Pages

Sunday, December 24, 2017

गैह्रजिम्मेवार सरकार र व्यवसायी


     अधिकारसँगै जिम्मेवारी बढ्छ र जिम्मेवारीसँगै कर्तव्यपालनाको अपेक्षा पनि स्वाभाविक हुनजान्छ। आफूलाइ जिम्मेवार भन्ने हरेक नागरिक र संस्थामा पनि यो सिध्दान्त लागु हुन्छ। राज्य सर्वोपरी संस्था भएकोले राष्ट्रकै जिम्मेवारी वहन गरेको राज्यसञ्चालकको जिम्मेवारी र कर्तव्य अझ विशेष र गहन हुन्छ। सरकारका जिम्मेवारी र कर्तव्य वहुआयामिक भएपनि “जन-धनको सुरक्षा” नै कार्यसूचिको सर्वोच्च प्राथमिकतामा निर्विवाद तवरले पर्छ। सर्वोच्च प्राथमिकतामा पर्ने जिम्मेवारी र कर्तव्यबाट समेत् नेपालको राज्यव्यवस्था र सरकार पलायन भएको छ। पुस ५ गते बुधबार, वीरगञ्ज महानगरपालिका-२२, सुखचैनामा रहेको सुपर ग्याँस उद्योगमा ग्याँस लिक भएर भीषण आगलागी भएको घटनाले सरकारको गैह्रजिम्मेवारी, नालायकी र लापर्वाहीको स्थितिलाइ पुनर्पुष्टि मात्र गरेको छैन, केही सवाल पनि खडा गरेको छ।
    ‘एलपी ग्याँस बोटललिङ प्लाण्टका लागि मापदण्ड’ धेरै अघि बनिसकेको हो र एक बर्ष अघिदेखि लागु भैसकेको पनि हो। नेपालमा भएका ५५ ग्याँसउद्योगमध्ये केवल ४ ओटा प्लाण्टले मात्र यो मापदण्ड पालन गरेका छन्। त्यस्तै, ‘एलपी ग्याँस विनियमावली २०६५ तथा ‘एलपी ग्याँस ढुवानी नियमावली २०७३’ पनि लागु त गरिएको छ तर यी विनियमलाइ पालना गराउने नियमकारी निकाय नेपाल आयल निगमले अनुगमन नगर्ने हुँदा यी विनियमहरुको पनि परिपालन भएको छैन। लागु गरिएका मापदण्ड र विनियमहरु अनुसार ग्याँसप्लाण्ट उद्योगहरुले विद्युतीय उपकरणहरु, मेकानिकल उपकरणहरु तथा हाइड्रोलिक र सुरक्षाव्यवस्थाको परीक्षण नियमित गराउनुपर्छ। उद्योग-व्यवसायीहरुले पनि व्यवसायिक इमान्दारी देखाउनुपर्थ्यो। नेपालमा हरेक क्षेत्र, समूह, तह र तप्काले अधिकार मात्र खोज्ने तर अधिकारसँगै जिम्मेवारी र कर्तव्य जोडिन्छ भनेर कहिल्यै नसोच्ने भएकाले गैह्रजिम्मेवारी, अराजकता र मनपरी व्यापक भएको हो। उपरोक्त नियमनका लागि व्यवसायीहरु जति जिम्मेवार छन् त्योभन्दा पनि नेपाल आयल निगम, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र नापतौल तथा गुणस्तर विभागहरु शयौंगुना बढी जिम्मेवार छन्।
     अहिले वीरगञ्ज,सुखचैनामा भएको यो भीषण दुर्घटना र जनधनको क्षतिले गर्दा एकपल्ट राष्ट्रको ध्यानाकर्षण भयो, तर केही दिनमै यो चर्चा सेलाउँछ। जसरी, विगतमा ग्याँससिलिण्डर बिष्फोट घटनाका चर्चा सेलाउँथ्यो। घटना भैरहने तर घटनाका दोषीमाथि कार्यवाहीचाहिं कहिल्यै नहुने भएपछि यस्ता भयङ्कर पीडादायी घटना समेत् नियमित आकस्मिकता हुन जान्छन् र चर्चायोग्य पनि हुँदैनन्। ५ दिनअघि मात्रै धादिङमा ग्याँससिलिन्डर बिष्फोट भएर घर पूरै ध्वस्त भयो। ग्याँससिलिण्डर बिष्फोट हुने, घर ध्वस्त हुने र जन-धनको क्षति हुने नियमित आकस्मिकता भएकोले यस बिषयमा कहीं,कतै चर्चा भएन। सरकारको अकर्मन्यता र व्यवसायीको मनोमानिले गर्दा जन-धनको क्षति हुनपुग्नु भन्दापनि यो चर्चाको बिषय नै नबन्नुचाहीं भयङ्कर डरलाग्दो स्थिति हो। सर्वसाधारण जनता र नागरिकसमाजले समेत्, ‘यस्तो हुनु सामान्य हो’ भनेर सोच्नथालिएको, यस्लाइ स्वीकार गरिएको र आत्मसात् गरिएको मनोविज्ञानले राष्ट्रकै दिशालाइ प्रभावित मात्र हैन निर्देशित गरिरहेको हुन्छ। यो मनिविज्ञानले राष्ट्रलाइ अँध्यारो सुरुङभित्र धकेल्नेबाहेक अर्को काम गर्दैन।


No comments:

Post a Comment