Pages

Wednesday, August 8, 2012

सञ्चालित निमित्तनायक।

सञ्चालित निमित्तनायक
                  -आनन्दराम पौडेल
                   anandarampaudel@yahoo.com
           
                ४३ बर्ष अघि नै भूपिले ‘हामी’ शिर्षक कवितामा “हामी रङ्गरोगन छुटेका \  टुटेका फुटेका\ क्यारमबोर्डका गोटी ह्वौं \ स्ट्राइकरद्वारा सञ्चालित” लेखेका थिए। तर, प्रधानमन्त्री बाबुराम भट्टराईले साउन १८गते शुक्रबार पत्रकारहरुसँग निरीहता प्रकट गरिरहँदा भूपिको कविता सम्झेका थिएनन्। ‘हामी सञ्चालित रहेछौं, चाबि अन्तै रहेछ’ भट्टराईजीको प्रष्ट कथन थियो। यो कथनभित्र निरिहता प्रकट थोरै थियो, तर अभियोगमुक्तीको ब्यग्रता बढी थियो। एसडी मूनिको खुलासाले उहाँलाइ चौबाटोमै नाङ्गोभुतुङ्गो पारिदिएको थियो। एक्कासि नाङ्गिन पुगेको मान्छेले लाज ढाक्ने कपडा खोज्न थाल्छ र त्यसवेला जुन टालो फेला पार्छ त्यसैलाइ प्रयोग गर्छ। पत्रकार समक्ष राखिएको यो अभिव्यक्ति लाज ढाक्न खोजिएको टालो बाहेक अरु केही होइन।  ५-६ महिनाअघि बाबुरामजीले “मर्जर”को प्रसङ्ग के नवुझेरै भनेका थिए त ? कि नेपाली जनताले यो शव्दको भित्री गहीराईसम्मको अर्थ वुझ्दैनन् भनेर जनतालाइ ‘अण्डरइस्टिमेट’ गरेका थिए ? ‘सञ्चालित’ भएँ भनेका बाबुरामले ‘सञ्चालित’ भएर गर्नुनगर्नु के-के गरे होलान् ?         ५ बर्षअघि जनताले अत्यन्तै घिनलाग्दो ठानेको नागरिकता ऐन निर्माण गर्दा कति प्रतिशत सञ्चालित थिए ? कस्लाइ खुशी पार्न जनमुक्ति सेनालाइ कन्तविजोगमा पारे ? मधेशी नेताहरुले आँखा तर्नासाथ क्रान्तिकारी भूमिसुधार कार्यक्रमलाइ दराजभित्र किन थन्क्याइयो ?  कस्को गोटी बनेर १० हजार मधेशीलाइ एकमुष्ठ सेनामा हुलिदिन्छु भनेर वाचा गरेका थिए ? सिङ्गै तराईलाइ ‘समग्र मधेश एक प्रदेश’ बनाइदिन्छु, नभएपनि २भन्दा बढी हुन दिन्न, तर पहाडलाइ चाहीं जात-जातमा टुक्र्याइदिन्छु भनि उहाँमार्फत् प्रकट भएको हुङ्कार कस्को थियो ? युएनडिपीको मानव विकास प्रतिवेदन लगायत सम्पूर्ण सर्वेक्षणले नेवार, थकाली, मनाङ्गे, गुरुङ तथा तराईका राजपूत, कायस्थ, भूमिहार, बाहुनहरु भन्दा पहाडे बाहुनक्षेत्रीको अवस्था हरहिसावले पछाडी देखाएको छ। तिनैलाइ  सम्पूर्ण अवसरबाट वञ्चित गर्नु भनेर कस्ले लगायो ? आफूलाइ आदिवासी जनजाति भन्ने सभासदहरु ४१८ जनाले हस्ताक्षर गरेर दिएपछि निर्धक्क भएर सम्बिधान जारी गर्नुपर्नेमा त्यस्वेला कस्को छायाँ देखेर तर्सिनुभो र उल्टै सम्बिधानसभा बिघटन गरिदिनुभो ? आइडिया इण्टर्नेशनल, डिफीड, युरोपियन युनियन, डानिडा, केयर नेपाल, डेनिस चर्च, नर्वेजियन चर्च, यूएफएमएई जस्ता आइएनजिओलाइ हाम्रो देशमा मनपरी गर्न र जातीय-साम्प्रदायिक विद्वेषको बिष घोल्ने छुट कस्ले दिन लगायो ? युरोप र स्क्याण्डेभिनियन देशका राजदूतहरु र प्रतिनिधिमण्डललाइ कट्टर जातिवादी, साम्प्रदायिक सङ्गठनका नेताहरुसँग भेट्दै हिंड्न दिनु भनेर कस्ले भन्यो ? नेपालमा जातीय-साम्प्रदायिक बिष घोल्ने काममा अग्रणी नर्वेलाइ मानिएको छ। त्यही नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री हेक्की हल्मासलाइ सम्बिधानसभा विघटन हुनासाथ विना निमन्त्रणा नेपाल आउन कस्ले दियो ? विश्वका २०० देशमध्ये आजसम्म २२ भन्दा बढी देशले अनुमोदन नगरेको र एशियाका ४६ देशमध्ये कसैले पनि अनुमोदन नगरेको आइएलओ महासन्धी नं १६९लाइ तुरुन्त अनुमोदन गर्नु भनेर कस्ले अह्रायो ? आइएलओ १६९ को गलत व्याख्या गरेर भ्रम छर्न कस्ले लगायो ? बाहुन,क्षेत्री र दशनामीलाइ ‘अन्य’मा फालिदिनु भनेर कस्ले दबाव दियो ? भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नारा अगाडी सारेर प्रधानमन्त्रीको सपथग्रहण गरेका बाबुरामजीलाइ अख्तियारमा आयुक्तहरु नियुक्ती गर्न कहाँबाट कस्ले रोक्यो ? जनताले आइएलओ १६९ अनुमोदन गर्न हतार गर्नु भनेका थिएनन्, अन्तर्राष्ट्रिय फौज्दारी अदालत सम्बन्धी रोम बिधानलाइ अनुमोदन गर्न वित्यो भनेका थिए। यस्को लागि घाँटी सुकुञ्जेल चिच्याएका थिए। त्यस्लाइ कस्ले रोक्न लगायो ? वलात्कार, हत्या जस्ता जघन्य अपराध गर्नेहरुको मुद्दा कस्ले फिर्ता लिनु भन्यो ? डामेर छाडेका असनका साँढे जस्तै मन्त्रीहरुलाइ मनपरी र ब्रह्मलूट गर्न कस्ले छुट दियो ? एउटा एआइजि नियुक्त गर्दा डेढकरोडको हिसावकिताव हुन्छ भनेर व्यापक चर्चा चलिरहेको वेलामा दरबन्दीभन्दा बढी २जना एआइजि नियुक्ती गर्न र एसएसपीमा पाँचवोटा पद रिक्त हुँदा १५ जना नियुक्ती गर्न कस्ले अनुमति दियो ?
    बाबुरामजीले परिचालित भएर गरेका कामहरु राष्ट्रहीत विपरीत हुनु त स्वाभाविकै हो, तर स्वचालित भएर गरेका कामहरु पनि वृहत जनताको पक्षमा छैनन्। युवा स्वरोजगार कोष मार्फत मकैभटमास बाँडेसरी पार्टीका मान्छेलाइ पैसा वाँड्ने योजना बनाउनुभयो। पार्टीका कार्यकर्तालाइ पैसा वाँडेर जनतालाइ राहत पुग्दैन र देशको विकासपनि हुँदैन भनेर चेतनशील नागरिक र अर्थविदहरुले कराएको उहाँले सुन्नुभएन। गरीव देशका नेपाली दु:खियाहरुको आँसु पुछ्नुपर्ने राष्ट्रिय ढुकुटीबाट अहिलेसम्म ६ अर्ब रूपैयाँ पार्टीका मान्छेलाइ वाँडिसक्नुभएको छ र यो क्रम निरन्तर जारी छ।
    बाबुरामजीको शव्द र कर्मवीचको अन्तर ठूलो छ। नारा र भाषण सर्वहाराको पक्षमा दिनुहुन्छ, तर राष्ट्रलाइ ध्वस्त पार्ने कथित ठूलावडाको लागि अध्यादेश ल्याईल्याईकन सेवा       पु-याउनुहुन्छ। सङ्गठित हुल्लडवाजहरुलाइ स्वीकार र एक्लो सज्जनलाइ इन्कार गर्नुहुन्छ।     ४ बर्षअघि अर्थमन्त्री हुँदापनि आफ्नो मन्त्रालयका कर्मचारीको लागि मात्रै २०० प्रतिशत भत्ताको व्यवस्था गरिदिएका थिए। कार्यकर्ता, समर्थक, सुभेच्छुक र सर्वसाधारणलाइ वर्गसङ्घर्ष घोकाउनुहुन्छ, आफूचाहीं जातपात, धर्म, सम्प्रदायको राजनीति गर्नुहुन्छ। लोकतन्त्र भन्नुहुन्छ, तर सम्बिधानसभामा जननिर्वाचित भन्दा डेढी बढी खल्तिका मान्छे भर्नुहुन्छ। सत्तामा पुग्नुअघि १९५०को सन्धीको विरोध गर्नुहुन्छ, तर जव भारतले त्यस्लाइ खारेज गरेर कस्तो सन्धी गर्ने हो, प्रस्ताव ल्याउनुहोस् भन्नासाथ पछि हट्नुहुन्छ।
    चावी अन्तै छ। परिचालन अर्कैले गरिरहेछ। यस्तो भयङ्कर स्थितिमा पनि आफैंले रोजेको व्यक्तिलाइ मुख्य सचिव नियुक्त गर्न सकेंनि भनेर हाम्रा प्रधानमन्त्रीले गर्वले शीर ठाडो पारे। उनको गर्वको भाव सुँघ्दा यही एउटा कामको लागिपनि कति मुस्किल प-योहोला अनुमान गर्न सकिन्छ। हाम्रा प्रधानमन्त्री कति निरीह रहेछन्, यसैबाट प्रष्ट हुन्छ। तर, यो राष्ट्रलाइ निरीह हैन, भिजन र आत्मविश्वासले भरिएको दह्रो प्रधानमन्त्री चाहिएको छ।
   
       

No comments:

Post a Comment