Pages

Tuesday, July 17, 2018

आँशुको २० बर्ष

आँशुको २० बर्ष 
==========
आजभन्दा ठिक २० बर्ष अगाडी, २०५५ साल असार २४ गते तत्कालिन गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारी , डी एस पी पशुपति उपाध्याय (उनि अहिले एआइजी पदमा छन् ) घ्याम्पेशल प्रहरी चौकीका इन्चार्ज आनन्द मरहट्टा थिए | राज्यको नेतृत्वमा नेपाली कांग्रेस नेता (स्व.) गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए | राज्यविरुद्ध युद्धको घोषणा गर्ने तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल थिए | 
बुबा श्री सुर्यज्योती माध्यमिक विद्यालय, ताकु(कोट),पाल्खुमा स्थायी शिक्षक हुनुहुन्थ्यो |दिउसो हामी सपरिवार रोपाईमा थियौं | बेलुकीको खाना खाएर करिब नौ बजे हामी सबै सुतिसकेका थियौं | ९:३० बजे घरको मुलढोका तोडेर २०५५ साल असार २४ गते राती एक हुल साक्षात सरकारी बर्दीधारी प्रहरी घर भित्र एकतला माथि सपरिवार सुतिरहेको ओच्छ्यानमा पुग्यो | केहीबेर कुरा गर्नु छ भनेर बुबालाई ओछ्यानबाट उठाए | आमाले सलाई कोरेर बत्ति बाल्ने प्रायस गरिरहदा फु गरेर पटक पटक प्रहरीले बत्ति निभायो | प्रहरीले मधुरो टर्च बुबाको अनुहारमा पर्ने गरि बाल्यो | 
एकदमै हतार गरि बुवालाई हातमा समातेर ओछ्यानबाट भर्यांङ्ग तर्फ डोर्यायो | आमाले "कहाँ लागेको ? भनेर सोध्नु भयो | "केहि बेर कुरा गर्नुछ, एकछिन हामी सँग हिड" भन्ने घ्याम्पेशल प्रहरी चौकीका इन्चार्ज आनन्द मरहट्टा थिए | बुबाले सायद अब छोड्दैन भन्ने सम्झिनु भएको हुनपर्छ "मलाई कपडा फेर्न दिनुस्" भन्नु भयो | भर्यांग नओर्ली बुबा आफ्नो कपडा झुन्डिएको दलान तर्फ लाग्न्नु भयो | आमालाई दलान तर्फ जान रोक्यो | म बुबाको पछि पछी थिएँ | पुर्णिमाको जुन मधुरो थियो | दलानबाट आगनमा काला मान्छेहरुको ओहोरोदोहोर थियो | घरको पूर्वपट्टी नजिकै रहेको धन्सारको बरन्डामा उक्लने सिढीमा २ जना काला मान्छे थिए | बरण्डाको छेवैमा सेतो देखिने पोशाकमा एउटा अर्को मान्छे थियो | सेतो मान्छे बरण्डा बाट हामफाल्यो र ओझेल पर्यो | पानी रोकिएको थिएन | बुबाले सेतो चेक सर्ट ढाकाको टोपी र कालो पाइन्ट लगाउनु भयो | बुबा भर्यांग झर्दै गर्दा समेत सर्टको टाँक लगाइ सक्नु भएकै थिएन | बुबालाई घरबाट निकालेर लैजादा बिरामी हजुरबुवा बहिनि सुनिता र भाई दिवस निदाई नै रहेका थिए | आमाले बुबालाई आगनमा झारे पछी छाता दिनुभयो | छाता एउटा पुलिसले खोसेर आफै लियो | आमा बुबालाई लगेको बाटो तिर पछिपछि जानु भयो | 
केहीबेरमा नै आमा हतासिदै घर फर्किनु भयो | "मलाई बाटो छेक्यो जान दिएन, बुबालाई कुन बाटो लग्यो मैले देखिन" भन्दै हजुरबुवा र म बसिरहेको ओछ्यानमा पुग्नु भयो | तत्कालै आमाले बुवाको केहि कपडा झोलामा हालेर घरबाट फेरी निस्कनु भयो | हप्तौ देखि बिरामी पर्नु भएको हजुरबुवा रुनु भएको पहिलो पटक देखें | त्यो पनि निकै बेर | बुबालाई घरबाट लगिएको आधा घण्टा नबित्दै तीन पटक बन्दुक पड्किएको आवाज आयो | बन्दुक पड्किएको आवाजलाई हामीले वास्ता गरेनौं | झमझम पानी परिरहेको थियो | आमा बुबालाई खोज्दै तिनको बधशाला घ्याम्पेसाल पुग्नु भयो | मेरो श्रीमान कहाँ लगिस भनेर प्रश्न गर्दा उत्तर दिएनन् | दिउन पनि कसरी !! बुवालाई बाटोमानै ति राक्षेसहरुले खाइ सकेका रहेछन | भोलिपल्ट आसर २५ गते मध्य दिनमा बुवाको निस्प्राण शरीर खोलामा भेटियो | प्रहरीले हतियारधारी जत्थाले गोलिहानी मारेको भन्ने कागज तयार पर्यो | शव पोस्टमार्टम गर्न समेत रोक्यो | 
रगतले लतपतिएका तिनका घृणित अनुहारमा छर्लंग दानव स्वरूप अझै पनि देख्छु म | पिपासुहरुले ०५२ साल देखि हजारौंको रगत पिए फरक फरक स्वरूप अवतारमा | रगतले अघाएका पिपासुहरु ढाडीदै गए पछि विचार सिद्दान्त अनि न्यायका ढोका साँघुरो हुँदै गयो अहिले पूर्णत: कथित न्यायका ढोकाहरु बन्द गरिएका छन् | उनका दरबार ठडिदा हामी उजाडीसकेका थियौं | दुनियाँले सहिदका सपना एउटा भजन जानेका छन् त्यत्ति हो | कयौं "गुणनिधि देवकोटा" हरुका सन्तानलाई जघन्य हत्यामा प्रत्यक्ष मुछिएका यिनीहरुले जवाफ दिनु पर्दैन ?? हामी युगौयुग जवाफ खोजिरहने छौं न्यायका निम्ति |
- Ishwor Devkota

No comments:

Post a Comment