कविताहरू
-२
(8)पोस्टर
बस्तीभरी
टाँसिएका छन् पोस्टर
पोस्टरमा छ
ङीच्च दाँत देखाएर हाँसिरहेको
नेताको फोटो
ढाकछोप गर्दागर्दै
छोपिननसकेको कुटीलता
र जतनसँग ढाकिएको आडम्बर
छेउकुनाबाट चियाइरहेको छ।
हजुरआमाले नियालेर हेरिन्
प्रष्टै देखिन् तीखा बङ्गारा
यस्ले केही चपाइरहेछ
हाम्रो सपना
हाम्रो जवन
र एउटा सिङ्गो राष्ट्र
कहाँ लगेर जोगाउने होला
नातिनातिनाको भविष्य
सोचमग्न भइन् हजुरआमा
र आँसु पुछिन्।
(9)गणतन्त्र दिवस
पार्टीको कार्यकर्ता
अबेला उठ्यो
कागजको एउटा
टुक्रामा
'व' अक्षर देख्यो
वर्गसङ्घर्षका कसहरु
रेडलेबलले कुल्ला
गरिसकेको हो
यो शव्दले तैपनि
पिछा छाडेन
मनमनै भन्यो
त्यो कागज फाल्यो
र पिच्च थुक्यो।
नयाँ यात्राको लागि
जातपातका मरमसला
हालेर
राजनीतिक पक्वान
तैयार ग-यो
तात्तातो नाराको
लेबल लगायो
विचारसँगै लुगा
फे-यो
चिरिच्याट्ट प-यो
जीवनशैली बदल्यो
मोटरसाइकल स्टार्ट
ग-यो
र कुद्यो।
गणतन्त्र दिवसको
कार्यक्रम
झकिझकाउ थियो
बाजागाजा
नाराजुलुस
र चर्का भाषण थिए
मञ्चमा अरु सबै थिए
लोकतन्त्र थिएन
छक्क प-यो
झल्याँस्स सम्झयो
दौडेर कोठामा गयो
लोकतन्त्र सुतिरहेकै
थियो
बिहान राखिदिएको
चिया
चिस्सिईसकेको र धुलो
जमेको थियो।
(10)कार्यकर्ताको साइकल
पार्टी कार्यकर्ता
चढ्ने
थोत्रो साइकल
परैबाट चिनिन्छ
छिन्द्रिङ-छिन्द्रिङ
बज्छ
ह्याण्डिल टेढो छ
टायर टालेको छ
हावा कम छ
प्याडल खिएको छ
क्यारियर हल्लिएको छ
सिट धसिएको छ
चलाउन नजानेर हैन
उवडखावडमा चलाएकोले
हैन
धेरै चढेरपनि हैन
घर-घरका समस्याको
भारी
मरीमरी बोकेर जर्जर
भएको छ
यिनै गाउँलेको ढाडमा
टेकेर
केन्द्रीय नेता
बनेकाहरु
पजेरो चढ्छन्
मझौला नेताहरु
मोटरसाइकलमा कुद्छन्
गाउँलेका समस्या
सधैं ल्याङ्फ्याङे छन्
न त बान्कि मिलेका
छन्
न त हिस्सी परेका
छन्
यही साइकलको टालेको
टायर जस्तै छन्
समस्याको रुपरङ्ग र
चालढाल
न पजेरोसुहाउँदो
हुनसक्यो
न त मोटरसाइकलले
बोक्न मिल्नेभयो
गाउँका समस्याले यही
साइकल जानेको छ
र साइकलले गाउँले
चिनेको छ
जति असरल्ल भएपनि
गाउँले समस्याको
यात्रा
यही साइकलमा हुनेछ
पजेरो राजधानी पुग्नेछ
मोटरसाइकल
सदरमुकाममै रहनेछ
साइकल जति
थोत्रिएपनि
समस्याको वोझ
उठाइरहनेछ।
समस्याको वोझ
उठाइरहनेछ।
(11)ग्ल्यामर संरचना
कविता लेख्नलाइ
दिनुभएका
चिनी घोलेका
श्रृङ्गारपटार गरेका
नक्कलझक्कल गरिरहेका
यी ग्ल्यामर शव्दहरु
यहाँ राख्ने ठाउँ छैन
मैले जतनसँग राखेका
केही घाउ छन्
केही चोट
केही व्यथा
पीडा, सुस्केरा र
चीत्कार छन्
अलिकति सपना
एउटा आस्था
दह्रो विश्वास
कसीलो सङ्कल्प
केही सङ्घर्ष
थोरै प्राप्ती
र अधुरो जीवन छ
यिनैबाट निर्माण
भएका कविता
तपाईंलाइ मन परेन र
?
(१२)आत्महीन
बाहिर चीसो स्याँठमा
कक्र्याककुक्रुक
परेर
कामिरहेका ओठले
लगाएका ईन्कलाबका
नारा
रन्किलो र जोशिलो
थियो
न्यानो कोठाभित्र
सुकिलामुकिलाहरु
खासखुस गर्दैथिए
ह्वास्स दाउपेच
गन्हाएका
लच्छेदार शव्दहरु
प्राणहीन थिए
दुबै दृष्य हेरेका
नन्दरामले सोचे
ठण्डीले, भोकले
नमर्नेरहेछन् शव्द
आत्महीनताले
निस्तेज हुनेरहेछन्।
No comments:
Post a Comment