बैद्यबाको अन्तरङ्ग
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
आकाश छ्याङ्ग भएर होला,
बाक्लो बादल देखिनासाथ गह्रुङ्गो भैहाल्ने बैद्य बाको छातिपनि आज हलुका भएको छ।
साँझ छिप्पिसकेको छ। पार्टीका नेताहरु चाँडै हिंडेकाले बैद्य बालाइ आज फुर्सद मिलेको
छ। बल्लबल्ल मिलेको फुर्सदको समयलाइ आत्मसमीक्षामा लगाए। घोत्लिएर सोचे, 'दु:खकष्ट
गरेर र पूरै जीवन बिछ्याएर आफैंले निर्माण गरेको पार्टीमा बिद्रोह गरियो। पार्टी
फुटाइयो। नेतृत्वले सिद्धान्त, विचार र दर्शनलाइ चटक्कै छाडेर बिचलनमा गएपछि कसरी
सहनु ? सहन सकिएन। एमालेले कम्युनिष्ट आदर्श र समाजवादी दर्शन छाड्यो भनेर आलोचना
गर्थ्यौं। तर, बिडम्बना के भयोभने जुन गतिमा एमाले स्खलित भएको थियो, त्यस्को
दशगुना तिब्र गतिमा हाम्रा नेताहरु स्खलित भए। पार्टी सुधार्न सकिन्छकि भनेर
हामीले भरमग्दुर प्रयास ग-यौं। गलत प्रवृत्तिका विरुद्ध बेस्सरी आवाज उठायौं।
हामीले विकृति र गलत प्रवृत्तिका विरुद्ध आवाज उठाउन थालेपछि प्रचण्डले विकारहरु
उधिनी-उधिनी देखाए र त्यसविरुद्ध हजार गुना चर्को आवाज बुलन्द गरे। २०६७ पुस २१
गते सम्पन्न भएको पार्टी केन्द्रीय समितिको बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदनमा
विकृतिहरु यसरी औंल्याएका थिए: "पार्टीभित्र सम्पन्न र विपन्नका अलग-अलग वर्ग
बन्न थालेका छन्। माथिदेखि तलसम्मका केही सीमित पदाधिकारी वा टाठाबाठाहरुको
दिनप्रतिदिन वर्गउत्थान हुँदै जाने र कार्यकर्ताहरुको विशाल पङ्क्ति बेरोजगारी,
अभाव र उत्पीडनको सिकार बन्दै जाने गम्भीर स्थितिको विकास भैरहेको छ। यतिमात्र
ह्वैन, पार्टीमा आर्थिक अराजकता व्याप्त छ। सँगसँगै भ्रष्टाचार, तस्करी र
जवर्जस्ती प्रवृत्तिका भयानक विकृतिहरुले टाउको उठाइरहेका छन्।" प्रचण्डले
औंल्याएका उक्त विकृतिहरु पढ्दा लागेको थियो, प्रचण्डले पार्टीलाइ चीरफार र
अप्रेशनै गरेर रोगजति सबै निकालेका छन्। उनले लेखेका थिए: "आज हाम्रो
पार्टीमा जनवादी केन्द्रीयताको परिचालन समाप्तप्राय हुन थालेको छ। कमिटी प्रणाली,
सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी, आलोचना र आत्मालोचनाको पद्धति भताभुङ्ग
भएका छन्। कमिटीहरु यति ठूला र भद्दा बनेका छन् कि उद्देश्यमूलक र प्रभावकारी छलफल
सम्भव नै हुँदैन। माथिदेखि तलसम्म गुटबन्दी, अराजकता, अस्वस्थ प्रतिस्पर्धा र
नोकरशाही प्रवृत्तिहरु मौलाउँदै गएका छन्।" पार्टीलाइ थला पारेका यस्ता
भयङ्कर डरलाग्दा रोगहरु डाइग्नोसिस गरिसकेपछि, हामीलाइ लागेको थियो प्रचण्डले
रोगको उपचार गर्नेछन् र पार्टी स्वस्थ बनाउनेछन्। पछि बिस्तारै वुझियो, योपनि
प्रचण्डको चतु-याईं रहेछ। पार्टीभित्र फस्टाएका विकृतिहरु हामीले कोट्याउन थालेपछि
हामीलाइ उछिनेर झन् डरलाग्दा भयङ्कर रोगहरु देखाउँदै आफू पार्टीप्रति अतिसय
गम्भीर, चिन्तित र जिम्मेवार भएको देखाउन खोजेका रहेछन्।' बैद्य बा आफ्नै अन्तरङ्ग
संसारभित्र आत्मालापमा मग्न थिए, खोकिले ध्यान भङ्ग ग-यो। १ मिनेटसम्म खोकिरहे। २
हप्तादेखि दमले एट्याक् गरेको थिएन। दम आउने होकि भनेर चिन्ता लिए। लामै समयसम्म
चर्को खोकेको सुनेर भतिजो दौडँदै आयो। तुलसी-चिया बनाउन अह्राए। तुलसी-चियाको
चुस्कि लिंदै पुन: अन्तरङ्ग संसारभित्रै घोत्लिए। सोचे: "प्रचण्डले असहमत र
क्रिटिकल जति सबैलाइ निर्ममतापुर्वक सिध्याउँदारहेछन्। बाबुरामलाइ तह लगाउन खोजेकै
हुन्। पहिले मोहनबिक्रमले निर्मल लामालाइ जासुस, सिआइडी, गुप्तचर भनेर व्यापक
प्रचार गरेजस्तै प्रचण्डले रामबहादुर थापा 'बादल' लाइ 'लिन पियाओवादी' भनेर
सर्कुलर गरे। २०६२ असोजमा चुनवाङ बैठकबाट पार्टीलाइ रसातलतिर मोड्ने सूर रहेछ,
त्यस्को बाधक हुनसक्ने ठानिएका हामी सबैलाइ एक-एक गरी भारतमा पक्डाउने काम गराएको
भनेर साथिहरुले आशङ्का गरेका छन्। पार्टी विचलनमा गयो। गलत बाटो र दिशातिर मोडियो।
गोलखाडीमा भासियो। समग्रमा पार्टी बिद्रुप भयो। यो सब हुनुमा के प्रचण्डको मात्र
दोष थियो त ? मबाट पनि गल्ति भएको होला। 'प्रचण्डपथ' को गर्भाधान मैले गरेको भनेर
स्वीकार्नुपर्छ। २०५७ मा भारतमा भएको पार्टी सम्मेलनबाट 'प्रचण्डपथ' लाइ अनुमोदन
गराइयो। पार्टी, सेना र मोर्चा तीनवटै अङ्गको कमाण्डर बनाई पुष्पकमललाइ पार्टीको
समानान्तर संस्थाको रुपमा स्थापित गर्ने र 'प्रचण्डपथ'लाइ पार्टी र क्रान्तिको
मार्गनिर्देशक सिद्धान्त भनि व्याख्या गर्ने काममा मेरोपनि सकृयता रह्यो।"
तुलसी-चियाले निकै राहत दिएछ। बसाईको पोजिशन अलिकति बदले। र अन्तरङ्गमै घोत्लिए।
सोचे: "हामीले निर्वाचन बहिस्कार
मात्र हैन, निर्वाचन विरुद्ध भौतिक आक्रमण नै गर्ने तैयारी गरेका छौं भनेदेखि
हाम्रो यो निर्णयमा चौतर्फी आलोचना भैरहेछ। जनमत सङ्ग्रहमा तत्कालीन नेकपा-मालेले
बहिस्कार घोषणा गरेर ऐतिहासिक भूल गरेको थियो भनेर उदाहरण दिईरहेछन्। पार्टी
सङ्गठनलाइ विस्तार र सुदृढ नगरी निर्वाचनमा भाग लिने होभने २०५६ सालको निर्वाचनमा
नेकपा-मालेले पाएको पोजिशनमा हाम्रो पार्टी पुग्ला भन्ने भय पनि छ। यो जोखिम
मोल्नुभन्दा निर्वाचनविरुद्ध खडा हुनु नै बुद्धिमानी हो।" यो ठहरसँगै दिमागको
वोझ निकै हल्का भयो। चिन्तामुक्त हुनासाथ निन्द्राले झ्याप्प पा-यो। आज खाना नै
नखाई लुटुक्क सुते र भुसुक्क निदाए।
शुक्रवार, सेप्टेम्बर 20, 2013
No comments:
Post a Comment