अनन्तलिङ्गेश्वरको अभिलेख र लिच्छवि राजाहरुले गरिदिएका सनदपत्रहरुमा समेत् प्रष्टसँग उल्लेख भएका बाहुनहरु आदिवासी सूचिको १ नम्बरमा परिसक्थे। असङ्गठित भएकै कारणले यी प्रमाणहरु सङ्कलन गरेर माँग राख्न,दबाव दिन र घच्घच्याउन यिनीहरुले सकेनन्। भित्रभित्रै फुट पार्न सकिने भएकैले सुदूरपश्चिमका जनताको आवाज र मिथिलावासीको अनुरोधलाइ हाम्रा नेताहरुले लत्याएर पिठ्यूँ फर्काएका हुन्। सुदूरपश्चिमका फुटपरस्तहरुलाइ हात लिएर जसरी त्यहाँका जनताको भावनालाइ कुल्चन नेताहरु सफल भए, चितवनमा पनि फुटपरस्त फेला परेको भए चितवनको आवाजलाइ यसैगरि दवाइदिन्थे। सङ्गठित नभएकैले दनुवारलाइ स्थान दिएनन्। सुरेल,कुसुण्डाहरु लोपोन्मुख छन्,तिनीहरुको लागि कस्सिएर वोलिदिने प्रभावशाली शक्ति नभएकोले राज्यको ध्यानाकर्षण भएन। तराईका चमार,झागड, मेचे,कोचे,ताजपुरिया,सन्थालहरु न्यून चेतना र असङ्गठित भएकैले राज्यको नजरबाट ओझेल परे।
     ताम्सालीङ भन्नासाथ भीमबहादुर तामाङ भन्नुहुन्छ, “त्यो ताम्सालीङ भन्ने क्षेत्रको मान्छे मै हुँ। तर,मसँग ताम्सालीङको कुरा नगर्नुहोस्। जातीय र साम्प्रदायिक नारा दिएर नेता भएका धेरैलाइ हामीले हेरेका छौं। तिनीहरु शक्ति नजिक-नजिक आएपछि जुर्मुराएका छन्। तिनीहरुले हिजो के राजनीतिक योगदान र वलिदान दिए त ? तीसबर्षे पञ्चायतकालमा चुँसम्म वोलेनन्,राजभक्त भएर वसे। तिनीहरु नै जातीय र साम्प्रदायिक विद्वेष फैलाएर आज नेता भएका छन्।” एउटा खारिएका नेताको परिपक्व विचार यस्तो छ भने २१ गते बिहीबार बिहान उज्यालो एफएमले “सुदूरपश्चिमका जनताले हाम्रो यत्ति राज्य हुनुपर्छ भनि राखेको माँगमा तपाईंहरु किन विरोध गर्नुहुन्छ ?” भनि प्रश्न गर्दा सभासद रेणु चन्दले “कैलाली र कञ्चनपुर थारूहरुलाइ दिने भनेर हामीले पहिल्यै वचन दिइसकेका छौं” भन्नुभयो। स्थानीय जनताको भावना,चाहना र आवाजलाइ किचमिच गरेर कस्ले कस्लाइ दिने र यत्रोविधि जनतालाइ सधैंको लागि धर्धरी रुवाएर कस्ले के प्राप्त गर्ने  होला ? जवर्जस्ति गरेर कैलाली र कञ्चनपुर कुनै एउटा जात विशेषले पायो नै भनेपनि यी असङ्ख्य जनताको आँसुमा मुछिएको राज्यले कस्लाइ कति फलिफाप गर्ला,यसतर्फ कसैले सोचेको देखिंदैन।
बिहीवार, मे 03, 2012

No comments:

Post a Comment