-आनन्दराम पौडेल
भारतबाट इन्धन ढुवानी गरेर ल्याउँदा
ट्याङ्करका ड्राइभरहरुले कम्तिमा १०० लिटर तेल चोर्नेगरेको पाइएपछि नेपाल आयल निगम
र भारतीय आयल निगमका ब्यवस्थापनले तेल चोर्न नमिल्नेगरी ‘लकिङ प्रणाली’ जडान गर्ने
निर्णय गर्यो। तेल चोर्न नपाउनेगरी लकिङ प्रणाली जडान गर्न दिंदैनौं” भन्दै
ट्याङ्कर-चालकहरु विरोधमा उत्रिएका छन्। ट्याङ्कर-चालकहरुलाइ ट्याङ्करधनीको समेत्
अप्रत्यक्ष समर्थन र साथ रहेको देखिन्छ।
सरकारले २० बर्ष पुराना, थोत्रा,
पत्रु भैसकेका गाडीहरु चलाउन नदिने निर्णय गर्यो। सरकारले निर्णय गर्नासाथ तत्कालै
यातायात ब्यवशायी सङ्घ विरोधमा उत्रिहाल्यो। “लौ, कसरी रोक्दोरहेछ !” भन्दै
च्यालेञ्ज नै गर्यो। जव कि, यथार्थ के होभने यी गाडीको अन्तिम आयु नै बढीमा २०
बर्ष भनेर गाडीनिर्माता कम्पनीले नै तोकेको छ। यिनै गाडीहरु भारतमा १५ बर्षभन्दा
बढी चलाउन पाईंदैन। काठमाडौंलगायत विभिन्न शहरहरुमा प्रदुषण बढ्नुमा यिनै पुराना,
थोत्रा गाडी प्रमुख कारण भनेर उहिल्यै प्रमाणित भैसकेको छ।
पातला प्लास्टिकका झोला मानव
स्वास्थ्यको लागि हानिकारक, माटोको संरचनालाइ ध्वस्त पार्ने र रिसाइक्लिङ नहुने
भएकोले पोहोर सरकारले पातला प्लास्टिकका झोलालाइ प्रतिबन्ध लगायो। तर, प्लास्टिकका
झोला निर्माता कम्पनीहरु विरोधमा उत्रिहाले। यो निर्णय कार्यान्वयन हुनै दिएनन्।
यातायातको सिण्डिकेटलाइ कानुनले
नै जनविरोधी किटेको छ। सर्वोच्च अदालतले निषेध गरेको छ। तर, यातायात ब्यवशायीहरुको
सङ्गठित दादागिरी यथावत छ।
नेपालमा सरकारभन्दा सङ्गठित
दादाहरु बलिया छन्। उनीहरुको आ-आफ्नो क्षेत्र जुन छ, त्यो उनीहरुको मौजा मात्र हैन
त्यस्लाइ उनीहरुले साम्राज्य नै कायम गरेका छन्। उनीहरुकै रजगज र हालिमुहालि चल्छ।
सरकारले त्यहाँ चियाउनै हुँदैन भन्ने उनीहरुको दाबी हुन्छ।
सङ्गठित दादागिरीलाइ मलजल गर्ने
काम हाम्रै राजनीतिक पार्टी र नेताहरुले गरेका हुन्। उनीहरुले नै हिंस्रक संस्कृति
भित्र्याए, स्थापित गरे र व्यापक फैलाए।
हामी उन्नतितिर छौं कि, पतनको अधोगतिमा छौं ?
उज्यालोतिर लम्किरहेछौं कि, अँध्यारो सुरुङभित्र ? नेपाली राजनीतिक यात्राको
सिंहावलोकन गर्दा स्वत यो प्रश्न उठ्छ। सबैलाइ थाहा छ, विरोध र आन्दोलन विकल्पको
लागि हुन्छ। विकल्प साविकको भन्दा उन्नत र बैज्ञानिक हुन्छ। साविकको भन्दा उन्नत र
बैज्ञानिक हुनेछ भन्ने देखाउनको लागि आन्दोलनकारीले र अझ विशेषगरी आन्दोलनका
नेताहरुले आफ्ना हरेक गतिविधि, कर्म, आचरण, संस्कृति र संस्कार त्यही अनुसारको गर्नुपर्नेछ।
विकसित सिष्टमको वकालत गर्नेहरु झन् जिम्मेवार देखिनुपर्ने छ। २००७ सालदेखि
अहिलेसम्म भएका क्रान्ति र आन्दोलनको सिंहावलोकन गर्दैजाँदा मानवीयताको हिसाबले र
सभ्यताको हिसाबले हामी अग्रगतिमा हैन कि पतनको अधोगतिमा गैरहेको देखिन्छ।
२००७ सालको क्रान्तिमा नेपाली
काङ्ग्रेसको मुक्ति सेनाले सरकारी सेनालाइ आक्रमण गर्नुअघि, “आत्मसमर्पण गर। नत्र
हामी आक्रमण गर्छौं” भनेर उद्घोष गर्थे। निहत्था व्यक्तितिर हतियार तेर्स्याएनन्। माओवादीले
जस्तो राति जनताको घर-घरमा घुसेर परिवारसँग सुतिरहेका सामान्य व्यक्तिलाइ घिसार्दै
आँगनमा ल्याएर हात-खुट्टा छिनाल्ने काम गरेनन्। २०२८ सालमा तत्कालीन नेकपा मालेले
झापामा शुरुमा गलत ढङ्गले व्यक्तिहत्या गरेको भएपनि तुरुन्तै ‘करेक्शन’ गर् यो।
गलत तवरले हिंसाको प्रयोग भयो भनेर आत्मालोचना गर् यो। तत्पश्चात् व्यक्तिहत्या र
अनावश्यक हिंसातिर अग्रसर नभएकोले उस्ले आफूलाइ सुधारेको मान्नुपर्छ। २०४४ सालमा
नेपाली काङ्ग्रेसले सत्याग्रह आन्दोलन र सँगसँगै जेल भर्ने आन्दोलन चलाएको थियो।
आन्दोलन निकै अघि बढिसकेको थियो। ठीक त्यहीबेलामा रामराजाप्रसाद सिंहले नितान्त
निर्दोष नागरिकलाइ बमले उडाइदिन थाले। “हिंसा छिर् यो” भनेर नेपाली काङ्ग्रेसले आफ्नो आन्दोलनलाइ
प्याकअप गर् यो। २०४६ सालको आन्दोलन तथा २०६२ सालको १९ दिने आन्दोलनमा अनावश्यक
हिंसा नहोस् भनेर आन्दोलनकारीहरु सचेत रहेको देखियो। नेकपा माओवादीले २०५२ सालबाट
शुरु गरेको विद्रोहलाइ दुई भाग लगाएर हेर्दा प्रष्ट हुन्छ। २०५२ सालदेखि २०५८
सालको हिउँदसम्म माओवादी विद्रोहीहरुले अनावश्यक हिंसाबाट वचाउँदै अभियानलाइ अघि
बढाएका थिए। २०५८ सालको हिउँददेखि मनपरीसँग जथाभावी यतिविधि हिंसा-हत्या गरे कि
त्यसपछि उनीहरुको अभियानमा बिभत्स हिंसा मात्र रह्यो; विवेक-विचार, मानवीयता,
सभ्यता, सिद्धान्त र दर्शन केहीपनि बाँकि रहेन। तत्पश्चात् नेपाली राजनीति र
समाजमा हिंसाकै हालिमुहालि चल्यो। जवर्जस्तिको संस्कृति व्याप्त भयो।
२०६३ बैशाखदेखि १६ महिना गिरिजाप्रसाद
कोइराला र कृष्णप्रसाद सिटौलाले हिंसा-हत्या र ढुङ्गामुढालाइ सर्वोपरी मान्यता
दिने अभियान चलाए। हत्या-हिंसा, आतङ्क मच्चाउँदै आउने तथा ढुङ्गामुढा, हुलहुज्जत
गर्दै आउनेलाइ सम्मान, प्रतिष्ठा दिनथाले। त्यस्ताले गर्न त के सोच्नैनमिल्ने माँग
राख्थे। देश र जनतालाइ ठाडै सिध्याउने राष्ट्रघाती माग राख्दासमेत् गिरिजा र
सिटौलाले शीरोपर गरिहाल्थे। त्यहींदेखि नेपालमा हिंस्रक संस्कृति यसरी मौलायो कि
अब राज्यदेखि समाज, समुदाय र व्यक्तिसम्मले दादागिरी, जबर्जस्ति र हिंसाबाहेक
अर्थोक सोच्नै छाडे। यी सङ्गठित दादागिरीबाट यो निम्छरो राष्ट्र अहिले यतिसम्म
आक्रान्त भैरहेछ, त्यो त्यसैको परिणाम हो।
राज्य दह्रो नभएसम्म यी सङ्गठित
दादागिरीबाट यो राष्ट्रले त्राण पाउने सम्भावना छैन। राज्यसञ्चालकहरु र राष्ट्रका
अगुवाहरुमा नैतिक बल नभएसम्म उनीहरुमा आँटहिम्मत आउँदैन। रीतिथिति बिगार्ने र
भाँड्ने काम यिनै नेताहरुले गरेका हुन्। यिनै भँडुवाहरुले सम्हाल्न र सुधार्न
सक्लान् त ? अजङ्गको सवाल खडा भएको छ।
शुक्रवार, मार्च 16, 2018
No comments:
Post a Comment