गङ्गाबहादुरको
अन्तरङ्ग
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
सधैंझैं आजपनि
गङ्गाबहादुर लामाले भारी हालेर उन ल्याए। मिहेनत गरेर सम्पूर्ण उन रङ्ग्याए।
रङ्ग्याएको उनलाइ पुन भारी हालेर पु-याए। त्यती सकेर घर फर्कंदा चार, साढेचार
बजिसकेको हुन्छ। सधैंको रुटिन अनुसार गङ्गाबहादुरले यस्पछिको टाइमलाइ कपन वरिपरी,
काठमाडौंको निर्वाचन क्षेत्र नं ४ का जनतासँग सुखदुख बाँड्नको लागि छुट्याएका थिए।
तर, आज रुटिन अनुसार जनताको छेउमा गएनन्। घरभित्रै सोचमग्न बसे। सोच्दै आफ्नै
विगततिर फर्किए। काभ्रे, गोठपानीमा जन्मिएपनि केटाकेटीमै काठमाडौं, कपनमा आएकोले
जन्मस्थलको धमीलो सम्झना मात्र रहेछ। युवावस्थामा काठमाडौंका रेष्टुरेण्टमा काम
गरेको पैसाले जीवन रमाइलैसँग बितेको थियो। २०३६ साल देखि नै नेकपा मसालका
साथीहरुसँग सङ्गत बढेकोले पार्टीका कामहरु गरिदिने गर्थें। २०४४ सालदेखि सङ्गठितै
भएर पार्टी काम गर्न थालें। २०५२ सालमा त जनयुद्धमै हेलिएँ। जनयुद्धको शुरुकालमा
काठमाडौंको बौद्ध, चावहील र महाङ्काल एरियामा पोष्टर टाँस्ने र पर्चा बाँड्ने
कामको जिम्मा मेरो भागमा थियो। पछि पार्टीले धादिङ र त्यहाँबाट मकवानपुर खटायो।
मकवानपुरका कतिपय साथीहरुको कार्यशैली र ब्यवहारले मन कुँढिएको र चित्त दुखेको
थियो। त्यहाँदेखि लमजुङ खटिएकोले मकवानपुरका साथीहरुको क्षुद्र ब्यवहारबाट मुक्ति
मिल्यो। लमजुङमा वातावरण मिलेकोले काममा निकै खटियो। एकदिन अचानकै सेनासँग
आमनेसामने हुन पुगियो। आफूलाइ जोगाउँदाजोगाउँदै खुट्टामा गोलि लाग्यो। गोलि लागेको
खुट्टा घिसार्दै, लुक्दै, छल्दै एकठाउँमा लुकेर बसें। तीन दिनसम्म एक्लै भोकप्यास
सहेर बसें। खुट्टाको घाउमा स्याउँस्याउँति किरा पर्न थाल्यो। बाँच्ने दिन सकिएछ
जस्तो लाग्न थालेको थियो। तै, एकजनाले देख्नुभयो र उद्धार भयो। हारगुहार गरेर
भरतपुर अस्पतालमा पु-याए। घाउ कुहिएर किरा परिसकेकोले खुट्टा काट्नुप-यो। उपचार
सकेर पार्टी काममै फर्कें। बाबुराम भट्टराईको विचारलाइ समर्थन गरेको भनेर
पार्टीभित्र सधैं अछुत जस्तो ब्यवहार गरिरहे। तैपनि, आफ्नो ब्रह्मले देखेको र
विवेकले ठहर गरेको दृष्टिकोण नै राख्थें। शारिरीक क्षति र आफ्नै नेता र
सहयोद्धाहरुको सङ्कीर्ण व्यवहारले मलाइ रत्तिभर विचलित गराएको थिएन। लोकतन्त्रको
खुला परवेशमा आइपुग्दासम्म पनि म आशावादी नै थिएँ। अर्थमन्त्री भएका बेलामा समेत्
बाबुरामले वास्ताव्यास्ता नगरेपछि गुटबन्दी भित्रको मान्छे ह्वैनरहेछ भनेर बल्ल
वुझेछन् साथीहरुले। प्रधानमन्त्री भएका बेलामा समेत् बाबुरामले नसम्झेपछि ममाथि
अन्याय भयो भन्ने ठानेर पार्टी कमिटीले नै सिफारिश गरी प्रधानमन्त्री कार्यालयमा
राख्न दबाव दियो। मैले पार्टीमा प्रवेश गराएका र प्रशिक्षित गरेका व्यक्तिहरुलाइ
मन्त्री र राज्यमन्त्री सरह तलब, भत्ता, सुविधा पाउनेगरी माथिल्लो हैसियतमा
राखिएको थियो। पार्टी कमिटीको सिफारिसमा नियुक्ती गर्नुपरेकोले होला, मलाइ शाखा
अधिकृत सरह तलब पाउनेगरी नियुक्त गरियो। कताकता ह्युमिलिएशन भैरहकै थियो। तैपनि,
अपमानको घुट्कोलाइ भित्रभित्रै पचाएर काममा दत्तचित्त हुन खोजें। जति-जति काम
गर्दै जान्थें, त्यति-त्यति घिनलाग्दा दृश्यहरु मात्र देख्न थालें। विजय गच्छेदार,
महेन्द्र यादव लगायत मधेशी मन्त्रीहरुले हुँदोनहुँदो जेपनि गर्थे। त्यस्ता
निकृष्ट, पतित काममा बाबुरामले पूर्ण संरक्षण मात्र गरेनन्, साथ नै दिए। निरन्तर
यस्ता भल्गर दृश्य हेर्नुपर्दा मलाइ बान्ता आउला जस्तो हुनथाल्यो।
सोच्दासोच्दै धेरै समय वितेछ। भूईंमा गोडा
तेर्स्याएर भित्तामा अडेस लाएर बसेका थिए। गोडा निदाएको महसुस गरेकाले बिस्तारै
उठे। बैशाखीको सहारा लिएर भाञ्छामा गए। कालो चिया बनाए। चिया लिएर पुन पोजिशन
मिलाएर बसे। र अन्तरङ्ग सोचको शिलशीला अघि बढाए। सम्झे, एकदिन प्रधानमन्त्रीको
निवासमा थिएँ। डस्टबिनमा मिल्काउन ठीक पारेका कागजको थुप्रोमा एउटा २ पेजको पेपर
भेटें। २०६४ साल साउनमा बालाजुमा भएको पार्टीको पाँचौं विस्तारित बैठकमा अखिल
क्रान्तिकारीका तत्कालीन अध्यक्ष लेखनाथ न्यौपानेजीले पेश गर्नुभएको पेपर रहेछ।
त्यस्मा लेखनाथजीले, "जनताका छोराछोरीलाइ लडाईंको मोर्चामा हेलेर आफ्ना
सन्तानलाइ देश\विदेशका महँगा निजी (बोर्डिङ) स्कुल र कलेजमा राखेको" भनेर घोर
आपत्ति जनाएका रहेछन्। पढेर आश्चर्य लाग्यो। यस बिषयमा धेरैलाइ सोधें। सबैले
पुष्ट्याईं गरे। जनयुद्धकालमा रामबहादुर थापा 'बादल' ले आफ्नो छोरालाइ देहरादूनमा
राखेर पढाएका रहेछन्। त्यही बेलामा हरिभक्त कँडेलले आफ्नो छोरालाइ बाङ्ग्लादेशको
मेडिकल कलेजमा राखेर पढाएछन्। जनयुद्ध कालमै टोपबहादुर रायमाझीले दिल्लीमा,
दीनानाथ शर्माले नोयडामा, प्रचण्डले जालन्धरमा राखेर छोराहरुलाइ पढाएका रहेछन्।
बाबुरामले पनि आफ्नी छोरीलाइ इण्डियामै राखेर पढाएछन्। मातृका यादवले
जनयुद्धकालभरी छोराछोरीलाइ पटनामा राखेर पढाए, र लोकतन्त्र आउनासाथै छोरालाइ
ब्याङ्कक पठाए। सीपी गजुरेलले पनि आफ्ना छोराछोरीलाइ जनयुद्धको हावा लाग्न दिएनन्।
यति वुझिसकेपछि वुझ्न बाँकि केही देखिएन। शाखा अधिकृत सरहको पदलाइ लात मारेर
हिंडें। कपन एरियाका जनतासँग धेरै घुलमिल भैसकेको छु। धेरैले मलाइ चुनावमा
उठ्नुपर्छ भनिरहेछन्। पार्टीले त हामीजस्तालाइ पक्कै टिकट दिने छैन। जनताको माया र
विश्वास कमाएको छु। स्वतन्त्र नै खडा हुन्छु। यति अठोट गरेपछि गङ्गाबहादुर
लामाभित्र कसीलो विश्वास र अदम्य साहस जाग्यो। मुठ्ठी कस्दै जुरुक्क उभिए।
अगस्त 14, 2013
No comments:
Post a Comment