Pages

Saturday, January 13, 2018

पृथ्बीजयन्ती तथा राष्ट्रिय एकतादिवस


११ बर्षपछि राज्यले राष्ट्रिय एकता दिवसलाइ पुन स्वीकारेको छ। राष्ट्रले परम्परादेखि मनाउँदैआएको पृथ्बीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाइ ११ बर्षअघि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा रहेका कृष्णप्रसाद सिटौलाको पहलमा समाप्त गरिएको थियो। कृष्णप्रसाद सिटौलाले समाप्त गर्न खोजेपनि जनताले समाप्त गरेनन्, हरेक साल झन् भव्यतासँग मनाइरहे। जनस्तरको चौतर्फि र निरन्तर दबाबकै कारणले गर्दा बाध्य भएर सरकारले पुस २७ गते ‘एकता दिवस’ मनाउने निर्णय त गरेको छ, तर यो निर्णय गरिरहँदा राष्ट्रिय एकता दिवससँग पृथ्बीनारायण शाहको नाम जोड्न चाहेन।
    ११ बर्षअघि राष्ट्रिय एकता दिवसलाइ समाप्त मात्र पारिएको थिएन, पृथ्बीनारायण शाहलाइ राष्ट्रकै खलनायक सिध्द गर्न भरमग्दुर प्रयत्न गरियो र यस्लाइ अभियानकै रुपमा अघि बढाइयो।
     पृथ्बीनारायण शाहले मकवानपुर विजय गरेपछि त्यसभन्दा पूर्वतिर कतै-कतै सामान्य मुठभेड भएपनि खासै लडाईं लड्नैपरेन। मकवानपुर विजय र त्यहाँको राजपाट ब्यवस्थाबाट प्रभावित भएका पूर्वका राजा,रजौटाहरु अधिकांशले आत्मसमर्पण गरे। कीर्तिपुरको हकमा शूरप्रताप शाहको अदूरदर्शिता र अपरिपक्वताको कारणले पराजय ब्यहोर्नुपरेको भएपनि पछि कीर्तिपुरका राजाले आफैं आत्मसमर्पण गरेका थिए। इतिहास अन्वेषक ज्ञानमणि नेपाल भन्नुहुन्छ, “कीर्तिपुरका राजाले आत्मसमर्पण गरेको धेरै पछि एकदिन कीर्तिपुरका केही हुल्याहाहरुले बिदामा बसेका गोर्खाली सैनिकहरुलाइ भोज खाने निमन्त्रणा गरे। राति भोज खाएर सुतेका, मस्त निन्द्रामा रहेका गोर्खाली सैनिकलाइ नोल र फलेकले ठोकी-ठोकी मारे। पछि ती हत्याराहरु पक्डाउ परे। पक्डेर ल्याइएका १० जना हत्यारालाइ न्यायसभाले खतबात लगाएर छाड्ने निर्णय लियो। सोही निर्णय अनुसार ती १० जनाको नाकको टुप्पो काटेर छाडिएको थियो।”
      क्रिश्चियन धर्म प्रचार र बिस्तार गर्न आएका पादरीहरु ६० जनालाइ पृथ्बीनारायण शाहले देशबाट निस्काशन गरेका थिए। तिनीहरु बेतिया गै बसे। तिनैमध्येका पादरी जिसेप्पीले पृथ्बीनारायण शाहको बिषयमा अतिशयोक्तिको पनि पराकाष्ठा नाघेर पृथ्बीनारायणको व्यक्तित्वलाइ ह्रासनास गर्नेगरी उनका विरुध्द मनगढन्ते कहानि गढेर तथानाम लेखे र लण्डनको जर्नलमा प्रकाशित गराए। सुगौली युध्दमा नेपाल अङ्गरेजसँग पराजित भएर सन्धी गरेपछि काठमाडौं बस्नथालेका अङ्ग्रेज रेजिडेण्ट ब्रायन हडसनले जिसेप्पीका मनगढन्ते कहानिलाइ थपथाप, बढाइचढाइ गरेर व्यापक प्रचारप्रसार गरे।
    दुःखद बिडम्बना के भैरहेछभने, नेपाली नागरिकताको प्रमाणपत्र चाहीं लिएका तर आफ्नै मातृभूमिकै बिरुध्दमा उभिएका केही नेपाली भनौंदाहरुले जिसेप्पी र ब्रायन हड्सन जस्ताले नेपाल राष्ट्रको बिरुध्द गरेका दुस्प्रचारलाइ बोकेर हिंडेका छन्। हिंडेका मात्र छैनन, यो दुस्प्रचारको अभियानलाइ अघि बढाउन कम्मरकसेर लागेका छन्। अझै थप दुःखद बिडम्बना के छभने तिनीहरुले इतिहासका अन्वेषक नेपाली प्राज्ञहरु नयराज पन्त, बाबुराम आचार्य, धनबज्र बज्राचार्य, ज्ञानमणि नेपाल, दिनेशराज पन्त, इमानसिंह चेम्जोङका अन्वेषण र अनुसन्धानलाइ चाहीं पढ्दैनन् मात्र हैन हेर्नैचाहँदैनन्।
     कुनैपनि बिषयबस्तु र ब्यक्तित्वको मूल्याङ्कन तत्कालीन परिवेशकै सन्दर्भमा मात्र हुनसक्छ। यो सिध्दान्तअनुसार पृथ्बीनारायण शाहको मूल्याङ्कन पनि २५० बर्ष अघिको तत्कालीन समाज, त्यसबेलाको जनताको चेतनास्तर र मनोबिज्ञानको आधारमा मात्र गर्नुपर्छ। २५० बर्षअघिका कर्म र योगदानलाइ अहिले एक्काइशौं शताब्दीको आलोकमा समीक्षा गर्न सकिंदैन र मिल्दैन पनि। जर्मनीका बिस्मार्क र अमेरिकाका जर्ज वाशिङ्गटनहरुकै पङ्क्तिमा नेपाल राष्ट्रका निर्माता पृथ्बीनाराण शाहको नाम अजर-अमर रहनेछ। नेपाल राष्ट्रलाइ माया गर्ने सबैले पृथ्बीनारायाण शाहलाइ सधैं सम्झिरहने छन् र पुस २७ गतेलाइ ‘पृथ्बीजयन्ती तथा राष्ट्रिय एकता दिवस’ को रुपमा मनाउँने छन्।

       

No comments:

Post a Comment