Pages

Monday, May 27, 2013

अर्को हृदयविदारक कथा।



अर्को हृदयविदारक कथा
                 -आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com

बाँकेको अकलघरुवामा रामेशले ती बृद्ध महिलालाइ प्राय देखिरहेकै हो। धेरैपटक देखेपनि तिनले बोलेको सुन्न पाएको थिएन। एकदिन ती बृद्धा महिला पिंढीमा अडेस लाएर बसिरहेकी थिइन्। कौतुहलबस रामेश पनि बृद्धाकै छेउमा बस्यो। नौलो मानिस आएको देखेर एकजना अधबैंसेले गुन्द्री राखिदिए। गुन्द्रीमा बसेर ती बृद्धासँग बात मार्न खोज्यो। तर, बृद्धा बोलिनन्, एकनासले टोलाएर हेरिमात्र रहिन्। छेउमै राखेको एउटा फोटोलाइ बेला-बेलामा नियाल्थिन्। बृद्धासँग बातचित सम्भव नहुने देखेर जिज्ञाशा शान्त पार्नको लागि रामेशले गुन्द्री बिछ्याइदिने अधबैंसेसँग बातचित गर्न खोज्यो। अधबैंसेले जे बताए, त्यो कहालिलाग्दो थियो।
          अधबैंसेको नाम रामबरण यादव रहेछ। तिनी बृद्धाको माहिलो छोरा रहेछन्। बृद्धाको नाम कैलाशवती यादव रहेछ। हेर्दा ८० नाघेकी जर्जर देखिएपनि बृद्धाको उमेर ६५ मात्र रहेछ। बाहिरबाट सर्सर्ति हेर्दा तिनीभित्र ईनारभन्दा गहीरो पीडाको पोखरी छचल्किरहेको होला भनेर कसैले अनुमान गर्न नसक्ने रहेछ। २०५९ असार २५ गते तिनीमाथि भयङ्कर बज्रपात परेछ। त्यसदिन साँझ सपरिबार खाना खाइरहेका थिए। एक्कासी माओवादीहरु पसे, र खाना खाइरहेका उनका जेठा छोरा सोहनलाल यादवलाइ समातेर बाहिर निकाले। खाना खान छाडेर परिबार सबै पछि-पछि निस्के। घरछेउमै एउटा अचानो भेटे। सोहनलाललाइ त्यहीं थचारे। गोडा अचानोमाथि राखे। एकजनाले बञ्चरो बोकेका थिए। बञ्चरोले मार हाने, र गोडा छिनालिदिए। अर्को एकजनाले खुकुरी बोकेका थिए। खुकुरीले गर्दनमा हाने। गर्दन छिनेको थिएन। परिबारका सदस्यहरुको अगाडी आँखा झिमिक्क नपार्दै एक सासमा यति काम सम्पन्न गरे। त्यति गरिसकेर उनीहरु हिंडिहाले। उनीहरु हिंड्नासाथ छट्पटाइरहेका सोहनलाललाइ रामबरण र कैलाशवतीले खटियामा राखेर अस्पताल पु-याए। अस्पतालमै सोहनलालले प्राण त्यागे। छोराको लास लिएर घर फिर्दा माओवादीले घरमा बिष्फोट गराइसकेछन्। र, जग्गामा झण्डा गाडेर जग्गा कब्जा गरेको घोषणा गरिरहेका थिए।
     घर बिध्वङ्स र जग्गा कव्जा भएपछि कैलाशवतीको परिबार पूरै बिस्थापित भयो। उनीहरु नेपालगञ्जमा बसाईं सरे। सोहनलालका तीन छोरा र एक छोरी रहेछन्। जेठो छोरो २२ बर्षको भएछ। मजदुरी गर्दोरहेछ। बाँकि ३ जना पढ्दारहेछन्।
      आफ्नै आँखाअगाडी सोहनलाललाइ मारेको दृश्यले त परिबारलाइ खपिनसक्नु पीडा दिईरहेकै थियो, सोहनलाललाइ मार्नुपर्नाको कारण के थियो भनेर थाहा नपाउनु अर्को सकस थपियो। परिबारकै अगाडी सोहनलाललाइ मार्नु, घर बिष्फोट गराउनु र जग्गा कब्जा गर्नुको कारण लामो समयसम्म माओवादीले खुलाएन। सोहनलाल राप्रपासँग नजिक थिए। राप्रपासँग नजिक भएकाले मारेहोलान् भनेर सबैले शङ्का गरे। सोहनलाल वडासदस्य पनि भएका थिए। गाबिसका पूर्वपदाधिकारी भएको नाताले मारमा परेका होलान् भनेर अनुमान गरे। पछिसम्म जनमानसमा कौतुहल भैरहेकोले र चर्चा चलिरहेकोले लामो समयपछि माओवादीले सोहनलालको बिषयमा केही बोल्नुपर्ने ठान्यो। सर्बप्रथम उस्ले सोहनलाल बलात्कारी थियो भनेर प्रचार ग-यो। तर, यो आक्षेप स्थापित हुन सकेन। गाउँसमाजमा सोहनलाल अत्यन्तै सज्जन ब्यक्ति भनेर चिनिएका थिए। फेरि, सोहनलाल बलात्कारी थियोभने उस्ले कस्लाइ बलात्कार ग-यो ? भनेर प्रश्न उठाउन थाले। त्यो लाञ्छना असफल मात्र हैन प्रत्युत्पादक बनेपछि उनीहरुले अर्को आरोप गढे। सरकारी सिआइडी थियो भनेर धुवाँधार प्रचार गरे। हुन त यो यस्तो आरोप हो जस्को पुष्ट्याईं गरिरहनुपर्दैन र आरोप लगाइदिनु मात्र पर्छ, होला भनेर सबैले पत्याउँछन्। यस्तो अचूक अस्त्रपनि यहाँ कारगर भएन। सोहनलाल आफ्नो घरपरिबार, खेती, बस्तुभाउ र आफ्नै बस्तीभन्दा पर कहिल्यै कतै जाँदैनथे। सदरमुकामसम्म पनि जाँदैनथे। यस्तो सिदासादा ब्यक्तिलाइ जासुस भन्न खोज्दा सबैले हाँसेर उडाइदिए। गढिएका लाञ्छना र आरोप सबै बेकम्बा भएपछि अहिले उनीहरु सत्य ओकल्न थालेका रहेछन्। 'सोहनलाललाइ मार्नुहुँदैनथ्यो, गल्ति भएकै हो' भन्छन'रे भन्ने सुनिन्छ। घरमा आएर परिबारसँग माफी माग्ने हिम्मतचाहीं गरेका रहेनछन्।
        रामबरणले उठेर आमालाइ औषधी ख्वाए। हप्तैपिछे ग्लुकोज चढाउनुपर्दोरहेछ। औषधि ख्वाएपछि कैलाशवतीले मुख खोलिन्। रामेशतिर हेरेर यत्तिमात्र भनिन्, "मेरो छोरा मार्नेलाइ कार्यवाही गरिदिए छोराको आत्माले शान्ति पाउँथ्यो।" यत्ति भनेर उनी चुप लागिन्। अघिजस्तै एकटकले शून्यमा निहारिरहिन्। रामेशपनि एकछिन घोत्लिएर बसे। एकछिन शून्यमा अलमलिएर अर्को हृदयविदारक कथा बोकी हिंडे।
शनिवार, मे 25, 2013
  

No comments:

Post a Comment