कुहिएको र नकुहिएको नेपाल।
-आनन्दराम पौडेल
नाइट-ट्याक्सीचालक प्रेम दुलालजी आज आफ्नै जीवनको सिंहावलोकन गर्न बसे। विगत
जीवनका पाना पल्टाउँदैगए – “खाडी देशमा ८ बर्षसम्म हेभि गाडी नै चलाएँ। नेपालमा फर्केपछि
नाइट-ट्याक्सी चलाउनथालें। बा २ ज ४४९८ नम्बरको ट्याक्सी चलाएको पनि २ बर्ष पूरा
भयो। नाइट-ट्याक्सी चलाउँदा बिचित्रका अनुभव सँगाल्नपुगेको छु। सरकार र नेताहरुले
नै भ्रष्ट र अपराधीहरुको संरक्षण गर्ने भएकोले नेपालमा भ्रष्ट र अपराधीहरुकै हालिमुहालि
चलेको भन्ने त अल्लि अघिबाटै सुनिएको हो; तर गाउँसमाज, समुदाय जनजीवन नै छाडा, अराजक
बनिसकेको होला भनेर कल्पना गरेको थिइन। केटाहरु त बिग्रेकै थिए, पछिल्लोकालमा
केटीहरु झन् थामिनसक्नुगरि बिग्रँदैगएको पाएँ। पहिले-पहिले, उहिल्यै, आफ्नो
लोग्नेलाइ ठूलो पदमा पुर्याउनको लागि सुन्दरी श्रीमतिहरु अधिराजकुमार धीरेन्द्रको
बेडमै पुग्थे भन्ने चर्चा हामीले सानै हुँदा सुनेको थियौं। त्यो सुनेर सबैले
जिब्रो टोक्थे। अब त जिब्रो टोक्न नपर्ने भएछ। अहिलेचाहीं लोग्ने गयल रहेका बखतको लागि सुन्दरी श्रीमतिहरुले, ‘उपयुक्त पात्र भएमा’
भनेर नाइट ट्याक्सीचालकलाइ आफ्नो मोवाइल-नम्बर टिपाइराख्दारहेछन्। नाइट
ट्याक्सीचालकहरुले यो धन्धा गरेको थाहा पाएँ। तर, मैलेचाहीं यो काम गर्दैगरिन। यो
धन्धामा नलागेबापत नोक्सानिचाहीं ब्यहोरेको छु। रातको करिब ११ बजेको थियो।
बसपार्कमा थिएँ। २ जना केटा आए र ‘ठमेल जाउँ’ भने। मैले मिटर अन गरें, तर उनीहरुले,
‘२५० दिन्छु; मिटर अन गर्नुपर्दैन’ भने। केही अगाडी बढेको थिएँ, ‘कण्ट्याक्टका महिलासँग
कुरा मिलाउनुहोस्’ भने। मैले, ‘मसँग त्यस्ता महिलाको कण्ट्याक्ट-नम्बर छैन’ भनें।
उनीहरुले पत्याएनन्। ‘खान्दानि परिवारकै छोरी र बुहारीहरुले नाइट ट्याक्सीचालकलाइ
आफ्नो मोवाइल-नम्बर दिईराखेका हुन्छन्’ भन्दैथिए। ‘त्यस्ता युवतीको कण्ट्याक्ट
छैनभने रोक्नुहोस्, हामी अर्को ट्याक्सी लिन्छौं’ भनेर ओर्लिए।
एकपटक दरबारमार्गमा ट्याक्सी रोकेर बसेको थिएँ।
एउटी युवती आइन् ‘जोरपाटी जाउँ’ भनिन्। जोरपाटी पुगेपछि कहिले यो गल्ली, कहिले
अर्को गल्ली घुमाउनथालिन्। आजित भएर बौध्द प्रहरी ठानाभित्रै लगेर बुझाइदिएँ।
प्रहरीमा बुझाएपछि त एक्कासि उल्टै मलाइ नै आरोप लगाउनथालिन्। ‘मलाइ बलात्कार
गर्नखोज्यो’ भनिन्। ‘मलाइ जबर्जस्ति गाडीमा हालेर ल्यायो’ भनिन्। एक्कासि उल्टै
यस्तो आरोप सुनेर म त अक्क-न-बक्क भएँ। तर, प्रहरीले उसैलाइ हप्कायो। ‘आफूचाहीं रक्सी
पिएर धुत् भएको छ, बोलिसमेत् लर्बरिएको छ; बिचरालाइ उल्टै आरोप लगाउने ?’ भनेर
हप्कायो र मलाइ जानोस् भन्यो।
अराजक, छाडा हुँदै माथिदेखि
तलसम्म सड्दै, कुहिंदै गएपनि सबै बिग्रिसकेको चाहीं होइनरहेछ भन्ने यथार्थ मैले
बुध्दभूमि नगरपालिका-९, मैटहवामा पुगेर बर्ष ३० कि सोना खटिकलाइ भेटेपछि बुझें। हरुवा-चरुवा,
बँधुवामजदुर परिवारमा जन्मेर हुर्केकी सोना खटिकले जीवनमा गरेको सङ्घर्ष-गाथा
सुनेपछि ती बहिनीको गोडैमा ढोगुँ-ढोगुँ लाग्यो। ती बहिनीले भयङ्कर सङ्घर्ष
गरेकीरहिछन् र निरन्तर र अथक सङ्घर्ष गरेरै अहिले रेडियो कपिलबस्तुमा स्टेशन
म्यानेजर भएकीरहिछन्। ती सोना खटिकको जीवनसङ्घर्षको गाथा सुनेपछि मैले सोचें, जसरि
मजस्ता नाइट ट्याक्सीचालकहरु पनि छन् जो बिग्रेका छैनन्, त्यसैगरि सोना खटिकहरु
पनि छन् जो नबिग्रिकन निरन्तर सङ्घर्ष गरिरहेकी छिन् र अघि बढिरहेकी छिन्।”
सिंहावलोकन सकेर प्रेम दुलाल उठे र बा २ ज ४४९८ नम्बरको ट्याक्सीतिर
लम्किंदाभए।
Dec 15, 2018.
Dec 15, 2018.
No comments:
Post a Comment