नानु
कविता
(१)फोटो
आफ्नै फोटो
नियालेर हेरिन्
त्यहाँ
सपना र सङ्घर्ष
पीडा र छट्पटी
बिषाद र शोक
तथा,घृणा र आक्रोशको
प्रतिबिम्ब देखिनन्
मात्र यत्ति भनिन्
फोटोमा सबै
नआउनेरहेछ।
(२)रित्तो
रेलको प्रस्थानसँगै
सबै गए
अल्मलिएर
प्लेटफर्ममै रहेको
त्यो व्यक्ति
ओइलाएर म-यो
एक्लिएर होइन
सपना रित्तिएर।
(३)अतिथि
छेवैको छाप्रोभित्र
फरक केही छैन
सबै यथावत छ
सोधें-
खोई त लोकतन्त्र ?
लोकतन्त्र आएकोभए
प..र महलतिर
बसेहोलान्
यहाँ त खानबस्नै
कठिन छ।
(४)बिषयान्तर
अब बिषयान्तर गरौं
अलिकति जातको
अलिकति धर्मको
अलिकति भाषाको
अलिकति सम्प्रदायको
र अलिकति क्षेत्रको
कुरा गरौं
कति गर्नु
वर्गसङ्घर्षका कुरा
भो बन्द गरौं।
(५)अर्को बर्षा
निथ्रुक्कै भिजेको छ
कपडा
कहाँ फेरूँ ?
विगत दिनमा
झमझम परेथ्यो
वर्गसङ्घर्षको झरी
हाम्रा प्रभुहरु
बर्षा आफ्नो
कमाण्डमा नभएको ठहर गर्दै
कौसीमा उभिएर
पाइपबाट छरिरहेछन्
पानी जातपातको
हिजै भिजेकोचाहीं
कहाँ राखुँ ?
लौ भन्नुहोस् कहाँ
राखुँ ?
(६)सत्य-१
बहुमतको हल्ला
र भीडबाट जोगिन
सत्य किनारा लागेर
बस्यो।
(७)सत्य-२
लुगा लाउ छोरी
सधैं ढाकिएर बस
सत्य नाङ्गो हुन्छ
र यो दुनिञा
सत्यको सामना गर्न
समर्थ भैसकेको छैन।
(८)पत्र
साविककै ठेगाना
लेखिएको
नयाँ पत्र छ
छोरालाइ खाडी पठाउने
छोरीलाइ केटा खोज्ने
गाउँको खेत वेच्ने
र शहरमा घडेरी
किन्ने योजना छ
जतनसँग राख
जीवनभरीको सपना छ।
No comments:
Post a Comment