Pages

Tuesday, April 23, 2013

तमासे झन् अपराधी



तमासे झन् अपराधी
              -आनन्दराम पौडेल \  anandarampaudel@yahoo.com


"हैन एसपी साहब, गाउँका महिलालाइ यसरी झ्याप्पै पक्डिदिनुभएन ?" भलमन्सा चतुरीलाल राना थारूले भने।
"अनि यी महिलाले गाउँकै बृद्ध महिलालाइ मरणाशन्न हुनेगरी चरम यातना र राक्षसी व्यवहार पनि गर्नुहुँदैनथ्योनि ? नरपिचाशले नगर्ने हदसम्म घिनलाग्दो क्रुरकर्म गर्नेलाइ नपक्डने र कार्यवाही नगर्ने होभने के यिनीहरुलाइ पूजा गर्ने ?" एसपी घनश्याम अर्यालले उल्टै प्रश्न गरे।
"गाउँको समस्या गाउँमै मिलाइहाल्छौं। तपाईंले हात नहालेको भए हुन्थ्यो। म गाउँको मुखिया। मेरो गाउँमा हात हाल्नुअघि तपाईंले मसँग एकवचन सोध्नुभएन।" भलमन्सापनि अडियल देखिए।
"तपाईंसँग सम्पर्क नगरेको मात्र हैन, तपाईंलाइ थाहापत्तो नदिएकै हो।" एसपीले अलिकति खोले।
"म चतुरीलाल एउटा व्यक्ति मात्रै हैन। मत गाउँको मुखिया हुँ। जिल्ला सदरमुकामसम्म सबैले मलाइ भलमन्सा भन्छन्।" भलमन्साले आफ्नो हैसियत जाहेर गरे।
"यिनै रामकुमारी राना र नीरादेवी रानाले २ बर्षअघि पनि ६० नाघेकी बृद्धा  यिनै राजकुमारी रानालाइ यसैगरी अत्यन्तै अमानवीय र चरम क्रुर यातना दिएका थिए। त्यो घटनालाइ पनि त तपाईंले गाउँमै मिलाउँछु भनेर जिम्मा लिनुभएको थियो।"  
"मिलाएँ त।"
"के मिलाउनुभयो ? पीडितलाइ निरन्तर दबाव दिएर पीडकसँग मिल्न बाध्य पार्नुभयो। यस्लाइ मिलाएको भनिंदैन। पीडितको घाउमा झन् नुनचुक हाल्नुभयो। पीडकको दुस्साहस झन् बढाउनुभयो। तपाईंले पीडितलाइ न्याय पर्नेगरी पीडकहरुमाथि कार्यवाही गर्नुभएकोभए २ बर्ष नबित्दै यिनै राक्षसहरुले तिनै बुढीमाउमाथि यस्तो नृशंश अत्याचार गर्ने हिम्मत त गर्दैनथे ?" एसपीले भने।
         सम्बाद गर्दै मिसील अध्ययन गरिरहेका एसपी घनश्याम अर्यालले घटनामै संलग्न व्यक्तिहरुमा जब यी मुखिया चतुरीलालको नामपनि देखे, तव यिनको पारो तात्यो। यत्रो जघन्य अपराधमा संलग्न व्यक्ति नै आफ्नो अगाडी बसेर विवाद गरिरहेको एसपीलाइ खपिनसक्नु भयो। दायाँबायाँ केही नहेरी गाउँको मुखियालाइ हिरासतमा राख्न आदेश गरे।
          गाउँको मुखियालाइ हिरासतमा राखिएको खबर सनसनि बनेर गाउँभरी फैलियो। केही 'स्याडिष्ट' र मुखियाका हनुमानबाहेक सबै खुशी भए। घटनाको प्रत्यक्षदर्शी भएकाले चेतनाथ कणेल 'हरित' (chetnk@yahoo.com ) सर्वाधिक प्रशन्न देखिए। प्रहरी र मेडियालाइ जानकारी दिने र समाजका प्रबुद्ध वर्गलाइ सम्झाउने काममा चेतनाथजी कस्सिएरै लागेका थिए। उनले जे देखेका थिए त्यो दृश्य कम भयावह थिएन।
    कैलाली जिल्ला, बेलदेवीपुर गाविस, वार्ड नं ७, घुरसुवा गाउँमा चैत्र २४ गते बिहान सखारै मर्निङ्वाकमा हिंड्दैगर्दा चेतनाथजीले जुन दृश्य देखे, त्यो हेर्न त के सुन्नसमेत् नसकिने भयानक थियो। चेतनाथजी पुग्दा ६० नाघेकी बृद्धा राजकुमारी रानालाइ घरको आँगनमा लडाएर रामकुमारी राना, नीरादेवी राना, धर्मसिंह राना र रामसिंह रानाले बाम चुटेसरी चुटिरहेका थिए। वुझ्दा थाहा भयो, बिहान ४ वजेदेखि नै चुट्नथालेका रहेछन्। राजकुमारी रानामाथि बोक्सीको आरोप लगाएर यो बर्बर, निर्मम र क्रुरतापूर्ण कार्यवाही गरिएको रहेछ। सुतिरहेकी यी बृद्धालाइ ४ वजे ओछ्यानबाटै घिसारेर आँगनमा ल्याएछन्। कपाल खौरेछन्। सर्बाङ्ग नाङ्गै पारेर आँगनमा लडाएछन् र चुट्न थालेछन्। चेतनाथजी पुग्दा शरीरभरी निलडाम थियो। दाँतसमेत भाँचिएर मुखबाट रगत बगिरहेको थियो। यतिले नपुगेर ती आततायीले चर्पीबाट बाल्टीमा आची ल्याए। एउटा घोचाको छेउमा निकालेर ति बृद्धाको मुखमा आची कोचिदिए। बाल्टीको आचीमा पानी घोलेर ती बृद्धाको शरीरभरी खन्याईदिए। यतिसम्म बिभत्सकर्म गरिसक्दापनि ती नरपिचाशहरुको मन शान्त भएन। अघि आची निकालेको घोचो लिएर ती बृद्धाको योनीमा बेस्सरी घुसारे। योनीबाट बल्भल्भल्ति रगत बग्न थाल्यो। अत्याचार रोक्नका लागि चेतनाथजी अघि सरेका मात्र थिए, मुखियाका हनुमानहरुले च्याप्पै समाएर रोके। त्यहाँ करीव ३५ जनाको भिड थियो। घृणा र आक्रोशले क्षुव्द भएर चेतनाथजी त्यहाँबाट हिंडे। ती आततायीहरुप्रति जति घृणाभाव उत्पन्न भएको थियो, त्योभन्दा चौगुना घृणा ती तमासेप्रति जाग्यो। तमासेमा गाउँका मुखिया चतुरीलाल (चुनरीलाल ?) रानापनि थिए। कुनै प्रतिवाद नगरी तमासे बनेर बसेकोमा बृद्धाका छोराहरु दलबहादुर राना र दरबारिया रानाप्रति पनि चेतनाथजी आक्रोशित थिए। त्यो दृश्यले उनको मनमस्तिष्कलाइ झक्झक्याएर यतिसम्म एकोहोरिएछकि प्रहरी, पत्रकार, मानवअधिकारकर्मी र प्रवुद्ध वर्गलाइ फोन गर्दागर्दै आराम गर्न र खानसमेत् बिर्सेका थिए। राजकुमारी रानालाइ उपचारार्थ सेती अञ्चल अस्पताल, धनगढी र त्यहाँ उपचार नहुनेभएपछि कोहलपुर शिक्षण अस्पतालमा लैजाने धपेडीमा अर्थोक सोच्नसमेत् भ्याएका थिएनन्। २ बर्षअघि यिनै बृद्धामाथि यसैगरी अत्याचार भएको थियो। गाउँमै मिलाउने भन्दै यिनै मुखियाले कुनै कार्यवाही गर्न दिएका थिएनन्। आज बैशाख ४ गतेको खवरले कार्यवाही होला भन्ने आशा जगाएको थियो। एसपी घनश्याम अर्याललाइ मनमनै धन्यवाद दिए। कति दिनदेखि राम्ररी नखाएको भोक आज लाग्यो। नजिकै रेष्टुराँभित्र छिरे। "लौ के छ ? टन्न ल्याउ" भन्दै पलेटी कसेर बसे।
अप्रिल २३, २०१३

No comments:

Post a Comment