Pages

Thursday, March 8, 2018

आन्दोलन समेत् अपराधी,डनको हातमा



आन्दोलन समेत् अपराधी,डनको हातमा
-आनन्दराम पौडेल

  
      कलीला नानीहरु स्कुल गएको, किशोर-किशोरीहरु कलेज गएको, पठनपाठनतिर लागेको देख्नैसक्दैनन् नेत्रबिक्रम चन्द ‘बिप्लव’ र उनका साथीहरु।  “स्कुल,कलेज नजानु; गयौभने स्कुलबसमा भए बस नै जलाइदिन्छौं, स्कुलमा भए स्कुलमै बमबिष्फोट गराइदिन्छौं” भनेर धम्क्याउँछन्। सर्वसाधारण जनता काम, धन्दा, ब्यवशायमा गएको-आएको, आवतजावत गरेको पनि मनपर्दैन, रिस उठ्छ, मुर्मुरिन्छन् र चक्काजाम, नेपालबन्द गरिदिन्छन्।
     नेपालमा हिंसात्मक संस्कृति मौलाउँदै गएको छ। सर्वसाधारण जनतालाइ तर्साउनु, धम्क्याउनु, आतङ्कित पार्नु, जबर्जस्ति गर्नु आमबात भएको छ। हिंसात्मक संस्कृति मौलाउनुमा राज्य र समाज दुबै उत्तिकै जिम्मेवार छ। धेरै पर जानुपर्दैन, ११ बर्ष यताको मात्र राज्यका ब्यवहारलाइ सर्सर्ति हेर्ने होभने सज्जनहरुले पेश गरेका जायज अपील, माग, गुनासा, निवेदन तथा रचनात्मक सुझावलाइ सधैं लत्याइएको छ, तर १०-२० जना सण्डमुसण्डहरु मिलेर हूलदङ्गा गर्दै आएभने गर्न त परको कुरा, सोच्नैनहुने मागहरु सबै पूरा गरिदिएको दृश्यहरु मात्र देखिन्छ। खुङ्खार, कुख्यात अपराधीहरुलाइ नेताहरुले काखिच्यापिरहेको देख्नसकिन्छ।
     हिंसात्मक संस्कृति मौलाउनुमा हाम्रो समाज पनि त्यत्तिकै जिम्मेवार छ। समाज, समुदाय, राष्ट्र र विश्वकै लागि उल्लेखनीय रचनात्मक, सिर्जनात्मक काम गर्ने प्रतिभालाइ हाम्रो समाजले कदर गर्दैन, बरु अपराध, भ्रष्टाचार, तस्करी, माफियागिरी गरेर अकूत सम्पति जोडेको छभने हाम्रो समाजले त्यस्लाइ ‘हिरो’ मान्छ। राजनीतिक क्षेत्रमा भीमबहादुर तामाङहरुलाइ किनारा लाइन्छ र ल्यार्क्याल लामाहरुलाइ अगाडी सारिन्छ। प्रशासनमा यदुनाथ खनालहरुको नाम हराउँछ, तर चुडामणि शर्मा, भरत सुवेदी, गोपाल खँड्काहरुलाइ सबैले बोकिरहेका हुन्छन्। पत्रकारितामा युवराज घिमिरेहरु कतै कुनातिर भेटिन्छन्, तर ऋषि धमलाहरु सधैं ‘सीन’मै, अग्रस्थानमै हुन्छन्।
   अढाई बर्षअघिको एउटा सम्झना याद आइरहेको छ। हामी सीमरा पुगेका थियौं।  इलाका प्रहरी कार्यालय, सीमराका इन्स्पेक्टर पुरुषोत्तम खँड्काले असोज ६ गते राती २ वजे बसमा ढुङ्गा हानिरहेका ८ जना किशोरलाइ पक्डेका रहेछन्। अरु ५ जनाचाहीं भागेछन्। "एउटा ढुङ्गा हानेको २० रुपैयाँको हिसाबले पैसा दिन्छन्"  पक्डाउ परेका किशोरहरुले भनेका थिए। किशोरहरुलाइ ४० दिनदेखि स्कुल जान रोकेर रोडमा टायर बाल्न, बसमा ढुङ्गा हान्न लगाइएको रहेछ। अधिकांश ९ देखि १२ बर्ष भित्रका किशोरहरु रहेछन्।
     उता, भदौ ७ गते टीकापुरमा आन्दोलनको लागि ल्याइएका जनताहरुसँग पनि पछि भलाकुसारी बातचित गर्दा उनीहरु सबैले आफूलाइ जबर्जस्ति आन्दोलनमा जान बाध्य पारिएको गुनासो राखेका थिए। हरेक घरबाट १ जना जानैपर्ने र नगएमा एकहजार रूपैयाँ असुले गरिने भन्ने उर्दी भएकोले एकहजार तिर्न नसक्नेहरु हामी आन्दोलनमा जान बाध्य भएका ह्वौं”  भनेर सुनाएका थिए।
     कुनैपनि आन्दोलन वा क्रान्ति साविकभन्दा अझै सभ्य, अझै मानवीय, अझै न्यायपूर्ण, अझै विवेकशील, अझै उन्नत र बैज्ञानिक ब्यवस्थाको लागि गरिएको हुन्छ। त्यस्तो सम्भव छ भनेर आफैं उदाहरण बनेर देखाउँनुपर्छ। साविकको ब्यवस्थाभन्दा उन्नत ब्यवस्था सम्भव छ भनेर त्यस्को लागि सङ्घर्ष गर्नेहरुले आन्दोलनको प्रारम्भबाटै हरेक गतिविधि, कृयाकलाप, आचरण र व्यवहार सभ्य संसारको लागि सुहाउँदो मात्र हैन वर्तमान सभ्यताभन्दा उच्च र उन्नत सभ्यताको झलक प्रष्ट देखाउनुपर्छ। उनीहरु सुसंस्कृत र संस्कारित देखिनुपर्छ।
    नेपालमा २०४६ सालमा भएको आन्दोलन र २०६२-०६३ सालको आन्दोलनमा आन्दोलनकारीहरुले बर्बर हिंसाको प्रयोग गरेका थिएनन्। तर, अढाई बर्षअघि तराईमा आन्दोलकारीहरुले आन्दोलनका नाममा अत्यन्तै क्रुर अत्याचार गरिरहेका थिए, त्यस्ले मध्ययुगीन बर्बरतालाइ माथ गरेको छ। जघन्य अपराधीहरुले गर्न त के सोच्नसमेत् नसक्नेसम्मका भयङ्कर हिंसा, हत्या गरिरहेका थिए र यस्लाइ उनीहरु आन्दोलन भनिरहेका थिए। आन्दोलनको नाममा आङै सिरीङ्ग पार्ने हत्या, हिंसा गरिरहेका थिए र आतङ्क मच्चाइरहेका थिए त्यस्ले गर्दा आन्दोलन आफैं लज्जित भएको थियो।
    चरम क्रुरतापूर्ण व्यवहार हेर्दा बिप्लव माओवादीहरुले अहिले गरिरहेको यो आन्दोलन नभएर फासिवादको अभ्यास देखिन्छ। यो फासिवादको नेपाली संस्करण हो। आफैंलाइ मात्र ठीक ठान्ने, आफैंले भनेको हुनुपर्ने, असहमतिलाइ निषेध मात्र हैन दमनै गर्ने र जवर्जस्ति गर्ने सोच, चरित्र, ब्यवहार र कर्म नै फासिवादको मूलभूत प्रवृत्ति हो। यो प्रवृत्ति हिटलर र मुसोलिनीको तानाशाही ब्यवहारमा मात्र सीमित छैन, झन-झन जरा हाल्दै र फैलिंदै गएको छ, केवल यस्को अनुहार र शैली मात्र फेरिएको छ। हिटलर र मुसोलिनीको फासिवाद त बरु घोषित थियो। जो घोषणा गरेर सामुन्ने आउँछ र घोषणा अनुसारकै कर्म गर्छभने त्योसँगको ब्यवहार कठिन होला तर जटिलचाहीं हुँदैन। उस्ले के गर्दै छ भन्ने पत्तो भएपछि आफूले के गर्नुपर्ला भनेर सोच्न सहज हुन्छ।      
       क्रूरता, निर्दयता र कठोरतामा आनन्द लिने (स्याडिष्ट) प्रवृत्ति अरुलाइ पूर्ण नियन्त्रणमा राख्ने अनुराग हो भनेर एरिक फोमले चिन्ता गरेपनि र एउटा मान्छेको चाहना अनुसार नै अरु सवैले चल्नुपर्छ भन्ने सोच जत्तिको भयावह अरु केही हुँदैन भनेर दार्शनिक इमानुएल काण्टले कराएपनि आफूलाइ विकसित भनेर दावी गर्ने आजको मान्छे झन-झन आत्मकेन्द्रित र क्रुर ुँदै गएको भन्ने यो ज्वलन्त प्रमाण हो।
      मानवसभ्यताको प्राचीन कालखण्डमा राज्यव्यवस्था, सरकार थिएन। जब शक्तिसालीले निर्बललाइ थिचोमिचो गर्न थाले, जबर्जस्ति गर्न थाले र दबाउन थाले तब जबर्जस्तिबाट उन्मुक्ति पाउनको लागि समाजले सुरक्षा र न्यायका उपायको खोजी गर्नथाल्यो। त्यही उपायको खोजी गर्दैजाँदा राज्यब्यवस्थाको परिकल्पना भएको हो। सुरक्षा र न्यायको लागि स्थापना गरिएकोले शान्तिसुरक्षा र न्याय नै कुनैपनि सरकारको उच्च प्राथमिक र महत्वपूर्ण जिम्मेवारी हुनजान्छ। अन्य जिम्मेवारीहरु तत्पश्चात् मात्र आउने हुन्। शान्तिसुरक्षा, अमनचैन कायम राख्नुपर्ने भएकोले सरकारसँग सेना, प्रहरी हुनैपर्छ भन्ने आममान्यता बनेको हो।
     लाखौं बर्षदेखिको मानवीय इतिहासमा एउटा स्वतन्त्र मान्छे आजको यो कालखण्डमा जति एक्लो, निरीह र बवुरो कहिल्यै थिएन। आज नेपालमा जो जति बचेका छन्, तिनीहरु मारिन, अपहरित हुन र धम्क्याउन आवश्यक नठानिएकाले मात्र बचेका हुन्। ३\४०बर्ष अघिसम्म समाज थियो, समाजको सशक्त उपस्थिति थियो र सकृय तथा प्रभावकारी भूमिका थियो। आज शहरमा समाज छैन। गाउँघरमा समाज कतै भेटिएपनि अत्यन्तै निम्छरो र प्रभावहीन छ। एउटा सामान्य नेपालीको लागि एकातिर समाज छैन, अर्कोतिर नैतिकबल र आत्मबल नभएको सरकार छ। सरकार कतै छभने पनि भ्रष्टाचार गर्न र अपराधीलाइ संरक्षण गर्नका लागि मात्रै छ। हिजोका मूल्यहरु निख्रिएका छन्, नयाँ मूल्यले प्रवेश पाएको छैन र आस्थामा धमिरा लाग्दै गएको छ। यो कोलाहलमा एउटा एक्लो नेपालीले टेक्ने, समाउने र आड लिने ठाउँ नपाएर छट्पटिरहेको छ।
   आन्दोलनमा समेत् अपराधी, डन र गुण्डाहरु हावी हुनथालेकोले अब नेपाली जनता स्वतस्फूर्त तवरले आफैं सङ्गठित हुन जरुरी भैसकेको छ।
बिहीवार, मार्च 08, 2018




No comments:

Post a Comment