कविताहरु
(1)
आमाको पवित्र संसारमा
हाम्री
आमालाइ तिनीहरुले चिनेनन्
नचिनेकै
बेस भयो
यो
माखेसाङ्लोमा उल्झन परेन
अरु त
अरु
राज्यले
समेत् खोजखबर गरेन
जनगणनामा
उनको नाम थिएन
सम्पति
नभएकोले
नागरिकताको
जरुरत रहेन
स्कुल
नगएकोले सर्टिफिकेट बनाउन परेन
जागीर
नभएकोले उमेर मिलाउन परेन
हुन त
एउटा देश थियो
देशभित्र
हाम्री आमा थिइन्
आमाकै
नाममा एउटा सरकार थियो
त्यहाँ
ठूलो बिडम्बना थियो
न त
आमाले सरकारको आभाष पाइन्
न त
सरकारले आमाप्रति दायित्वबोध ग-यो
दुबै
सधैं सँगै रहे
सधैं
अपरिचित रहे
एउटा
सरकार यतै कतै हुनुपर्छ भनेर
आमाले
कहिल्यै सोचिनन्
आमाबिना
दुनिञा बन्दैन भनेर
सरकारले
हेक्का राखेन
मायालु
श्रष्टा भएकीले मात्र
आमा
पवित्र भएकी थिइनन्
तिनले
अड्डा-अदालत टेकिनन्
सरकारी
कागजमा तिनले सहीछाप गरिनन्
राजकीय
दाउपेच र षडयन्त्रका गन्ध
तिनको
नाकभित्र पसेन
सरकारका
हैकमी स्वर
तिनको
कानमा परेन
राज्यको
बिषाक्त असरबाट मुक्त रहेकीले
आमा
बिशुद्ध रहिन्
प्राकृतिक
समाजमै रहेकीले
तिनी
पवित्र रहिन्
कतै
नअल्झेको सरल रेखाझैं बाँचेकीले
आमाको
अर्को नाम छैन भन्दाभन्दै
यो
ऐतिहासिक घडीमा
चौरस्तामा
बाटो छेकेर बसेको
कालो
डरलाग्दो सरकारी सिपाही
औंलो
ठड्याएर
हाम्री
आमाको नाम सोधिरहेछ
आमाको
पवित्र संसारमा
यो
सरकारी घुसपेठ
हाम्लाइ
असह्य भैरहेछ।
(2)सरकारी हाकीम
खुट्टा छन् गति छैन
हात छन् कर्म छैन
आँखा छन् दृष्टि छैन
विवेक त झन् छँदैछैन
न त्यहाँ जीवन छ
उत्साह, सम्बेदना, जोश र जाँगर
सबै मरिसकेको छ
उसँग आकार नमिलेको
धमिलो अतीत छ
वर्तमान स्थीर छ
भविष्य शून्य छ
त्यही अतीतको विकृत आकृति देखाएर
सधैं हामीलाइ तर्साउने गर्छ
मानिसबाट हाकीममा रुपान्तर हुन
उस्ले धेरै चरण पार गरेको छ
आफूभित्रको जिउँदो मान्छेलाइ
धेरैपटक मारेको छ
सुख्खा पहाडबाट पहिरो खसेजस्तै
उस्बाट स्खलित शव्दहरु
मरुभूमि निर्माण गर्न पर्याप्त छन्
उभन्दा ठूलो
याँमानको अजङ्गको भएर
उस्को अहङ्कार डम्म बसेको छ
उस्को अहङ्कारलाइ छिचोलेर
उसम्म पुग्नै सकिंदैन
अहङ्कारबाट निस्केर
सक्कली मान्छेमा उ भेटिंदैन
उस्को अहङ्कारले हामीलाइ ठोक्छ
अग्रगतिका पाइलाहरु
सबै उसैले रोक्छ
एउटा सद्दे मानिस
उस्कोछेउमा पुग्दा
ठाडै सर्पदंशमा पर्छ
बिषाणु भिजेर
जीवनतत्व नष्ट हुन्छ
न त्यहाँ वसन्त आउँछ
न मुनाहरु पलाउँछन्
न त हरियाली छाउँछ
निरन्तरको सर्पदंशले
सश्यश्यामल राष्ट्र
मरुभूमिमा रुपान्तर हुन्छ।
(3)बेपत्ता
बेपत्ता त अरुपनि
छन्
ती सबै पत्तै नभएका
छन्
जो शदीयौंदेखि
बेपत्ता छन्
पिरामीडदेखि
सिंहदरबारसम्मको निर्माणमा
सधैं किच्चिएका छन्
सामाजिक तहको खातमा
सधैं मिच्चिएका छन्
साहुको भारी ढलेर
मात्रै हैन
आफ्नै जिन्दगीको
वोझले
थिच्चिएर सिद्धिएका
छन्
राज्यद्वारा मारिएका
छन्
समाजद्वारा खेदिएका
छन्
जस्को आफ्नो नाम छैन
स्थान र पहिचान छैन
जो जन्मैदेखि
जीवनभरी हराएका छन्
ती सबै बेपत्ता छन्
ती बेपत्ता
पारिएकाहरु
त्यसै सिद्धिएका
छैनन्
तिनीहरु यहीं कहीं
छन्
हाम्रै पीडामा रहेका
छन्
जुनदिन हाम्रो पीडा
थेग्रिएर एकत्रित
हुनेछ
र एकत्रित पीडा
आक्रोशमा रुपान्तर
हुनेछ
तिनीहरु त्यहीं
प्रकट हुनेछन्।
(4)महाभिनिष्क्रमण
घर छाडेर जाँदा
आफूले बोक्नसक्ने भारी लिएर गए
अलिकति आस्था
अलिकति विश्वास
अलिकति सपना
र अलिकति सङ्कल्प बोकेर गए
भारीभित्र नअटेपनि
आमाबाउको बात्सल्य
मायालुको स्नेह
र साथीभाइको हार्दिकता छाड्न नसकेर
भारीको एकछेउमा सिउरिएर लगे
भारीभित्र सिङ्गै राष्ट्र
र जनता हालेर लगे।
तिनीहरु गएपछि जिउँदा मानिस नभएको
बस्ती रित्तो-रित्तो भयो
देश खालि-खालि भयो
त्यो खालि ठाउँ भर्न
आक्रोशको ज्वाला दन्किरह्यो
तिनीहरुले घर छाड्दा घरै
गाउँ छाड्दा गावैं
र देश छाड्दा देशै लिएर गए।
(5)नलेखिएको इतिहास
एउटा बेवारिसे देशको
इतिहास कसैले लेखेन
जे लेखियो
दुई-चार हैकमीहरुको
महात्म्य लेखियो
जे लेखिएन
त्यही सुन्दर भयो
लेखिएकोभए
चित्कार, उच्छ्वास र
सुस्केराका खात
त्यहाँ रहस्य,
रोमाञ्च र रुमानी स्वाद हुने थिएन
त्यस्तो इतिहास
वजारमा बिक्नेपनि थिएन
कक्टेल, डिनर वा
लञ्चमा पस्कन नमिल्ने
ह्वीस्की, बियर वा
वाइनसँगै
केही नभए आफ्नै
लोकलसँग
चुस्कीलिंदै क्वाप्प
निल्नपनि नहुने
डिस्को,
नाइटक्लबहरुमा छिराउनै नसकिने
अरु त अरु
ब्रेकफास्टमा समेत्
नचल्ने
आँसुले भरिएको
नुनचर्को इतिहास
आङै सिरीङ्ग हुने
कहालीलाग्दो इतिहास
नलेखेकैले हामीलाइ
सञ्चो भयो
जे लेखिएन त्यो
प्रियदर्शी भयो
ती मूर्खहरु हुन्
जो इतिहास खोतल्ने
कुरा गर्छन्
मुर्दाशान्तिमा जीवन
भर्ने इच्छा राख्छन्
तिनीहरुले
वुझ्नुपर्छ
जीवन त गतिशील हुन्छ
त्यो शासकको
बैठकसम्म आउनसक्छ
उहाँलाइ डिस्टर्ब
गर्न सक्छ
तिनीहरुले योपनि
वुझ्नुपर्छ
दमित चित्कारले
उहाँको रसरङ्ग नै
भङ्ग हुन्छ।
(6)अर्को भागको जीवन
शदीयौंदेखि
यो एकलौटी हकभोगको
चलनचल्तिभित्र
प्रत्येक कदम र घटनामा
लाखौंपटक
सधैं मैमात्र मरेको
छु
अड्डाका फाँट-फाँटमा
लेखिने
प्रत्येक टिप्पणीमा
अदालतका फैसलाहरुमा
पुलिसको डण्डामा
तथा कानुन र नीति
निर्माणमा
सधैं मैमात्र मरेको
छु
०९७मा मुडिएका शीर
मेरै थिए
भीम मल्ल र भीमदत्त
काटिंदा
भीमसेन थापा सेरींदा
र प्रत्येक आन्दोलनमा
मेरै रगत बगेका थिए
गाउँघरका तमसुकदेखि
शासकीय
दस्तावेजहरुमा
अक्षर-अक्षरमा
म शहीद भएको छु
सबै ठूलाबडाको भारले
सधैं म थिचिएको छु
सबै ठूला महलको जगमा
सधैं म पुरिएको छु
हे नेपाल आमा !
शदीयौंदेखि म
आफ्नै देशभित्र
अर्को भागको जीवन
वाँचिरहेछु
आफ्नै पुर्ख्यौली
घरमा
सुकुम्बासी जीवन
वाँचिरहेछु।
(7)राज्यभित्र मान्छे छैन
राजधानीमा पढ्न
बसेको छोराले
धेरै कालपछि पठाएको
चिठी
बोझिलो थियो
धमिलो थियो
अक्षर किरिङमिरिङ
थिए
चिठीभित्र छोरो थिएन
देश थियो
यसैलाइ आफ्नो ठानेर
छोरो हुर्केको थियो
अहिले देशभित्र खोज्दा
राज्य आफ्नो नपाएर
छोरो झस्केको थियो
राज्यभित्र पराई थिए
स्वार्थजालको
माखेसाङ्लो बुनिरहेका
शासकहरु थिए
दाह्रानङ्ग्रा
छोपेका ब्वाँसाहरु थिए
ढोंग, पाखण्ड र
आडम्बरको संस्कृति
निसृत भैरहेको थियो
बासी अनुहारका
हाकीमहरु थिए
समयप्रवाहमा हिंड्न
नसकेका
नेताहरु यतै छन्
भन्थे
आइएनजिओ र
पार्टीवुद्धिजीवी
छ्यास्छ्यास्ति थिए
राज्यभित्र जीवन
थिएन
हार्दिकता पटक्कै
थिएन
मानवीयताको
लक्षणसम्म थिएन
सबै देखेपछि छोरो
तर्स्यो
घनघोर जङ्गलभित्र
एक्लो पायो
मान्छे एउटै छैन
यान्त्रिकमानवसँग
बस्न सकिन्न भनेर
कहालिएर चिठी लेख्यो
चिठी पढ्दा सातो
गएको भान हुन्थ्यो
देश आफ्नैजस्तो छ
राज्य आफ्नो छैन
भनेर लेखेको
अन्तिम वाक्य पढेपछि
म झस्कें
बुढेसकालमा छोरो
टाढिने भो भनेर
गल्न थालें
राज्यभित्र मान्छे
भए
देखाइदिनुहोला
उपाय केही भए
बताइदिनुहोला।
No comments:
Post a Comment