Pages

Monday, May 14, 2012

हत्ते हालेर रछानमा ,


हत्ते हालेर रछानमा
              -आनन्दराम पौडेल
               anandarampaudel@yahoo.com  
             आक्रमणको निशाना बन्नसक्ने भयले नाम वताउन निकै गाह्रो मान्दै उम अमिलले भनिन्,  हिजो म मेरो ७ बर्षे नातीसँग सडकमा हिंड्दै थिएँ। उसले हामी हिंडिरहेको सडक सियाको होकि सुन्नीको हो भनेर सोध्यो। मैले हामी सवै मुस्लिम ह्वौं भनें। तैपनि उस्ले यो सडक सियाको होकि सुन्नीको हो भन्ने जान्न असाध्यै ढिपी ग-यो।” बग्दादबाट फर्केर रिपोर्टर सुदर्शन राघवनले २००७ जुलाईको पहिलो हप्तामा वासिङ्गटन पोष्टमा प्रकाशित गरेको रिपोर्ट हो यो। बग्दाद, जायुनास्थित प्राथमिक बिद्यालयका प्रिन्सिपल नाघेर जिआद सालिह(३७) ले भने, “कुनै नयाँ विद्यार्थी स्कुलमा प्रवेश गर्नासाथ स्कूलका किशोर र नवयुवा विद्यार्थीहरु सवैको पहिलो प्रश्न त्यो नवप्रवेशी सिया होकि सुन्नी हो भन्ने मात्र हुन्छ।” समाजमा घृणाको बिष रोपेपछि फैलिएको बिषको असरप्रभाव कहाँसम्म पर्दोरहेछ त्यस्का नमूना हुन् यी। वासिङ्गटन पोष्टमा प्रकाशित उक्त रिपोर्टको अन्तमा लेखिएको छ, “जातीय द्वेष युद्धभन्दा सयौं गुना भयावह हुँदोरहेछ। भविष्यका कर्णधार इराकी युवाहरुमा जातीय विद्वेष चर्कैसँग बढेको छ र यस्ले मुलुकलाइ हिंसाको चक्रव्यूहबाट वाहिर निस्कन नदिने सङ्केत गरेको छ।” सस्तो,सजीलो, र तात्तातो फाइदा लिन राजनीतिकर्मीहरु जात,धर्म र सम्प्रदायको राजनीतिमा ओर्लेका छन्। यिनीहरुका लागि राष्ट्र,जनता र दीर्घकालिन सोच सवै असान्दर्भिक र अप्रासङ्गिक हुन्छ। जनतालाइ जातीय आवेगमा उराल्नेहरुसँग चितपनि आफ्नै र पटपनि आफ्नै भन्ने दोधारे तलवार हुन्छ। जातीय राजनीतिलाइ अग्रगामी भनिदिन्छन्। सुदूरपश्चिममा १७ दिनदेखि उर्लेको जनलहरतर्फ औंल्याउँदै निर्मल लामाको बार्षिकीका दिन प्रचण्डजीले तिनीहरु प्रतिकृयावादी हुन् भनिदिए। जात-जातको अलग्गै सङ्गठन बनाएर साम्प्रदायिक आन्दोलन गरेकाभए त्यो पक्कै अग्रगामी हुने थियो। वैशाख २६ गते बिहान Image  FM 103.6 मा वोल्दै अछामका सभासद शरद भण्डारीजीले सुदूरपश्चिमका आन्दोलनकारीहरु पञ्चायतबाट पालितपोषित हुन् भने। एक मधेश एक प्रदेश बनाउनुपर्ने वेलामा कहाँ मिथिलाप्रदेश भनेको भनेर वैशाख २५ गते राजेन्द्र महतोजीले जनकपुरवासीलाइ धारे हात लगाए।
     जात,धर्म र सम्प्रदायको राजनीति विचार,सिद्धान्त र दर्शनमा आधारित हुँदैन। तथ्य र तर्कबाट पनि सधैं टाढा भाग्छ। “जातीय राज्य नबनाउँ र जातीय सद्भाव कायम राखौं” भनेर बाहुन, क्षेत्री र दशनामीले लगाएका नारा हाम्रा नेताहरुका लागि शहरिया छोराको घरमा पाखे बाउ आइपुगे जस्तो भएको छ। के कति कारणले हामी आदिवासी हैनौं भन्ने प्रश्न र किन हामीलाइ ‘अन्य’मा राखियो भन्ने प्रश्नको सामना गर्न नसकेर नेताहरु छल्दै भाग्दै हिंडेका छन्। दुनीञा छक्क पर्ने अनौठो बिषय के भैरहेछ भने नेपालमा जात,धर्म र सम्प्रदायको राजनीति तिनीहरुले गरिरहेछन् जस्ले आफूलाइ कम्युनिष्ट भनेर परिचय दिन्छन् र वर्गसङ्घर्ष उहिल्यै छाडिसकेका छन्। “दि फ्यूचर अफ आइडेण्टिटी” पुस्तकमा अमर्त्य सेन भन्छन्, “जनतालाइ जात,धर्म र सम्प्रदायमा विभाजित गर्ने दुस्प्रयासले हिंसा र आतङ्कलाइ बढाइरहेछ। यस्को लागि व्यक्तिको पहिचानलाइ अत्यन्तै सङ्कुचित पारेर उस्को मानसिकतालाइ कट्टर बनाइन्छ। जवकि हामीलाइ थाहा भएको वास्तविक सत्य र यथार्थ के होभने व्यक्तिको पहिचान जात,धर्म वा  सम्प्रदाय मात्र हुँदैन। विचारसमूह ,रुचिसमूह, उमेरसमूह, सृजना, कर्म, विशेषज्ञता, अनुभव, योगदान,चरित्र,पेशा,व्यवशाय र लिङ्ग पनि उस्को पहिचान बनिराखेको हुन्छ। मुश्किल त्यसवेला पर्छ जब एउटा पहिचानलाइ अद्वितीय घोषित गरेर वाँकि अरुलाइ गौण गरिन्छ। यही अद्वितीय पहिचान कट्टरतामा बदलिन्छ। एउटा सम्प्रदायसँग गाँसिनासाथै उस्ले आफूलाइ अरुबाट अलग र विशिष्ट ठान्छ।  आफ्नो साम्प्रदायिक अस्मितालाइ श्रेष्ठ ठह-याउनाका लागि उ एकाङ्गी र आग्रही वनिसकेको हुन्छ। विवेक,तर्क र वस्तुनिष्ठ सोच निख्रिसक्ने हुनाले साम्प्रदायिक आग्रह लाद्न उस्ले हिंसाको सहारा लिन्छ।” उक्त पुस्तक अमर्त्य सेनले नोभेम्बर २००१ देखि अप्रिल २००२ सम्म बोस्टन यूनिभर्सिटीमा दिएका ६ लेक्चरको सङ्कलन हो। एउटा राष्ट्रलाइ व्यर्थको ध्वंसमा पु-याउनुप-योभने अर्थोक केही गर्नुपर्दैन जातीय, साम्प्रदायिक सन्निपात ज्वरो लगाइदिए पुग्छ। जातीय,साम्प्रदायिक राजनीति भनेको वारुदको थुप्रो हो भनेर अव सवैले वुझिसकेका छन्। “पहिचानको राजनीति वहिस्करणवादी हुन्छभने वर्गीय राजनीति समावेशी। पहिचानको राजनीतिको यही निषेध र वहिस्करणवादी चरित्रले गर्दा जनताको शक्ति र आन्दोलन एकदमै कमजोर हुन पुग्छ र साम्राज्यवादीहरुको लागि अनुकूल स्थिति बन्न पुग्छ” भनेर जेएनयूका प्रोफेशर,मार्क्सवादी विद्वान प्रभात पटनायकले यही परिस्थितिको विश्लेषण गर्दै भनेका हुन्।     
    जव विचार,सिद्धान्त र दर्शन छाड्छौं तव राजनीतिले जातपात,धर्म र सम्प्रदायतिर आश्रय लिन पुग्छ। तपसीलका खुद्रा मुद्दाहरुमा अल्मलिएर र रुमल्लिएर वस्छ। जात-जातमा टुक्रिंदै,खुम्चँदै र सीमित हुँदै जात-जातको टोल,बस्ती,हाटवजार र जातीय उत्पादन केन्द्रको कल्पना गर्न थाल्छ। जात-जातमा टुक्रिएका जनताका औंलासम्म त दह्रो होला, तर मुट्ठी कहिल्यै कस्सिने छैन। भूमण्डलिकरण, खुल्ला अर्थतन्त्र र मल्टिनेशनल कम्पनिद्वारा लखेटिएर थिलथिलो भएका जनताका लागि यो नयाँ द्वन्द भारी पर्नेछ।
      प्रभात पटनायक भन्छन्, “वर्गीय राजनीतिले शोषक सामन्तीको तप्का सानो पार्नका लागि भएपनि जनताको तप्कालाइ बढाउँछ। उनीहरुलाइ कमजोर पार्न जनताको शक्ति बढाउँछ र जनतालाइ एकबद्ध गर्न संयुक्त मोर्चाको निर्माण गर्छ। तर पहिचानको राजनीतिले आफ्नो चरित्र अनुरुप नै व्यवस्थामा परिवर्तन चाहँदैन। यो पहिचानसँग सम्बन्धित समूहको नाममा बढी फाइदा लिन खोज्ने सुधारवादी, उत्पीडित जनसमूहको हकमा पृथकतावादी वा अत्यन्त प्रतिकूल अवस्थामा जातीय सफायामै अग्रसर हुने फासिवादी राजनीति हो। वर्गीय राजनीतिमा      फर्कनुप-योभने यस्ले पहिचानको राजनीतिलाइ परित्याग गर्नुपर्ने हुन्छ, जस्को लागि केही थोरै तैयार होलान् तर धेरैले चाहँदैनन्।”  जातपात र सम्प्रदायको राजनीतिले तिनै ठालूहरुलाइ लाभ पुगेको छ जस्लाइ परिवर्तनले कठघरामा उभ्याउन चाहेको थियो। उनीहरु जात,सम्प्रदायको आवरणमा झन् जर्खरिएर डम्म विराजमान भएका छन्। आफू सुरक्षित हुन साम्प्रदायिक कट्टरतालाइ झन् कडा पार्दै लगेका छन्। यही सूत्र प्रयोग गरेर भूटानको राजाले नेपाली भाषीलाइ खेदिरहेछ। तराईबाट पहाडियालाइ लखेटेका छन्। बाल ठाकरेहरु मुम्बईबाट बिहारीलाइ धपाइरहेछन्। भारतको मणिपुरमा नगा र मितेई जाती एकअर्कोको रक्तपिपासु भएका छन्। आसाम\मेघालयमा खासी र नेपाली एकले अर्कोलाइ टेढा नजरले हेर्छन्। यी सवैले इतिहासबाट पाठ सिकेर त्यसैलाइ अनुसरण गरेका हुन्। कसैले जर्मनीमा हिटलरले यहुदीलाइ गरेको व्यवहारबाट सिके, कसैले कश्मीरमा कश्मीरी पण्डितलाइ भगाएको बाट सिके। हामी नेपाली झन् असल कुरातर्फ त नजरै लगाउँदैनौं, तर संसारभरीका खराव कुरालाइ कहिल्यै छाड्दैनौं। अमेरिका जस्तो विकसित देशमा त सन १९६७ सम्म नश्लीय भेदभाव गरिन्थ्यो भने हामी नेपालीले पनि राष्ट्रिय जीवनको एउटा कालखण्ड त्यही प्रयोगमा किन नलगाउने भनेर लोकतान्त्रिक-गणतान्त्रिक नेपालमा पहिलो प्रयोग त्यही गर्ने भएका छन्। सवैले आ-आफ्नो जात,थर,गोत्र सम्झेर ‘मम’ भन्नु भनि उर्दी भैसकेको छ। जनतालाइ जात-जातमा विभाजित गरेर भिडाइदिने, अनि आफूले अकण्टक राज गर्ने उहाँहरुको सपना केही समयका लागि पूरा हुने भएको छ। जसरी भूटानमा एउटा भूटानीले गैह्र भूटानीसँग विवाह ग-योभने त्यस्लाइ राजनीतिक अधिकारबाट वञ्चित गरिन्छ, ठीक त्यसैगरी १९६७ सम्म अमेरिकामा गरिन्थ्यो।
   यो सम्पूर्ण स्थिति असहिष्णु मनोविज्ञानका उपज हुन्। यदि हामीले अरुको विशिष्टतालाइ स्वीकार गर्दैनौंभने आफ्नो पृथकतालाइ पनि स्थापित गर्न सक्दैनौं। जव यो निषेध आक्रामक हदमा पुग्छ तव यही साम्प्रदायिक कट्टरता बन्छ। प्रसिद्ध मनोविश्लेषक एरिक फ्राम र बिद्वान एमएन रायले पनि संप्रदायवाद,नस्लवाद,जातिवाद जस्ता विकारहरु आत्महीनताबाट पैदा भएका सामूहिक अहंको विभिन्न रुप हो भनेका छन्। पश्चिमा देशहरुले धेरै चेष्टा र प्रयत्न गरेर यी विकारबाट उम्के, यहाँ हामीचाहीं त्यही रछानमा एकपल्ट डुब्न पाए हुन्थ्यो भनेर हत्ते हाल्दै छौं।



No comments:

Post a Comment