आफन्त
हुन त गाउँलेहरुले थुकतेल गरेर
गाउँमै क्याम्पस स्थापना गरिसकेका थिए, तर बिपिनभित्र ज्ञानको तीर्खा अलि
चर्को थियो। ज्ञानको प्यासले छट्पटिएको बिपिनले +२ मा भर्ना भएदेखि नै यस्पछिको
अध्ययन काठमाडौंमा गर्ने अठोट गरिसकेको थियो। सङ्कल्प जति
महान भएपनि घरको अर्थतन्त्रले साथ दिने सम्भावना थिएन। +२ सकुन्जेल उस्माथि तीनौटा
बोझ थिए- घरको काम सघाउने, मेरिटमा पास गर्ने र काठमाडौंमा
जागीर खोज्ने। जागीरको लागि उस्ले कसैलाइ भन्न बाँकि राखेन। चिनेजानेकालाइ
मात्र हैन, चिनजान गरी-गरी पनि भन्यो। आफन्तलाइ भन्यो, शिक्षकलाइ
भन्यो, नेतालाइ भन्यो र साथिभाइलाइ भन्यो। उस्को अनुरोध र आग्रहलाइ अरु सवैले
एक कानले सुनेर अर्को कानले उडाइदिए, तर एकजना शिक्षकले भने गम्भीरतासँग लिए। उनैको सद्प्रयासबाट बिपिनलाइ काठमाडौंमा जागीर मिल्ने भयो।
खवर पाउनासाथ दौडेर काठमाडौं गयो, नियुक्तिपत्र लियो, क्याम्पस खोज्यो, अफिस र क्याम्पसको बीच पारेर डेरा
मिलायो र हस्याँङ्फस्याँङमै घर आइपुग्यो। भोलिपल्टै काठमाण्डौं फर्कनुपर्ने
भएकोले रातभरीमै आमाबाले सामलतुमलको भारी कसे। आमाले
गुन्द्रुक,मस्यौरा र सिन्कीका पोका बनाइन् र दालको झोलामा हालिन्। दुई बट्टा घिउ अलग्गै झोलामा हालिन्। बाबाले गुन्टा कसे र चामलको बोरा
बलीयोगरी बाँधे। सरसापट गरेर ७हजारजति रकम छोराको खल्तीमा राखिदिए।
भोलिपल्ट छोरालाइ रातो टीका र माला लगाइदिएर बसस्टपसम्म पुर् याउन गए।
बस हिंड्नुअघि बाबाले सम्झाउँदै भने,
“लाजिम्पाटका शरणहरि हाम्रो १३दिने दाज्युभाइ हुन्। हाम्रो हजूरबा एकै हुन्। एउटा हाँगो त्यहाँ पुगेको हो। जानेआउने गर्नु।”
“उनीहरु त
कहिल्यै यता आएका छैनन्। देखादेखसम्म भएको छैन। एक्कासी कसरि
नाता जोड्दै जानु?” बिपिनले असहजता दर्शायो।
“हाम्रो त बोट
एउटै होनि ! हाँगा मात्रै पो फरक त। पितृहरु एउटै हुन्। जबर्जस्ती नाता जोड्न खोजेको त
हैननि। जानुपर्छ छोरा,यो त गाढा रक्तसम्बन्ध पो होत।” बाबाले अलि बढि नै जोडवल गरे। छोराले
टाउको हल्लाएर स्वीकार् यो। “लाजिम्पाटमा फलानो मन्दीरको ठीक सामुन्नेको रातो
बङ्गला”, बाबाले लोकेशन सम्झाए।
काठमाडौं पुगेपछि बिपिनलाइ
सेटिङ्ग मिलाउन र दिनचर्या ब्यवस्थित गर्न २हप्ता लाग्यो। दिनभरी अफिस, बेलुका
क्याम्पस र भातभान्छा, उस्लाइ भ्याइनभ्याइ नै थियो। तैपनि बाबाको आज्ञा शीरोपर
गरेर शनिबार बिहान मन्दीर अगाडीको रातो बङ्गलामा पुग्यो। बङ्गला जति भब्य
थियो,त्यही अनुसारको पर्खाल थियो। गेटमा कलीङ बेलको स्वीच रहेछ, थिच्यो। कुकूरको
भयानक स्वरले एकपल्ट तर्स्यो। १३/१४बर्षकी किशोरीले गेट खोलिन् र “को,कहाँबाट आउनुभएको र कस्लाइ खोज्नुभएको” सोधिन्। तीनको
बडील्याङ्ग्वेज र सोधाईको शैली यती यान्त्रिक थियोकि आफूसँग एउटी किशोरीले हैनकि
एउटा रोबोटले डील गरिरहेछ जस्तो भान हुन्थ्यो। तीनलाइ सायद हरेक अपरिचितसँग यस्तै
प्रश्न सोध्न र यसैगरी डील गर्न प्रशिक्षीत गरिएको थियो। प्रश्नहरुको जवाफ दिएपछि
किशोरीले बिपिनलाइ भित्र लगिन् र बैठक कोठामा राखिन्। धेरैवेरसम्म बैठक कोठामा
एक्लै धुम्धुम्ती बसिरह्यो।
बैठक कोठा ठूलो र भव्य थियो। महँगा
सामगृ र कलाकृतिले सजाइएको थियो। बैठक कोठा भएरै घरका मान्छे ओहोरदोहोर गरिरहेका
थिए। कसैकसैले उस्लाइ क्वार्क्वार्ती हेर्थे, तर एक शब्द नवोली निस्कन्थे। झण्डै
एकघण्टा बितेपछि तीनै किशोरीले एक कप चिया ल्याएर राखिदिइन्। त्यही बेलामा भित्रको
गुनगुन आवाज सुनियो। कान ठाडो पारेर निकै ध्यान दिएर सुन्यो। उस्कै बिषयमा कुरा
भैराखेको रहेछ।
“किन आएका रहेछन्
?” एउटाले प्रश्न गर् यो।
“केही परेरै त
आएका होलान्। केही नपरी के आउँथे ? भन्लान् नि।” जवाफ सुनियो।
त्यतिन्जेलमा उस्ले एक घुट्को चिया पिइसकेको थियो। बाँकी चिया पिउने त परको
कुरा, उ त्यहाँ एकमिनट बस्न नसक्ने भयो। चिया त्यत्तिकै छाडेर कसैलाइ नसोधी सरासर
बाहिर निस्क्यो।
*** *** ***
जीवनको ८बर्ष बितिसकेछ। बिपिनलाइ अहिलेपनि भ्याइनभ्याइ नै छ। फरक यत्ती हो, ८बर्षअघि
बिद्यार्थीको भ्याइनभ्याइ थियो, आज प्राध्यापकको भ्याइनभ्याइ छ। दुइटा क्याम्पसमा पढाउँछ, परिवार र सन्तानको जिम्मेवारी पनि थपिएको छ। भर्खरै गाउँबाट बाबाले फोन गर्नुभो, “हरिशरण
बितेछन्,हाम्रो १३दिने दाज्युभाइ हुन्, जुठो लाग्छ, ५दिन नुन छाड्नु र चोखो खानु
है बाबु।” तीनै हरिशरण जस्को घरमा बिपिनले ८बर्षअघि १घण्टा
बिताएको थियो र जुन घरका मान्छेले उसँग एक शब्द मिसाएनन्। जस्ले सामान्य
मान्छेसँग गर्ने ब्यवहार समेत् गरेनन्, आज तीनैको लागि नुन छाड्नुपर्ने ? यो प्रश्न बिपिनको मनमस्तिष्कभरी डम्म भएर बस्यो। यही प्रश्न बोकेर बिपिन अहिले हाम्रो जमघटमा आइपुगेको छ र प्रश्न हामीलाइ
तेर्स्याएको छ। हामीले जवाफ दिन सकेका छैनौं। तपाईंसँग जवाफ
छकि ?
No comments:
Post a Comment