Pages

Monday, December 31, 2012

मेडियाको वजारवाद



मेडियाको वजारवाद
-आनन्दराम पौडेल 
anandarampaudel@yahoo.com


४-५ बर्षदेखि प्रत्येक सरकारले ठूलठूलै संख्यामा अपराधीका मुद्दाहरु फिर्ता लिएकोलिऐ ग-यो। अधिकांस जघन्य अपराधका (हत्या, बलात्कार, अपहरण, डाँका) मुद्दाहरु थिए। पीडितहरु    झन्-झन् अपमानित र अपराधीहरु सम्मानित भएको देखियो। नेपाल अपराधीका लागि स्वर्गभूमि बन्यो। अपराधीका मुद्दा फिर्ता लिएको विरोधमा "अपराध, भ्रष्टाचार र आतङ्कवाद विरुद्ध अभियान-नेपाल(म्याकाट-नेपाल)" का पदाधिकारीहरु पुस ६ र ७ गते रत्नपार्कमा अनसन बसेका थिए। आश्चर्यको बिषय एउटा के भयोभने रत्नपार्कमा अनसन बसेको बिषय समाचारलायक ठहरिएन। कुनै अखवारले लेखेन, कुनै टिभीले देखाएन र कुनै रेडियोले प्रसार गरेन। जबकि, सबैतिर अघिल्लै दिन फ्याक्स, मेल गरिएको थियो। ८ गतेका अखवारहरुमा धेरै पत्रिकाले फिल्म र टेलिसिरियलमा काम गर्ने रङ्गकर्मीहरु गोदावरीमा पिकनिक गएको, पिकनिकमा आर्यन नामका हिरोसँग केटीहरु टाँस्सिईरहेको, अझ कसैले म्वाईं खाइरहेको शव्दचित्रको स्वादीलो वर्णनसहित ३ कोलमसम्मका समाचार छापेका थिए। तर, वजारमा तात्तातै विक्ने सेलिब्रेटी अनुहारहरु रत्नपार्कको अनसनमा बसेका थिएनन्। त्यहाँ कित कल्याणदेव भट्टराई, विकेस श्रेष्ठ जस्ता प्रौढहरु अथवा विकास खँड्का, बुद्धि कट्टेल, श्रीकमल द्विवेदी जस्ता भद्र अभियन्ताहरु थिए।  
          भूमण्डलिकरणको वजारवादले चासोका बिषयहरु तोकिदिएको छ। अन्नपूर्ण राणाले शेयर गरेकी अन्तरङ्ग सम्बन्धका 'हट एण्ड सावर' अनुभवहरु, 'पोलिटिकल एक्टर'का भावभङ्गिमा नमिलेका नौटङ्कीहरु, फिल्मी हिरो-हिरोइनहरुले तन्ना फेरेजस्तै फेरफार गरिरहने अवैधसम्बन्धका किस्साहरु, ४-५ इञ्च कपडाको भरमा फेशन –यापमा क्याटवाक गरिरहेका मोडेलहरु, मदिराको नसामा लठ्ठ भएर अङ्ग्रेजी धुनमा झुमिरहेका युवा-युवतीका 'बडीएक्स्प्रेशन' , सुन्दरी प्रतियोगिताको लागि आधा पेट खाएर सुकाएको शरीर टाँग्दै निर्देशित मुस्कान फालिरहेका बालाहरु वर्तमान वजारको लागि चल्तिका बिषय बनेका छन्। यही वजारी दुनिञामा आफ्नो स्थान सुरक्षित गरेकोले मेडियाले पनि वजारकै हावा वुझेर कुनैपनि बिषयलाइ कवरेज गर्नुअघि त्यस्मा नामी-दामी अनुहार खोज्छ र वाँकि सबै काँटछाँट गर्छ। नामी-दामी अनुहारहरुसँग आमजनताका लागि समय वच्दैन, र नामी-दामी अनुहार नभै मेडियाले कवरेज गर्दैन। सभ्य संसारको निर्माण र मूल्यहरु थोत्रा, झ्याम्टा र वजारमा अडमिल्दा देखिन थालेका छन्।
          २ बर्षअघि बिहारीकृष्ण श्रेष्ठजीले ५० लाख सोसल साइन्स बहालाइ प्रदान गरे। त्यो समाचारलाइ कुनै-कुनै अखबारले भित्री पृष्ठको कुनामा स्थान दिएका थिए। चेपाङका सन्तानले पढ्न पाउन् भनेर किशोरचन्द्र ढुङ्गानाजीले चितवनको अन्त्योदय माध्यमिक बिद्यालयलाइ ४ बिगाहा जग्गा दिएका थिए; त्योपनि त खबरलायक ठहरिएको थिएन।
     "मौसमअनुसारको ट्युनिक" भनेझैं मेडियालाइ पनि हरेक परिवर्तित सन्दर्भमा एउटा नायक र खलनायक चाहिन्छ, नपाए आफैं निर्माण गर्छ, जुन तात्तातै वजारमा विकोस्। १०-११ बर्षअघि रित्विक रोशनलाइ खलनायक बनाएर ठूलै किस्सा गढेको थियो। रच्छेन्द्र भट्टराई महानायक बनाउन खोज्दाखोज्दै शून्यमा झरेका अर्का पात्र हुन्।
         करिव ३ बर्षअघि इण्डियन न्युजच्यानल हेर्दैथिएँ। मेडियाको सन्दर्भमा हरियाणाका मुख्यमन्त्री भूपेन्द्रसिंह हुड्डाले भने- "रोहतकमा बिपक्षी दलको सानो जनसभा थियो। भोलिपल्ट राष्ट्रिय दैनिक(हिन्दी)को प्रथम पृष्ठमा प्रकाशित खवर अतिरञ्जनापूर्ण थियो। वास्तविकतामा पचाशौं गुना बढाएर भीडको संख्या उल्लेख थियो। मैले प्रकाशकलाइ फोन गरें। उनले, 'पैसा दिएर छपाएको न्युज हो, एकप्रकारको बिज्ञापन नै सम्झनुहोस् न' भने। यो सुनेर म छक्क परें र, 'के पैसा दिएर जेपनि छपाउन सकिन्छ त ?' भनेर सोधें। उनले, 'एकदमै सकिन्छ, तर प्रकाशित सामग्रीको जिम्मा उसैको हुन्छ' भने। मैले, 'त्यसो होभने भोलिको लागि पहिलो पेज बुक गर्नुहोस्, र त्यस्मा, "यो अखवारमा झुठा खवरहरु प्रकाशित हुन्छ" भनेर ठूलो अक्षरमा लेखिदिनुहोस' भनें। प्रकाशकले, 'तपाईं यो कस्तो कुरा गर्नुहुन्छ ?' भने। मैले, 'पैसा तिरेर जव अरु झुठ छाप्नुहुन्छभने योचाहीं किन नहुने ? योपनि मेरै जिम्मामा छापिदिनुहोस्' भनें।" त्यसबेला भारतमा 'पेडन्युज' एकाध घटना नभएर आम भैसकेको थियो। 'समाचारको भेषभुषामा पार्टीनेताको महात्म्य' ले पाठकहरुलाइ सही र गलत छुट्याउन मुश्कील परिरहेको थियो। नेपालमा जातपात, धर्म, सम्प्रदायको राजनीति गरेरपनि कम्युनिष्ट पार्टी भैरहेजस्तो भ्रम र भ्रान्ति व्याप्त थियो। 'पेडन्युज' राष्ट्रिय समस्या बन्न लागेको देखेर केही प्रभावशाली व्यक्तिले आवाज उठाएकाले न्युजच्यानेलले बहसको आयोजना गरेको थियो।
       टिभीको न्युजच्यानेलले बहस गरायो भनेर टिभीचाहीं शुद्ध, पवित्र छन् भन्नेपनि होइन। अखवारहरुले जहाँ 'स्पेस' वेचिरहेका हुन्छन्, त्यहींनिर टिभीले 'टाइम' वेचिरहेका हुन्छन्। १६ बर्षअघि नेपाल टिभीले ९० मिनेटको समय ईमेज च्यानललाइ बिक्री गरेपछि शुरु भएको क्रयविक्रय कर्म अहिले आम बनिसकेको छ। यस्लाइ तर्कले पुष्टी गर्न त सकिएला। उपभोक्तावादी संस्कारले ग्रस्त वजारको एकछत्र राजमा क्रयविक्रय नै एकमात्र आधार बन्न पुगेको हुन्छ। जोसँग जेछ त्यही वेचिरहेको हुन्छ। युवाहरु, विशेषगरी युवतीहरु यौवन वेचिरहेका हुन्छन्। राजनीतिक नेताहरु ढोंग, पाखण्ड वेचिरहेका हुन्छन्। पण्डाहरु रूढी र अन्धविश्वास वेचिरहेका हुन्छन्। व्यापारीहरु उत्तेजना वेचिरहेका हुन्छन्। कर्मचारीहरु बाध्यताको माखेसाङ्लो वेचिरहेका हुन्छन्। जस्ले वेच्न जान्दैन त्यस्को अर्कोले लुटिरहेको हुन्छ। सिदासादा युवतीलाइ गुण्डाले बलात्कार गर्छ। सिदासादा जनताको विश्वासमाथि नेताले घात गर्छ।
        क्रयविक्रय सामान्य व्यवहार भएपनि मेडियाको 'टाइमविक्री' र 'स्पेसविक्री' ले केही अप्ठेरा प्रश्नपनि उव्जाएको छ। टिभी र रेडियोले समय विक्री गरेपछि व्यवस्थापनको हातबाट अन्तर्बस्तुमाथिको नियन्त्रण गुम्छ। धनीको हातमा लगाम पुग्छ र पैसा शिरमाथि चढेर वोल्न थाल्छ। यसो बसिबियाँलो र सोखमा थोरै मौसमी सामाजसेवा गरेको देखाउनेहरु धनको बलमा चर्चाको केन्द्रमा आइपुग्छन्। उरण्ठेउला नेताका मनोगत, उटपट्याङ कुरालाइ बौद्धिक लेपन लगाएर रोचक परिकार बनाउन मेडियाकर्मीहरु अभिशप्त हुन्छन। स्वार्थबाट धेरैमाथि उठेर समाज, राष्ट्र र सभ्यताको लागि जीवन समर्पित गरेका अभियन्ताहरु ओझेलमा पर्छन्। सामाजिक न्यायका मुद्दामा सुक्ष्म विश्लेषण र विमर्श असान्दर्भिक बन्न पुग्छ। विवेक र न्यायिक चेत किनारा लाग्छन्। सभ्यतानिर्माण र मूल्यका कुराहरु कार्यसूचिबाट हटाइन्छन्। किन यस्तो गरिन्छभने वजारमा ती विक्दैनन्।
          जघन्य मुद्दाहरु फिर्ता लिएको विरोधमा रत्नपार्कमा अनसन बसेको कार्यक्रमलाइ मेडियाले 'व्ल्याकआउट' ग-योभनेर चित्त दुखाउनुभन्दा मेडियाको बाध्यता र बिवशतालाइ वुझिदिनु बुद्धिमानी हुन्छ। 'गिताञ्जली' मा रविन्द्रनाथ टैगोरले, "तिम्रो कुरा कसैले सुन्दैनभने तिमी एक्लै हिंड" भनेको सन्देशलाइ मनन गरेर विकास लकाइ खँड्का, कल्याणदेव भट्टराई, श्रीकमल द्विवेदी, डा.प्रदीप ढकाल, बुद्धि कट्टेल, विकेस श्रेष्ठ, केशवलाल श्रेष्ठ, लक्ष्मी तामाङ, इन्द्र श्रेष्ठजीहरु कम्मर कसेर अघि बढिसक्नुभएको देखें। सँगसँगै रत्नसंसार श्रेष्ठ, योगेश डङ्गोल 'आदी', चन्द्र खरेल, राजेन्द्र सुवेदी, तरुण पौडेल, भावना पाण्डेजीहरु अभियानमा मिसिएको पाएँ। सवाल मेडियाको हैन, सवाल राष्ट्रको पीडाको हो। राष्ट्रको पीडालाइ सम्बोधन गर्न खोजेको होभने जनताले अवश्य साथ दिनेछन्, शङ्का छैन।
सोमवार, डिसेम्बर ३१, २०१२
 

No comments:

Post a Comment