किउलको खेतालो-बाहुन।
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
जीवनभरी सङ्घर्ष
गर्दापनि आफ्नो भागमा दु:ख, कष्ट र पीडा मात्रै परेकोले र कम्युनिष्ट पार्टीले
सधैं सीमान्तिकृत वर्गको कुरा गरेकोले होला सोमप्रसाद भण्डारीलाइ कम्युनिष्ट
पार्टीसँग अलि बढी नै आशा र भरोशा थियो।
तर, ५\६ बर्ष यता आफ्नै घरगाउँमा आएका कम्युनिष्ट पार्टीका जिल्ला स्तरीय
नेताहरुले सधैं जात र सम्प्रदायको मात्र कुरा गर्न थालेपछि सोमप्रसादको मन भरङ्ग भयो।
सिन्धुपाल्चोकका जिल्लास्तरीय कम्युनिष्ट नेताहरु किउल गाबिसमा बारम्बार आइरहन्थे।
बाहुनहरु सबै शोषक, ठालु हुन् 'रे। अब बाहुनका सन्तानले केही पाउँदैनन् भन्नथाले।
हिजो पार्टी नफुट्दै माओवादी पार्टीका जिल्ला नेताले यही भन्थे, अहिले फुटेर बनेको
ड्यास माओवादी पार्टीका जिल्ला नेताले पनि यही भने। जात, सम्प्रदायको राजनीतिलाइ
"पहिचानको राजनीति" भन्नु भनेर सम्झाए। सोमप्रसादलाइ असह्य भयो।
जिन्दगिभरी दु:ख गर्दा यति पीडा भएको थिएन, जति कम्युनिष्ट पार्टीले वर्ग सङ्घर्ष
र वर्गीय दृष्टिकोण छाडेर जातमा हाम्फालेकोमा भयो। केन्द्रीय नेताको मुखबाट
नसुनुञ्जेल सोमप्रसादलाइ पत्याउन गाह्रो परेको थियो। सिन्धुपाल्चोकको सदरमुकाम
चौतारामा पार्टीले ठूलो कार्यक्रम राखेको छ, केन्द्रीय नेताहरु पनि आउँछन् भन्ने सुनेर
त्यतै हान्निए।
ठूलो कार्यक्रमको ठूलै भीडभाड। केन्द्रीय
नेताहरु त थुप्रै आएका रहेछन्। केही परिचित र कतिपय अपरिचित अनुहारहरु। २० बर्षअघि
आफ्नै जिल्लाको हाइस्कुलमा पढाइरहेका शिक्षकपनि केन्द्रीय नेता भएका रहेछन्। एकजना
जिल्ला नेताको मद्दत लिएर सोमप्रसादले केन्द्रीय नेतासँग भेट्ने धोको पूरा गरे। जिन्दगिभरी
बेसाएको दु:खको पोको फुकाए। जिन्दगिको यो मुकाममा वर्ग छाडेर जातमा ओर्लँदा कहाँ
न्याय होला भनेर प्रश्न राखे। गुनासो सबै सुनिसकेपछि केन्द्रीय नेताले भने,
"के गर्नु कामरेड, पार्टीले वर्गसङ्घर्ष छाडेर जातको राजनीतिमा जाने निर्णय
गरिसक्यो। बरु, जातको राजनीतिलाइ 'पहिचानको राजनीति' भन्नुपर्ला।" यो प्रष्ट
कुरा सुनिसकेपछि सोमप्रसादको लागि सुन्न केही बाँकि रहेन। केन्द्रीय नेतासँग
विदावादी भएर हिंडे।
संशय, द्विविधा केही वाँकि रहेन। सबै
छ्याङ्ग भयो। तिब्र भोकको अनुभूति भयो। केन्द्रीय नेतासँग भेट्ने व्यग्रताले गर्दा
सायद भोकप्यास सबै किनारा लागेका थिए। एक्कैचोटी भोक, प्यास र थकाइको महसुस गरे र गल्लीको
एउटा रेष्टुराँमा छिरे। टन्न पानी पिए। तारेको चना एक प्लेट र चियाको अर्डर गरेर
कुनाको कुर्सीमा बसे। चना खाइसक्दानसक्दै आफ्नै जीवनको विगततिर झाँकेर हेरे।
सिन्धुपाल्चोकको किउल गाविसमा २०१५ सालमा जन्मेका रहेछन्। जान्ने भएदेखि जमिन्दारको
खेतालाबाहेक आफ्नो अरु परिचय थाहा छैन। किउलमा एउटा सानो झुप्रो छ, जहाँ उनीसँगै
अभाव, दु:ख र पीडा बस्ने गर्छन्। उनीजस्तै साहुका खेतालाहरु उनको वडामा मात्रै ५०
परिवार छन्। बिडम्बना के छभने खेताला परिवारमा अधिकांश बाहुनहरु छन्, तर जनजातिमा दरिएकाहरुचाहीं
साहु हुन्। उनीजस्ता जन्मदै खेतालामा दरिएका
बाहुनहरु जताततै छन्। जस्ले अक्षर चिन्न पाएनन्। खेतालामा दरिएका यी बाहुनहरु खेत
जोत्न, बारीको डल्ला फोर्न र घाँस काट्न जाँदा ती आदिवासी भनिएका र जनजातिमा
दरिएका साहुका छोराछोरी स्कुल, कलेज गैरहेका हुन्थे।
२०३४ सालमा उनी १९ बर्षका थिए। उपेक्षित र
तिरस्कृत जीवनदेखि वाक्कदिक्क भएर एकरात १२ वजेतिर घरबाट निस्के। अर्को दिन बेलुका
काठमाडौं आइपुगे। पेटीमै बास बसे। एउटा ट्रक चढेर जनकपुर पुगे। एउटा स्कुलमा भात
पकाउने काम गरे। "बर्म गएपनि कर्म सँगै" भनेजस्तो त्यहाँपनि जीवनको
मुहारमा उज्यालोको किरण छिरेन। कुनै सम्भावना नदेखेपछि सिन्धुपाल्चोकको किउलमै
फर्केर आए। किउल फर्केको दिन "घुमिफिरी रुम्जाटार" उखान सम्झे। आफूजस्तै
जीवनभरी साहुको खेताला बसेका दु:खीहरु बटुलेर २०५० सालमा "भूमिअधिकार
मञ्च" गठन गरे। अरुथोक केही गर्न नसकेपनि "भूमिअधिकार मञ्च"को
देशव्यापी सञ्जाल छ। भूमिअधिकार मञ्चको प्रसङ्ग आउनासाथ झट्ट सम्झे, "हाम्रो
भूमि अधिकार आन्दोलनलाइ यी पार्टीहरुले प्रयोग गर्न निकै कोशिस गरेका छन्।
पार्टीको भित्र्याँस आज छयाङ्ग देखें। हाम्रो यो अभियानलाइ पार्टीहरुको भ-याङ
बनाउन दिन्न।" यो अठोट र सङ्कल्प
गरिसक्दा अनायासै मुठी कस्सियो। कस्सिएकै मुठी लिएर जुरुक्क उठे।
अगस्त १९, २०१३
No comments:
Post a Comment