Pages

Sunday, September 3, 2017

यस्तो पनि हुँदो रहेछ प्रयोग गर्ने तरिका



यस्तो पनि हुँदो रहेछ प्रयोग गर्ने तरिका
प्रा. डा. राजकुमार पोखरेल
माओवादी विद्रोहको थालनी हुँदा २०५२ सालमा म झापामा थिएँ । माओवादी कार्यकर्ता चतुरमान सिंह राजबंशी यो लोकमा आज छैनन् होला उनी त्यसवेला हाम्रा विद्यार्थी थिए । उनी माओवादीका चल्तापूर्जा कार्यकर्ता । कहिले कहिं हामीसंग विवाद हुन्थ्यो जव संगठन निर्माण, संस्कृति र कार्यकर्ताको आचरणको विषयमा कुरा चल्दथ्यो उनी पछि हट्दथे । माओवादी विद्रोहको सन्दर्भमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले संकटकाल लागू गर्नु भन्दा पहिले उनीसंगको एक दुई भेटमा उनले त्यसवेलाका थुप्रै माले कार्यकर्तालाई प्रयोग गर्ने माओवादी रणनीति अन्तरगत झापामा साँगठानिक जीवन सुरु गरेका थिए । एक पटक झापाको दुर्गापुरमा भएको उनकोप्रयोगको योजना भत्किए पछि दोस्रो सुरुङ्गाको भेलामा प्रयास गरे । तर त्यो पनि असफल भए पछि पहिलो र दोस्रो प्रयासमा प्रतिवाद गर्ने हामी केहीको अनुपस्थितिमा दमकमा तेस्रो भेला गरी उनले प्रयोगको थालनी गरे । तर आज त्यो प्रयासमा न आज उनी जीवित होलान् नत उनले प्रयोग गरेर बनाइएका मानिसहरु उनको संगठनमा क्रियाशील छन् । सायद बुझे पछि मानिसको बाटो तय हुन्छ । मलाई लाग्छ कुनै समय प्रणव मुखर्जीको प्रसंशा गर्ने एमाले अध्यक्ष केपी ओलीले पनि आजको राजनीतिमा प्रयोगको अर्थ बुझेको हुनु पर्दछ ।
यो लेख तयार पारिरहँदा रेकर्ड नहेरी ठ्याक्कै त मिति विर्सिएको हुन सक्छ तर २०५५ साल तिरको भाद्र महिना होला । म आफू विद्यावारिधिको शोधार्थी थिएँ । बागबजार स्थित होटल त्रिबोली (त्यसवेलाको नाम)मा डेड घण्टा जत्ति त्यसवेला भारतीय कुटनीतिक क्षेत्रमा काम गर्ने त्रिपाठी थरका व्यक्तिसंग मेरो कुराकानी भएको थियो । उनले भनेको कुरा आज पनि मलाई याद भइरहेको छ । दासढुङ्गा दुर्घटना थिएन भारतीयहरुले गरेको हत्या हो भनेर मैले भन्दा उनले मलाई सम्झाउँदै भनेका थिए –“भारतीयहरु हत्या गर्दैनन्, हत्या त सिआइएले चैं गर्दछ । भारतीयहरु त कुनै नै कुनै उपायबाट आफ्नो पक्षमा पारेर उसको राजनीतिक जीवन समाप्त पारिदिन्छ । नेपालमा ठूला ठूला राष्ट्रवादीहरु भारतीय प्रयोगमा आए र सकिएका पनि छन्। उनले यत्ति भनिरहँदा उदाहरण चैं दिन नचाहेकोले उदाहरण आफैंले खोज्न मलाई वाध्य बनाएको थियो । यस्तै कुरा २०६५ सालको साउन २८ गते शनिवार अर्का भारतीय कुटनीतिज्ञ रञ्जन रायसंगको कुराकानीमा पनि पाइयो । यसको अर्थ नेपालका थुप्रै नेताहरु भारतले खेलाउँछ र उठ्नै नसक्ने गरी फसाउँछ र फ्याकिदिन्छ , यही रहेछ प्रयोगको राजनीति ।
मदन भण्डारीलाई प्रयोग गर्न कहिले व्यापारी त कहिले कुटनीतिज्ञको रुपमा काना देखि लिएर लङ्गडासम्म देखिने भारतीयहरु अघि सरे । तर प्रयोगमा नआए पछि उनी मारिए । मलाई आज यो लेखिरहँदा २०५४ सालको तत्कालीन एमालेको याद आएको छ । एमाले राष्ट्रवाद र राष्ट्रघातको चेपुवामा परेर विभाजित भयो । त्यसवेला एमालेको नेतृत्व भित्र पनि हरकिसन सिंह सुरजित, सीताराम यचुरी वा प्रणव मुखर्जी देखिने पात्रहरु थिए र नदेखिने त अरु पनि थिए । त्यसैले एमाले पार्टी फुट्यो । राष्ट्रवादी नेता मानिएका बामदेव गौतमको पनि योगी ब्रम्हानन्द उदासिनसंगको सम्पर्कको वारेमा त्यसवेला कसैलाई थाह थिएन । आम निर्वाचनमा बामदेव सून्य सिटमा रुपान्तरित भए पछि बामदेवको प्रयोजन सकियो र बामदेवको राष्ट्रवादी पार्टी अलपत्र प¥यो ।
राजा वीरेन्द्रको हत्या पछि राजा भएका ज्ञानेन्द्र शाह पनि सुरुका दिनमा भारतीय प्रभावमा सायद नपरेका होइनन् । सायद उर्नी त्यसवेलाको भारतमा सत्तारुढ पार्टीले आफ्नो गद्दी सुरक्षित राखिदिने कुरामा विश्वस्त थिए । विभिन्न भारतीय सूत्र र स्रोतहरु उनको सम्पर्कमा थिए । दरवार हत्याकाण्डमा भारतीय योजनाको उनले कतै मुख खोलेनन् र आजसम्म पनि खोल्न सकेका छैनन् । रञ्जन रायको भनाईलाई आधार मान्ने हो भने त उनलाई गद्दी च्युत गराउन यस्तै सूत्रको प्रयोग गरी फ्याँकियो । भनिन्छ, यसका लागि टी. हर्निसले निकै ठूलो मेहनत गरेको थिए ।
रञ्जन राय भन्दथे यदि भारतले सी पी गजुरेल र मोहन वैद्यलाई भारतमा नथुनिदिएको भए न नेपालमा गणतन्त्र आउने थियो न संविधान सभाको निर्वाचन नै । प्रचण्डको अस्थिर र महत्त्वाकाँक्षी योजनामा नेपालको दरवारसंग सम्झौता हुने लक्षण देखिएको थियो ।तर उनी आफ्नो युद्ध विसाउने योजनामा आतुर भएको थाह भए पछि त्यसको अनुकुलता भारतले मिलायो । माओवादीभित्रको सहजताका लागि बाटाको अवरोधहरु पन्छिए र भारतीय योजनामा नेपालमा माओवादी राजनीतिलाई विसर्जन गराउने मौका पाइयो । नत्र प्रचण्डले त झण्डै दरवारसंग हातेमालो गर्न खोजेको ।यसको सत्यता वुझ्न २०५७ सालको जेठ महिना देखि फागुन महिनासम्मको जनादेश नामको पत्रिकामा प्रचण्डका जे जत्ति लेखहरु प्रकाशित भएका छन् तिनलाई हेर्दा पनि अनुमान गर्न सकिन्छ । तत्कालीन एमाले नेता तथा लेखक नारायण ढकालले कान्तिपुर दैनिकको मंसिर महिनाको एक अंकमा माओवादी गन्तव्यका विषमा आशंका गरेर लेख नै लेखेका छन् । तथ्यहरु केलाउँदैजाँदा के विझिन्छभने, माओवादीभित्रैबाट सी पी गजुरेल र मोहन वैद्यलाई फसाइयो ।माओवादीको रुट परिवर्तन भयो र १२ बुँदे सहमतिमा पदार्पण भयो । सुनिन्छ, त्यसको वार्गेनिङ पछिल्ला दिनमा ओली सरकार ढाल्नमा प्रयोग समेत भयो। यसको सत्यता मापन गर्न जरुरी छ ।
पहिलो संविधान सभा निर्वाचन पछि सरकार गठनमा ढिलाइ गर्दा भारतीय दवाव खेप्नु परेको भनेर बालुवाटारभित्र बरबराउने गिरिजाप्रसाद कोइराला र उनको आवाजका साक्षी बासु कोइराला आज यो धरतीमा छैनन् । त्यसबेला गिरिजालाई भेट्न धेरै कोशिस गर्ने यो बबुरो यहाँ कलम चलाउँदैछ । किन त्यसवेला हतारो परेको थियो भारतलाई सरकार परिवर्तन गर्न वा के गिरिजा त्यसै बरबराइरहेका हुन् त ? यो प्रश्नको जवाफ आजसम्म खोज्न सकिएको छैन । माओवादीले देखाएको राष्ट्रपतिको ललिपप नपाएकोले गिरिजा झोकिएका हुन् कि भनेर सोच्ने वातावरण बालुवाटारभित्र उनी जङ्गिएको वेला थिएन । गिरिजा पछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले रामराजा प्रसाद सिंहलाई खेलाए, र माधव नेपाललाई राष्ट्रपतिको आश्वासन दिए। यस्को पछाडी देखिनेमा अशोक मेहता, एस डी मुनी र नदेखिनेमा स्वदेशी तथा नेपाली विभिन्न पात्रको प्रभावले माधव नेपाललाई राष्ट्रपतिको कुर्सीमा आउन दिइएन । प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिँदा विदेशी प्रभूका सामु नझुक्ने वाचा गरे । बानेश्वरको आमसभालाई सम्बोधन गर्दै नेपाली शासकहरु भारतको नोकर भएको र आफू अव सिधै भारतसंगै वार्ता गर्ने उद्घोष समेत गरे । २०६६ साल पुस २५ गते राजधानीको राष्ट्रिय सभागृहमा भारतीय विद्वान नायकसंग एउटै सभामा बोल्दै राजा वीरेन्द्रसंग आफ्नो सम्झौता र समझदारी स्थापित हुन लागेको अवस्थामा राजा वीरेन्द्रको हत्या भएको र त्यसमा भारतको हात रहेको भनेर भन्न पनि पछि परेनन् । पहिलो संविधान सभामा उनको दल सवैभन्दा ठूलो थियो तर त्यो नकाम भयो । संविधान सभाको अर्को निर्वाचन भयो । अर्को निर्वाचन हुँदा उनको हविगत बामदेवको जस्तो चैं भएन । धेरै सिटसंख्या भएका कारण बहुमतीय निर्वाचनभित्र त पहिलेको भन्दा झण्डै सय सिट नै गुमाउन पुगेका थिए भने उनी आफैं पनि माधव नेपालले आफू हारेको वेलामा सदनमा ल्याइदिएर प्रधानमन्त्री हुने गुन लगाइदिएको बदला नतिरेको भए संसदमा प्रतिनिधित्व गर्ने र दोस्रो पटक प्रधानमन्त्री हुने अवसर पाउने थिएनन । सायद यी सवै प्रयोगका राजनीति हुन सक्छन् । आजसम्म राष्ट्रवादको पथमा अविचलित सी पी मैनाली र उनको पार्टी संविधान संशोधनको सवालमा कतै लोभले प्रयोगको राजनीतिमा परेको र भोली प्रचण्डलाई जस्तै वार्गेनिङ गर्ने र गराउने स्थानको निर्माण गरिएको भन्ने चर्चा अहिले व्यापक छ । सत्यता पछि देखिएला ।
प्रयोगको औजारमा रमाउने हो भने तेस्रो चरणको स्थानीय निर्वाचनमा सिमाना र संस्कृतिका आकारले आफ्नो बुत्ता नपुग्दा माओवादीलाई अहिलेको सरकारी गठबन्धन सही नै होला । त्यो कुरा चितवनको निर्वाचनले पनि सावित गरेको छ । अरुलाईप्रयोगगर्ने र आफू प्रयोगहुने राजनीतिको खेलमा लागेको माओवादीले वर्तमानमा सामान्य केही र क्षणिक लाभ हासिल गरको पनि छ । तर यही बाटोबाट अघि जाने हो भने माओवादी पाठशालामा हुर्किएका कार्यकर्ता र उनीहरुको मनोभावनाको विश्लेषणको आधारमा कालान्तरमा माओवादी भनिनेहरु या काँग्रेसमा विलय हुनु पर्ने या गुरु मोहन विक्रमको बाटोमा संगठनलाई पु¥याउनु पर्र्ने दिन पनि नआउला भन्न सकिंदैन । यदि यस्तो भयो भने माओवादी विद्रोह नेपाली कम्युनिष्ट आन्दोलनको सवभन्दा खलपात्र मानिनेछ र त्यसवेला पुष्पकमल दाहालेले के पगरी पाउने हुन् इतिहासमा त्यो शब्दको चयन त्यसैवेलाका इतिहासका लेखकहरुले खोज्लान ।
Top of Form
Bottom of Form

No comments:

Post a Comment