Pages

Saturday, May 5, 2018

नेपालमा नेताहरुले नै अपराधलाइ मलजल गर्छन्


नेपालमा नेताहरुले नै अपराधलाइ मलजल गर्छन्
-आनन्दराम पौडेल


१ महिनाअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणमा गएका थिए। त्यहाँ भेटघाटमा चिनीयाँ पदाधिकारीहरुले, “नेपालमा कानुनको कार्यान्वन अत्यन्तै फितलो छ। विधिको शासन र राज्यको दह्रो उपस्थिति हुन नसक्दा विगत लामो समयदेखि राजनीतिक अस्थिरता, बन्द, हडताल र असुरक्षाले राष्ट्र आक्रान्त छ। तर, अब यो स्थितिमा सुधार आउने छ र सरकारले कानुन कार्यान्वयन गर्दै ‘ल एण्ड अर्डर’ कायम राख्ने छ भनेर आशा राखेका छौं।” 
    शान्त कुटनीतिको अभ्यास गर्ने चिनीयाँहरु अरुको आन्तरिक मामलामा हत्पति बोल्दैनन्; लास्टै भएपछि बोल्ने हुन्। ३-४ बर्षअघि नेपाल आएको चिनीयाँ डेलिगेशनले र पछि चिनीयाँ राजदूतले पनि एउटा बिषयलाइ गम्भीरतापुर्वक राखेका थिए। “चीनका पूँजिपतिहरु नेपालको पर्यटन क्षेत्र र जलश्रोतमा लागानी गर्न उत्सुक मात्र हैन आतुर छन्। तर, यहाँको प्रशासनिक झन्झट, बन्दहडताल, चन्दाआतङ्क, धम्कि, अपहरण र राजनीतिक अस्थिरताकै कारणले हच्किएका छन्” भनेर बारम्बार दोहोर्याएका थिए।
    नेपालको राज्यब्यवस्थाको रोगलाइ विदेशीहरुले डाइग्नोसिस गरिसके, तर के हाम्रो ध्यानाकर्षण भएको छ त ?  सर्सर्ति केलाउँदा परिस्थितिको गाम्भीर्यतालाइ आत्मसात् गरेको देखिंदैन। भर्खरको ताजा उदाहरणहरुलाइ लिउँ। यातायात ब्यवशायीहरुको सिण्डिकेट-दादागिरीबाट राष्ट्र आक्रान्त छ र यस्बाट मुक्ति पाउन जनता छट्पटाइरहेका छन्। सरकारले यातायात ब्यवशायीको सिण्डिकेट-दादागिरी तोड्न कदम चाल्यो’रे भनेर नेपाली काङ्ग्रेसले, “सिण्डिकेटमाथि हस्तक्षेप नगर” भन्दै कुर्ल्यो। प्रतिनिधिसभा नियमावलीको प्रस्ताव तैयार भएको १ महिना भयो। त्यो नियमावलीमा, “३ बर्षभन्दा बढी कैद हुने फौज्दारी अपराध गरेको अभियोगमा पक्राउ परी थुनामा पुगेका सांसदको पद निलम्बन हुने” वाक्य देख्नासाथ नेपाली काङ्ग्रेसलाइ हन्हन्ति ज्वरो आउन थालिहाल्यो। त्यो वाक्य नझिकिहुँदैन भनेर संसदको नियमावलीलाइ नै अड्काइराखेका छन्। त्यतिमात्र हैन, सत्तारुढ माओवादी केन्द्र पार्टी समेत् अपराधीकै पक्षमा उभिन आइपुगेको छ। गौशालामा गोली हानिरहेका गणेश लामालाइ प्रहरीले पक्ड्यो। प्रहरीले पक्डनासाथ तत्कालै नेपाली काङ्ग्रेसले, “गणेश लामाले गरेका अपराधकर्मलाइ लिएर अभियोगपत्र नबनाउ” भन्दै नेपाली काङ्रेसले विज्ञप्ति प्रकाशित गर्यो। राँकेजुलुस निकाल्यो र काभ्रे जिल्ला बन्द गर्यो।
    नेपाल भन्ने देश अराजकतामा प्रवेश गरेको छ र यहाँ हिंस्रक संस्कृतिको विकास भएको छ। ११-१२ बर्षअघि कृष्णप्रसाद सिटौलाले अपराधिक समूहलाइ राजनीतिक आवरण दिंदै शीरमै उचाले, तव त्यहींदेखि हिंसाले राजकीय स्थान पाएको हो। पछिल्ला सरकारहरुले त्यसैलाइ थप मलजल गर्ने काम गरे। २०६४-०६५मा प्रचण्डनेतृत्वको सरकारले डक्कै ३४९थान र फुटकरसमेत् गरी ४००भन्दा बढी यस्ता जघण्य अपराधका मुद्दा फिर्ता लिए। माधवकुमार नेपालको सरकारले २८८थान मुद्दा फिर्ता लिए। डा बावुराम भट्टराईले त बाँकि सवै मुद्दा फिर्ता लिनेछु भनि मधेशवादी दललाइ तमसुकै गरिदिएका थिए ।
        हाम्रा नेताहरुले छिमेकी बिहारबाट सिक्नुपर्नेमा टाढाको सोमालियाबाट पो सिके। सन १९९१\९२मा सानोतिनो आन्दोलन हुनासाथ त्यहाँका शासक मोहमद सियाद बार सत्ता छाडेर हिंडेका थिए। उनले सत्ता छाडेपछि हुन गएको भ्याकुममा अहिले बर्तमान नेपालमा जस्तै भुरेटाकुरे अपराधी समूहहरु सत्ताको टुक्रा-टुक्रामा आफ्नो कब्जा जमाउन र साम्राज्य कायम गर्न तँछाड्मँछाड् गरेर लागे। ज्योति वसुको शासनकालमा उनका कार्यकर्ताले उद्योग-ब्यवशायीलाइ सताउने र हैरान गर्ने मात्रै गरेकाले त्यहाँको उद्योगधन्दा सवै चौपट भयो। हाम्रा नेताहरुले चाहेकाभए यहीं छिमेकी बिहारबाट सिक्न सक्थे। बिहारमा कानुन हातमा लिने र शक्ति प्रदर्शन गर्ने अपराधी गुण्डाहरुलाइ तह लगाएर नितिसकुमारले जव साँच्चै विधिको शासन स्थापित गरे तव बिहार झिसमिसेमै जाग्यो,उठ्यो र फटाफट लम्क्यो।
       यहाँ त अरु कोही नभएर सरकार र नेताहरु नै अपराधीको पक्षमा देखि। अपराधी गुण्डाहरु पालेर राख्छ, जघन्य अपराधीका मुद्दा फिर्ता लिन्छ, अन्तर्राष्ट्रिय फौज्दारी अदालतको रोम विधानलाइ अनुमोदन गराउन आनाकानी गर्छ, पीडकलाइ ध्यान दिएर सत्य निरुपण आयोग ऐन बनाउँछ
   विश्वइतिहासमा अराजकताको वीचबाट तानाशाहहरु मात्र जन्मेका छन्। नेपालपनि अराजकतामा प्रवेश गरिसकेको छ र त्यो स्थिति नआवोस् भन्ने कामना मात्र हो।
शनिवार, मे 05, 2018  

    



No comments:

Post a Comment