असङ्ख्य भगन र
पार्वतीहरु
- आनन्दराम पौडेल\ anandarampaudel@yahoo.com
पत्रकारिता पेशामा
आउँदा रविले सञ्जयलाइ आदर्श बनाएको थियो। महाभारतका सञ्जयले कुरुक्षेत्र युद्धको
रिपोर्टिङ गरिरहँदा घटनाको प्रभावबाट आफूलाइ मुक्त राखेका थिए। युद्धमा सञ्जयले
सर्वाधिक माया गरेका आफन्तजन र दुश्मनहरु सामेल थिए। युद्धमा भएका एक-एक घटना
सञ्जयले छर्लङ्ग देखिरहेका थिए। आखिर सञ्जयपनि मनुष्य नै थिए। आफन्त घायल हुँदा र
मारिंदा गहीरो पीडा तथा दुश्मन तड्पिंदा र मारिंदा सन्तोषको अनुभूति हुनु
स्वाभाविक थियो। १८ दिनसम्म चलेको महाभारत युद्धभित्र भएका एक-एक घटना नबिराइ
रिपोर्टिङ गरे, तर त्यस्मा आफ्नो निजी भाव मिसिन दिएनन्। यस्बाट प्रभावित भएरै
रविले सञ्जय-शैलीलाइ अनुशरण गर्ने निश्चय गरेका थिए। निश्चय गरे अनुसार रविले
व्यबहारमा लागु गर्दै आएका पनि हुन्। तर, एउटा घटनामा निकै कठिन प-यो।
साउन ३२ गते दिनभरीको काम सकेर खाजा खान माइस्थान
चौकमा आइपुगेका थिए, गएराति एकजना महिलालाइ लखेटी-लखेटी कुटेर मारे भन्ने अधुरो
खवर सुन्यो। राष्ट्रिय मेडियाको रिपोर्टर भैसकेको नाताले, को मारियो ? कहाँको हो ?
कस्ले मा-यो ? र किन मा-यो ? यति तथ्य
पत्ता लगाइहाल्नु उस्को जिम्मेवारी र कर्तव्य भएकोले अर्डर गरेको खाजासमेत् खान
छाडेर जिल्ला प्रहरी कार्यालयतिर दौडिए। डिएसपी वासुदेव खतिवडा भेटिए। पर्सा, सुपौली
गाविस-९ सढीटोल बस्ने भगन चौधरीकी पत्नी ४५ बर्षीय पार्वतीदेवी चौधरीलाइ बोक्सीको आरोप
लगाएर गएराति मारेको भन्नेसम्म डिएसपीबाट वुझ्न सक्यो। अधुरो जानकारीको आधारमा हत्याजस्तो
जघन्य सम्बेदनशील घटनाको रिपोर्टिङ गर्न कठिन हुने भएकोले घटनास्थलमा जाने निश्चय
ग-यो। घटनास्थल वीरगञ्जबाट पश्चिमतिर ४० किलोमिटर टाढा रहेछ। मोटरसाइकल भएका अर्को
पत्रिकाको रिपोर्टर साथिलाइ बोलायो, र दुबैजना घटनास्थलतिर कुदे। सुपौली, सढीटोल
पुगेर जे वुझ्यो, त्यस्ले उस्को आङै सिरीङ्ग पा-यो। घटना मध्ययुगीन बर्बरतालाइ
बिर्साउने खालको थियो। ध्रुब महतो, बनारसी महतो, विसुनदेव महतो, अनिल चौधरी, धनराज
चौधरी, नवीन चौधरी, विश्राम चौधरी, पासपती, सीमाकुमारी र रेणुकुमारीहरु मिलेर साउन
३२ गते राती १२.१५ वजे पार्वतीलाइ घरबाट लछारपछार पार्दै घिसारेर निकालेछन् र
निर्घात चुट्न थालेछन्। गुहार माग्दै पार्वती पार्टीका स्थानीय नेताहरुका घर-घरमा
ढोका ढक्ढक्याउन पुग्दिरहिछन्, उनीहरु लखेटी-लखेटी चुट्दारहेछन्। गुहार माग्दै सबै
नेताका घरमा पुगिछन्। उनलाइ शरण दिने त परको कुरो, कुनैपनि नेताले 'नचुट' सम्म
भनेनछन्। १घण्टाभन्दा बढी यसरी लखेटी-लखेटी चुटेछन्। चुटाइ खाँदाखाँदै पार्वतीले
प्राण त्याग गरिछन्। प्रहरी चौकीमा नजाओस् भनेर ती हत्याराहरुले पार्वतीका पति भगन
चौधरीलाइ घेरेर बसेछन्। अरुले नगरेपनि नेताहरुले उनीप्रति सहानुभूति राख्लान् र
अत्याचारको बिषयमा बोल्लान् भनेर भगनले ठूलो आशा राखेका रहेछन्। बिहान उज्यालो
भएपछि नेताहरु आए, तर भगन चौधरीसँग १ शव्द मिसाएनन्, तिनै हत्याराहरुसँग भलाकुसारी
र सरसल्लाह गरेर बसेको देखेपछि भगन निकै निराश भएछन्। कसैगरी उम्कने बारेमा
सोच्दासोच्दै दिउँसोतिर हत्याराहरु गफमा मग्न भएको मौका छोपी भगन सुटुक्क भागेछन्।
सबैको आँखा छलेर प्रहरी चौकी पुग्न भ्याएछन्। यसरी यो खबर बाहिर आउन सकेको रहेछ।
भदौ १ गते बिहान उठेदेखि नै रविको दिमाग
रन्थनिरहेको थियो। हिजोको घटनाले भन्दापनि राजनीतिक पार्टीका स्थानीय नेताहरुले
खुलेरै हत्यारालाइ साथ दिएको बिषयले उनको दिमागलाइ उथलपुथल गरिरहेको थियो। राजनीतिक
पार्टीका ठूला नेतालाइ भेटेरै उद्वेलित विचार राख्ने निर्णय लिए। नेपाली
कांग्रेसका नेता सुरेन्द्र चौधरीको घरमै पुगेर कुरा राखे। सबै कुरा सुनेपछि
सुरेन्द्र चौधरीले भने, "अहिले भर्खर सिडिओ र एसपीसँग फोनमा कुरा हुँदा
उनीहरुले यो घटनाको बिषयमा मलाइ बताएका थिए। यो त तपाईंहरुले कार्यवाही गर्ने बिषय
हो भनिदिएको थिएँ।"
"यसरी पन्छिन
मिल्छ ? तपाईंहरुको कर्तव्य, जिम्मेवारी र दायित्व हुँदैन ?" भगनको
आक्रोशसमेत् मिसाएर रविले पुन सवाल राखे।
"कसरी पन्छिएको
भन्नुहुन्छ ? हामीले के गर्न सक्छौं ?"
"तपाईंको
पार्टीका स्थानीय कार्यकर्ताहरु अपराधीलाइ जोगाउन कम्मर कसेर लागेका छन्।
तिनीहरुलाइ न्यायको पक्षमा उभिनु भन्नुपर्ने होइन ?"
"म एउटाले आदेश
गरेर के हुन्छ ? कस्ले टेर्छ ?"
रविले कुरा वुझे।
बिदाबादी भएर हिंडे। नेकपा एमालेका जिल्ला संयोजक चिरञ्जीवी आचार्यलाइ फोन गरे।
पार्टी कार्यालयमा रहेछन्। यही कुरा राखे। चिरञ्जीवीले भने, "सामाजिक जागरणका
बिषयमा जिल्लामा कुनै अभियान छैन। कसैले यस्तो कार्यक्रम राखेमा हामी सहयोग गर्न
तैयार छौं।"
एमालेको धारणा वुझे।
एनेकपा माओवादीको धारणा वुझ्न पार्टीअफिसमा फोन गरे। ठूलै नेतासँग सम्पर्क भयो।
फोनमै लामो भाषण ठोके। भाषणको सार थियो, वहुमत जनताले जे गर्छन् त्यही ठीक
मान्नुपर्छ र उनीहरुले जे भन्छन् त्यसैलाइ सत्य ठान्नुपर्छ।
राष्ट्रिय पत्रिकाहरुले नै यो घटनाको
समाचार राख्दा पत्रिकैपिच्छे भगनको नाम बिगारेर फरक-फरक लेखेका रहेछन्। होच्याईंअर्घेल्याईं
सहेका, पिल्सिएर रहेका सीमान्तिकृतहरुलाइ राजनीतिक पार्टीहरुले त पीडा दिए-दिए,
मेडियाले समेत् आलो घाउमा नुनचुक थप्ने काम गरेको देखेपछि पत्रकार भएको नाताले
रविले आत्मग्लानि महसुस गरे।
Saturday, 24
August 2013
No comments:
Post a Comment