प्रतिरोधशून्य राष्ट्र
-आनन्दराम पौडेल
anandarampaudel@yahoo.com
“हामी चढेको स्कूलबस कोसी राजमार्गमा धरानतर्फ जाँदै थियो। सेउती पूल तर्नेवित्तिकै अपरिचित व्यक्तिहरुले बस रोके र गुरूजीलाइ नियन्त्रणमा लिए। गुरूजीलाइ नियन्त्रणमा लिनासाथ हामीतिर फर्केर चर्को-चर्को स्वरमा कराए। मुख छाडे। तथानाम वोले। यता यिनीहरु चर्को-चर्को कराइरहेका थिए,उता उनीहरुकै मान्छेले बसको पछाडी भागमा पेट्रोल खन्याएर आगो लगाइसकेछन्। बसमा आगो दन्दनी वल्न थालेपछि सवैजना रुँदै, चिच्याउँदै बसबाट भाग्यौं र चारकोशे जङ्गलमा गएर लुक्यौं।” कक्षा १२का छात्र अङ्कित शर्माले भने। यो वर्णन गरिरहँदा उनको अनुहारभरी भय र आतङ्कका रेखाहरु थिए र स्वरमा अत्तालिएको भाव प्रष्टै झल्कन्थ्यो। ११ कक्षाकी छात्रा लिना यादव त आतङ्कले ग्रस्त भएर होला राम्ररी वोल्नपनि सकिरहेकी थिइनन्। साना बिद्यार्थीहरु चढेको बसमा आगो लगाउने काम हामीले गरेको भनेर नेकपा-माओवादीले जिम्मा लिएको छ। स्कूलका साइनबोर्डहरु नेपालीत्व दर्शाउने नभएर अङ्ग्रेजीत्व झल्कने खालका भएकाले साइनबोर्ड फेर्नको लागि यस्तो गरिएको समेत् भनेको छ। यो घटनाले केही प्रश्नहरु उव्जाएको छ। हामीले गर्नखोजेको परिवर्तन वा सुधार सारमा होकि रुपमा हो ? संस्थापना गलत छ भने विद्रोही त्योभन्दा उत्कृष्ट हुनुपर्ने होकि, हैन ? विद्रोहको अनुहार मानवीय तथा कार्यक्रम विवेक र संस्कारयुक्त हुनुपर्ने होकि, हैन ?
वीशौं बर्षदेखि जनताले चिच्याई-चिच्याई माँगेको शिक्षामा सुधार हो, साइनबोर्डमा परिवर्तन हैन। स्कूलका नाम अथवा साइनबोर्डका अक्षर, शव्द, आकार र रङ्गहरु सवै रुप मात्र हुन्। जनताले यस्लाइ गौण ठानेका छन्। शिक्षाको गुणस्तरलाइ जनताले सधैं प्राथमिकतामा राखेका हुन्। युरोप, अमेरिका, अस्ट्रेलियामा सरकारी स्कूलमा सिट पाएसम्म प्राइभेट विद्यालयमा भर्ना गर्दैनन्। यहाँ सरकारी विद्यालयहरुको गुणस्तर किन खस्कँदै गयो ? नेकपा-माओवादी नजिकको विद्यार्थी सङ्गठनले स्कूलका नाम बदल्ने लक्ष राखेर बस जलाउँदै हिंड्नुभन्दा त्यस्को कारण पत्ता लगाउने र गुणस्तर सुधार्ने उपायतिर लाग्नुपर्थ्यो। भावना भड्काउने सस्ता प्रचारात्मक काममा लागेर समय बर्वाद गर्नुसट्टा शिक्षाको गुणस्तर उन्नत गर्ने ठोस काम गरिदिएको भए राष्ट्र र जनताको अद्वितीय कल्याण हुन्थ्यो। त्यतिमात्र हैन, उहाँहरुको अभियानमा जनता स्वतस्फूर्त रुपमा आफैं उर्लेर आउँथे।
नेपालका सवै राजनीतिक पार्टी र नेताहरुले रुपमा अल्झँदाअल्झँदै सार भुलिसकेका छन्। २०४७-२०४८ सालमा कांग्रेस र एमालेका नेताहरु शव्दलाइ सिध्याउन सम्पूर्ण शक्ति र उर्जा लगाइरहेका हुन्थे। सधैं शव्दसँग सिंगौरी खेलिरहेका हुन्थे। ‘पञ्चायत’ शव्द देख्नैहुँदैनथ्यो, दाह्रा किटेर आक्रमण गर्थे। नेकपा-मओवादी नजिकको विद्यार्थी सङ्गठनले साइनबोर्ड हैन शिक्षाको गुणस्तर सुधार्नतिर लागे हुन्थ्यो भनेजस्तै त्यसवेला हामीले यी शव्दहरु मेट्न समय वर्वाद गर्नुसट्टा प्रजातन्त्रलाइ संस्थागत गर्न र जीवनपद्धतिमा उतार्नतिर लाग्नुपर्ने वेला हैन र ? भनेर घच्घच्याएका थियौं। तपसीलका खुद्रा बिषयमा अल्झिरहनु सट्टा प्रजातान्त्रिक संस्कृति निर्माण गर्न र त्यस्लाइ राष्ट्रिय संस्कारको रुपमा विकास गर्नुपर्ने हैन र ? भनेका थियौं। प्राथमिकतामा रहनुपर्ने मुख्य बिषयलाइ छाडेर सुसेधन्दामै दिन विताएको कारणले वहुदल अनाथ,बेवारिसे भयो र अभिभावक भनिएकाहरुकै काखपोल्टामा त्यस्ले प्राण त्याग्यो।
तत्कालको राष्ट्रिय कार्यभार के हो ? राष्ट्रिय आकांक्षा के हो ? तिनलाइ प्राथमिकताक्रममा राखेर छनौट गर्न नसक्दा अहिलेपनि सवै गाजेमाजे भएको छ। राज्यले सीमान्तिकृत वर्गलाइ ध्यान देओस भन्ने चाहेका थिए। राज्य सीमान्तिकृत वर्गतिर गएन जातपातको बाटो लाग्यो। सज्जनको संरक्षण गरोस् भनेका थिए, अपराधीको मुद्दा फिर्ता लिनतिर लाग्यो। विपन्न, दरिद्रमाथि अर्जुनदृष्टि टिकाओस् भनेका थिए, ठूलावडालाइ भत्ता दिनको लागि अध्यादेश ल्याउँदाल्याउँदै आयुक्षीण ग-यो।
“सवै रोगको औषधि हिमालय तेल” भनेझैं के त अव जेमा पनि हिंसाकै प्रयोग गर्ने हो ? सरकारपनि त्यस्तै छ, जस्ले बढी हिंसाको प्रयोग गर्न सक्छ, त्यसैको कुरा सुन्छ। निमुखा भूईंमान्छेहरु, जस्लाइ न त आफ्नो हकअधिकारकै बिषयमा ज्ञान छ, न त सङ्गठित हुन सक्छन्, न त हिंसाकै प्रयोग गर्छन्। जव सरकारले नै हाक्काहाक्की हुलहुज्जत र ढुङ्गामुढालाइ स्वीकार र असङ्गठित आवाजलाइ अस्वीकार गर्छ, तव पिल्सिएर बसेका सीमान्तकृत वर्गको मझेरीमा घाम लाग्दैन भनेर वुझे हुन्छ। गृह मन्त्रालयमा साइनबोर्ड विजय गच्छेदारको छ, तर मन्त्रालय गणेश लामाले चलाइरहेछन् कि विजय गच्छेदारले, छुट्याउन नसकेर मान्छे अलमलमा पर्छन्।
चर्चित व्यक्तिका हत्या हुँदा जनदबावलाइ पर्गेल्न सरकारले न्यायीक आयोग बनाइटोपल्ने गरेको छ। त्यस्ता आयोग अनगिन्ती बने। तर, ती आयोगका प्रतिवेदनका पानासम्म कसैले पल्टाएन। हरिप्रसाद शर्मा आयोगले प्रतिवेदनमा यस्तो लेखेको थियो, “शान्तिसुरक्षा र व्यवस्थाको चर्को नारा घन्काउनेहरु नै अपराधीको संरक्षक, अभिभावक र पृष्ठपोषक हुनु दुर्भाग्य हो। उच्चस्तरका राजनीतिक व्यक्तिले नै अपराधी पाल्ने, संरक्षण गर्ने र अभिन्न मित्र बनाउने कार्य गर्छनभने शान्तिव्यवस्था कायम हुन सक्दैन।” हिंसाको माध्यमबाट आएको अभिव्यक्तिलाइ सरकारले मान्यता दिने मात्र हैन, विशिष्ट व्यवहार गर्ने भएपछि सवैले विस्तारै हिंसालाइ रोज्न थाल्छन्। १३ महिनाअघि डडेलधुरा, आलिताल गाविस स्थित स्यालचौडी माविमा वैठक वसिरहेको थियो। माओवादीका तत्कालीन सभासद हरिलाल थापा वैठककक्षमा प्रवेश गरे र आउनासाथ प्रअ महादेव भट्टमाथि लात्तिमुङ्ग्री वजार्न थाले। सर्वथा अयोग्य व्यक्तिलाइ नियुक्ति गर्न दिएको दबावलाइ इन्कार गरेको कारणले गर्दा भट्टजीले त्यो आक्रोशको शिकार हुनुपरेको थियो। त्यत्रा मान्छेका सामुन्ने एकजना निर्दोष व्यक्तिलाइ निर्घात् चुटिरहेछन् तर रामबहादुर कुँवरबाहेक कसैले वीचवचाउ गरेन। वैठक कक्षमै पसेर हरिलाल थापाले हेडसरलाइ निर्घात चुट्नु घिनलाग्दो होभने, त्यहाँ उपस्थित समूह चुपचाप हेरेर बस्यो त्योचाहीं भयावह स्थिति हो। यिनै हरिलाल थापाले एउटा आमभेलामा दुर्गा उच्च माविका प्रअ प्रताप धामीलाइ देखे। देख्नासाथ, “राजिनामा गर्छस् कि तँलाइ जिउँदै जलाइदिऊँ” भनेर झम्टिहाले। दुष्हरुको दुष्टताले यो संसार जति बिग्रिएको छ, त्योभन्दा हजारौं गुना बढी सज्जन भनाउँदाहरुको निस्क्रियताले बर्वाद भएको छ। लाग्छ, नेपालीहरुमा प्रतिरोधचेत निख्रिसकेको छ। हिजो उद्योग व्यवशायीलाइ आक्रमण हुँदा अरु वोलेन। तिनीहरुलाइ मात्रै गरेका हुन्, हामी किन वोल्ने भने। आज शिक्षा क्षेत्रमा आक्रमण हुँदा अरुले मतलव गर्दैनन्। भोलि अर्को क्षेत्रमा आक्रमण हुँदापनि कोही वोल्ने छैनन्। उनीहरु छानिछानि आक्रमण गरिरहने छन्, हामी शिकार भैरहने छौं।
No comments:
Post a Comment