सारजउद्दिन सामतको
दु:ख।
-आनन्दराम पौडेल\ anandarampaudel@yahoo.com
होमजी नेपाली
दूतावास, कतार पुग्दा तिनीहरु आ-आफ्ना दु:खका गाथा सुनाउँदैरहेछन्। दु:खी
नेपालीहरु ३२ जना एउटै कोठामा बसेका थिए। होमजी पुग्दा आफ्नो व्यथा-कथा भन्ने पालो
सामतको थियो। सामत, अर्थात् सारजउद्दिन सामत। आफ्नो विगत ओकल्नुअघि सामतले कपडा
फुकाल्यो र खत गन्न लगायो। १४५ भन्दा बढी खत थिए। "ओहो ! १४५ भन्दा बढी खत
रहेछन् हगि ? मैले त गनेकै थिइन।" खत संख्याको बिषयमा यत्ति भनेर सामतले
आफ्नो विगत सुनायो- "मेरो घर कमरिया गाविस, रुपन्देहीमा छ। २०६३ सालको कुरो
हो। एक दिन साथिहरुसँग थिएँ। खाजा खाउँ भने। गाउँकै भट्टीपसलतिर लागे। हामी
मुसलमानहरु भट्टीपसलमा गएको जातबिरादरीले राम्रो मान्दैन। त्यस्माथि गाउँकै
भट्टीपसलमा नजाउँ भनें। तर, साथिहरुले ठेलठाल गरेर लगे। हामी पुग्दा केही केटाहरु
रक्सी,मासु खाँदैथिए। तीमध्ये दुइटा केटाले हामीलाइ घोचपेच गरेर, निकै होच्याएर
अण्टसण्ट भनिरह्यो। मैले रक्सी खाएको थिइन। मैले तिनीहरुलाइ निकै सम्झाएँ। तिनीहरु
उल्टै ममाथि नै जाइलाग्न थाले। अति भएपछि मेरो कन्सिरी तात्यो। कठालो समातेर
एकजनालाइ थप्पड हान्यौं। तिनीहरु भागे। तिनीहरु माओवादी रहेछन्। भोलिपल्ट १५-१६
जनाको हूल लिएर आए। तिनीहरुले घेरेर मलाइ जङ्गलमा लगे। तिनीहरु सबैसँग ब्लेड रहेछ।
ती सबैले मेरो जिउभरी ब्लेडले चर्चरी चिरे। नुनचुकपनि ल्याएका रहेछन्। चिरेको
घाउमा नुनचुक दलेर हिंडे। नुनचुक दलेपछि मैले खप्न सकिन। न्वारानदेखिको बल निकालेर
चिच्याएँ; चिच्याईरहें।"
सामत एकछिन चुप लाग्यो। उस्लाइ निकै ऐंठन
भएजस्तो देखिन्थ्यो। विगतको पीडाले निकै आहत गरेको महसुस गर्न सकिन्थ्यो। जे होस्,
सामतले आफूलाइ सम्हाल्यो र पुन आफ्नो विगत कहन थाल्यो। भन्यो- "निकै चर्कोसँग
धेरैबेर चिच्याएछु। सुनेर गाउँलेहरु आए। मलाइ स्थानीय डाक्टरकहाँ लगे। मेरो अवस्था
देखेर डाक्टर आफैं डरायो। गाउँलेले हामी जिम्मा लिन्छौं भनेपछि बल्ल मलमपट्टी
ग-यो। राम्रो उपचार हुन नसक्दा घाउहरु पाकेर पीप निस्किरहन्थ्यो। जिउ पूरै
गन्हाएको थियो। दुर्गन्धले गर्दा मेरो छेउमा कोही आउँदैनथे। गाउँलेले घरैपिच्छे
दुईचार सय उठाएर अस्पतालमा उपचार गराए। ३ महिना अस्पताल बसें। अस्पतालबाट आएर १
बर्षसम्म घरमै उपचार गरें। काम गर्न नसक्ने भएकोले १ बर्षसम्म गाउँलेले नै
पाले।"
सामतले एकछिन बिश्राम लियो। अघिजस्तो
ऐंठन नदेखिएपनि लामो स्वाश लियो। र, पुन अघि बढ्यो। भन्यो- "३२ बर्षको भएँ।
तीन छोरा र एक छोरी छन्। विपन्नताले गर्दा कसैलाइ पढाउन सकेको छैन। खाडीमा आएर
थोरबहुत वचाउँछु र छोराछोरी पढाउँछु भनेर कतार आएँ। खसी र भैंसी ३५ हजारमा बेचें।
मामासँग २० हजार, काकासँग १० हजार र बहिनी-ज्वाईंसँग साढेसात हजार सापटी लिएँ।
यसरी रु. ९० हजार जोगाड गरें, र स्थानीय एजेण्टलाइ वुझाएर कतार आएँ। यहाँ आएको ९
महिना भयो। आएदेखि तलब दिएन। श्रम अदालतमा केस गरेर ५ महिनाको तलब हात पारें। यहाँ
रहनसक्ने स्थिति छैन। पैसा नकमाइकन कुन मुखले घर जानु ?"
सामत एक्कैछिन अड्कियो। "लडेर छोरीको
हात भाँचिएको खबर आएको छ। सबै दुर्दशा एक्कैचोटी मैमाथि खनिएको छ।" यति
भन्दनभन्दै सामत भक्कानो छाडेर रुन थाल्यो। सबैका आँखा रसाए। कारुणिक दृश्य हेर्न
नसकेर होमजी पनि हिंड्नुभयो।
# # # # # #
"तपाईसँग
हर्षोल्लासका कथा छैनन्। किन सधैं आँसुको भेलभित्र डुबेका दु:ख, पीडा र सुस्केराका कथामात्र लेख्नुहुन्छ ?"
बहुभाषिक राष्ट्रिय कवि सम्मेलनमा भाग लिन हेटौंडा जाँदा हेटौंडाकी
साहित्यकार अनिता न्यौपानेले भनेकी थिइन्। होमजीले यो झन् हृदयविदारक कथा ल्याउनुभयो।
अनिताले के भन्लिन् भनेर एकपल्ट सोच्यो। अधिकांश अभागी नेपालीका कथा बिदीर्ण छन् त
यस्मा एउटा लेखकले के गर्न सक्छ ? यो सोचले लेखकलाइ बल मिल्यो। त्यही बलको ढाडसले
कथाकार यो कथा बोकेर सम्पादकको अफिसतिर लम्क्यो।
Thursday, 3
October 2013
No comments:
Post a Comment